शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

गलेश्वरधामको भेटी सदुपयोग हुदाँ भौतिक पूर्वाधार विस्तार

गलेश्वरधामको भेटी सदुपयोग हुदाँ भौतिक पूर्वाधार विस्तार


  • हरिकृष्ण गौतम
  • साउन ३१ २०८१, बिहिबार

म्याग्दी/ मन्दिरमा पूजाआजाका लागि आएका भक्तजनले चढाएको भेटी संकलन गरिन्छ । साउन महिनाका सबै सोमबार, वालाचर्तुदर्शी र शिवरात्रि पर्वमा साँझसम्म भेटी संकलन गरी नेपाल प्रहरी, शसस्त्र प्रहरी, कोषका सदस्य र स्थानीय समुदायको उपस्थितिमा मुचुल्का गरिन्छ । रातभरी सिसीक्यामेराको निगरानीमा भेटी राखिन्छ । भोलीपल्ट विहान सरोकारावाला निकायको उपस्थितिमा कोषका पदाधिकारीले हस्ताक्षर गरेलगत्तै भेटी फिजारिन्छ, सबैले बसेर खनखनी पैसा गनिन्छ । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित मन्दिरमा विगत १४ बर्षदेखि सार्वजनिक स्थानमा सबैको नजर पर्ने गरी भेटी गन्ने र सार्वजनिक गर्ने गरिन्छ ।

देशभरका ठूला मन्दिरहरुको भेटी दुरुपयोगका खवर सार्वजनिक भइरहेको बेला गलेश्वर मन्दिरमा सर्वसाधारणले समेत प्रत्यक्ष अवलोकन गर्ने मिल्नेगरी भेटी गन्ने गरिन्छ । यसबर्षको साउन महिनाको अन्तिम सोमबार ४ लाख ३५ हजार ९ सय ६७ रुपैयाँ संकलन भएको छ । पहिलो सोमबार ३ लाख ७२ हजार ३७२ रुपैयाँ, दोस्रो सोमबार ३ लाख ३६ हजार १८५ रुपैयाँ, तेस्रो सोमबार ३ लाख ६६ हजार २ सय रुपैयाँ गरी कुल १५ लाख १० हजार ७२४ रुपैयाँ संकलन भएको थियो । विहानै सातबजेदेखि ११ बजेसम्म लगातार भेटी गन्ने गरिन्छ। बि.स २० ६७ सालमा तत्कालिन अध्यक्ष स्वर्गीय रुद्धबहादुर केसीको कार्यकालमा साउन महिनाको पहिलो सोमबार ३२ हजार ३ सय संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले बताए । ‘भक्तजनको भेटीले पूर्वाधार विस्तारमा सघाएको छ, यसमा समुदायको साथले थप सहज भएको छ’ अध्यक्ष रेग्मीले भने ।

उनले भेटीको दुरुपयोग रोकिदाँ पूर्वाधार विस्तारसँगै भक्तजनले समेत खुलेर दान गर्ने गरेको बताए । अहिलेसम्म भेटीबाट गलेश्वर क्षेत्रमा धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मीनारायणको मूर्ति, सिसी क्यामेरा, सडक बत्ती, कालिगण्डकीको जल मन्दिरसम्म ल्याएर स्नान,लगायत करिब १३ करोड लागतको भौतिक संरचना निर्माण भएको छ । भगवानलाई चढाइएको भेटीको दुरुपयोग पनि एक किसिमले अपराध नै भएकाले भक्तजनहरुले समेत गन्न सघाउने गरेको कोषकी कोषाध्यक्ष कुमारी रोकाको भनाई छ । भेटी गन्न करिब २० देखि ३० जनाको उपस्थितिमा हुन्छन् ।

भारतको मोतिहारीबाट ब्यवसाय गर्न गलेश्वरधाम मन्दिरमा आएका कामेश्वर शाहले साउनको मंगलबार र अन्य ठूला चाडपर्वमा मन्दिरको भेटी गन्न ब्यवासय नै छोडेर आउने गरेको बताउँछन् । उनले भारतका धेरै धार्मिकस्थलमा पुगेपनि गलेश्वरमा जस्तै तत्कालै भेटी सार्वजनिक गर्ने चलन नौलो लागेको बताए । मन्दिरमा आएका भक्तजनहरुलाई समेत गन्न दिने ब्यवस्था मिलाइएको छ ।भेटीको सदुपयोग हुन थालेपछि भक्तजनको चापसँगै करोडौको पूर्वाधारका साथै भक्तजनलाई निःशुल्क भोजन सहितका सुविधाहरु समेत थपिएको छ । ०५७ साल देखी ६७ सालसम्म मन्दिर ब्यवस्थापन समितिको खातामा ३१ लाख मन्दिरको आम्दानी थियो। अहिले भौतिक संरचनाहरुमा खर्च गरेर पनि ४ करोड ४१ लाख २५ हजार २२२ रुपैयाँ बचत रहेको छ । बि.स २० ६७ सालमा तत्कालिन अध्यक्ष स्वर्गीय रुद्धबहादुर केसीको कार्यकालमा साउन महिनाको पहिलो सोमबार ३२ हजार ३ सय संकलन भएको थियो।

गलेश्वर शिवालयको दर्शन तथा पूजापाठका साथै १०८ शिवलिङ्मा कालीगण्डकी नदीको जल अर्पण गरेमा पारिवारिक सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास रहेको छ । गलेश्वरधामको सिको जिल्लाका अन्य धार्मिक संघसंस्थाका साथै विभिन्न जिल्लाबाट समेत प्रक्रियाका बारेमा जानकारी लिन आउने गरेका छन् ।हिन्दू धर्मग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको छ । पवित्र कालीगण्डकी नदीबाट उठेर ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा अवस्थित मन्दिर सत्ययुगमा सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहन गएको विभिन्न धार्मिक ग्रन्थ तथा पुराणहरुमा उल्लेख गरिएको पाइन्छ । ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->