हामीहरुले हप्ताका सात बारहरुको बारेमा जानेका छौं । ती हरेक बारहरूले सौर्यमण्डलका कुनै न कुनै ग्रहको प्रतिनिधित्व गर्छन् । आइतबारले रवि अर्थात् सूर्यलाई जनाउँछ । सोमबारले सोम, चन्द्रमा, बिहिबारले वृहस्पतिलाई जनाउँछन् भने एवं रितले मंगल, बुध, शुक्र र शनिले नाम अनुसारकै ग्रहलाई बोध गराउँछन् । प्रतिपदादेखि औंशी र पुर्णिामासम्मका तिथिहरुले बार र बारहरुले ग्रहअनुसारकै स्वामीको स्वरुप धारण गर्दछन् । तिथि र बारहरुको संयोगबाट नै सोमबारे औंसी, रवि सप्तमी, मंगल चौथी र बुधाष्टमी जस्ता व्रतहरु पर्दछन् । जो अत्यन्त पुण्य फलदायी मानिन्छन् । जसको शास्त्रोक्त नियमानुसार व्रत, पुजन र उपासना गर्नु उपयुक्त मानिन्छ ।
सामान्यतयाः सूर्यलाई प्रशन्न बनाएर शुभफल प्राप्त गर्न आइतबार व्रत बस्ने गरिन्छ । आइतबारको व्रत प्रारम्भ रवि सप्तमी वा शुक्ल पक्षको पहिलो आइतबारबाट प्रारम्भ गर्नुपर्ने शास्त्रीय नियम छ । शास्त्रमा सूर्यलाई नमस्कार मात्रै गर्नुको पनि ठूलो महिमा वर्णित छ । अन्धकारलाई चिरेर आफ्नो प्रकाशद्वारा ब्रह्माण्डलाई दिव्यातिदिव्य ज्योति प्रदान गर्नु हुने सूर्यनारायण चराचर जगतको साक्षी हुनुहुन्छ । तसर्थ सूर्यलाई नमस्कार गर्दा हुने लाभबारे यसरी चर्चा गरिएको पाइन्छ ।
आदित्यस्य नमस्कारं ये कुर्वन्ति दिने दिने ।
जन्मान्तरसहस्त्रेषु दारिद्रयं नोपजायते ।।
अर्थात् जसले हरेक दिन सूर्य नमस्कार गर्दछ । उसले हजारौं जन्म जन्मान्तरसम्मको दरिद्रताबाट मुक्ति पाउँछ ।
हिन्दु धर्म अनुसार सूर्य भगवानको पुजा आराधना गर्ने विशेष दिनलाई रविबार भनिन्छ । सूर्यलाई सप्तमी तिथिको स्वामी मानिन्छ । आइतबार सप्तमी तिथि पर्न गएमा त्यस दिनलाई सूर्यनारायणको व्रत गर्ने उत्तम दिन मानिन्छ । जुन दिन भगवान सूर्यनारायणको पूजा, अर्चना र व्रत सम्पादन गर्ने गरिन्छ । सूर्यलाई हाम्रो संस्कारमा प्रत्यक्ष देवताको रुपमा मानिएको छ । व्रतहरुमा दुर्लभ मानिने रवि सप्तमी व्रत यस वर्ष जम्मा दुई वटा परेका छन् ।
सूर्यदेवको कृपा हामी सबैलाई रहिरहोस्, रोग, शोक र भोकको समस्या नपरोस् भनी सूर्यनारायणको उपासना गरिन्छ । जसबाट रोग र शोकको हरण हुने जनविश्वास रहिआएको छ । सूर्यदेवको कृपाबाट नै यो चराचर जगत चल्ने भएकाले नै उपासना गर्नु अनिवार्य ठानिन्छ । वैदिक परम्परा अनुसार विद्याबुद्धि तेज गराउन सहयोगी भुमिका खेल्ने भएकै कारण गायत्री मन्त्रद्वारा पनि सूर्य भगवानको उपासना गरिन्छ ।
मानवले देखेको हालसम्मको सबैभन्दा विशाल, चम्किलो र प्रभावशाली ग्रह नै सूर्य हो । सूर्यको प्रभाव पृथ्वीमा र यहाँका हरेक जीवमा अनेक रूपमा पर्छ । यसर्थ सूर्यको अर्चना धार्मिक र वैज्ञानिक दुवै दृष्टिले सार्थक छ । नवग्रह तथा देवताहरूका पनि वन्दनीय भगवान् सूर्य सम्पूर्ण जगतलाई आफ्नो स्वभावको तेजले प्रकाशमय बनाउने कार्यमा उद्द्त हुनुहुन्छ । जसको प्रेरणा प्रदायक भावका लागि यस दिन उपासना गर्नाले पद, प्रतिष्ठा, ऐश्वर्य, सुख, शान्ति, समृद्धि र सन्तान सुख तथा मनोवाञ्छित फल प्राप्त हुने विश्वास छ । मनोकामना सिद्द गराउने यस व्रतलाई नित्य र काम्य कर्मका रूपमा पनि लिन सकिन्छ ।

लेखक
वेदमा सूर्यलाई भूमण्डलका सम्पूर्ण प्राणीहरुको आत्माका रुपमा मानिएको पाइन्छ । सूर्यले हाम्रो शरीरका आत्मा र चक्षु अर्थात् हृदय र आखाँको प्रतिनिधित्व गर्दछन् । ज्योतिष शास्त्र अनुसार जातकको जन्मकुण्डलीमा सूर्य कमजोर भए आत्मबल कमजोर हुने, आँखाको प्रकाश क्षीण भएर समस्या उत्पन्न हुन सक्छ । तसर्थ सूर्य ग्रहजन्य दोष एवं ग्रह पीडा निवारण गरि शुभ फल प्राप्त गर्न आइतबारिय व्रत गर्नु आवश्यक हुन्छ । यस व्रतको प्रतापले सूर्यनारायणको शुभ आशिर्वाद श्वरुप शारीरिक र मानसिक आलस्यता हटाइ प्रशन्नता, आत्मबलको वृद्धि र विद्याआर्जन हुने जनविश्वास रहिआएको छ ।
सूर्य आफैँमा एक निरपेक्ष शक्ति अनि सापेक्ष प्रभाव हुन् । सूर्य नै देवता हुन् अनि सूर्य नै धर्म । संसारका हरेक धर्म र पहिचानका मानिसहरू कुनै न कुनै रूपमा सूर्यप्रति अनुग्रही रहेकै हुन्छन् । किनकी सूर्य बिना प्राणी जगतको अस्तित्व नरहने निश्चित छ । सूर्यबाट हाइड्रोजनको प्रताप र शक्ति कायम रहुञ्जेलसम्म नै पृथ्वीको अस्तित्व र यहाँका जीवात्माहरूको प्राण सम्भव छ । यदि सूर्यको शक्ति कमजोर भए यी सबैको जीवन कमजोर बन्छ । अन्ततः पृथ्वी नै ध्वस्त हुन्छ । त्यसैले सूर्य देव हामी सबैका पुज्य हुनुहुन्छ । अन्धकार हारक सूर्य देवतालाई सम्झना गर्ने अनेक दिनहरूमध्ये रवि सप्तमी पनि एक हो, जहाँ तिथि र बारको यस अनुपम संयोगलाई धार्मिक, आध्यात्मिक र पौराणिक रूपमा सूर्य पुराणमा विस्तृत चर्चा गरिएको छ ।
व्रत विधान
रवि सप्तमी व्रतका दिन शुद्धताको नियमलाई पूर्ण पालन गरि रक्त वस्त्र पहिरनु आवश्यक हुन्छ । यो व्रत कम्तीमा एक वर्षदेखि १२ वर्षसम्म लिन सकिन्छ । यदि कुनै कारणले वर्ष दिनको व्रत पूरा गर्न असमर्थ भए कम्तीमा १२ वटा आइतबारको व्रत अनिवार्य गर्नै पर्दछ । यस दिन व्रतालुहरु सूर्योदय हुनु पूर्व नै उठेर सूर्यको स्वागतार्थ प्रतीक्षा गर्नुपर्ने शास्त्रीय नियम छ । तत् पश्चात् आफ्नो नित्यकर्म सकेर शुद्ध आसनमा बसि गायत्री मन्त्रसहित ‘ॐ घृणि सूर्याय नमः’ वा ॐ भूः भुर्वः स्वः जगतसाक्षिणे श्रीसूर्यनारायणाय नमः ।। यी मन्त्रको जाप गर्नु पर्दछ । पूजा सामग्री तयार गरी कर्मपात्रोसहित अर्घ्य स्थापना गर्नु पर्दछ । पूर्व फर्किएर सूर्यनारायणका लागि तुलसीको मठ वा शुद्ध स्थानमा ‘एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते । अनुकम्पय मां भक्त्या गृहाणार्घ्यं दिवाकर ।।’ मन्त्र उच्चारण गर्दै अर्घ्य दिनुपर्छ । सूर्यनारायणलाई अर्घ्य चढाउँदा अर्घ्यको धाराको माझबाट सूर्यबिम्बको दर्शन गर्नु उपयुक्त मानिन्छ । त्यसपछि प्रदक्षिणा गरेर आसनमा बसि रातो तिलक लगाउनु पर्दछ । हिन्दु वैदिक परम्परामा आधारित शुभाशुभ कर्महरुमा देह शुद्धीलाई विशेष ख्याल गरिन्छ । हाम्रा दैनन्दिन क्रियाकलापमा जानअन्जान हुने दोष परिहारका लागि गोदान कर्म अपरिहार्य भएकाले गौ दानद्वारा शरीर शुद्धताको भावमा समर्पित भएपछि षोडशोपचारले दिप, कलश र गणेशको आवाहन पुजन गरिन्छ । शान्ति कलशको मुखमा गणपत्यादि पनञ्चायन र नवग्रह देवतासहित रक्षाबन्धन पूजा गरेपछि पूर्वाङ्ग कर्म समाप्त हुन्छ ।
प्रधान देवता स्वरुप भगवान् श्रीसूर्य नारायणको पूजा एवं उपासनाका लागि तामाको थालीमा रातो चन्दनले अष्टदल लेख्नु पर्दछ । वैदिक विधिद्वारा कलश संस्कारसहित सूर्यनारायणको सुवर्णमय प्रतिमालाई प्रतिष्ठार्थ थालीमा राखी पञ्चामृतस्नान गराए पश्चात षोडशोपचारले पुजा गर्ने, बाह्रकलाले युक्त भगवान् सूर्यको पूजा एवं उपासनाका लागि बाह्रै प्रकारका पुष्प गुच्छासहित सूर्यका द्वादश नामहरु धता, अर्यमा, मित्र, वरुण, ईन्द्र, विवश्वान्त, पुखा, पर्जन्य, अंशवान, भग, त्वष्टा, विष्णु आदि उच्चारण गर्दै भगवानको पुजाआराधना गर्ने गरिन्छ । भने, सर्वाङ्ग सूर्यनारायण भगवानका विभिन्न अङ्गहरूको पूजालाई पनि समसाथमा जोड्नु आवश्यक हुन्छ । जसमा मित्राय नमः, रवये नमः, सूर्याय नमः, खगाय नमः, पूष्णे नमः, हिरण्यगर्भाय नमः, मरीचये नमः, आदित्याय नमः, सवित्रे नमः, अर्काय नमः, भास्कराय नमः, अर्यम्णे नमः, प्रभाकराय नमः, अहस्कराय नमः, प्रघ्नाय नमः, जगदेकचषुक्षे नमः, सवित्रे नमः, त्रिगुणात्मधारिणे नमः, विरिञ्चिनारायणशङ्करात्मने नमः, तिमिरनाशिने नमः जस्ता नामहरु पुकार्दै भगवानका पाउदेखि शिरसम्म विभिन्न अङ्गहरुको पुजा गर्नु पर्छ । सूर्य भगवानलाई प्रातःकालमा सत्व गुणले युक्त ब्रह्म, मध्यान्हमा तमो गुणले युक्त देवादिदेव महादेव अनि सन्ध्याकालमा राजो गुणी विष्णु स्वरूप मानिन्छ ।
उदय ब्रह्मणोरूपं मध्यान्हेतु महेश्वरः ।
अस्तकाले स्वयं विष्णु त्रिमूर्तिश्च दिवाकरः ।।
यस्ता ब्रम्हा, विष्णु, महेश्वर स्वरुप सूर्यनारायण भगवानलाई धूप–दीप, नैवेद्य, फल, ताम्बूलम्, यज्ञोपवित, वस्त्र अर्पण गरि आरती, पुष्पाञ्जलि, पूर्णपात्रो, दक्षिणासंकल्प गरी नमः सहस्रकिरण ! सर्वव्याधिविनाशन !!
गृहाणार्घ्यम् मया दत्तं संज्ञया सहितो रवे ।।
यो मन्त्रद्वारा विसर्जन अर्घ्य दिई तत्पश्चात् पुजा समाप्त गर्नुपर्दछ । अन्तमा टीका–प्रसाद लगाएर सूर्यनारायणको भजनकीर्तनका साथ रात्रीमा जाग्राम बस्नु कठोर व्रत उपासना हो भने सूर्योदयदेखि सूर्यास्तसम्मको निराहार व्रत सहित फलाहार र नुन रहित भोजनलाई पनि शुद्ध मान्ने प्रचलन हाम्रो समाजमा छ ।





