पर्वत/राज्यले विभिन्न महामारी नियन्त्रणमा लिन तथा बालबालिकाहरूलाई नियमित खोपको पूर्ण मात्रा लगाउन आकस्मिक तथा नियमित खोप अभियान सञ्चालन गर्दै आइरहेको छ ।
अभियान तथा नियमित तालिका अनुसारका खोपहरू गाउँ–गाउँमा पठाउने गरिन्छ । प्रयोग भएका खोपहरूको सुरक्षित भण्डारण र फिर्ता गर्ने प्रवृत्ति पालना नगर्दा पर्वतमा आएकोमध्ये ३७ लाख ३१ हजार मूल्य पर्ने १२ लाख ९५ हजार डोज खोप खेर गएको छ ।
स्वास्थ्य कार्यालय पर्वतमा आर्थिक वर्ष २०८०/०८१ मा भएका काम र अवस्थाका बारेमा जानकारी दिन आयोजित पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माले जिल्लामा आएका विभिन्न ११ प्रकारका खोपको मात्रामा ६५.३ प्रतिशत सदुपयोग हुँदा ३४.७ प्रतिशत खेर गएको जानकारी दिए । तथ्याङ्क अनुसार सबैभन्दा बढी खोप खेर जाने दर बिसिजिमा ९२ प्रतिशत रहेको छ । जसको तीन हजार छ सय तीन डोज खोप खेर जाँदा यसको लागत ५९ हजार रुपैयाँ लागत पनि खेर गएको छ ।
दादुरा रुबेलाको ७३ प्रतिशतभन्दा माथि रहेको छ । यो खोप आठ हजार छ सय ५० डोज खेर जाँदा दुई लाख ८६ हजार रुपैयाँ लागत खेर गएको छ । डी.पि.टी–हेप बि– हिबको खेर जाने दर ४८.२ प्रतिशत रहेको छ । पछिल्लो एक वर्षमा तीन हजार तीन सय ४१ डोजको एक लाख १० हजार, पिसिभिको २५.९ प्रतिशत खेर दरमा एक हजार पाँच सय ९६ डोजको एक लाख ३२ हजार, एफआइपिभीको दुई हजार तीन सय ९१ डोजको एक लाख ५८ हजार, जेइको दुई हजार एक सय ७८ डोजको एक लाख ४४ हजार रुपैयाँ बराबरको लागत डुबेको छ ।
यस्तै पोलियोको ५१.४ प्रतिशतका दरले तीन हजार पाँच सय ६३ डोजको एक लाख १७ हजार रुपैयाँ, रोटाको नौ डोजको करिब तीन हजार रुपैयाँ, टिसिभिको ६१.६ प्रतिशतका दरले दुई हजार छ सय ८९ डोजको एक लाख ७८ हजार रुपैयाँ र टिडिको ६८.६ प्रतिशतका दरले तीन हजार एक सय ७० डोजको एक लाख चार हजार रुपैयाँ लागत पनि खोपसँगै खेर गएको छ ।
खोप खेर जाने दर मुलुकभर र अन्य देशमा पनि बाध्यतावश भइरहने र यो अवस्था शून्यमा झर्न नसक्ने कार्यालय प्रमुख शर्माको भनाइ छ । खोप लगाउन आउने व्यक्तिहरू ‘भाइल’ मा रहेको क्षमता अनुसार मिलेर एकै पटकमा नआउने, स्थानीय तहमा पठाइएका खोपहरू चिस्यान सहित फिर्ता नगर्ने, स्थानीय तहमा खोप भण्डारणको लागि आवश्यक तापक्रम सहितको चिस्यान नहुने लगायतका कारणले खोप खेर जाने उनको भनाई छ ।
कुनै पनि खोप अभियानसहित नियमित खोप लगाउने बेलामा पनि स्वास्थ्यकर्मीहरूलाई खोप खेर जाने दरमा न्यूनीकरण गर्न भन्ने गरेको र विगतको तुलनामा क्रमशः कम हुँदै गएको शर्माले बताए । खोप बढी भएको स्थानबाट खोप नपुगेका ठाउँमा समयमै खोप दिने अभ्यास गर्दा मात्रै पनि खेर जाने दरमा कमी आउन सक्ने दाबी गर्दै उनले जिल्ला जति ठुलो हुँदै गयो उति नै खेर जाने दर बढ्ने पनि जानकारी दिए ।
‘बिसीजीको एक भाइलमा २० जनालाई लगाउने खोप हुन्छ । खोप लगाउने बेलामा कोही एक जना मात्रै आउनुभयो भने उहाँलाई लगाइदिनुपर्छ । एक जनाको लागि २० जना क्षमताको भाइल खोल्दा बाँकी १९ डोज खेर जान्छ’, कार्यालय प्रमुख शर्मा भन्छन्, ‘स्थानीय तहसँग खोप भण्डारण गर्ने प्रविधि नभएको र बचेको खोप चिस्यान सहित हामीलाई फिर्ता दिनुहोस् भन्दा पनि नदिएका कारण नै खोप खेर जाने अवस्था आउँछ ।’
विगतमा विभिन्न प्रकारका खोपहरू नेपाललाई दाताहरूले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएकोले खोप खेर गए पनि नेपाललाई प्रत्यक्ष घाटा नभए पनि अब भने खोप खेर जाँदा घाटा पनि बढ्दै जान थालेको उनले बताए । लामो समयदेखि निःशुल्क खोप दिएको र अब नेपालले बिस्तारै आफ्नो लगाउनुपर्ने राय सहित दाताहरूले नेपाल लगानी बढाउँदै लगेकाले खोप खरिदमा नेपालको सङ्घीय सरकारले लगानी बढाइरहेको शर्माको भनाइ छ । ‘डब्लू.एच.ओ’, ‘गाभी’, ‘वाटरएइड’ लगायतका संगठनहरुले खोप उपलब्ध गराउँदै आएकोमा उनीहरूको लगानी क्रमशः घट्दै गएको छ । नेपालको लगानी बढ्दै जाँदा खोप खेर जाने दर कम नहुने हो भने नेपाललाई आर्थिक मार पर्ने भएकाले स्वास्थ्यकर्मीहरू र उपभोक्ता सबैले वास्तविक मर्म बुझिदिनुपर्ने कार्यालय प्रमुख शर्माले बताए ।





