नेपालमा हरेक वर्ष असारदेखि असोज महिनासम्म अधिक वर्षा हुन्छ । वर्षासंगै कहि हर्ष कहि संघर्षका गतिविधि उत्पन्न भएका हुन्छन् । यस वर्ष पनि मनसुन भित्रिएलगत्तै यस्ता विषयले प्रश्रय पाएका छन् । समयमै मनसुनले प्रवेश पाए पनि देशका सबै भुभागमा ढिलो गरि फैलिएको मनसुनी प्रणालीले सर्वत्र अस्तित्व जमाएको छ । वर्षाकालीन प्राणी जगतको भरणपोषण र मानो रोपेर मुरि उब्जाउने कृषकलाई हर्षित तुल्याउनु स्वभाविक भएता पनि नेपालको भौगोलिक अवस्थिती र अनियन्त्रित विकास निर्माणका कार्यले धेरैलाई पिरोलिरहेको छ । सर्वसाधारणहरु विपतजन्य अवस्थाबाट त्रसित छन् । मौसम पुर्वानुमान महाशाखाले विगतका वर्षभन्दा अधिक वर्षा हुने पुर्वानुमान सार्वजनिक गरिरहेको छ । छाना र मानाको दैनिक आवश्यकता पूरा गर्न १८ घण्टा खट्नु पर्ने मानिसहरुलाई यो सूचनाले ‘रातको निद न दिनको भोक’ बनाएको छ ।
हर्ष र विस्मात विपरीतार्थक शब्द हुन् । हर्ष भन्नाले खुशी, प्रसन्नता र पुलकित अवस्थालाई बुझिन्छ भने विस्मातले दुख, वा वेदनाको स्थितिलाई बोध गराउँछ । यस धर्तीमा जन्मिएका सबै प्राणीहरुले सुन्दर आगतको परिकल्पना गर्छन् । जसका लागि संघर्ष गर्नु पर्छ । मानिस ती प्राणीहरुमा अग्राधिकार प्रयोग गर्ने जाति हो । मानिसले आफ्नो सुख, शान्ति र समृद्धिका लागि दिनहुँ संघर्ष गरिरहेको हुन्छ । जसबाट फल प्राप्तिको आशा राख्दछ । संघर्षशिल मान्छेको उद्देश्य सबै पुर्ण नहोलान्, परन्तु उस्को संघर्ष निष्फल भने कदापि हुँदैन । यहि विषयवस्तुले सार्थकता पाउने कार्यहरु अहिले यत्रतत्र सर्वत्र देख्न सकिन्छन् ।
अहिले उल्लेख्य मात्रामा पानी परेर प्राणी जगत हर्षमा छन् । कृषकहरु हर्षोल्लासका साथ रोपाइमा जुटेका छन् । रातदिनको संघर्षले वर्ष दिनलाई अन्न उत्पादन गरेर ढुक्क हुने कृषकहरु प्रसन्न छन् । तर विशेष कामले गन्तव्यमा पुग्नुपर्ने मानिसहरुलाई अहोरात्र संघर्ष मात्रै गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । नेपालको परिप्रेक्षमा विकास निर्माणका कामले उत्कर्ष बिन्दु पार गरिरहँदा नेपालीहरुले हर्षभन्दा धेरै संघर्ष गर्नुपर्ने भएको छ । वर्षाकालीन समय भएकाले कृषकहरू खेती किसानीमा व्यस्त छन् । मौसमी वर्षाले पृथ्वीमा अधिकार जमाइरहदा धर्तीलाई आश्रयस्थल बनाएर आफ्नो गुजारा चलाउने प्राणीहरुको सर्वाभ्युदय भएको छ । तसर्थ सबै प्राणीहरु मस्त देखिन्छन् । प्राणीहरु यस्तै विषयमा रमाइरहँदा हाम्रो देशमा पनि हर्ष र संघर्षका यावत विषयले बाहुल्यता जमाउँछन् । जसमा विपतजन्य समस्या पनि एक हो । तसर्थ बाटोमा यात्रा गर्ने यात्रीदेखि खेती किसानीमा समर्पित हुने कृषकहरुका छुट्टाछुट्टै संघर्षका स्वरुपहरु देख्न सकिन्छ । गन्तव्यमा पुग्ने मानिसहरुले व्यहोर्ने सास्ती र दुख कष्टको अनुमान गर्नै नसकिने अवस्था छ । छिनभरमै हिलाम्मे सडकमा सवारीसंगै डुबुल्की मारेका चालक र यात्रीहरुले छिनभरमै चिल्लाचौडा सडक भेटाउँछन् । दुइपाङ्ग्रे सवारी साधनमा ह्रर्न बजाउँदै दगुर्नेलाई अहिलेको समयले थप पिरोलिरहेको छ ।
बाढी पहिरोको जोखिम भएका स्थानहरु नेपालमा प्रशस्त छन् । बाढी, पहिरो, भूक्षय र कमजोर भु–बनावट भएका स्थानका मानिसहरुले कसैको साथ नपाउने निश्चित छ । स्थानीय सरकारमा नातावाद कृपावादको बोलवाला चलिरहदा गरिबीको रेखामुनि रहेका जनता भयभीत भएका छन् । २०७२ सालको भुकम्पले जरैदेखि झक्झकाएको जमिन कतिखेर कहाँ भासिन्छ, बग्छ र सबै बस्ती बगाउँछ पत्तो छैन । त्यसमाथि अनियन्त्रित बाटो घाटोको निर्माणले गाउँघर क्षतविक्षत छ । पहिले पहिले जतिसुकै झरी परे पनि जमिनले वर्षाको दबाबलाई सहन सक्थ्यो । तर अहिले सडक संजालले जोडिएका भुभागहरुमा पानीले सडकलाई बग्ने माध्यम बनाउदा यस्तो समस्या उत्पन्न भएको हो ।
राजधानी काठमाण्डौका गल्लिगल्ली हिलाम्मे, धुलाम्मे र जलमग्न हुँदा पैदलयात्री र सवारी आवगमनलाई नै असहज बन्ने गरेको छ । तराईका धेरै जसो भुभाग डुबानमा परेका छन् । पहाडी क्षेत्रमा खहरे खोलाहरुले घर, खेत, गाइवस्तुदेखि मानवीय अस्तित्व नै संकटमा पार्ने गरेका छन् । हिमाली क्षेत्रमा हिम पहिरोको जोखिम छ, त पहाड र तराईमा छिनभरमै हिलाम्मे सडक छिनभरमै सुख्खा बन्दा धुलोले पनि उत्तिकै समस्या पार्ने गरेको छ । शहरी क्षेत्रमा भल बाढीले व्यापार व्यवसाय चौपट हुने गरेको छ । जलवायु परिवर्तनका कारण अतिवृष्टी, अनावृष्टी, अल्पवृष्टी र खण्ड वृष्टि जस्ता समस्याले विश्व ब्रह्माण्ड आक्रान्त बनेको छ । त्यसको प्रभाव प्रत्यक्ष रूपमा नेपालमा पनि परिरहेको छ । जसबाट गर्मी याममा प्रचण्ड गर्मीले जनजीवन अस्तव्यस्त भइरहेको छ । जाडो मौसममा अति जाडो र बर्खामा अति वर्षा हुने भएकाले नेपाली जनता अत्यधिक संघर्षका बिच जीवन ज्यूँन बाध्य छन् ।
नेपालमा संघियता कार्यान्वयन भएपछि गाउँ गाउँमा सरकार पुग्ने छ । जनताको सरकार बन्नेछ । सिंह दरबारले दुखी, गरिब जनताको आँसु पुछ्ने छ । भन्ने नाराहरु वर्षौंदेखि घन्किए । जनता पुलकित बने । आखिर सरकार नै हाम्रो स्वीकार्यमा बन्छ भने हामीले किन योगदान नगर्ने? भनेर विभिन्न आन्दोलनमा सरिक भए । कसैका टाउका फुटे, कसैका हातखुट्टा भाँचिए, कोही जीवन भर अपाङ्ग बने । कति आमाबाबुका कोख रित्तिए, कति नारिका सिन्दुर पुछियो त कति बालबालिका टुहुरा बने । यी सबै सबैको जड भनौं या उद्देश्य भनेको सङ्घियता प्राप्ती थियो । संविधान सभाबाट देशको मुल कानुन निर्माण र कार्यान्वयन गर्नु थियो । अन्ततः २०७२ साल असोज ३ गते संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भयो । देशबासी जनता प्रफुल्लित भए । राजतन्त्रको अन्त्य सङ्गै जनताको शासन आयो । जनताका छोराछोरीले देशको बाग्डोर सम्हाले तर विडम्बना जनताको चासो, गुनासो र दुख ज्यूँकात्यु भए ।
लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले करिब डेढ दशकको उमेर काटिरहँदा जनताको आशा रत्तिभर सम्बोधन भएको छैन । गाउँमा सिहदरबार आउँछ भनेको त गाडीमा होइन रहेछ, जहाजमा रहेछ । वार्षिक ६ महिना धुलो छोचोलेर चल्ने गाडीलाई के सुविधा भन्नू, बर्खामा सिटामोल नपाएपछि, उल्टै स्थानीय सरकारले विपद् व्यवस्थापन गर्नकै लागि कर थपेपछी, जनता जनता नै रहे सरकार सरकार नै आखिर जसको सरकार आए पनि जनताको दुख र संघर्ष जहाँको तहिं भयो ।

लेखक
नेपालमा पहिले सरकार आउँछ । मनग्य कर उठाउछ । साथसाथै बाढी आउँछ । घरखेत, पाखो बारी सबै बगाउछ । ६ महिना भोकै बसेपछि ढिलो गरेर सरकार आउँछ । एक दुई चिम्टी राहत दिन्छ । आखिर जनताको दुख जस्ताको तस्तै उनै पैसामा राज गर्नेहरुले उनिहरुकै घाउमा मलम लगाउन असमर्थ हुन्छन् । शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी लगायतका आधारभुत आवश्यकता पूरा गर्न नसक्ने अवस्था मै सरकार रुमलिएको छ । आफ्नो पद, प्रतिष्ठा र सर्वाभ्युदयको बाटो पर्खिएका नेता, कर्ताहरुले जनचाहनालाई रत्तिभर सम्झिएका छैनन् । जुनसुकै कामको जसापवादको विग्रहमा रुमलिएका छन् । राजनैतिक अस्थिरता र भ्रष्टाचारका अनेक स्वरुपहरुले संघ, प्रदेश र स्थानीय तहहरु विकृत बन्दै गएका छन् । समाजमा न्यायले स्थान पाउन छोडी सक्या छ । विकासका योजनाहरु जाद्रा बन्दा सर्वसाधारणको बिचल्ली भएको छ । नेताका आसेपासे र पहुँच हुनेहरुको स्वार्थ पुर्तिका लागि खनिएका बाटोघाटो र भौतिक संरचनाहरुले निम्न वर्गीय जनता पिडामा परेका छन् । हिउँदमा धुलाम्मे सडकभित्रको धुलोलाई जित्न जीवनमरणको बाी लगाउनु पर्छ । बर्खा सुरु भए लगत्तै बाढी, पहिरोको समस्या देशै भरी उत्पन्न हुन्छन् । हिलाम्मे सडकमा घण्टौको यात्रा, महङ्गो भाडादर, मर्ने बाच्ने ठेगान छैन । दैनिक आवश्यकता पूरा गर्नै प¥यो सर्वसाधारणलाई कहिल्यै सुख र शान्ति भएन । स्थल मार्ग भएर हिड्ने जनता पुर्वका हुन् या पश्चिमका सबैको दुखेसो यहि छ । उच्च राजनैतिक संयन्त्रमा रहेका नेताहरुले यो अनुभव कहिल्यै लिएनन् । ‘आफू नमरी स्वर्ग देखिदैन’ भन्या झैं उनीहरुले जनताको दुख कसरी देखुन् । पुछारमा पिर्लिपिर्ली रातो बत्ति बालेर हेलिकप्टरमा हिड्ने नेताको अनुभव सर्वसाधारणले के कति महशुस गर्लान् ? हिंड्दा हिंड्दैको बाटोमा पहिरो खसेर जनताले कैयौं ठाउँमा संघर्ष गर्नु पर्छ । गर्भवती महिला, बालक, वृद्ध, अपाङ्ग कति उपचार नपाएर मर्छन् । त कति भोकमरीले मर्छन् । बाह्रै महिना यातायात नपुग्ने स्थानमा रहेका जनताले कर तिर्नै संघर्ष गर्नु पर्छ । हातमुख जोर्न दस नङ्ग्रा खियाउनुपर्ने नागरिकले नुनको जोहो गर्न असमर्थ छन् । के नेपाली जनताले नुनदेखि सुनसम्मका लागि संघर्षै संघर्ष गर्नुपर्ने ?
गाउँघरमा बाटोघाटो पुग्यो भनेर खुशी भएका मानिस त्यही बाटोको धुलो, हिलो र पानीले दुखी छन् । ‘छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी’ भन्या झैं ओभानो बाटोमा विभिन्न प्रकारका गाडीहरु हिंड्छन् । तर बर्खामा गाडीको कुरै छोडौं पैदल यात्रीले समेत बाटो नपाउँदा गाउँको दूध, तरकारी लगायतका अत्यावश्यक वास्तुले बजार पाउदैनन् । बिरामिले उपचार समेत नपाएपछि सुविधाको कुरै नगरौं । अत्याधुनिक शैली र मापदण्डलाई अङ्गालेर अरबौको लागतमा बनेका सडकमा यात्रा गर्दा हर्षित भएका जनता क्षणभरमै निराश हुनुपर्ने बाध्यता छ । कतै चिल्लाचौडा सडकमै यात्रा गर्दा पनि कहिँ सडक नै भाँसिने त कहिं चालकको असावधानीले सर्वसाधारण जनता पीडामा छन् ।
दिनभरी मेलापात गरेर खानेको दुख एक ठाउँमा छदै थियो । तर आजभोलि रोजगारी, अस्पताल, विद्यालय र अन्य कामले घरबाहिर गएका परिवारका सदस्य नफिरेसम्म निदाउन नसक्ने परिवार धेरै छन् । जहाँ कहि विपत्ति, हर्षभन्दा संघर्ष धेरै छन् । बाटो बने, पुल बने, विद्यालय लगायत धेरै पुर्वाधार बने तर यी सबै सबैको दिर्घ जीवन र स्थायित्व कहिल्यै बनेनन् । जसरी मानिसले आफ्नो स्वत्व जोगाउन लडिरहेको छ त्यसरी नै यी पुर्वाधार र भौतिक सम्पत्तिहरुले आफ्नो अस्तित्वका लागि जरै गाड्नु पर्ने भएको छ । यसर्थ हाम्रो प्रकृति पनि वर्तमान युगको सापेक्षतामा हर्ष र संघर्षका बिच जीवन चलाईरहेको छ ।
त्यसैले हामी सबै एकजुट भएर विपत जन्य समस्याको सामना गर्नु जरुरी छ । प्राकृतिक सम्पत्तिको संरक्षण गर्नु नै हामी हर्षित हुने आधार खोज्नु हो । हाम्रो संघर्ष विपत्तिसंग जुध्ने मात्र होइन विपत्ति आउनुभन्दा पहिले नै सचेत हुनु पनि हो । यसर्थ हामी र हाम्रा भावी पुस्तालाई यो पर्यावरणीय संरचना हस्तान्तरण गर्न हरेक व्यक्ति व्यक्ती सचेत हुनुपर्छ ।
जनताको ओठमा खुशी भर्न जोखिम न्यूनीकरण गरिनु पर्छ । जलवायुमैत्री भौतिक संरचना निर्माणमा जोड दिइनु पर्छ । गाउँदेखि शहरसम्म निर्माण भएका भौतिक संरचना, विद्युतीय संरचना, विद्यालय, खानेपानी, कृषि लगायत नदी किनारमा रहेका बस्तीहरुमा विपद्को उच्च जोखिम निम्तिन सक्छ । तसर्थ विपद्पुर्व नै संघ, प्रदेश र स्थानीय तहले सम्भावित जोखिमको पहिचान गरी विपदको प्रभाव कम गर्नतर्फ सचेत हुनु आवश्यक छ ।





