हिजोआज सामाजिक सन्जाललगायत मिडियाभरि देवी प्रतिभा र उनले प्रवचनको क्रममा बोलेका शब्द भाइरल नै भएको छ । विशेषगरी उनले धर्मशास्त्र तथा संस्कृतीमा सम्बन्ध विच्छेद भन्ने शब्द नै नभएको भनी प्रवचन दिएकी र उनको बारेमा अनेक मिडिया र लेखमा राम्रो नराम्रो तथा मिश्रित टिकाटिप्पणी भैरहेको छ । म यो लेखमा देवी प्रतिभाको बारेमा टिकाटिप्पणी तथा आलोचना भन्दा पनि सम्बन्ध विच्छेदबारे मनमा लागेका कुराहरु उतार्ने जमर्को गर्दैछु । यद्यपी देवी प्रतिभा नेपाली माटोले जन्माएकी उर्वर र होनहार नेपालको चेली हुन भन्ने विषयमा कुनै दुईमत रहेन ।
सामान्यत सम्वन्ध विच्छेद शब्दको अर्थ अलगिनु एवम् टुक्रिनु तथा भिन्न हुनु भन्ने अर्थमा बुझिन्छ । अंग्रेजी शब्दमा सम्बन्ध विच्छेदलाई डिभोर्स भन्ने गरेता पनि यसको अर्थ हुन्छ डि भनेको फरक हुनु वा छुटिनु र भोर्सको अर्थ हुन्छ बाटो । अतः कानुनी तथा व्यावहारिक रुपमा वैवाहिक सम्बन्धलाई अन्त्य गर्नु नै सम्बन्ध विच्छेद हो । बेलाबेला डिभोर्स गराईदिनुस् न सर भन्दै मेरो बाबाकोमा आउने हरेक व्यक्तिलाई मेरी आमाले सकेसम्म मिल्न पर्छ भन्दै सम्झाएको देख्दा म सम्झिथेँ मेरो बाल्यकाल जहाँ यो केटी त डिभोर्सी हो नि भन्दा उसले ठुलै अपराध गर भनेझैँ सोच राख्ने समाज र व्यक्तिको धारणा तर समयसँगै स्वतन्त्र हुनुपर्छ, आफ्नो खुशीलाई प्राथमिकता दिनुपर्छ भन्ने कुराले स्थान पाउँदै गयो । बाबाको पेशालाई अँगाल्दै हाल म पनि वकिल पेशामा नै आवद्ध छु । वकिल भैसकेपछि सबैभन्दा धेरै हेरेको र लेखेको विवाद नै सायद सम्बन्ध विच्छेद हो । म्याग्दी जिल्लाको हकमा वैदेशिक रोजगारीमा जानको लागि आफ्नो वास्तविक श्रीमतीसँग सम्बन्ध विच्छेद गर्ने र अर्कैसँग पेपर म्यारिज तथा बिहे दर्ता गर्ने प्रचलन बढ्दो छ । व्यवसायमा आईसकेपछि देशमा बेरोजगारहरु धेरै मात्रामा हुनुभन्दा कमसेकम कसैको भविष्य बन्छ भने के फरक पर्छ र भन्ने सोच आउँथ्यो मलाई । तर, यसरी मिलापत्रमै सम्बन्ध विच्छेद गरिसकेपछि तँलाई मैले छाडिसकेको हुँ भनी अर्किको सिउँदो रंगाएर घर भित्राउँदै जेठीलाई हेपेको, घरनिकाला समेत गरेको देख्दा सम्बन्ध विच्छेद आफैँमा एउटा विकृत र घिनलाग्दो कार्य हो भन्ने लाग्छ । घरमा रहेकी श्रीमतीसँग डिभोर्स गरि पेपर म्यारिज गरेर वैदेशिक रोजगारमा गएका दाई कहिल्यै नफर्केने गरि उतै अस्ताए र उनको मृत्युबापत आउने क्षतिपुर्तिको रकम दाबी गर्न खोज्दा अलरेडी डिभोर्स भन्ने शब्द मेलमा देखेपछि यस्तो फिल भैराखेको थियो देवी प्रतिभा जे बोलिन सत्य र साँचो बोलिन । यी र यस्ता घटनाहरु पेशामा आईसकेपछि थुप्रै देखिएको र भोगेकी छु । छोरी मान्छे भएर होला नराम्रो खबर सुन्नासाथ भित्रैदेखि मन पोलेर आउँछ ।

लेखक
अदालतले मिलापत्रमा सम्बन्ध विच्छेद गर्नेबाहेक अन्य साँच्चिकै सम्बन्ध विच्छेदहरुमा सकेसम्म मिल्नु भनी कम्तीमा ३५ दिनको समय दिन्छ । यसले के सन्देश दिन्छ भने अदालत पनि सकेसम्म श्रीमान श्रीमती अलग नबसुन भन्ने मान्यता राख्छ । तर श्रीमान् श्रीमती बीचको झैझगडामा वकिल पनि तटस्थ हुनुपर्छ भन्ने मान्यता अदालतले राख्छ । वकिलले सामान्य विवाद र घरायसी झगडाको विषयलाई लिएर पैसाको लोभमा तिललाई पहाड बनाएर कथा लेखेर अदालतसम्म धाउने र श्रीमान श्रीमतीबिच फाटो सिर्जना नगरोस् भनेर नै अदालतले प्रमाण पेश गर्न लगाउँछ । साथै, सम्बन्ध विच्छेद के कारणले गर्ने भनी ग्राउन्ड र उपयुक्त रिजन अदालतले माग्छ । यद्यपी जीवनको यात्रा सँगसँगै गर्ने लक्ष्य लिएर अघि बढ्दा सम्बन्धमा दरार आउनु कुनै नौलो कुरा होईन । कहिले आप्mनो जीवनसाथीको कारणले, कहिले घरपरिवार, नातागोतालगायत ईष्टमित्र तथा समाजको कारणले साथै अन्य विविध कारणले सम्बन्धमा बसिराख्न नसकिने अवस्था र परिस्थिती उत्पन्न हुन्छ । जीवनको यात्रा सहज पक्कै पनि छैन तर देवी प्रतिभाले भनेझैँ सम्बन्ध विच्छेद धर्मशास्त्रको आधारमा नभै स्वतन्त्रता र सहजताको लागि अभ्यासमा ल्याईएको एउटा प्रथा हो । विवाह यो जन्म त के सातजन्मसम्म पनि सँगै मर्ने र बाँच्ने कसम खाएर केटाकेटी एक हुनु चानेचुने कुरा पक्कै हैन । विवाह सँगसँगै जिवनसाथीमाथि गरिएका भरोसा अनि जीवनको यात्रामा देखेका सपना, अपेक्षाहरु एकाएक सिसाजस्तै टुक्रिएर चिटिङ र बल्याकमेलिङसम्म पुगी सम्बन्ध विच्छेदसम्म पुग्नु आफैँमा एउटा दुर्घटना हो । यदि विवाहपछि भोली सम्बन्ध विच्छेद हुन्छ भन्ने कुरा भविष्यवाणी नै गर्न सकिथ्यो भने कोही किन विवाह बन्धनमा बाँधिथ्यो होला र ?
शास्त्रमा छोरीमान्छेलाई एकदम शक्तिशालीदेखि लिएर एकदम निरीह पात्रको रुपमा वर्णन गरिएको छ । स्थान र परिवेश अनुसार छोरीमान्छेको शक्ति र स्वरुपको समेत चर्चा परिचर्चा पक्कै छ तर शास्त्रले फलानाकी पत्नी फलानासँग सँगै बसेकी छैन भनी व्याख्या गर्न चुकेको पक्का हो । यद्यपी समयक्रमसँगै पछिल्लो समय विकसित भएका विकृतीहरु जस्तो वैवाहिक बलात्कार, मानसिक तथा शारीरिक शोषण, दाईजोको नाउँमा जिउँदै जल्न विवश छोरीहरु लगायतका सामाजिक घटनाक्रमहरुले जिन्दगी अझैँ जिउन पर्छ, कसैको दबाब र प्रभावले जीवन नष्ट गर्न हुन्न भन्ने मान्यतामा सम्बन्ध विच्छेदलाई अभ्यास गर्न थालियो । यद्यपी पछिल्लो समय सम्बन्ध विच्छेद फेसन जस्तै बनेको छ । तँ भन्दा म के कम भन्ने मानसिकता तथा दबिएर बस्न हुन्न भन्ने सोचबाट ग्रसित समाज थोरै कुरामा कम्प्रोमाईज मात्र गर्दा समेत आफु निरीह र हलुंगो बनिन्छ भन्ने मान्यता राख्छ । जसको कारण सम्बन्ध विच्छेदका घटनाक्रमहरु बढीरहन्छन् । समय परिवर्तनशिल छ, समयसँगै सामाजिक परिवेश अनि रहनसहन लगायतका कुराहरु परिमार्जन हुनु् आवश्यक र अपरिहार्य जो छ । सम्बन्ध विच्छेद आजको समाजले जन्माएको अभ्यास हो नै तर सम्बन्ध विच्छेद पश्चात यसले जन्माएका घटना अनि परिघटनाले भने बेलाबेला शास्त्रिय मुल्यमान्यतामै अडिएको समाज नै उत्तम थियो भन्ने लाग्छ । जो लोग्ने स्वास्नी छन् उनीहरु सम्बन्ध विच्छेद पश्चात नयाँ जीवन सुरु त गर्लान् तर उनीहरु सँगै रहँदा जन्मिएको बच्चाको भविष्य र संस्कारबारे कस्ले सोच्ने ? यद्यपी सम्बन्ध विच्छेदको विवादमा बच्चाको जिम्मा कस्ले लिने आमाले की बाबाले भनी उल्लेख गर्नुपर्दछ । रथका दुई पांग्रासरि सावित श्रीमानश्रीमतीको सम्बन्ध एकको अभावमा बच्चाको शारीरिक र मानसिक विकास कसरी होला ? त्यसैले देवी प्रतिभाको यो शब्दसँग म केही हदसम्म सहमत छु ।
(लेखक शर्मा अधिवक्ता हुन् ।)





