मुलुकमा सरकार परिवर्तनको श्रृंखला चलिरहेको छ । झन्डै साढे १८ महिनामा नयाँ सरकारको नेतृत्व परिवर्तन भइरहँदा सिहदरबारमा रमिता देख्न सकिन्छ । उसो त, साढे १८ महिना सरकारमा समावेश र बाहिरिने क्रम चलिरहेको थियो र सा–सानो रमिता देख्न पाइन्थ्यो । तर, २०८१ असार ३१ पछि झन्डै २१ जना नयाँ मन्त्री सिंहदरबार भित्रका विभिन्न मन्त्रालयहरुमा पदासिन भएपपछिको माहोल छुट्टै थियो । प्रधानमन्त्रीले ‘बधाइ ज्ञापन गर्ने स्वरूपमा परिवर्तन गरौं प्रत्यक्ष रूपमा माला–खादालाई प्रयोग नगरी अप्रत्यक्ष डिजिटल माध्यमबाट बधाइ ज्ञापन गरौँ’ भन्ने आह्वानको बावजूद सिहदरबारभित्र छिरेर मन्त्रीहरुलाई बधाइ दिने माला र खादा लगाइदिने अनि फोटो खिचाउने क्रम चलिरहेको छ र चल्दै गर्छ पनि । यो राजधानी काठमाडौंको संस्कार र संस्कृति बनिसकेको छ ।
राजधानी बाहिरका आम नागरिकहरुले यो रमितामा समावेश हुने मौका कम पाइरहेको देखिन्छ । पानी परिरहेको छ । राजमार्गमा कतिखेर बाटो बन्द हुने वा पहिरो जाने हो ? अनुमान गर्न कठीन छ । मौषम विभागले आफ्नो प्रक्षेपणसहित सूचना जारी गरिरहेको भएता पनि ‘आवश्यकबाहेक अन्यको लागि सकेसम्म घरबाहिर ननिस्कनु होला’ भन्ने आग्रह पनि सँगैसँगै आउने भएको हुनाले रमितामा भाग लिन सकिएको छैन । हाल राजधानीवासीलाई नै यो मौकाको सदुपयोग गर्ने अवसर दिऊँ । त्यसमाथि उच्च घरानाका व्यक्तिहरूले अरुभन्दा छिटो र पहिले फोटो खिचाउने अवसर दिन सकेमा विभिन्न आमसञ्चार माध्यममार्फत् हेर्न पाउँदा– देख्न पाउँदा सबैलाइ सन्तुष्ट नै हुन्छ । अझै पनि सिहदरबार शक्तिशाली छ, स्रोत सम्पन्न छ, शक्तिहरु केन्द्रीत छन् ।
त्यसैले सिंहरबार नपुगी काम फत्ते हुँदैन भन्ने मनोविज्ञान यथावत छ । शक्तिकेन्द्रका विचौलियाहरुलाई यो कुरा राम्रैसँग थाहा छ कि– सुरुमा नयाँ मन्त्रीहरुलाई कुराबाट, व्यवहारबाट प्रभावित पार्न सकियो भने कालान्तरमा धेरै आफ्ना अनुकूलका निर्णयहरु गराउन सकिन्छ÷धेरै कामहरु हात पार्न सकिन्छ । शक्तिकेन्द्रका विचौलियाहरुको लागि कुन मन्त्री, कुन राजनीतिक दलका हुन भन्ने सरोकार हुँदैन । यी विचौलियाहरु त जस्तो छ त्यस्तै अनुकूलका कुराहरु गर्न, चाडकी बजाउन माहिर छन् । जुन मन्त्रीको राजनीतिक दल हो, त्यही दलकै खाटी र त्यागी कायकर्ताको रुपमा चित्रित गर्नु र प्रस्तुत गर्ने खुबी पनि उनीहरुसँग हुन्छ नै । यहि माहोल र रमिता कैयन वर्षदेखिन सिंहदरबारमा चलिरहेको छ त्यसैले पनि त्यो शक्ति सिंहदरबारबाट बाहिर आउन कठीन भइरहेको छ । तर, यसपटकको रमिता फरक पो हुन्छ कि ?

लेखक आनन्दराज मुल्मी ।
यसपटक सिंहदरबार परिवर्तनमुखी हुनुपर्ने नैतिक दायित्व नेपालका २ ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेमाथि आएको छ । विगत १५÷२० वर्षदेखि चल्दै आएको परम्परागत शैलीमा परिवर्तन भएको देखाउनैपर्ने भएको छ । यी ठूला दलहरुले आन्तरिक सुधारतर्फ उन्मुखहुँदै गरेको सन्देश त दिनु छ नै, शासकीय सुधारको लागि पनि तत्पर रहेको कुरा काम–कारबाहीबाट देखाउनु नै छ । अहिले आमनागरिकमा देखापरिरहेको निराशालाई अन्त्य गर्दै उत्साहित बनाउनपर्ने जिम्मेवारी आएको छ । काम गर्न सक्ने उमेर समूहका सवैलाई आर्थिक सक्रियताका लाागि उत्प्रेरणा प्रदान गर्न जरुरी भइसकेको छ । अब गलत काम गर्नेहरु, अनैतिक काम गर्नेहरु र जालसाजी काम गर्नेहरु, गैरकानूनी काममा संलग्नहरुलाई कुनै पनि किसिमको राजनीतिक संरक्षण नदिएको र नदिने कुरा स्थापित गर्नुछ । घुसखोरी करचोरी, सार्वजनिक खरिदमा अनैतिक र गैरकानूनी काम गर्नेहरु, भ्रष्टाचारमा लिप्त भएकाहरुलाई कानूनी कारवाहीको घेरामा ल्याउने कुरामा विलम्ब गरिनु हुँदैन । अध्यागमन कार्यालय, भंसार, मालपोत, यातायात, राजश्व, वैदेशिक रोजगारी, पूर्वाधार जस्ता कार्यालहरु साँच्चिकै जनताको लागि काममा दत्तचित भएर सेवा दिन तत्परता देखाइरहेछन् भन्ने स्थापित गर्नु छ ।
सरकारले गर्ने राजनैतिक नियुक्तिहरुमा आमजनताले चित्त बुझाउन सकिरहेका छैनन । नियुक्तिहरूमा, बढुवाहरूमा, सरुवाहरूमा पैसाको चलखेल हुन्छ भन्ने भाष्यलाई गलत सावित गर्नुपर्ने यो सरकारको सबैभन्दा महत्वपूर्ण दायित्व भएको छ । सरकारका निर्णय प्रत्यक्षरुपमा आम जनताको हितमा हुन्छ । राजश्व र स्रोतको भरपुर उपयोग मुलुकको हितमा हुन्छ, फजुल खर्चबाट टाढा रहनेछ भन्ने कुरालाई सावित गर्नुपर्ने भएको छ । नेताहरुको नाममा खोलिएका सयौं संस्थाहरुलाई दिइने सहयोग रकमहरु अब स्थगित गर्ने बेला आएको छ । यस्ता अनुदान र सहयोग रकमबाट आमजनताको स्वास्थ उपचार, सामाजिक सुरक्षा गतिविधिसँग जोडन सकिएमा एउटा ठूलो उपलब्धि हुन जानेछ ।
अब सिंहदरबारमा भइरहने रमितालाई त्यहाबाट अन्यत्र सार्नुपर्ने कुरामा दुईमत छैन । रमिता पनि सधैँ एकैठाउँमा भइरह्यो भने त्यसको आकर्षण पनि घट्दै जानु स्वभाविक हो । अहिलेको २ ठूला राजनीतिक दल सम्मिलित सरकारलाई कुनै बहाना बनाउने छुट छैन । सरकारले राम्रो निर्णय ग¥यो, राष्ट्रहितमा समर्पित भयो, जनताको लागि असल काम थालनी ग¥यो,देखापरेका हरेक प्रकारका विसंगतिमाथि प्रहार ग¥यो, भूइँमान्छेहरू सुरक्षित महशुस गर्न थाले, जनताका गुनासोलाई प्रहरीले आफ्नै ठान्ने क्रम सुरु भयो, लागुपदार्थ वेश्यावृत्ति, मानव बेचविखन, यौन दुराचार जस्ता विसंगति, गुन्डागर्दी, उच्छृंखल गतिविधि, कानून हातमा लिने कार्यहरु रोकिएको महशुस आमजनताले गर्ने वातावरण सिर्जना गर्नुछ । भ्रष्टाचारमा शून्य सहनशीलता, सुशासन प्रदान गर्ने केवल नारा होइन, यथार्थमा देखाउन पर्ने जस्तोसुकै पदमा रहेका व्यक्तिहरुले पनि गलत गतिविधिमा संलग्न हुने भने पनि छानविन रोकिनु हुँदैन । संलग्न छन् भने पनि मुद्दा दायर गर्नबाट छुटकारा नपाउने अवस्था सिर्जना गर्नुछ ।
अहिले आमजनता भ्रष्टाचारका कुरा सुन्दा त्राहिमाम भएका छन् । ठूला पदमा बसेका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण नकरात्मक भइरहेको छ । सबै ठाउँमा स्वच्छ छविका व्यक्ति खोजिएको छ । एउटा निष्ठावान, स्वाभिमान र क्षमतावान व्यक्तिले अवसर पाउनुपर्छ भन्ने मान्यता बढिरहेको छ । यो राजनैतिक क्षेत्रको कुरा पनि हो, सरकारी निकायका कर्मचारीको पनि हो, सुरक्षा निकायका व्यक्तिहरूको पनि हो, नागरिक समाजका व्यक्तिहरुको पनि हो । आम जनताको यस्तै भावना सम्बोधन गर्न सक्नु सरकारको सफलता हो जुन अहिलेको २ ठूला सम्मिलित सरकारले पूरा गर्नुछ, अनिमात्र रमितामा जाने मान्छेहरुले महशुस गर्नेछन् । अब सार्थक काम गरिनुपर्छ । सर्वाङ्गीण विकासको पक्षबारे ध्यान दिनपर्छ, शक्तिकेन्द्रका विचौलियाहरुमा यस कुराको बोध गराउन सकियो भने पनि यो सरकारको सफलता हुनेछ ।
अहिले सरकारको नेतृत्व गर्नुहुने प्रधानमन्त्री केपी ओलीले आग्रह गरे अनुसार फूलमाला वा खादा वा प्रत्यक्ष भेट गरेर होइन, डिजिटल माध्यमबाट बधाइ दिनुहोस, समय बचत गर्नुहोस, गर्नुपर्ने कामबारे सुझाव पठाउनुस् । साथमा बसेको फोटो शेयर गर्नभन्दा यो सरकारले चाल्न थालेको असल राम्रा मननयोग्य कामहरु, निर्णयहरुको लागी साथ दिऊँ । जनताको जीवनस्तरमा परिवर्तन आउने कामका लागी हामी पनि सहभागी जनाऔं । कुनै पनि अवस्थामा यो सरकारलाई असफल र निष्क्रिय बन्ने छुट छैन । सबैले हेक्का राखौं । छुट छैन ।





