बागलुङ / प्रभु बैंकले बागलुङका तीन पालिकामा एकैदिन ४ वटा शाखा सञ्चालनमा ल्याएको छ । जिल्लाको ढोरपाटन नगरपालिका, निसीखोला र बडीगाड गाउँपालिकामा सोमवार एकैदिन ४ वटा शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा ढोरपाटन नगरपालिका-७ बोवाङ, निसीखोला गाउपालिका-५ निसी, वडिगाड गाउँपालिका-२ खबरबाङ र वडिगाड गाउँपालिका-७ भिमगिठेमा गरी ४ वटा नयाँ शाखाबाट बैंकिङ सेवा सुरु गरेको हो ।
प्रभु बैंकका संस्थापक अध्यक्ष तथा संघिय सांसद देवीप्रकाश भट्टचनले चार वटै शाखाको उद्घाटन रिबन काटेर सोमवार गरेका हुन् ।
सोअ अवसरमा मन्तब्य राख्दै भट्टचनले बैंकको व्यावसायीक सञ्जाल विस्तार गर्न विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताए ।
उनले गाउँ गाउँमा शाखा विस्तारले जनताको बैंकिङ पहुँचमा वृद्धि मात्र नभई समग्र देशको आर्थिक विकासमा समेत सकारात्मक टेवा पुग्ने बताए ।
एकैदिन सञ्चालनमा आएका बोवाङ शाखा, निसी शाखा, भिमगिठे शाखा र खरबाङ शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले आधुिनक बेंकिङ सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बैंकका सिइओ अशोक शेरचनले बताए ।
बैंकले नेपालभर ३१३ वटा शाखा कार्यालयहरु, २८६ वटा एटीएम साथै ६९ वटा एक्सटेन्सन काउन्टरमार्फत् करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको जनाएको छ ।





