बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नेपालमा मंकिपक्सको जोखिम, लक्षण र सर्ने तरिका

नेपालमा मंकिपक्सको जोखिम, लक्षण र सर्ने तरिका


  • रासस
  • भाद्र ३ २०८१, सोमबार

काठमाडौं/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकिपक्स संक्रमणको जोखिममा नेपाल पनि रहेको जनाएको छ । मंकिपक्स भाइरसको संक्रमण छिमेकी देश भारतमा द्रूत रुपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
‘नेपालमा अघिल्लो वर्ष एक जना विदेशी ६० वर्षीया महिलामा मंकिपक्स संक्रमण देखिएकाले पनि नेपाल मंकिपक्स संक्रमणको जोखिम नरहेको भन्न सकिदैन,’ बुढाथोकीले भने । प्रवक्ता बुढाथोकीले मंकिपक्सको पूर्वतयारीबारे मन्त्रालयले विषय विज्ञसँग सुझाव लिइसकेको पनि बताए ।
मन्त्रालयले हवाई तथा सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए । उनका अनुसार, मन्त्रालयले सातवटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको छ ।
केही दिनयता अफ्रिकी मुलुक कंगोमा मंकिपक्स भाइरसको घातक प्रजाती ‘क्लेड १ वी’ फैलिरहेको छ । मन्त्रालयका अनुसार जनवरी यतामात्र उक्त भाइरसका कारण ५४८ जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनले पनि मंकिपक्स संक्रमण बढिरहेकाले विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
कसरी संक्रमण हुन्छ मंकिपक्स
मंकिपक्स सङ्क्रमित भएको व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा, मानिसको घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरमा निस्किएको तरल पदार्थ थुक, ¥याल सम्पर्कबाट, सङ्क्रमित बाँदर, मुसा लोखर्केलगायत जनावरबाट र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ ।
यस्ता छन् मंकिपक्सका लक्षण
मंकिपक्स संक्रमण भएमा ज्वरो आउने, सामान्यतया ज्वरो आएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतलामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरु बढ्ने गर्दछन । आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्यु हुन सक्दछ ।
मन्त्रालयको पूर्वतयारी प्रतिकार्य र व्यवस्थापन भएता पनि नागरिकबाट जनस्वास्थ्यका मापदण्ड पालना भए मात्र मंकिपक्स संक्रमणको रोकथाम र नियन्त्रण गर्न सम्भव हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->