शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीका मन्त्री थापाद्वारा स्याङजा अस्पतालको निरीक्षण, नागरिकको स्वास्थ्य उपचारमा संवेदनशील बन्न निर्देशन

गण्डकीका मन्त्री थापाद्वारा स्याङजा अस्पतालको निरीक्षण, नागरिकको स्वास्थ्य उपचारमा संवेदनशील बन्न निर्देशन

अस्पतालमा बालरोग सम्बन्धि सघन उपचार सेवा पीआइसियु र एनआइसियुको सेवा सुरु


  • ढोरपाटन संवाददाता
  • साउन ६ २०८१, आइतबार

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले स्याङजा जिल्ला अस्पतालको आइतबार निरीक्षण गरेका छन् । अस्पतालले आयोजना गरेको बालरोग सम्बन्धि सघन उपचार सेवा पीआइसियु र एनआइसियुको सेवा शुभारम्भ गर्दै उनले निरीक्षण गरेका हुन् ।

मन्त्री थापाले अस्पतालको सेवामा विस्तार भएको जानकारी पाउँदा खुशी लागेको बताए । ‘हिजो भन्दा आज स्याङजा अस्पतालले प्रवाह गर्दै आइरहेको सेवामा विस्तार भएको रहेछ, खुशी लाग्यो । नागरिकको स्वास्थ्य उपचारमा अस्पतालको काम प्रशंसनिय छ । यसलाई अझै प्रभावकारी र विश्वसिनय बनाउँदै लैजानुहोला’, उनले भने । अस्पतालमा शुभारम्भ गरिएको पीआइसियु र एनआइसियु जस्तो सेवाले बालबालिकाको उपचारमा सहयोग मिल्ने विश्वास उनको छ । मन्त्री थापाले स्याङजा अस्पतालको विभिन्न विषयलाई प्रभावकारी रुपमा संचालन गर्न ३ करोड ८ लाख २६ हजार रुपैयाँ बजेट प्रदेश सरकारले विनियोजन गरेको जानकारी गराए । सिमित स्रोतसाधनका बीच पनि प्रदेश सरकारले स्याङजा अस्पतालको स्तरोन्नतिमा कुनै कसर बाँकी नराखेको भनाई उनको छ ।

मन्त्री थापाले अस्पतालमा देखिएको जनशक्ति अभावको विषयलाई प्राथमिकतामा राखेर काम गर्न स्वास्थ्य सचिवलाई निर्देशन समेत दिएका छन् । ‘स्याङजा अस्पतालमा देखिएको समस्यालाई समाधान गर्न सचिवज्यूलाई मेरो आग्रह छ । आवश्यक जनशक्तिको उपलब्धतामा जोड गर्नुहोला । नागरिकको स्वास्थ्य उपचारमा कुनै समस्या सिर्जना नहोस्’, उनले भने ।

पूर्वमन्त्री सीता सुन्दासले स्वास्थ्यको क्षेत्रमा सबै संवेदनशील हुन आवश्यक रहेको उल्लेख गरिन् । स्याङजा जिल्लामा देखिएको स्वास्थ्य समस्यालाई सुधार गर्न सबै एक हुनुपर्ने भनाई उनको छ । गण्डकी प्रदेशका सांसद सुधिरकुमार पौडेलले स्याङजा अस्पताल पुग्ने सडक संजालको विकासमा समेत ध्यान दिनुपर्ने आवश्यकतालाई औंल्याए । उनले अस्पतालमा काम गर्ने कर्मचारीदेखि चिकित्सकसम्मका परिवारले सरकारी अस्पतालबाट नै उपचार गर्नुपर्ने र अस्पतालप्रतिको विश्वास बढाउनुपर्ने बताए ।

सांसद महेश भट्टराईले स्याङजा जिल्लाको स्वास्थ्य र शिक्षामा सुधार ल्याउनुपर्ने आवश्यकतालाई औंल्याए । स्वास्थ्य मन्त्रालयको सचिव विनोदविन्दु शर्माले गण्डकी प्रदेशको दश वर्ष अगाडिको स्वास्थ्य अवस्था र अहिलेको स्वास्थ्य अवस्थामा आमुल परिवर्तन आएको उल्लेख गरे । स्याङजा जिल्ला अस्पतालमा देखिएको जनशक्ति अभावलाई पूर्ति गर्न आफु र मन्त्रालय लागिपर्ने उनले बताए । अस्पतालका मेसु सुशिलकुमार मरासिनीले अस्पतालबाट ५६ शैयाको सेवा प्रवाह गरिरहेको जानकारी गराए । अस्पतालको ८४ जना कर्मचारी कार्यरत रहेकोमा १३ जना मात्रै स्थायी दरबन्दी कर्मचारी रहेको उल्लेख गरे । अस्पतालको भौतिक संरचना जीर्ण रहेको र यसको सुधारमा चाँसो दिन प्रदेश सरकारलाई उनको आग्रह छ । कार्यक्रममा स्याङजा जिल्लाकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपाली, बालरोग विशेषज्ञ डा. विनोद गैरे लगायतले बोलेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->