‘भृकुटी र सीताजस्ती नारीको यो देशमा
यो देशका चेलीहरू लगेर बेच्यो विदेशमा’
यस पुरानो तीज गीतले चेलीबेटी बेचविखनविरुद्ध सचेतना जगाउँछ। चर्चित लोक गायिका हरिदेवी कोइराला स्वरबद्ध यो गीत २०४५ सालमा रेकर्ड गरिएको थियो। जुन गीत हरिदेवीकै तीज एल्बम ‘तीजको कोसेली भाग २’ मा समावेश छ। ७ गीत रहेको यो हरिदेवीको पहिलो तीजको एल्बम पनि हो।
हरिदेवीले हालसम्म ४० बढी तीजका एल्बमहरू निकालिसकेकी छिन्। जसमध्ये थुप्रै तीजका गीतहरू श्रोतामाझ चर्चित भए। विशेषगरी, त्यो बेला तीजका गीतहरूमार्फत चेलीका पीरव्यथा प्रस्तुत गरिन्थ्यो। त्यसबाहेक चेतनामूलक, घटनामूलक, राजनीतिक परिवर्तन, धार्मिक विषयवस्तु तीजका गीतले समेट्ने गायिका कोइरालाको भनाइ छ।
अहिले युट्युबमा धमाधम तीजका गीतहरू सार्वजनिक भइरहेका छन्। तर, त्यो बेला झण्डै एक महिनाअघि मात्रै तीजका गीत निकाल्ने प्रचलन रहेको सम्झिन्छिन् उनी। उनका अनुसार समयसँगै तीजको संस्कृतिदेखि गीतसंगीतमा निकै फरक आएको छ। अहिलेका तीजका गीतहरूले मौलिकता नबोक्ने उनको भनाइ छ। तीजको नाममा मायाप्रेम र रत्यौलीका गीतहरू ल्याएर मौलिकता मास्दै गएको उनको आरोप छ।
चार दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय हरिदेवीले एकहजार बढी गीतमा स्वर दिइसकेकी छिन्। आफ्नै संकलन र लयमा गीत गाउन रुचाउने उनी तीज गीतको पर्यायजस्तै थिइन्। तिनै हरिदेवी कोइरालाले कुराकानीमा पहिलेको तीजको माहौललाई यसरी सम्झिन् :
‘मैले २०४५ सालदेखि तीजको गीत गाउन सुरु गरेकी हुँ। त्यो बेलामा तीजको क्यासेट अहिलेजस्तो असाररसाउनमै आउँदैनथे। भाद्र कृष्ण जन्माष्टमी आसपासतिर क्यासेटहरू बजारमा पुर्याउनुपर्छ भन्ने थियो। बजारमा क्यासेट किन्नेको निकै भिड हुन्थ्यो। त्यो बेला क्यासेटबाट गीत सुन्ने जमाना थियो।
छोटो समयमा मेरा गीतका क्यासेटहरू ४०र५० हजारसम्म बिक्री हुन्थे। तीजमा बेला पनि मैले गाएका गीतहरू खोजीखोजी किनिन्थ्यो। छोटो समयमा पनि तीज गीतका २५र३० हजार क्यासेट बिक्री हुन्थे। सल्ल बल्ल भन्ने ३५ हजारजति गएको थियो। सुरुमा निकालेको एल्बम पनि राम्रो बिक्री भएको थियो। सल्ल बल्लसहित बानी नराम्रो, लाली जोवन कालीले लाने हो लगायतका थुप्रै गीतहरू चलेका थिए।
मैले सधैँ म्युजिक नेपालमा गएर मात्रै गीत रेकर्डिङ गराएँ। धेरैजसो म्युजिक नेपालले नै मेरा गीतमा लगानी गरिदिन्थ्यो। कहिलेकाँही धेरै गाउने इच्छा हुँदा आफैँ पनि लगानी गरिन्थ्यो। त्यही क्यासेट बिक्रीको आधारमा रोयल्टी दिइन्थ्यो। एउटा क्यासेट बिक्रीवापत् २ रूपैयाँ पाइन्थ्यो। धेरै गीतको एकमुष्ठ आउँदा ठ्याक्कै तीजको गीतबाट यति पाएँ भन्ने थाहा भएन।
त्यसबेला चेलीका पीडासहित विभिन्न चेतनामूलक, घटनामूलक, राजनीतिक परिवर्तन, धार्मिक विषयवस्तुलाई तीजका गीतमार्फत प्रस्तुत गरिन्थ्यो। जसले सञ्चारका माध्यमका रूपमा काम गर्थे। चेलीबेटीले तीजका गीत गाएपछि कहाँ, के घटना भएका रहेछ भन्ने थाहा हुन्थ्यो।
जसरी गन्धर्वहरूले गाउँका घटना भन्छन्, त्यसरी नै तीजको गीतलाई पनि एउटा वार्षिक घटनाको दस्तावेजको रूपमा लिइन्थ्यो। तीजको गीत सुनिसकेपछि कहाँ बाढीपहिरो गएको रहेछ, कहाँ पुल बगायो र कहाँ कति मरे थाहा हुन्थ्यो। तीजका गीतबारे समाजबारे थाहा हुन्थ्यो।
जसरी गाईजात्रामा देशका विकृति र राजनीतिक कुराहरू छर्लङ्ग पारिन्छ, तीजमा पनि चेलीले कस्तो अनुभूत गर्छिन्, त्यो भन्न छुट थियो। महिलाले पढ्नुपर्छ, जाग्नुपर्छ र दाइजो दिनुहुन्न जस्ता गीतहरू पनि गाएकी थिएँ। त्योबेला भृकुटी र सीता गाउँदा सेन्सर भएको थियो। यस्तो नगाउनु भन्नुभएको थियो। मेरो देशको छातीभित्र दुखेजस्तो लाग्छ भन्ने किताब ल्याउँदा जफत भएर लगेको थियो। शब्दहरू सेन्सर गर्नुपर्ने थियो।
पहिले पनि तीजको बेला कार्यक्रमहरू हुन्थे। पोखरामा सबैले माया गरेर प्रमुख अतिथिको रूपमा बोलाउनुहुन्थ्यो। भ्याएसम्म कार्यक्रममा पुगेर तीजका गीतहरू पनि गाउन्थे। त्यसलाई मैले सेवाको रूपमा हेरेँ। पैसा चाहिँ लिइनँ। मैले कहिले पनि सांगीतिक क्षेत्रलाई व्यवसाय बनाइनँ। सम्वर्द्धन र संरक्षणको रूपमा लिएँ।
समयअनुसार धेरै कुराहरू परिवर्तन हुन्छन्। तीजमा पनि धेरै परिवर्तन आएको देखेँ। अहिले अगाडिदेखि नै तीजको रौनक आउँछ, गीतहरू पनि चाँडै निस्किन्छन्। तर, तीजको आफ्नै मौलिकपन र आफ्नै महत्त्व हुन्छ। तीजको गीतले बोकेका विषयवस्तु चाहिँ ओझेल पर्दै गइरहेको जस्तो लाग्छ।
अहिले तीज गीत भनेको अघिपछि गाइने मायाप्रीतिका दोहोरी गीतजस्तै भए। त्यस्तै विषयवस्तु राखेर गाउने भन्ने भएको छ। तर, वास्तवमा तीजको मौलिकता र विशेषता त्यो होइन। तीजले विशेष आम महिलाहरूका कुराहरूलाई समेट्छ। र, समाजको चित्रण गर्छ।
खासगरी तीज गीतको प्राकृतिक स्वरूप चाहिँ महिलाले नै महिलाबाट सिर्जित भावलाई प्रस्तुत गर्ने हो। अघिपछि भन्न नपाएका कुराहरू त्यो दिनमा छुट हुन्छ। महिलाको लागि मनको बह पोख्ने पर्व थियो। अहिले त्यो पाटो नभएर तीजका गीतको धार नै बदलिएजस्तो लाग्छ। जुन मौलिक विशेषता र लय छ त्यो हराउँदै गएको छ।
जसरी तिहारमा देउसिरे एउटै लयमा गाइन्छ। मालश्री र कौडाको आफ्नै भाका हुन्छ। त्यसरी नै तीजको पनि निश्चित स्वरूप हुन्छ। यी सांस्कृतिक पक्ष र मर्म बोकेका पर्वहरू हुन्। तसर्थ यसको मौलिक स्वरूप हराउनु दिनुहुन्न। अहिले धार र भाकामा अलि बाहिर गएको छ। विषयवस्तुमा पनि बाहिर गएको छ। यस्ता चिजहरू हामीले जोगाउनुपर्छ।
कलाकारहरूले अहिले स्टेज पनि पाएका छन्। जुन धेरै राम्रो पक्ष हो। किनकि जीवन चलाउन व्यावसायिक पनि हुनुपर्छ। तर, व्यावसायिकताको नाममा सस्तो बनाउनु भएन। लोकप्रियता बनाउँदै जानुपर्यो, अतिरञ्जित चाहिँ बनाउनु हुँदैन। तीजको जुन असली रूप छ, त्यसलाई कायम गर्नुपर्छ। सबै कलाकारहरूले यसको मौलिकतालाई बिर्सनुहुँदैन। जुन बेला जस्तो गीत हो, त्यस्तै गाउनुपर्छ। उन्मुक्त तरिकाले गाउन हामीसँग बाह्रमासे गीतहरू छँदै छन् नि।
अहिले पनि पुराना टुक्रालाई संकलन गरेर गाइरहेकी हुन्छु। भोलिका पुस्तालाई केही पुराना अवस्थाको चित्रण होस् भनेर युट्युबमा राखिरहेकी हुन्छु। यो वर्ष पनि तीनचार तीजका गीतहरू ल्याउँदैछु। र, १३ वटा कृतिहरू निस्किसक्यो। मेरो साहित्यिक र सांगीतिक कर्म सँगसँगै बढेको छ। यसमै रमाउँदै छु।’





