पोखरा/जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखरामा विद्यालयको बसमा छड्के हानेको छ । बुधबार विद्यालयबाट विद्यार्थी छाड्न हिँडेका बसहरुमा सिट क्षमता, बसको अवस्था लगायतमा छड्के हानेको हो । सोही क्रममा तीन वटा विद्यालयको बसले सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेको भेटिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ६ मा रहेको गण्डकी एकेडेमी, पोखरा ५ स्थित हिलसाइड बोर्डिङ र पोखरा ८ मा रहेको सिर्जना माविको बसले विद्यार्थी क्षमताभन्दा बढी बोकेका कारण कारवाहीमा परेको हो ।
ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख भानु शर्माको नेतृत्वमा बसमा छड्केसँगै गति सिमितका लागि स्टिकर समेत टाँस गरिएको छ । शर्माले विद्यार्थी बोक्ने बसले ४० किलोमिटर प्रति घण्टा भन्दा माथिको गतिमा बस चलाउन नपाउने जानकारी दिए । पोखराको जिरो किलोमिटरमा विद्यालय बस चेकजाँचसँगै स्टिकर प्रदान गर्दै विद्यालयलाई जानकारी गराउन समेत चालकलाई अनुरोध गरे । शर्माले विद्यार्थी बढि बोक्नुमा चालकको नभइ विद्यालयको वा विद्यालय प्रशासनकै गल्ति भएको सुनाए । धेरै विद्यार्थी बोकेर हिँडदा दुर्घटना हुन सक्ने भन्दै सबै सचेत हुन आवश्यक रहेको सुनाए । यस अघि विद्यालयसँग आबद्ध संस्थासँग समेत छलफल गरी विद्यार्थीको सुरक्षाका लागि सिट क्षमताभन्दा बढी विद्यार्थी नबोक्न अनुरोध गरेको समेत सुनाए ।
स्थानीय कीर्तिनिधि पाण्डेले विद्यालयको बस निकै तीव्रगतिमा हुक्याउँदै हिँड्ने गरेको बताए । उनले विद्यालयमा विद्यार्थी बढी हुनु र बस कम हुँदा खेप गर्ने प्रवृत्तिका कारण तिब्र गतिमा कुदाउने गरेको र ट्राफिक प्रहरीले नियमित रुपमा यसरी नै स्कूल बसलाई जाँच गर्न आवश्यक रहेको बताए । चेकजाँचकै क्रममा एक विद्यालयका चालकले ट्राफिक प्रहरीलाई मादप पदार्थ सेवनको जाँच गर्न सुझाव दिए । ती चालकले विद्यालयको बस चलाउँदा मापसे गरेरसमेत चलाउने गरेको सुनाए ।
विद्यालयको बसले १२ वर्षभन्दा मुनिका विद्यार्थी भएमा बसको सिटमा तीन जना र १२ वर्षदेखी माथि भए एक जनामात्रै राख्न पाइन्छ । तर, पोखरामा भने विद्यार्थीहरु कोचाकोच हालेर हुँक्याउँदै आइरहेका छन् ।
गत साउन १४ गते एलपी देवकोटा मेमोरियल इङलिस बोर्डिङ स्कुलको ग१क ६२१९ नम्बरको बस पोखरा २१ रामदीबाट विरौटातर्फ आउनेक्रममा ब्रेकफेल हुँदा विहान गुड्कुस्थित घुम्तिबाट अनियन्त्रित भइ दुर्घटना भएको थियो । दुर्घटनामा पोखरा–२१ रामदीका ६ वर्षीय प्रिन्स बिक र उनकी आमा ३३ वर्षीया आरती बिकको मृत्यु भएको थियो भने २८ जना विद्यार्थी (चालकसहित) घाइते भएका थिए । ट्राफिक प्रहरीले बिहीबार मापसे जाँच गर्ने भएको छ ।





