पर्वत/जिल्लाको जलजला गाउँपालिका–७ धाइरिङको कृष्ण धर्म माध्यमिक विद्यालयका केही विद्यार्थीहरू टनेलमा फलेको तरकारीको व्यवस्थापनमा व्यस्त छन् । खाली भएको ‘पिरियड’ र बिहान बेलुकाको समयमा उनीहरू शिक्षकको साथमा टनेलमा जान्छन् । यति बेला टनेलमा सिमी लटरम्म फलेकाले तिनलाई टिप्ने र बजार पठाउनको लागि तयारी गर्ने त्यहाँका विद्यार्थीहरूको अध्ययन बाहेकको काम हो ।
विद्यालयका प्रधानाध्यापक बालकृष्ण ज्ञवालीका अनुसार विद्यार्थीलाई मोटोसँग जोड्नका लागि दुई वर्षदेखि विद्यार्थीहरू उत्पादनमा जोडिएका छन् । विद्यार्थीहरूलाई अध्ययनसँगै व्यावहारिक र सीपमूलक शिक्षामा जोड्नका लागि यो कार्यक्रम उपलब्धिमूलक बनेको छ ।
‘हाम्रा विद्यार्थीहरूले विद्यालयमा त तरकारी उत्पादन गर्छन् भने घरमा त झन् किन नगरुन्? हामीलाई चाहिएको यस्तै व्यवहारिक शिक्षा हो । पढ्दै गर्दा कमाउन सिकेका उनीहरू भविष्यमा बेरोजगार भएर बस्नुपर्ने छैन,’ उनले भने, ‘यो कार्यक्रमका लागि विद्यार्थीहरू समावेश भएको विद्यार्थी उद्यम क्लबको गठन गरिएको छ । यही क्लबले यसमा काम गरिरहेको छ । क्लब बाहिर रहेका विद्यार्थीहरूले पनि सघाउने र सिक्ने गरेका छन् ।’
यो क्लबले दुई वर्ष अगाडि २५ हजार रुपैयाँको लागतमा ‘प्लास्टिक टनेल’ भाडामा लिएर मौसम र बजारको आवश्यकता अनुसारको तरकारी उत्पादन गर्दै आइरहेको छ । यस अगाडि आलुको राम्रो उत्पादन भएकोमा यस पटक सिमी राम्रो फलेको छ । यसलाई बजार पठाउने तयारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक आचार्यले गरिरहेका छन् । विद्यार्थीको कृषि उपजलाई बजार व्यवस्थापनका लागि विगतदेखि नै खट्दै आएका आचार्यले नै सिमीको बजारीकरणको तयारी गरिरहेका छन् ।
विद्यालयमा केही पहिले ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत आएको पाँच लाख रुपैयाँ उद्यम कोषको नाममा बैङ्कमा खाता खोलेर राखिएको छ । अहिले विद्यार्थीहरूले उत्पादन गरेका तरकारी बिक्री गरेर आएको आम्दानी पनि यही खातामा जम्मा गर्ने गरिएको छ । दुई वर्षदेखि उत्पादनको काम भइरहेको र यो ठुलो आम्दानी गर्ने पूर्ण व्यावसायिक उत्पादन नभएकोले विद्यार्थीहरूलाई मुनाफा वितरण भने गरिएको छैन । तत्कालका लागि माटोमा खेल्ने बानीको विकास गर्ने, उत्पादनमा ध्यान दिने बानी बसाल्ने, आफ्नो माटोमा विश्वास गर्न सक्ने र बेरोजगारीको समस्या छ भन्ने मानसिकता हटाउने गरी सिकाइ भइरहेकोले पनि बिक्री गरेको नगद रकम विद्यार्थीलाई नबाँडिएको प्रधानाध्यापक ज्ञवाली बताउँछन् ।
टनेल भाडामा लिँदा गरिएको लगानी, टनेलमा आवश्यक पर्ने सबै प्रकारका सामग्री, बीउ, मललगायतमा भएको लगानी पनि तिर्ने काम पनि आम्दानीबाटै गरिने भएकोले अहिले कोषमा रकम जम्मा भइरहोस् भन्ने विद्यार्थी र व्यवस्थापकको धारणा छ ।
उद्यम क्लबमा कक्षा नौदेखि १२ सम्म अध्ययनरत विद्यार्थीहरू गरेर ११ जना समावेश भएका र उनीहरूलाई आफ्ना सहपाठीहरूलाई पनि उत्प्रेरित गर्ने गरेको कक्षा १२ की छात्रा आरती आचार्य बताउँछिन् । विद्यालयमा गएर काम गर्ने बानी बसेपछि घरमा काम गर्न झनै सजिलो भएको र आफू सहित आफ्ना साथीहरूमा आफ्नो ठाउँको माटोले भोको राख्दैन भन्ने मानसिकताको विकास भएको उनको भनाइ छ ।





