पोखरा/पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कक्षा १२ मा अध्ययनरत छात्र रविन अधिकारी र छात्रा निहारिका लम्सालले नवआगन्तुक विद्यार्थीहरूलाई शब्दगुच्छाद्वारा स्वागत गरे । वरिष्ठ गायक रामभक्त जोजिजूको निर्देशनमा एसओएसका विद्यार्थीहरूले वाद्यवादनसहित राष्ट्रिय गान प्रस्तुत गरे ।
विद्यालयका १०+२ संयोजक खगेन्द्रराज बरालले मन्तव्यसहित कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरे । नवआगन्तुक विद्यार्थीहरूलाई अभिमुखीकरण दिँदै संयोजक बरालले आफ्नो भविष्यका सपना साकार पार्ने उद्देश्य लिएर एसओएस गण्डकीमा प्रवेश गरेका विद्यार्थीहरूलाई योजना साकार पार्ने अभियानमा समर्पित भएर अगाडि बढ्न सुझाव दिए ।
नवआगन्तुक विद्यार्थीहरूलाई प्रमुख अतिथि धनराज आचार्य, एसओएस गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले अबिर र खादा लगाएर स्वागत गरेका थिए । विशेष अतिथिको आसनबाट बोल्दै एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्यले एसओएस गण्डकीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूको अबको दुई वर्षे शैक्षिक यात्रा उपलब्धिपूर्ण बनोस् भनी कामना गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरे ।
समारोहमा नवआगन्तुक विद्यार्थीहरूका तर्फबाट स्वागत स्वीकार मन्तव्य राख्दै कक्षा ११ का सचेत सुवेदीले अध्ययन–अध्यापनका क्षेत्रमा एसओएस पोखराकै सर्वाेत्कृष्ट शैक्षिक गन्तव्य रहेकामा आफू विश्वस्त रहेको बताए । उनी एसओएस गण्डकीबाटै ४ जिपिए हासिल गर्ने विद्यार्थीसमेत हुन् ।
त्यस्तै छात्राहरूका तर्फबाट स्मृति लम्सालले स्वागत स्वीकार मन्तव्य राख्दै एसइई दिएर बसेपछि तीन महिनासम्म उच्च शिक्षाका बारेमा जिज्ञासा राख्दा सबैले एसओएस गण्डकीको नाम सिफारिस गरेको र आफ्ना सपनाहरू सुनिश्चित गर्ने शिक्षणसंस्थाका रूपमा आफूले एसओएस गण्डकीलाई नै छनोट गरेर बताइन् । उनी पोखराकै डिजिल्यान्ड एकेडेमीबाट ४ जिपिए हासिल गर्ने विद्यार्थी हुन् ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अनाथ र असहाय बालबालिकाहरूलाई संरक्षण र शिक्षादीक्षा प्रदान गर्दै एसओएस गण्डकीले शैक्षिक क्षेत्रमा पु¥याइरहेको योगदानको सह्राना गरे ।
समारोहमा पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँ, पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य मन्दिरा परियार, एसओएस युवालय गण्डकीका प्रमुख बाबुराम बराल, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन एसओएस गण्डकीका एकाइ अध्यक्ष मिलन खत्री, एसओएस गण्डकीका सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेल, एसओएस बालग्राम गण्डकीकी आमा प्रतिनिधि पार्वती पाण्डेलगायतका अन्य विशिष्ट व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो ।
कक्षा १२ मा अध्ययनरत छात्रा अपी कुँवर र प्राश्ना पौडेलद्वारा सञ्चालित उक्त कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरूको स्वागतमा विभिन्न सांस्कृतिक प्रदर्शनीसमेत प्रस्तुत गरिएको थियो ।
विज्ञान सङ्कायअन्तर्गत जीवविज्ञान र कम्प्युटर समूहकोअध्ययन–अध्यापन हुने एसओएस गण्डकीको कक्षा ११ मा हाल भुक्तानी र छात्रवृत्ति कोटामा गरी १ सय ४० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा सम्पन्न कार्यक्रमको सभापतित्व विद्यालयका प्राचार्य चूडामणि सुवेदीले गरेका थिए ।





