मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

विपद् व्यवस्थापनमा सहकार्य र समन्वय आवश्यक

विपद् व्यवस्थापनमा सहकार्य र समन्वय आवश्यक


  • माधव चापागाईं
  • साउन १४ २०८१, सोमबार

अकल्पनीय रूपमा ठुलो हानि नोक्सानी पुरÞ्याउने घटनालाई विपद् भनेर बुझिन्छ । विपद्ले कहिलेकाहीँ ठुलो जनधनको क्षति पुरÞ्याउँछ । नेपालमा पनि विपद्ले विभिन्न कालखण्डमा समस्या दिने गरेको पाइन्छ । विपद प्राकृतिक र मानव सिर्जित गरेर दुई प्रकारका हुन्छन् । अहिले प्राकृतिकभन्दा अधिक मानव सिर्जित विपद्का घटनाले मानव जीवन त्रसित र आतंकित छ । विपद्ले पृथ्वीमा विनाशको भोक जगाउँछ । जसका कारण मानव जीवन आतंकित हुन्छ । साथै, अप्ठ्यारो र भयभित अवस्था सिर्जना भई धनजनको क्षति हुन्छ । जस्लाई विपद्को संज्ञा दिइन्छ । विपद्ले मानव अस्तित्व नै संकटमा पार्ने हुँदा विपद् व्यवस्थापनमा हामी सबै एकजुट हुन आवश्यक हुन्छ । यस्तो संकट आकस्मिक र अप्रत्याशित रूपमा आउने हुँदा विपद्विरुद्ध सधैँ सर्तक र चनाखो हुनुपर्छ । प्रकृतिका कारणले सिर्जना हुने विपद्लाई प्राकृतिक विपद् भनिन्छ । भने, मानव–सिर्जित विपदका घटनालाई मानवीय विपद् भनिन्छ ।

प्राकृतिक विपत्तिमा जलवायु परिवर्तनका कारण उत्पन्न हुने अतिवृष्टी, अनावृष्टी, अल्पवृष्टी र खण्ड वृष्टिजस्ता समस्याले निम्त्याउने विपत्तिहरु पर्दछन् । बाढी, पहिरो, डुबान, भूक्षय, चट्याङ, भूकम्प, ज्वालामुखी विस्फोट, आँधीवेहरी र मौसमी रोगको प्रकोपलाई मुख्यतः प्राकृतिक विपद् भनिन्छ । मानव सिर्जित विपद्मा आगलागी, डढेलो, युद्ध, कमजोर भौतिक संरचनाको निर्माण, दुर्घटना, अनियन्त्रित विकास निर्माण, वातावरण प्रदुषणजस्ता जोखिम पर्दछन् । देशको भौगोलिक अवस्था र मानवीय क्रियाकलापबाट विपद्को स्तर आँकलन गर्न सकिन्छ ।

नेपालमा वर्षाकालिन समय प्रायः असारदेखि भदौसम्म प्राकृतिक प्रकोपबाट उत्पन्न बाढी, पहिरो, भूक्षय र डुबानको जोखिम हुने गर्दछ । वर्षा याममा अत्यधिक पानी पर्ने भएकाले खोलानाला र नदीमा पानीको मात्रा बढ्न गई पानीको बहाव जमिनभन्दा माथी फैलिन्छ । बाढीका कारण होचा भू–भाग जलमग्न हुन्छन् । त्यसैगरी वर्षाको समयमा ठुलो पानी पर्दा भिरालो ठाउँमा जमिन भाँसिने, बग्ने अवस्था आउँछ । जसका कारण हरेक वर्ष नेपालमा बाढी पहिरोको समस्या आउँछ । जसबाट लाखौँको संख्यामा मानिसहरू प्रभावित हुन्छन् । सुख्खा पहिरोका कारण पनि धेरै मानिसहरू आतंकित बन्ने गरेका छन् । हुरीबतास, खडेरी, आँधीतुफान र चट्याङ आदि प्राकृतिक विपद्का घटनाले मानवीय जीवनचक्रलाई थप प्रभाव पार्ने गरेका छन् ।

नेपालको हकमा ज्वालामुखीले त्यति प्रभाव नपारेपनि भुकम्पिय जोखिमले तुलनात्मक रुपमा ठुलो परिमाणमा जनधनको क्षति पुर्याउँछ । आगलागी र डढेलोबाट घर, गोठ, बस्ती, उद्योगधन्दा कलकारखानामा क्षति पुग्न जान्छ भने डढेलोबाट वनजंगलमा क्षति पुग्ने हुँदा प्राकृतिक सुन्दरताका साथै वन्यजन्तुको विनाश हुन्छ । त्यसकारण आगलागी र डढेलो पनि निकै दुखद् घटना हुन् । कतिपय क्षतिका घटना मानिसका अनियन्त्रित गतिविधिले हुने गर्छन् । जसलाई मानवसिर्जित विपद् मान्न सकिन्छ ।

विपद् बिना जानकारी अप्रत्याशिक रुपमा उत्पन्न हुने भएकाले हामी सधैं चनाखो रहनुपर्छ । नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न विभिन्न नीतिहरु तर्जुमा गरी लागु गरेको छ । विपद् व्यवस्थापन गर्ने संयन्त्र एवं प्राधिकरण नै स्थापना गरी विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्ने कार्य एवं जिम्मेवारी तोकिएको छ । जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय परिषद्को व्यवस्था रहेको र परिषद्ले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न नीतिगत निर्णय, समन्वय र निर्देशन दिने काम गर्दछ । गृह मन्त्रालयदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्म नै विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन समिति गठन भएका छन् । जस्मा आआफ्ना काम, कर्तव्य र अधिकार तोकिएको छ । विपद् व्यवस्थापनका लागि तत् तत् तहसम्म राहत कोष स्थापनाको व्यवस्था गरी दाताहरूले उक्त कोषमा रकम सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।

विपद व्यवस्थापनका लागि विपद् आउनुपुर्व, तात्कालिन अवस्था र पुर्नस्थापनाका लागि तिनै तहका सरकार सचेत हुनुपर्छ । सकेसम्म विपद्का गतिविधि सिर्जना नहुने गरि काम गर्ने, विपद्का संभावित क्षेत्रमा सतर्कता अपनाउन एवं सुरक्षित हुन जनचेतना जगाउने र पुर्नस्थापनाका लागि मापदण्ड बनाउने कार्य महत्वपूर्ण हुन्छ ।

विपद्को समयमा होसियारी र सतर्क रहन, मानवीय क्षति कम गर्न उद्धारको कार्यमा सक्रिय हुन, घाइतेको स्वास्थ्य उपचार गर्न, पीडितलाई सुरक्षित स्थानान्तरण गर्नुका साथै विपतजन्य स्वास्थ्य प्रकोप हुन नदिन हरतरह प्रयत्न गरिनुपर्छ । पीडित जनताले आफू एक्लो भएको महशुस नगरुन् भन्नका लागि सरकार उनीहरुको समसाथमा हुनुपर्छ । सर्वस्व गुमाएका घरवारबिहीन मानिसहरुलाई छाना, माना र नानाको व्यवस्था गरिनुपर्छ । रोगी, वृद्ध, अपाङ्ग, असक्तको उचित संरक्षण गरिनुका साथै विपद्का कारण शिक्षाको पहुँचबाट टाढा रहेका बालबालिकालाई उचित वातावरण प्रदान गर्नुपर्छ भने विपद् जन्य समस्याबाट ग्रसित समुदायका मानिसलाई आयआर्जन र रोजगारीको अवसरसंग जोड्नु पर्ने हुन्छ ।

जोखिमका स्थानहरू पहिचान गरी ती क्षेत्रको लगत संकलन गर्नेदेखि जोखिमपुर्ण स्थानबाट मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने र जोखिम कम गर्न निगरानी बढाउने तथा त्यसक्षेत्रका नागरिकलाई हुन सक्ने संभावित जोखिमको सूचना निरन्तर दिनु सामान्य अवस्थाको व्यवस्थापन हो । यस्ता विपद् जन्य स्थितिको जोखिम न्यूनीकरणका लागि सरकार एक्लैको मुख ताक्नु हाम्रो नादानी हुन्छ । तसर्थ, सर्वप्रथम नागरिकमा जागरण ल्याउनु आवश्यक हुन्छ । स्थानीय सरकारका साथमा नागरिकहरु भएमा विपद व्यवस्थापन गर्न सहज हुन्छ । जस्का लागि नागरिकलाई विपद्जन्य गतिविधि र यसबाट बच्ने उपायबारे सचेत गराउनु पर्छ । विपद्जन्य स्थितिको पुर्वानुमान गरी त्यसको उचित व्यवस्थापन र जोखिम न्यूनीकरण गर्न नागरिकलाई सतर्क र सक्षम बनाउनु पर्छ । विपद्मा हुनसक्ने धनजनको क्षति र मानवीय पिडालाई कम गर्न आपत्कालीन योजना र रणनीतिलाई कार्यान्वयन गर्नु पर्दछ । विपद् आएपछि भन्दा विपद् आउनु पुर्वनै सचेत हुनु जरुरी हुन्छ । तसर्थ अहिलेसम्म भए गरेका विपद् र जोखिमको आधारमा भावी दिनहरुमा उत्पन्न परिस्थितिको आँकलन गरि सतर्कता अपनाउनु नै बुद्धिमानी हुन्छ ।

मानव जीवनमा आइपर्ने हरेक विपद् दुखद् घटना हुन् । हामीले प्राकृतिक विपद्प्रति होसियारी र जनसचेतना फैलाउन सक्यौं भने विपद् नियन्त्रण गर्न सकिन्छ । मानिसको जीवन रक्षाका लागि दुःख, कष्ट र पीडालाई टाढा राख्नु पर्छ । जसका लागि विपद् र जोखिमका क्षेत्रहरूको उचित निगरानी गर्नुपर्दछ । हामी व्यक्ति, परिवार, समुदाय, समाज, नागरिक मञ्च, सामाजिक अभियान्ता, सरकारी तथा गैरसरकारी संघसंस्था, समुदाय स्तरमा गठित आमासमुह, क्लबहरु, रेडक्रस सर्कल र स्वयंसेवकहरूलाई सक्रिय रूपमा परिचालन गर्नुपर्दछ । विपद् व्यवस्थापन र मानवीय सुरक्षामा अहोरात्र खटिने सुरक्षा निकायसंग सहकार्य र समन्वयात्मक तरिकाले उद्धार र जोखिम न्यूनीकरणका कार्य गर्नु÷गराउनुपर्ने हुन्छ ।

प्रथमतः विपद्बाट बच्न पूर्वाधारका संरचना मानवमैत्री बनाउनु पर्दछ । भौतिक संरचनाहरु बलिया, भूकम्पप्रतिरोधि बनाउनु पर्दछ । जलसम्पदाको संरक्षण गर्ने, अनियन्त्रित नदि दोहन रोक्ने, भिरालो जमिनमा खनजोत नगर्ने र पहिरो रोक्ने घाँस तथा बोटबिरुवा लगाउने गर्नु पर्दछ । वातावरण र प्राकृतिक स्रोतसाधनको संरक्षण गर्ने, जथाभावी वनजंगलको फडानी रोग्ने, वृक्षरोपण गर्ने, आगोलागी र डढेलो नियन्त्रण गर्ने, सलाई, लाइटर, ग्यास र अन्य पेट्रोलियम पदार्थ होसियारीपूर्ण प्रयोग गर्ने र यस्ता वस्तुलाई केटाकेटीको पहुँचभन्दा टाढै राख्ने गर्नु पर्दछ । वातावरण संरक्षणमा जोड दिंदै प्राकृतिक चक्रमा अवरोध नगर्नु पनि विपद् व्यवस्थापनमा जोड दिनु हो । त्यसैगरी भौतिक संरचना बाटोघाटो, पुलपुलेसा, घर, मन्दिर, विद्यालय, सार्वजनिक भवनको निर्माणमा प्राविधिक ज्ञान र मापदण्डको पुर्ण पालन गर्नु पर्दछ । जलवायु परिर्वतनबाट हुने विपद् जोखिम कम गर्न मानवीय व्यवहार र आनीबानीमा सुधार गर्नुपर्छ भने प्रकृति प्रेममा जोड दिनाले प्राकृतिक सम्पत्तिको संरक्षण हुन्छ । नदि किनार तथा निकै होचा र बाढी पहिरोको जोखिम हुने स्थानमा बस्ती नबसाउने, विपद् आइलागेको बेला होसियारीपूर्वक पीडितको उद्धार, उपचार र आश्रयस्थलको व्यवस्था गर्ने, सबै सर्वसाधारणमा विपद्का कारण, जोखिम र न्यूनीकरणका उपायबारे जनचेतना फैलाउने, विपदको अवस्थामा उद्धार टोली, एम्बुलेन्स, दमकल जस्ता उपकरणलाई तयारी अवस्थामा राख्ने र आपत्कालीन अवस्थामा प्रयोग गर्नुपर्ने जनशक्तिलाई तदारुकताका साथ अगाडि बढाउन सकियो भने अवस्य पनि विपद् व्यवस्थापन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->