मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

लागुऔषध दुर्व्यसन र यसको प्रभाव

लागुऔषध दुर्व्यसन र यसको प्रभाव


  • प्रताप पौडेल
  • साउन १७ २०८१, बिहिबार

लागु औषधको दुरुपयोग तथा अवैध कारोवारले सम्पूर्ण परम्परागत, सामाजिक, राजनीतिक तथा राष्ट्रिय रुपमा नै असर पारेको छ । साथै, विश्वव्यापी रुपमा समस्या र अपराधको असह्य पीडा समेत दिएको छ । लागु औषधको दुरुपयोग र यसका दुरुपयोगकर्ताले स्वयम् व्यक्ति, परिवार, समुदाय र राष्ट्रकै भविष्यमा पनि गहिरो असर पारेको हुन्छ । नेपालका शहरी क्षेत्रमा लागु औषधका कारण कतिपय युवायुवतीहरु पीडित छन् । तिनका अविभावक र इष्टमित्रहरु पनि छट्पटीमा परेका छन् । यसतर्फ सम्पूर्ण समाज, सामाजिक व्यक्ति तथा समूहले चासो राख्नुपर्दछ । परिवार र समाजलाई यसले पारेको असरप्रति राज्य र समुदायले गहिरो चासो दिनुपर्ने समय आएको छ ।

लागु पदार्थको प्रयोगबाट हुने असर वडो भयानक हुन्छ । यसले व्यक्ति स्वयम्, परिवार, समाज, राष्ट्र र अन्तराष्ट्रिय रुपमै खतरा पैदा गर्दछ । यो मादक पदार्थ र सुर्तिजन्य पदार्थभन्दा धेरै गुणा हानिकारक छ । मादक पदार्थ तथा सुर्तिजन्य पदार्थको बिक्री वितरण, सेवनका विरुद्दमा समुदायहरुको सामान्य चासो देखिन्छ । तर, लागु पदार्थ दुव्र्यसनको नियन्त्रण समुदायको प्राथमिकतामा रहेको देखिंदैन ।

नेपाली समाजका विभिन्न समूह, टोल सुधार समिति, मानव अधिकारवादी, समाज सुधारकहरुले गम्भिर रुपमा यसलाई लिनुपर्दछ । अन्यथा, हाम्रा छोराछोरी तथा भाईबहिनीहरु पनि कुलतमा नफस्लान् भन्न सकिंदैन । कतिपय परिवार, टोल सुधारक र समूहहरु लागु औषध बिक्री गर्ने, ओसारपसार गर्ने, त्यसलाई सहयोग गर्ने व्यक्ति तथा समूहहरुको बारेमा जानकारी राख्दैनन् भने यस्तो क्रियाकलाप आफ्नै घर तथा परिवारमा भएको खण्डमा समेत आफनो समस्या भित्रभित्रै लुकाएको पाईन्छ । कारण, लागु औषधको कारोवार वा सेवन गैह् कानूनी हो । यो बाहिर गयो भने सामाजिक रुपमा बेइज्जत हुने र कानूनी कारवाही हुने कुराको जानकारी उनीहरुलाई हुन्छ । लागु औषध सेवनकर्ताले निश्चित सीमा नाघेपश्चात आन्तरिक रुपमा हारगुहार त गर्छन् तर कुनै उपाय नलागेपछि पुर्नस्थापना केन्द्र पुग्दछन् । अहिले नेपालका विभिन्न ठाउँमा पुर्नस्थापना केन्द्र स्थापना गरी उपचार गरिएको भएपनि यो दिर्घकालीन समाधान होइन । उद्योगधन्दा खोलेर युवाहरुलाई रोजगार दिनुपर्नेमा पुर्नस्थापना केन्द्र खोल्नुपरेको छ । यो राज्यको बाध्यता मात्रै होईन, समाजको पिडा पनि हो ।

लागु औषध दुव्र्यसन र यसको असर सिंगो मानव समुदायको पीडक हो । अमेरिकाको गृहयुद्धमा घाइते सैनिकलाई पीडा कम गर्न मफिर्न (लागुऔषध) को व्यापक प्रयोग भयो । तर, यो त अन्य लागु औषधभन्दा १० औँ गुना हानिकारक सावित भयोभने औषधी विज्ञानमै घातक सिद्ध भयो । हेरोइन त्योभन्दा बढि हानिकारक सिद्व भयो भने गाजा चरेश पनि औषधि विज्ञानका हानिकारक लागु औषधहरु हुन् ।

लागु पदार्थको दुव्र्यसनले मानिसको शारीरिक तथा मानसिक दुर्वलता ल्याउनुको साथै मस्तिष्क, मुटु र फोक्सोजस्ता संवेदनशील अंगहरुमा आघात पारी मानवीय स्वास्थमा खराब असर पार्दछन् । ती लागु पदार्थले मानिसलाई आलस्यता ल्याउने, भ्रम सृजना गर्ने र उत्तेजना ल्याउने कार्य गर्दछन् । कानूनी रुपमा लागु औषध एक समाज विरुद्धको गम्भीर अपराध हो । यसको दुरुपयोगबाट लुटपाट, चोरी, डकैती, वेश्यावृत्ति, आत्महत्या, ठगी आदि जस्ता अपराधहरु बढ्दै गएका छन् ।

अभिभावकले बुझ्नैपर्ने कुरा
हिजोआज युवा समुदायमा लागु औषध जीवनसाथी जस्तै बनिरहेको छ । मुलुकका उर्जा युवा शक्तिहीन भई कामबिहिन मात्रै होइन परिवार एवं समाजलाई बोझ बनेका छन् । यस्ता दुव्र्यसनीहरुको संख्या वृद्दि भई डरलाग्दो परिस्थिति सृजना भइरहेको छ । हालै नेपालका प्रहरी हिरासत र कारागारमा ३७ प्रतिशत प्रत्यक्ष लागु औषध सम्बन्धी कसुरका थुनुवाहरु छन् भने लागु औषध सेवन गरी अन्य अपराधमा संलग्न थुनुवा तथा कैदीहरुको संख्या ७८ प्रतिशत छ । यो नेपालजस्तो विकासोन्मूख देश र हाम्रो मध्यम समाजको लागि डरलाग्दो विषय हो । हाम्रो जस्तो मुलुकमा प्रत्यक्ष अपराध र अपराधको कारण बनिरहेको लागु औषध दुव्र्यसनको अवस्थाले राज्यको उर्जाशील जनशक्ति गुमाउनुपरेको पिडा त राज्यलाई छंदैछ दुव्र्यसनमा लाग्ने व्यक्तिको परिवार, उनीहरुले आर्जन गरेको पैसा, इज्जत प्रतिष्ठा र मुल्य मान्यता पनि क्षणभरमै गुमाउनुपर्ने जटिल विषय अहिलेका हरेक परिवारको लागि चुनौती बनिरहेको छ ।

लागु औषध दुव्र्यसनको सुरुवात चुरोट सेवनवाट हुन्छ । चुरोटपछि रक्सी, गाजाहुँदै विभिन्न रसायनयुक्त औषधिहुँदै गम्भिर प्रकृतिका महंगा लागु औषधहरु नियमित सेवन गर्ने बानी बस्दछ र त्यसको प्रभाव मृत्यू वा प्रहरी नियन्त्रण हुँदै कारागारमा गएर टुंगिन्छ । लागु औषध प्रयोगकर्ताले सेवन गरेको कुरा सम्बन्धित अविभावकहरुलाई तबमात्र थाहा जब आफ्नो स्वयम् व्यक्ति कुनै न कुनै जटिल समस्यामा पर्दछ । यसरी जानकारी प्राप्त भएपश्चात अभिभावकको आर्थिक क्षमता रहेको खण्डमा सुधार केन्द्रमा राखेको पाईन्छ । धेरैजसो दुव्र्यनीहरु प्रहरी नियन्त्रणमा पुगेपश्चात मात्रै अविभावकलाई जानकारी रहेको कुरा विभिन्न अनुसन्धानले देखाएका छन् ।

नियन्त्रणको प्रयास
लागु औषधसम्बन्धी जानकारी राख्ने अभिप्रायले लागु औषधको ऐतिहासिक पृष्ठभूमि, यसको क्रमिक विकास, लागु औषधीहरुको नाम, विभिन्न मुलुकले गरेको कानुनी व्यवस्था, वर्तमान अवस्थामा यसको प्रभाव, यसलाई नियन्त्रण गर्न चालिएका विभिन्न मुलुकका प्रयासलाई यस लागु औषधको अपराध र यसको कानुनी पक्ष विषयमा दृष्टि राख्नुपर्ने भएको छ । नेपालमा लागु औषधको दुव्र्यसन साथै यसको अवैध ओसारपसार र त्यसबाट सृजित अन्य अपराधहरु ज्यादै गहन समस्याका विषय बनेका छन् । अन्तर्राष्ट्रिय रुपमै संगठित तस्करहरुले नेपाललाई लागु औषधको पारवहन विन्दु (त्चबलकष्त एयष्लत) बनाउँदै आएका छन् । तथापि अन्तर्राष्ट्रिय तहमा यसलाई रोक्न धेरै पहिलेदेखि नै प्रयास गरिएको देखिन्छ । १९०९ को अफिम कमिशनले लागु औषध नियन्त्रणको पहिलो प्रयास थालनी ग¥यो भने हेग कन्भेन्सन १९१२ ले पनि यस दिशातर्फ सन्धी कानुनको आयाम थप्यो । सन् १९८८ को महासन्धिले मुलतः लागु औषधको अवैध नियन्त्रण कार्यमा पूर्णता ल्याउन नसके तापनि तत्कालीन विश्व समुदायको प्रयास र लागु औषध समस्याको बोध गराएको पाईन्छ ।

लागु औषधको दुरुपयोग र अवैध ओसारपसारसम्बन्धी १९८७ को अन्तर्राष्ट्रिय सम्मेलनमा लागु औषधको मागमा न्यूनिकरण र रोकथाम, वितरणमा नियन्त्रण अवैध ओसारपसारमा रोक दुव्र्यसनसनीहरुको उपचार र पुर्नस्थापनाको लागि केही छलफल चलाइएको थियो । तर, त्यसको कार्यान्वयनको लागि राष्ट्रहरुलाई स्पष्ट दायित्व सुम्पिएको पाइँदैन ।

अपराधी उपर कारवाही चलाउने अन्तर्राष्ट्रिय न्यायीक निकायको व्यवस्था देखिंदैन । अपराधको प्रविधिभन्दा माथि उठेर अनुसन्धान गर्ने प्रहरी संगठन र अन्तर्राष्ट्रियस्तरबाटै मुद्दा चलाउने न्यायीक कार्यको अभावले पनि लागु औषधसम्बन्धी अपराध बढ्दै गएको देखिन्छ । जुन ज्यादै गम्भीर र चुनौतीको विषय हो । अहिले इन्टरपोलले आफनो कार्यको १÷३ भाग लागु औषधसम्बन्धी अपराध अनुसन्धानमा खर्च गर्छ । यसले उल्लेखनीय सफलता हासिल गरेको पाइन्छ भने छुट्टै संगठनलाई सक्रिय गराइएमा अझै बढी सफलता हुने देखिन्छ ।

लागु औषध ओसारपसारका गिरोहले उच्च स्तरिय प्रविधिको प्रयोग गर्दै प्रहरीको नियन्त्रण र अनुसन्धानभन्दा धेरै अघि बढेर यस्ता गिरोह कारोवार र अपराधमा संलग्न भएको देखिन्छ । लागु औषधजस्तो गहन किसिमको मुद्दालाई विशेष अदालत गठन गरी हेर्ने व्यवस्था भएमा छिटोछरितो फैसला हुन सक्ने र यस विषयमा विशेष ज्ञान भएका व्यक्ति न्यायाधीशको पदमा नियुक्त गर्न सकेमा लागु औषध नियन्त्रण गर्न अझ बढी बल पुग्न सक्ने देखिन्छ ।

समाधानको उपाय
लागु औषधजस्ता गम्भीर समस्या समाधान गर्न यसलाई प्रभावकारी रुपमा लागु अनुसन्धान छानविन, परीक्षण, मुद्दा दायरसम्बन्धी विशेष व्यवस्था गर्न आवश्यक देखिन्छ । लागु औषध परीक्षण गर्ने, विशेषज्ञ तयार पार्ने, लागु औषधसम्बन्धी अपराध अनुसन्धान गर्न छुट्टै निकाय व्यवस्थापन गर्ने, वैज्ञानिक प्रयोगशालाको प्रादेशिक स्तरमा विस्तार गर्ने जस्ता तत्काल गर्न सकिने कार्यहरु हुन् । अन्य फौजदारी मुद्दाका प्रतिवादीलाई २५ दिन अनुसन्धानका लागि राखिन्छ भने लागु औषध नियन्त्रणअन्तर्गत रहेका अभियुक्तलाई ९० दिन अनुसन्धानको लागि प्रहरीको नियन्त्रणमा राखिन्छ । यो ढिलो हुनु भनेको सबै लागु औषधको परीक्षण गर्न काठमाडौंको अनुसन्धान प्रयोगशालामा लैजानु पर्ने बाध्यता नै हो । सरकारका तर्फबाट रोजगारीका कार्यक्रम, बाबुआमाले आफ्ना बाबुनानीहरुलाई यथेष्ट समय दिने अभ्यास, समाजमा युवामैत्री वातावरण सृजना गर्ने, उनीहरुलाई समाजिक कार्यमा संलग्न गराउने, टोलटोलमा कला संस्कृति, नृत्य, संगीत, खेलकुदसम्बन्धी कार्यक्रमहरु सञ्चालनमा ल्याउनु पर्ने देखिन्छ । यसरी उनीहरुका रुचीअनुसारका रचनात्मक कार्यक्रम समाज र राज्यले दिनु आवश्यक छ । त्यसको सञ्चालनको जिम्मा पनि युवाहरुलाई नै दिने हो भने हाम्रा सन्तती कि त रोजगार कि त यस्तै रचनात्मक कार्यमा व्यस्त भई कुलतबाट जोगिन सक्छन् ।

बढिभन्दा बढि सचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने, लागु पदार्थ ओसारपसार गर्ने र बिक्री गर्नेलाई थप कडा कानुन बनाई लागु गरिनु पर्ने जिम्मेवारी देखिन्छ । यस्तो व्यवहारिक समस्या समाधानका लागि सरकारले योजनाबद्ध कार्यनीति बनाउने जनतासामु व्यापक रुपमा प्रचारप्रसार हुनुपर्ने, गैरसरकारी संस्थाहरुको कार्यमा सरकारले सहयोग पु¥याउनु पर्ने देखिन्छ । यस विषयमा सर्वसाधारणलाई सचेत गराउनु नितान्त आवश्यक छ ।

नेपालको सन्दर्भमा प्रशासनिक निकायबाट मात्र लागु औषध नियन्त्रण गर्न संभव छैन । लागु औषधको यो समस्या समाधान गर्न प्रहरी प्रशासन, कानुन व्यवसायी, सरकारी वकिल र अदालतको यो प्रयास मात्रै पर्याप्त छैन । अभिभावकको हैसियतमा सम्पूर्ण राज्य नै यसको नियन्त्रयणमा कसरी लाग्नु पर्छ अब त्यो सोच्नुपर्ने बेला आएको छ । साथै, समाजका हरेक अंग लागुऔषध दुव्र्यसन नियन्त्रणमा लागेर यसलाई सक्दो न्यूनिकरणको प्रयासमा नलागे राज्यको जोखिम थप बढ्ने छ ।
(लेखक पौडेल जिप्रका बागलुङमा प्रहरी निरीक्षक पदमा कार्यरत छन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->