मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

नागपञ्चमीको महत्व, सर्पदंश र उपचार

नागपञ्चमीको महत्व, सर्पदंश र उपचार


  • डा. नरनाथ पाण्डे
  • साउन २५ २०८१, शुक्रबार

सदाझैं यसवर्ष पनि नागपञ्चमी पर्व नेपालीहरूको घरआँगनमा आइसकेकोे छ । हिन्दू धर्ममासर्पलाई समेत भगवानको अंश भनी पुजा गर्ने चलन चलिआएको छ । त्यसो त नेपाली र पूर्वीय समाजमा प्रकृतिको पुजा विभिन्न दृष्टिकोणले गर्ने चलन छ । बोटबिरुवामा पिपल र तुलसीलाई विष्णु भगवानको अवतारको रुपमा पुजा गर्ने चलन छ । ढुङ्गा तथा शालिग्रामको पुजा गर्ने, नदीनालालाई पवित्र तिर्थाटन नै मान्ने, पशुमा गाई र कुकुरको पुजा गर्ने, पन्छीमा कागको पुजा गर्ने, सर्पको पुजा गर्ने जस्ता आदि चालचलनले नेपालीहरू प्रकृतिप्रेमी छन् भन्ने कुरा प्रष्ट हुन्छ । यसको साथै गुरुङ समुदायमा त सबै वर्षको गणना समेत प्रकृतिका पशुपन्छीका नामका आधारमा गर्ने गरिन्छ भने अन्य विभिन्न धर्म सम्प्रदायमा समेत प्रत्यक्ष वा परोक्ष रुपमा प्रकृतिकै पुजा गर्ने चलन चलि आएको छ । पाश्चात्य समाजमा प्रकृतिलाई मानवलाई प्राप्त अथाह स्रोत साधनको खानी भनी व्याख्या गरिन्छ र अधिकांश रुपमा प्रकृतिको दोहन गर्ने गरिन्छ । सर्पकै सम्बन्धमा छोटो कुरा गर्ने हो भने क्रिश्चियनहरूले सर्पलाई सबैभन्दा ठूलो सैतान वा शत्रु ठान्छन् र देखेमा मारिहाल्नुपर्छ भन्ने मान्यता राख्दछन् भने पूर्वीय समाजमा सर्पलाई नाग देवताको रुपमापुजा गर्ने चलन छ । यस आलेखमा हिन्दु धर्म संस्कृति अनुसार नागपञ्चमीमा गरिने नागको पुजाको बारेमा, सर्पको टोकाई र सर्पले टोकेमा गरिने प्राथमिक वा अन्य उपचारका बारेमा चर्चा गरिएको छ ।

नागपञ्चमी र नागको महत्व
नागपञ्चमी पर्व वर्षायाममा सर्पहरू प्रशस्त निस्कने याममा पर्दछ जुन सान्र्दभिक पनि छ । सर्पलाई नाग मानिन्छ भने नागहरू विभिन्न प्रकारका हुने विश्वास छ । ग्रन्थहरूमा नागहरू अनन्तो, वासुकि, पद्य, महापद्य, तक्षक, कुलीर, कर्कट, शङ्ख, चाष्टौ, शेषनाग आदि नागहरूको वर्णन पाइन्छ र यी नागहरू पुजनिय हुन् जसलाई पुजा गर्नुपर्छ भन्ने मान्यता पाइन्छ । खासगरी नागहरू शिवजीका गहनाहरू हुन् भनी अझ बढी महत्वदिने गरिन्छ । नागपञ्चमीका दिन यस्ता सबै नागहरूको विधिपूर्वक पूजाआजा गरी नागको चित्र घरको मुल ढोकामा टाँसेमा असाध्यै शुभ हुने र सर्पको टोकाइ नहुने समेत विश्वास गरिन्छ । हिन्दू धर्ममा यहीं दिनमा नागका मूर्ति र तस्वीरहरूमा पुजाआजा गरे निकै राम्रो हुने विश्वास गरी नागलाई प्रकृतिको एउटा अंशको रुपमा स्वीकार गरी यसको महत्व पुष्टि गरिन्छ ।

सर्पको टोकाइको तथ्याङ्क
नेपालको तराई भेगमा प्रत्येक वर्ष गर्मी तथा वर्षायाममा मात्र करीब ४० हजार जनालाई सर्पले टोकेको पाइन्छ । तीमध्ये करीब ३ हजार बिरामीहरूको मृत्यु हुन्छ । आजकाल सर्पको टोकाइको बारेमा भएको जनचेतना र औषधीको उपलब्धताले गर्दा मृत्युदरमा कमी आएको छ । २० वर्षअघि यस्तो मृत्युदर १८.७ प्रतिशत रहेकोमा हाल ६.६२ प्रतिशत मात्र छ । यदि सर्पदंशको उपचार सर्वसुलभ भयो भने सर्पको टोकाइबाट कोही पनि मर्नु पर्दैन जुन विशिष्ट उपचारबाट निको हुने समस्या हो । विश्वको तथ्याङ्क हेर्ने हो भने वार्षिक करिब ५.४ मिलियन व्यक्तिहरु सर्पको टोकाइबाट पीडित हुन्छन्, तीमध्ये १.८ देखि २.७ मिलियन व्यक्तिहरू सर्पको टोकाइपछि लक्षणहरुबाट पिडित हुन्छन् र तीमध्ये ८० हजार देखि १ लाख ३८ हजारको मृत्यु हुने गर्छ । बाँकी अन्य व्यक्तिहरूको कडा सङ्क्रमण हुने वा हातखुट्टा नै काट्नुपर्ने अवस्था छ । सबैभन्दा सर्पको टोकाइ बङ्गलादेश, नेपाल, भारत, पाकिस्तान र श्रीलंकामा हुने पाइएको छ र तीमध्ये ७० प्रतिशत विश्वको कुल सर्पको टोकाइको तथ्याङ्क हो । नेपालमा सर्पको टोकाइप्रायः ग्रामिण बस्तीका न्यून आर्थिक अवस्था भएका व्यक्तिहरूमा हुने पाइएको छ । सर्पको टोकाइ एउटा अनपेक्षित खालको समस्या हो जसलाई आजसम्म खासै प्राथमिकतामा राखेको पाईंदैन । तर, यो तराई भेगमा निकै ठूलो समस्याको रुपमा रहेको छ र मृत्युदर बढी छ । यसरी लुकेर रहेको यो बिकराल समस्या समाधान गर्न नीति निर्माताहरू लाग्नुपर्ने देखिन्छ ।

सर्पका प्रकारहरू
सर्पहरूको बनावट लगभग उस्तै हुन्छ तर सर्पको रङ्ग, कत्ला, आँखा र टाउकोको आधारमा सर्पहरू विभिन्न प्रकारका हुन्छन् । विषालु र विषरहित सर्प समेत यस्तै विशेषताका आधारमा छुट्याइन्छ । नेपालको तराई भेगमा पाइने मुख्य विषालु सर्पहरू गोमन÷कोब्रा र करेट नै हुन् । यी बाहेक नेपालमा पाइने केही सर्पहरू यस प्रकार छन् ।
१. हरियो सर्प (विषरहित)
२. हरियो पिट भाइपर (विषालु सर्प)
३. रसेल भाइपर (खतरनाक विषालु सर्प)
४. तिब्बतियन पिट भाइपर (विषरहित)
५. हिमालयन पिट भाइपर (विषरहित)
६. पाइथोन (विषरहित तर हानिकारक)
७. करेट (अति विषालु)
८. कोब्रावाकिङ्ग कोब्रा (गोमन सर्प/अति विषालु)
९.क्याट स्नेक (बिराले सर्प/विषालु)
१०.कुक्री सर्प, वोल्फ सर्प, कोरल सर्प, पानी सर्प आदि ।

लेखक

नेपालमा हालसम्म २१ प्रकारका विषालु सर्पहरू पाइएका छन् । विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनसँगै सर्पहरू केवल तराई भेगमा मात्र सिमित नरही पहाडतर्फ समेत विषालु सर्पहरू पाउन थालिएका छन् । अनुसन्धानले देखाएअनुसार विषालु सर्पको विष अझ बढी मात्रामा विषालु बन्दै गइरहेको अवस्था छ । कोब्रा वा किङ्ग कोब्रा सबैभन्दा बढी विषालु हुन्छ र यसले टोकेमा बढी परिमाणमा शरीरभित्र विष पठाइदिन्छ, जसका कारण श्वासप्रश्वासमा समस्याआई बिरामीको मृत्यु हुने गर्छ । यो सर्प तराई भाग र ३ हजार ५ सय मीटर माथिका भागहरूसम्म नेपालमा पाइएको छ ।

विषालु सर्पको विष विरुद्धको औषधी (एन्टी भेनम)
नेपालमा सर्पको विषमा उपचार हुने एन्टी भेनम औषधीभने ४ प्रकारका मात्र प्रयोगमा आएका छन् । यी औषधीहरूको उत्पादन निकै महंगो पर्छ र नेपालमा उत्पादन नै हुँदैन । सर्पको विष, घोंडा र भेंडाको रगतमा दिएपछि त्यहाँ उत्पन्न हुने विष विरुद्धको पदार्थ रगतबाट निकाली प्रशोधन गरेर मात्र उक्त औषधी (एन्टी भेनम) तयार हुन्छ । जुन उत्पादन खर्च सस्तोदेखि निकै महंगो समेत पर्न जान्छ । एउटा भाइलको उत्पादन मूल्यमात्र सर्पको आधारमा फरक फरक पर्न जान्छ । कहिलेकाहीँ कम्तीमा पनि २ हजार २ सय डलर पर्छ भने कुनै एउटा बिरामीलाई बचाउन कम्तीमा पनि ३० हजार डलरको औषधीको आवश्यक पर्न सक्छ । तर नेपालमा हाल यो औषधी सबै सर्पको वीषका लागि लगभग मिल्ने खालको पाइन्छ । जुन निःशुल्क रुपमा वितरण गर्ने गरिन्छ ।

सर्पदंशको उपचार पद्धति
नेपालमा सर्पले टोकेमा परम्परागत उपचार विधिबाट उपचार गर्ने चलन छँदैछ । परम्परागत धामीझाँक्रीले फुकेर, चुसेर, मन्त्रउच्चारण गरेर, विशेष प्रकारको ढुङ्गाको प्रयोग गरेर, बिरामीलाई बढी मात्रामा जाँडरक्सी खुवाएर, पिरो खुर्सानी खुवाएर, टोकेको ठाउँमाथि निकै बढी कसिने गरी बाँधेर, टोकेको भाग वा अङ्ग काटेर जस्ता आदि उपचार पद्धतिबाट उपचार गरिन्छ । जुन अवैज्ञानिक उपचार पद्धतिका कारण पनि नेपालमा सर्पको टोकाइबाट हुने मृत्युदर बढी भएको हो । यस्तो मृत्युदर घटाउन सर्पको टोकाइबाट बच्ने र टोकी हालेमा प्राथमिक उपचार गरी विशिष्ट उपचारका लागि यथाशीघ्र अस्पतालमा जाने रणनिति अपनाउनु पर्छ । जुनसुकै सर्पले टोकेको किन नहोस् बिरामीलाई विषको प्रभाव देखा पर्नासाथ उपचार सुरु गरिहाल्नुपर्छ । नत्र विषको प्रभाव कडा रुपमा देखापरिसकेपछि बाँच्ने सम्भावना कम हुँदै जान्छ र थप विशिष्ट उपचारको (भेन्टिलेटरमा राखेर गरिने) जरुरी पर्छ ।

सर्पले टोकेमा देखापर्ने लक्षण र चिन्हहरू
विषालु सर्पले टोक्दा प्रष्ट रूपमा गहिरा दुईवटा डोबयुक्त घाउ देखापर्छ र घाउबाट रगत बग्छ तर विषरहित सर्पले टोकेमा दुईवटा डोब नदेखिइ अरु धेरैवटा दाँतको डोब देखिन सक्छ । कुनै सर्पको टोकाइको विषको प्रभावले स्नायु प्रणाली र कुनै सर्पको विषले रगत बग्ने, रगत उल्टी गर्ने र मुटु फुटेर मृत्यु पनि हुनसक्छ । गोमन र करेट सर्पले टोकेर त्यसको विषको प्रभाव शरीरमा परिहालेमा स्नायु प्रणालीमा समस्या देखापर्छ । सुरुको समस्या भनेको आँखाको माथिल्लो ढकनी खोल्न नसक्नु हो त्यस अवस्थालाई एतयकष्क (टोसिस) भनिन्छ । अनि डराउने, तर्सने, मुख खोल्न नसक्ने, जिब्रो चलाउन नसक्ने, निल्न नसक्ने, हातखुट्टा र अनुहारमा पक्षाघात हुने, सास फेर्न कठिनाई हुने, शरीर निलो देखिने, मुखबाट ¥याल र फिँज निस्कने, बिरामी छटपटिने, चिच्याउन खोज्ने, पसिना आउने, उल्टी आउने, चक्कर लाग्ने, बेहोश हुने र छिटै मृत्युवरण गर्ने जस्ता लक्षणहरू देखिन्छन् ।

सर्पदंश भएमा गर्नुपर्ने र नगर्नुपर्ने व्यवहारहरू
सर्पले टोकिहालेमा सकभर कुन सर्पले टोक्यो भनी सर्पको पहिचान गर्नुपर्छ । अनि टोकेको भागवा अङ्ग नचलाई राख्ने, नदुगुर्ने, नआत्तिने, टोकेको ठाउँमा नकाट्ने बरु सक्दो छिटो साबुनपानीले राम्रोसँग घाउ सफा गर्ने, टोकेको ठाउँभन्दा माथि पर्नेगरी उपलब्ध छ भने क्रेप ब्याण्डेजले बाँध्ने नत्र रुमालवा कपडाको टुक्राले हल्का बाँध्नुपर्छ र अङ्गनचलाई स्थिर राख्ने अनि बिरामीलाई सान्त्वना दिँदै यथाशक्य छिटो अस्पताल लगिहाल्नुपर्छ । यसरी सामान्य रूपको प्राथमिक उपचार टोकेको स्थानमै गर्न सकियो भने बिरामीलाई विषको प्रभाव छिटो पर्दैन र अस्पताल पु¥याइ उपचार गर्न सकिन्छ । यी तरिकाहरू बाहेक अन्य खालका परम्परागत उपचार पद्धतिले बिरामीलाई छिटो विषलाग्ने र मृत्यु हुनसक्छ । सर्पले टोकेमा विष नलागेता पनि घाउमा सङ्क्रमण हुने, धनुष्टङ्कार हुनसक्ने, सङ्क्रमित भागको मासु सड्न सक्ने जस्ता आदि समस्याहरू थपिन सक्ने भएकोले त्यस्ता समस्या निराकरणका लागि समेत अस्पताल जानैपर्छ ।

अन्त्यमा
सर्प पूर्विय समाजमा पुजा गरी आदर प्रकट गरिने जीव हो तर यो ठूलो दुर्घटनाको कारण पनि हो । प्रायः सर्पले आफैं टोक्दैन भनिन्छ । सर्पले टोक्ने कारण आफूमाथि आइपर्न सक्ने सम्भावित खतराको कारणले हो भने कहिलेकाहीँ मानिसले अज्ञानतावश सर्पलाई छुँदा वा उसका बच्चा नजिक जाँदा टोक्न सक्छ । सर्पले टोकेर मृत्यु भइहाल्दैन किनकी संसारभर पाइने करिब ३ हजार सर्पमध्ये केवल ४ सय जति सर्प मात्र विषालु हुन्छन् र कहिलेकाहीँ विषालु सर्पले नै टोकिहालेमा पनि विष नखसेको हुनसक्छ र विष नलाग्न सक्छ । यदि प्राथमिक उपचार समयमै गरियो, सान्त्वना प्रदान गर्न सकियो र छिटो माध्यमले सुविधासम्पन्न अस्पतालमा लैजान सकियो भने विषालु सर्पले टोकेता पनि बिरामीको बाँच्ने सम्भावना बढी हुन्छ । त्यसकारण लापरवाही नगरी, परम्परागत उपचारमा नलागी अस्पताल जाने बानीको विकास गर्न आजैदेखि सचेत बन्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->