पोखरा/कास्की जिल्ला क्रिकेट संघको पाँचौ साधारण सभा पोखरामा शनिबार सम्पन्न भएको छ । साधारण सभाले रिक्त रहेको सचिव पदमा मनोनयन गरेको छ । संघले लामो समयसम्म रिक्त रहेको सचिवमा वर्तमान कोषाध्यक्ष विरेन पुनलाई मनोनयन गरेको छ भने कोषाध्यक्षमा सदस्य दुर्गाबहादुर चन्द र सदस्यमा पूर्व कोषाध्यक्ष चन्द्रकुमार गुरुङलाई मनोनयन गरेको छ । दुई वर्षअघि तेस्रो अधिवेशनबाट चयन भएको कार्यसमितिमा लामो समयसम्म सचिव अनुपस्थिति रहेपछि पदपूर्ति गरिएको संघका अध्यक्ष सन्जयकान्त सिग्देलले बताए ।
प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले प्रदेशको खेलकुद विकासलाई नीतिगत रुपमा अघि बढाउन परिषद प्रतिबद्ध रहेको
सुनाउँदै खेलाडीहरुको सम्मान र संरक्षणका लागि समेत योजनाबद्ध रुपमा अघि बढेको उल्लेख गरे । खेलकुद क्षेत्रको विकासमा निजी क्षेत्रको सहभागिता र लगानी महत्वपूर्ण रहेको बताउँदै सदस्य सचिव शर्माले नेपाली क्रिकेटले खेलकुदमा उल्लेखनिय योगदान दिएको बताए ।
गण्डकी प्रदेशका पूर्व सांसद दीपक कोइरालाले खेलकुदमा लगानी बढाउन आवश्यक रहेको बताए । नेपाली खेलकुदमा रहेका समस्याहरुलाई साझा रुपमा सुल्झाउन सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखरा शिक्षा र स्वास्थ्यको सहरमात्रै नभइ खेलकुद पर्यटनको सम्भावना पनि उत्तिकै रहेकोले प्रदेश सरकार र स्थानिय तहले त्यसतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिए । संघले आर्थिक वर्ष २०८०÷०८१ मा एक लाख २० हजार चार सय ४४ रुपैयाँ नाफा गरेको छ । कोषाध्यक्ष विरेन्द्र पुनको आर्थिक प्रतिवेदनमा संघले १८ लाख ७५ हजार दुई सय २६ रुपैयाँ आम्दानी र १७ लाख ५४ हजार पाँच सय ८१ रुपैयाँ खर्च गरेको उल्लेख छ ।
संस्थापक प्रा.डा. वीरेन्द्रसिंह सम्मानित
संघले संस्थापक अध्यक्ष प्रा.डा वीेरेन्द्रसिंह गुरुङलाई सम्मान गरेको छ । कास्कीको क्रिकेटमा अतुलनीय योगदान दिएका गुरुङलाई सम्मान गरिएको हो । गुरुङसँगै संस्थापक सदस्य ऋषीराम सापकोटालगायत तत्कालीन संस्थापक कार्यसमितिमा रहेकालाई सम्मान गरिएको हो । पोखरा रंगशालाको पर्खाल निर्माण समितिका संयोजक समेत रहेका गुरुङ पोखरा रंगशालाको क्रिकेट खेल मैदान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए । यस्तैे पोखरा रंगशालास्थित क्रिकेट खेल मैदान निर्माणमा सहयोगी एवं निर्माण कार्यका लागि योगदान गर्ने तत्कालिन निर्माण समितिका पदाधिकारीहरु, पोखरा उद्योग वाणिज्य संघलगायत विभिन्न संस्थाहरुलाई सम्मानपत्रद्वारा सम्मान गरिएको हो । सोही अवसरमा संघले कास्कीका महिला खेलाडीद्वय सिर्जना पौडेल र सुजिता थापालाई नगद १०–१० हजारसहित सम्मान गरिएको थियो । २०५१ सालमा गठन भएको कास्की जिल्ला क्रिकेट संघमा ६२ जना सदस्य छन् ।





