सनातन हिन्दु धर्म संस्कृती र परम्परा अनुसार आषाढ शुक्ल पूर्णिमाका दिनलाई गुरु पुर्णिमा मानिन्छ । आफुलाई गायत्री, दीक्षा र वेद मन्त्र सुनाउने वा शिक्षा दीक्षा दिने गुरुप्रति श्रद्धा भाव प्रकट गरि सम्मान गर्ने पुण्य दिनलाई गुरु पूर्णिमा भनिन्छ । शास्त्रमा यो संसार अन्धकारमय छ, अर्थहीन छ, जस्लाई आफ्नो ज्ञानको दिव्य ज्योतिद्वारा गुरुले उज्यालो छर्नुहुन्छ भनिएको छ । ज्ञानको माध्यमबाट अज्ञानताको अन्धकारलाई मेटाउने तत्वलाई गुरु भनिन्छ, र पूर्ण चन्द्र अर्थात् कुनै पनि कर्मको पूर्णताको अवस्थालाई पुर्णिमा भनिन्छ । त्यसैले गुरुप्रती श्रद्धाभाव प्रकट गर्न पुर्णिमाहरुमा उत्तम गुरुपुर्णिमा गुरुशिष्यको सम्बन्ध विस्तार र ज्ञानको ज्योति चम्काएर धर्तीलाई सुशोभित बनाउन यस दिनको अलौकिक महत्व छ । मानव जीवनलाई ज्ञानद्वारा उज्वल बनाउने समस्त गुरुजनहरूप्रति आत्मीयता समर्पित गर्दै गुरु पुजनसहित गुरु दक्षिणा अर्पण गरेर यो पर्व मनाइन्छ ।
गुरूपूर्णिमाका दिनलाई मानव जातिमा भएको अन्धकारको अन्त्य भइ ज्ञान प्राप्त गर्ने कामको पूर्णता भएको दिनका रूपमा मान्ने गरिन्छ । मानव जगतमा गुरुलाई सर्वश्रेष्ठ र पूज्य स्थानमा राखिएको छ । यस विषयको चर्चा विभिन्न पौराणिक ग्रन्थहरुमा पाइन्छ । शास्त्रमा ब्रम्हा, विष्णु, महेश्वरलाई त्रिदेव अर्थात् सृष्टि, पालन र संहारकर्ताका रुपमा लिइएको छ । प्राणी जगतको उत्पत्ति, पालन र संहार भगवानको इच्छा अनुसार हुने भएकाले यिनै तीन देवतालाई सर्वेसर्वा अधिकारका पर्याय मानिन्छ । गुरुलाई यिनै त्रिदेवको रुपमा पुजाआराधना गरिने भएकाले हाम्रा लागि गुरु पुज्य हुनुहुन्छ । उहाँको कृपा दृष्टि र सत् प्रेरणाबाट नै हाम्रो जीवन चलेको छ । तसर्थ देवतारुपी गुरुको यसरी आराधना गर्ने प्रचलन छ ।
गुरु ब्रम्हा गुरु विष्णु गुरुदेवो महेश्वर !
गुरु शाक्षात परव्रह्मातस्मै श्री गुरवे नम !!
अर्थात् यो सृष्टीका रचनाकार, सञ्चालनकर्ता र संहारकर्ता गुरु हुनुहुन्छ, गुरु नै त्यो परमतत्व हुनुहुन्छ । जसबाट यो चराचर जगत सञ्चालित छ त्यस्ता सद्गुरुदेवलाई मेरो सादर प्रणाम छ । यसरी मानवलाई यो सृष्टिको अस्तित्व, सञ्चालन र जीवनको सार्थकताबारे ज्ञान प्रदान गर्ने गुरु नै परब्रम्हको स्वरुपमा हुनुहुन्छ । भनेर वैदिक सनातन धर्ममा आश्रित शास्त्रहरुमा बताइएको छ । त्यसैले हाम्रो उन्नयन र सार्थक जीवनका मार्गदर्शक गुरुलाई पुजा गर्नु प्राणी जगतको कर्तव्य ठहर्छ ।
आफूमा प्राप्त भएका सर्वश्रेष्ठ गुणहरू र सफलताहरूको पछाडिको श्रेय अरुलाई प्रदान गरी मानवीय चरित्रलाई उदारताको पथप्रदर्शक गुरु हुनुहुन्छ । गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसंग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ । चाहे हामी जुनसुकै धर्म या सम्प्रदायको भएपनि ज्ञान र सिप ग्रहण गर्नका लागि गुरु र गुरुतत्वको ठूलो महत्व छ र संसारमा शायद ज्ञान मात्र यस्तो कुरा हो जसलाई जति बाँड्यो उत्ति बढ्दै जान्छ । सनातन हिन्दु र बौद्धधर्मावलम्बीहरुले आजको दिनलाई अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, सही मार्ग प्रदर्शन गर्ने समस्त गुरुप्रति आभार ब्यक्त गर्ने विशेष दिनका रुपमा लिन्छन् । गुरुद्वारा दिइएको ज्ञानले नै हामीले जीवनको प्रारम्भिक विवेक र चेतना प्राप्त गरेका हौं । त्यसैले गुरु पुज्य हुनुहुन्छ ।
आजको दिनले गुरु शिष्य बिचको सम्बन्धलाई प्रगाढ र आत्मिय बनाउन सहयोग पुग्ने विश्वास गरिन्छ । यस पर्वले गुरु र शिष्यका बीचमा माया, प्रेम, आत्मीयता, स्नेह र श्रद्धा भाव जागृत गराएर विद्याका क्षेत्रलाई बृहत्, आदर्श एवं सेवामुलक बनाई अघि बढ्न निर्देशन गर्छ । शिष्यहरुले आफुलाई विद्या दान गर्ने गुरुहरुलाई पुजा सम्मान गरी आचार्य दिवसका रुपमा गुरु पुर्णिमा पर्व मनाउने प्रचलन छ । गुरु पूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न संघ–संस्थाले गुरुमैत्री कार्यक्रम आयोजना गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दछन् ।
व्यास जयन्ती
सौरमास अनुसार उत्तरायण नक्षत्रको अन्तिम अर्थात् सुर्य दक्षिणायनको पूर्णिमा तिथिका दिन ऋषि पराशर र मत्स्यगन्धाका सन्तानका रूपमा व्यासको जन्म भएको थियो । वैदिक सत्य सनातन धर्मका बिजमा उत्पत्ती भएका र विभिन्न कालखण्डमा विविध कारणले यत्रतत्र छरिएर रहेका शास्त्रहरूलाई आफ्नो ध्यान, साधना र तपोवलले एकत्रित र आवश्यकता अनुरुप बाँडफाँड गरि आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषि एवं शिष्यहरुलाई वेदवेदाङ्ग पढाएकाले व्यासलाई सर्वश्रेष्ठ गुरु मानिन्छ । यहि परम्परामा आधारित भएर प्रसिद्ध हिन्दु धर्म शास्त्रका महान ग्रन्थहरु महाभारत, वेद, पुराण, उपनिषद्संगै अन्य धार्मिक र नैतिक चेतनाले भरिएका सिद्धान्तपरक शास्त्रहरुका प्रतिपादक, संकलक र संवर्धन कर्ताका रुपमा उनलाई लिइन्छ । व्यासले पुराण र उपपुराणका माध्यमबाट ‘परोपकार पुण्याय, पापाय परपीडनम’ अर्थात् अरूको उपकार गरे धर्म हुन्छ एवं अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन् । महर्षी वेद व्यासले आफ्नो दिव्य ज्ञानलाई यसरी संग्रहित गरी प्रवाहित नगरेको भए आज मानव जातिले यति धेरै सभ्यताको विकास गर्न अवश्य सम्भव थिएन । जुन गुरु–शिष्य परम्परा वर्तमानसम्म चलिआएको छ । तसर्थ पुर्वीय वाङ्मय एवं धर्मशास्त्रका ज्ञाता सनातन हिन्दु धर्मशास्त्रका अद्वितीय नक्षत्र महर्षी वेदव्यास जीको जन्म दिवसको अवसरमा यो पर्व मनाइन्छ । यस धर्तीमा वेदव्यासका सत् कृपाद्वारा गुरु शिष्यको परम्परा स्थापना भइ जनजनमा ज्ञानको ज्योति फैलिएको विश्वास गरिन्छ ।
शिष्यमा सिर्जनात्मक शक्तिको विकास गर्न अहोरात्र चिन्तन मनन गर्ने, अज्ञान, कुमार्ग, कुविचारको नाश गर्नु, ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने उदार चरित्रले युक्त व्यक्तित्वलाई नै गुरु भनिन्छ । गुरु र शिष्य एक सिक्काका दुई पाटा हुन् । गुरुबिना यो संसार अन्धकारको भुमरीमा पर्दछ । भने शिष्यको अभावमा गुरुत्वभाव विलिन बन्छ । मातृदेवो भवः, पितृदेवो भवः, आचार्यदेवो भवः अर्थात् गुरुदेवो भवः भनेर उद्घोष गरिने यो गुरुरुपी सत् चरित्रको नाम जन्म दिने आमाबाबुको सहोदर नाम हो । जुन नामले हाम्रो जीवनमा सदासर्वदा सत् प्रेरणा प्रदान गर्ने गरेको हुन्छ । जुन प्रेरणा र मार्गदर्शनले आजको दुनियाँ सफल बन्न पुगेको छ । अत्याधुनिक युगको दुनियाँमा आज मानवले खोज, अनुसन्धान र अन्वेषणद्वारा जुन सर्वोच्चता प्राप्त गरेको छ । ती सबै उपलब्धिहरु गुरुको कृपाबाट प्राप्त भएका हुन् । तसर्थ गुरुको महिमा उच्च छ । एक सन्तानको प्रगतिमा आमाबुबाले जसरी सत् संकल्प गरिरहेका हुन्छन् । त्यसरी नै गुरुले पनि आफ्नो शिष्यको सर्वाभ्युदय हेर्ने चाह राख्दछन् । यसर्थ जन्म उपरको शाश्वत देवता गुरु हुन् । हामी सबैले गुरुप्रति सम्मान भावले सेवा गर्नु र श्रद्धा गर्नु अनिवार्य रहन्छ ।
गुरु पुर्णिमा एवं व्यास जयन्तीको यस पावन समयले गुरुशिष्यबिच सुमधुर सम्बन्ध स्थापना भइ आपसी मेलमिलाप, नैतिक चेतना, आदरको भावसंगै आफ्ना मार्गदर्शक शुभचिन्तकप्रती श्रद्धाभाव राख्ने प्रचलनको विकास गराएको पाइन्छ । यहीं गुरु परम्परा समयानुकूल परिमार्जित हुँदै विद्यालय, क्याम्पस, विश्वविद्यालयको माध्यमबाट अनिवार्य शिक्षाको रूपमा विकसित भएको देखिन्छ । शैक्षिक क्षेत्रमा आएको नविनता एवं प्रविधिमैत्री शिक्षाले अकल्पनीय फड्को मारेता पनि पहिले जस्तो गुरु र शिष्य बीचको निष्ठा, शिक्षा र ज्ञान प्रतिको आदर र विश्वास अनि सम्मानको संस्कार भने हराएर गुरु र ज्ञानको समेत आदर कम हुँदै गइरहेको आजको समयमा यस दिनले उक्त संस्कार पुनरागमन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिन्छ । आजकै दिनदेखि भगवान विष्णु चार महिना सम्मका लागि साधनमा लिन हुने समयको सुरुवातीका रूपमा पनि लिइन्छ । जसलाई चर्तुमास भनिन्छ । त्यसैले यस दिनदेखि चार महिनासम्म धर्म, कर्म, पूजन, जप, तप, ध्यान र साधना अर्थात् धार्मिक कार्यका लागि उत्तम समय पनि मानिन्छ ।





