पोखरा / काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले भारतमाथि ऐतिहासिक जित हासिल गरेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पाँचौ सेटमा नेपालले १५–१३ ले हराएसँगै नेपालले भारतमाथि ऐतिहासिक जित हासिल गर्न सफल भएको हो ।
पहिलो सेट २५–१८ ले जितेको नेपालले दोस्रो सेटमा १२–२५ को हार व्यहोरेको थियो । तेस्रो सेट पुनः २५–१७ ले आफ्नो पक्षमा पारेको नेपालले चौथो सेट २५–१८ ले गुमाउँदा अन्तिम सेटमा १५–१३ को जित निकाल्न सफल भएको हो ।
सन् २०१९ मा नेपालमै भएको १३औ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको खेलमा नेपाल जित नजिक पुगेर पनि जितबाट वञ्चित बनेको थियो । त्यही बेला नै नेपालले भारतबाट सेटमा जित निकालेको थियो ।
गत वर्ष काभा नेसन्स लिग र एसियन गेम्समा पनि भारतसँग नेपाल निरिह बनेको थियो । जितसँगै नेपालको दुई खेलबाट ५ अंक पुगेको छ । तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्षस्थानमा छ । च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागीता रहेको छ ।





