पूर्वशिक्षक । विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील । आँगन छेवैमा मोटरबाटो, बिजुली, पानी, विद्यालय पनि नजिकै । असुविधा खासै थिएन । गाउँको विकास अझै बढी कसरी गर्ने र बसाइँसराइ कसरी रोक्न सकिन्छ होला भन्ने सोचिरहन्थे । सोच्दासोच्दै गाउँ पातलिन थाल्यो ।
बागलुङ–कुश्मिसेरा सडकका कारण बागलुङको कुश्मिसेरा नगरपालिका–१ टुनीबोटका कीर्तिनाथ पौडेलको घर छेउमै पहिरो आयो । छिमेकी २ जनाले ज्यान गुमाए । आधा दर्जन घर पहिरोमा बगे । त्यसपछि पौडेलको सोच बदलियो । २०७८ जेठ ३ गते जन्मथलो छाडेर चितवन झरे । अहिले चितवनको रत्ननगर नगरपालिका–१२ घेगौली टोलमा बस्छन् । ‘पहिरो नियन्त्रण भएर घरबस्ती जोगिने छाँट देखिनँ,’ टेलिफोनमा उनले भने, ‘नपुग्ने भन्ने केही थिएन । तर पनि नियतिले गाउँ छाड्नु पर्दा मनमा सन्तोष कहाँ हुनु र ?’
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका युवराज बरुवाल डेढ दशक वैदेशिक रोजगारीका लागि कुवेत बसे । अहिले भने पोखरा महानगरपालिका–२६ बुढीबजारमा बसाइँ सरेका छन् । तरकारी खेतीले जीविका चलेको छ । गाउँमा खानेपानी, बिजुलीदेखि शिक्षा र स्वास्थ्यको पनि समस्या भयो । ‘दुई छोराको पठनपाठनका लागि गाउँ छाडेँ,’ उनले भने, ‘गाउँभन्दा सहरमा रोजगारीलगायत अन्य अवसर पनि मिल्ने भयो ।’ उनले सबै तहका सरकारले ग्रामीण क्षेत्रमा विशेष गरी स्वास्थ्य सेवाको विस्तार र पहुँच, आयमूलक काम, सीप, कृषि उत्पादनको बजारीकरणको व्यवस्थापन गरिदिए गाउँ कसैले नछाड्ने तर्क गरे ।
आन्तरिक बसाइँसराइलाई बुझ्न यी दुई दृष्टान्त नै काफी छन् । सुविधा भए पनि प्राकृतिक विपत्ति र अर्कोतर्फ सेवा–सुविधाविहीन भएका कारण अवसर खोज्दै गाउँबाट बसाइँ सर्ने प्रवृत्ति बढ्दो छ । सडक सञ्जाल राम्रो छ । कलेज, बैंक, स्वास्थ्य चौकी, खानेपानीको राम्रो प्रबन्ध, केबल टिभी, इन्टरनेटजस्ता सुविधा गाउँमा पछिल्लो समय थपिइरहेका छन । तर, यसलेमात्र सर्वसाधारणको आवश्यकता पूर्ति गर्न सकेको छैन । गाउँमा आम्दानी र उद्यमशीलता बृद्धि हुन सकेको छैन । अनि अवसर खोज्दै स्थानीय अन्यत्र जाने क्रम रोकिएको छैन । कोही आफ्नै जिल्लाको सदरमुकाम पुगेका छन । कोही अलि ठूलो बजार त कोही तराईतिर झरिरहेका छन् । काठमाडौं पुगेर त्यहीँबाट विदेश हानिनेको संख्या पनि कम छैन ।
‘संकथन मन्थनमाला २०८०’ पुस्तकमा गाउँ–सहर चिन्तन शीर्षकमा राजनीतिशास्त्री पिताम्बर शर्मा लेख्छन्, ‘सहरको चिया पसल वा रेस्टुरेन्टमा नहुने विश्वव्यापि कुराहरु गाउँमा हुन्छन् । बाहिरी जगतमा देखेको परिवर्तन आफ्नो गाउँठाउँसँग तुलना गर्छन् र अनि केही गरुँगरुँ भन्ने भावना जागृत भएर गाउँ छाड्छन् ।’ शर्माका अनुसार नयाँ पुस्ता सीमित अवसर भएको ठाउँमा बस्न चाहँदैन । धेरैलाई धन कमाउने इच्छा हुन्छ । परिवारको जीवनयापन र सुविधाजनक बनाउने चाहना हुन्छ । यो स्वभाविक र आवश्यक पनि हो । फेरि सञ्चार माध्ययमले बढाएको चेतनाले गाउँमा उपभोक्तावाद डेरा जमाएको छ । त्यसैले केही सुविधा बढे पनि आय बढाउने, रोजगारी र उद्यम संकुचित भएकाले पनि गाउँमा टिक्न गाह्रो भएको हो ।
गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा.गिरिधारि शर्मा पौडेलका अनुसार मानिसहरु गाउँमा नथामिनुका ५ मुख्य कारण छन् । स्थानीय तहमा अवसर पहिचान गर्ने, लघु तथा मझौला उद्यम सञ्चालन गरी स्वरोजगार बन्ने उद्यमशीलता सम्बन्धी शिक्षा नपुग्नु पहिलो कारण मानेका छन् उनले । यसैगरी सहरी र ग्रामीण क्षेत्रबीच उचित सम्बन्ध विकास नभएको, गाउँका सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएकाले सहरमा पढाउन पनि बसाइँसराइ गर्ने क्रम बढेको हो । सूचना प्रविधिका कारण र भूमण्डलीकरणले विकसित देशका प्रविधि र रोजगारका अवसरबारे थाहा पाएपछि त्यसको उपयोग गर्न सहर पस्ने चलन पनि बढेको छ । गाउँको कृषि प्रणालीबाट जीवन निर्वाहमा कठीन भएपछि कृषि मजदुर सहरी क्षेत्रको निर्माण र यातायात पेसामा लोभिएपछि गाउँ रित्तिँदै गएको डा.पौडेलको अनुभव छ ।
एक अध्ययन अनुसार गण्डकी प्रदेशमा ६० प्रतिशत् परिवारको एक वा अर्को ठाउँको जमीन बाँझो छ । ५५ प्रतिशत किसानलाई वर्षभरी खान पुग्दैन । आय सीमित छ । पहाडबाट बसाइँ सर्नुको मुख्य कारण नै खान नपुग्नु हो । सरकारले पहाडी कृषिको पूर्वाधार विस्तार, सिँचाइ र उत्पादकत्व बढाउने कामै गरेन । भएको उत्पादनले खान पुग्दैन । अनि गाउँ छाड्नुको विकल्प हुँदैन ।

बीपी कोइराला प्रधानमन्त्री हुँदा भनेका थिए रे, ‘सिंहदरवारको कार्यालयका भित्तामा किसानले हलो जोतिरहेको फोटो राख्नू । यो सम्झिराख्न, विकास र योजनाको सार्थकता किसानको जीवनमा देखिनुपर्छ । तर त्यो किसानलाई भित्ताकै फोटोमा सीमित गरियो । तल ओर्लिनै दिइएन । सत्तासिनले किसानलाई सधै भित्तामै पु¥याए । संविधान र व्यवस्था बदलिए तर नेपालका अधिक साना सीमान्त किसानको दुख घटेन, अवस्था नबदलिएपछि बसाइँ सर्नुको विकल्प नरहेको शर्माको भनाइ छ । त्यसो त, नेपाल नै बसाइँसराइले बनेको मुलुक हो । यो आफैमा नराम्रो होइन । बसाइँसराइ मानिसले अवसरको खोजीमा गर्छ । कहाँ गएर आकांक्षा पूर्ति होला, रोजगारी मिल्ला, छोराछोरी हुर्काउन होस् या पढाउन सकिएला, परिवार र बुढेसकाल राम्रोसँग बित्ला भन्ने कुराले नै बसाइँसराइप्रति उत्प्रेरित गर्ने हो ।
स्वर्गीय हर्क गुरुङले बसाइँसराइको विषयमा यसो भन्ने गर्थे– ‘भित्तामा वा काठमा ठोकिएको काँटी जबसम्म हल्लेको हँुदैन, चुम्बकले जति ताने पनि त्यो निस्किँदैन । त्यसैले बसाइँसराइमा तान्ने कुरामात्र हुँदैन धकेल्ने कुरा पनि हुन्छ । तान्ने र धकेल्ने दुवैभन्दा फरक ऊ ‘हल्लिने’ पनि हुनुपर्छ ।’
नेपाल श्रम सर्वेक्षणका अनुसार नेपालमा अहिले वर्षेनी ५ लाख जति श्रमशक्ति तयार हुन्छ । जसलाई रोजगारी र उद्यमशीलता चाहिन्छ । त्यसैले वर्षेनी कम्तीमा पनि २०÷२५ हजार नयाँ रोजगारी सिर्जना गर्नुपर्छ । तर, नेपालको अहिलेको अवस्थामा यो सम्भव देखिँदैन । यसले पनि बसाइँसराइलाई मलजल गरेको छ ।
२०७८ को जनगणना अनुसार देशभित्र बसाइँ सरेकामध्ये ६३ प्रतिशत एउटाबाट अर्को जिल्लामा, २९ प्रतिशत एकै जिल्लामा छन् । प्रदेशगत रुपमा ग्रामीण सहरी जनसंख्या बृद्धिदर हेर्दा ४२ प्रतिशत पालिकाको बृद्धिदर ऋणात्मक छ । सबैभन्दा बढी ऋणात्मक आँकडा गण्डकी प्रदेशको छ । यसको दर ७८ प्रतिशत छ । सबैभन्दा कम ऋणात्मक हुने प्रदेशमा कर्णाली पर्छ ।
गण्डकीमा १० वर्षको अवधिमा ६२ हजार ६ सय ७० जनसंख्या बृद्धि भएको छ । बृद्धि सहरकेन्द्रीत छ । गण्डकीको जनसंख्या २४ लाख ६६ हजार ४ सय २७ छ । २०६८ को जनगणनामा गण्डकीको जनसंख्या २४ लाख ३ हजार ७ सय ५७ थियो । जनसंख्या बृद्धिदर अन्य प्रदेशको तुलनामा यो सबैभन्दा कम हो ।
गण्डकीका ११ जिल्लामध्ये सबैभन्दा बढी कास्कीमा ६ लाख ५१ र कम मनाङमा ५ हजार ६५८ मात्रै जनसंख्या रहेको छ । गण्डकीमा ७ लाख ७६ हजार ६ सय ८६ घर रहेकोमा ६० हजार ९ सय १३ घर खाली रहेको जनगणनामा देखिएको छ । यसैगरी प्रदेशमा २ लाख ८६ हजार ५९३ जना (१३.१ प्रतिशत) व्यक्ति परिवारमा अनुपस्थित (अधिकांश विदेश) छन् । बसाइँ सर्नुको कारणमा काम÷रोजगारी, व्यापार, व्यवसाय, अध्ययन, विवाह, आश्रित, प्राकृतिक प्रकोप, कृषि, घर फर्किएको लगायत रहेको जनगणना २०७८ को तथ्यांकले देखाएको छ ।
संघीयता सुरु भएसँगै गाउँगाउँमा सिंहदरबार र घरदैलोमा स्थानीय सरकार भन्ने नारा निकै चर्चामा रह्यो । अब सेवा सुविधामा बृद्धिसँगै गाउँमा आम्दानी, रोजगारी र उद्यामशीलता पनि बढ्ने र केही हदसम्म बसाइँसराइलाई रोक्ने आशा थियो । सेवासुविधा र रोजगारीकै अवसरको खोजीमा बसाइँसराइ गरेको र पछिल्लो समय ग्रामीण क्षेत्रमा बाँदरलगायत जंगली जनावरको आक्रमण पनि थपिएको नेपाल गाउँपालिका महासंघ गण्डकी तथा कास्कीको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा बताउँछन । स्थानीय तहले सेवा प्रवाहमा बढी जोड दिने, संघले ग्रामीण क्षेत्रमा रोजगारी र उद्यमशिलता बढाउने खालका नीतिसँगै बजेटको पनि विकेन्द्रीकरण गर्ने र प्रदेशले भूगोल अनुसार पशु, कृषि, पर्यटनलगायत सम्भावना भएका क्षेत्रका पहिचान गरी योजना बनाएर अघि बढे केही हदसम्म बसाइँसराइ रोक्न सकिने उनको भनाइ छ । ‘प्रदेशका केही पालिकाहरुले बसाइँसराइ रोक्न रोजगारी सिर्जना गर्ने भन्ने नीति अघि सारे पनि खासै प्रभावकारी हुन सकेको छैन,’ ओझाले भने, ‘संघले पर्याप्त बजेट र राष्ट्रिय नीति नल्याइ बसाइँसराइ रोकिँदैन ।’
बसाइँसराइले सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिकलगायत क्षेत्रमा प्रभाव पनि पारिरहेको हुन्छ । यसैले यस विषयमा समयमै विश्लेषण गरी बसाइँसराइ व्यवस्थित गर्न जरुरी भइसकेको छ । गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा.गिरिधारि शर्मा पौडेल ग्रामीण क्षेत्रबाट बसाइँसराइ रोक्नका लागि विभिन्न ४ वटा क्षेत्रमा राज्यले काम गर्नुपर्ने बताउँछन् । उनका अनुसार पहिलोमा कक्षा ८ देखि नै विद्यालय तहमा उद्यमशीलता सम्बन्धी शिक्षा प्रदान गर्ने र स्थानीय तहमा भएका उद्यमसम्बन्धी अवसर अन्वेषण गरी स्वरोजगार बन्न राज्यबाट प्रविधि, पूँजी र सीप प्रदान गर्नुपर्छ । स्थानीय उत्पादनको उपभोग बढाउन ‘हाम्रा उत्पादन हाम्रै उपभोग’ को अभियान सञ्चालन गरी आयात प्रतिस्थापन गर्नुपर्ने उनले सुझाए । कृषिलाई नाफायोग्य पेसा बनाउन सके बसाइँसराइ रोकिने विश्वास उनको छ ।
यसैगरी बसाइँसराइबाट उत्पन्न चुनौतीलाई अवसरका रुपमा लिएर जनसंख्याको व्यवस्थापन गर्नुपर्ने आवश्यकता पनि महसुस जनसंख्याशास्त्री प्राध्यापक मिनराज अधिकारीका अनुसार हिमाली र पहाडी क्षेत्रमा एकीकृत बस्ती विकास गरी त्यहाँको जीवनलाई जीवित राख्नु पर्ने अवस्था आएको छ । साथै प्राकृतिक प्रकोपको जोखिम कम गर्ने गरी संरचना बनाउनु पर्ने र हिमाली र पहाडी क्षेत्रमा भौगोलिक धरातल अनुसार व्यावसायिक खेती गर्नुपर्ने उनले बताए ।





