ब्राह्मण कुलमा जन्मिएर आफ्नै कुलको विरोध गर्ने भनेर म माथी केही आक्षेप आउन सक्छन् तर ईश्वरको कृपाका लागि कुनै अपसकून् व्यहोर्नुपर्दैन म निश्चिन्त छु । हामी हिन्दु हौं हिन्दुत्वको रक्षा गर्नु हाम्रो कर्तव्य हो । वैदिक सत्य सनातन धर्मको रक्षार्थ जीवनकै बलि चढाउन किन नपरोस् हामी लडिरहन्छौं । परन्तु जातभित्रको घमण्ड र धर्मभित्रको आतंकलाई मेटाउन हामी पछि पछि पर्दैछौं ।
नेपालको धार्मिक इतिहासमा एकछत्र राज गर्नेले गरिरहे । धर्मरक्षाको अभियान चलाउने मुकदर्शक बनिरहे, अहिले जस्ले धर्मका नाममा लुटको खेती गरिरहेछ उसैले धर्म प्रचारको होड चलाइरहेछ । हुनतः कलिका चेला अर्थात् बाहुन बिना न जातियताको ढोङ पिटिन्छ न विभेदको शंख, यहाँ यत्रतत्र सर्वत्र धार्मिक वितण्डा मौलाएको छ । यहाँ सोझा साझा मानिसलाई दिनदहाडै लुटिन्छ । धर्मको आडमा रातको निद न दिनको भोक बनाइन्छ । आफू सर्वत्र पैसैपैसाको सपनामा मस्त परिन्छ । हुनतः गोरुलाई गोरुकै सिंगको भारी भैंसीलाई भैंसीकै सिंग भारी भन्या झैं आफ्नै भारी बोक्नु पर्ने बाध्यता भएको हुनाले होला आफ्नै गहना खियाउन सिङ्गौरी खेलेका, हो बाहुन पनि आफ्नै धर्मका जरा खियाउन धर्मैको होली खेलिरहेका छन् । हे अबुझ हो आखिर सत् धर्म र नैतिकता नै बिर्सिएर किन बन्छौ द्रव्यपिचाश ? किन गर्छौ अन्याय ? किन अर्काको अस्तित्व माथी खेल्छौ ? किन आफ्नै ईश्वरको डर मान्दैनौ ? छन् भने डर मान, इज्जत गर, अस्तित्व बुझाउ । छैनन् भने अरुलाई नतर्साउ, किन धर्मैको आड लागेर परिवार पाल्छौ ? नेपाल आमाको मातृत्वमाथि असत्को रजाइ नगर, भगवानको नाममा इमान नबेच । कालान्तरमा जस्तो कर्म गर्छौ त्यस्तै फल पाउने छौं । ढिलोचाँडो भगवानको दृष्टि खुल्ने छ र तिम्रो सबथोक ध्वस्त हुनेछ । तसर्थ, सत् कर्म गर तिम्रो भन्ने यो संसारमा केही छैन । नमरी स्वर्ग देखिदैन भन्या झैं म आफू यहिं क्षेत्रको भुक्तभोगी भएकाले यो कुरा लेखिरहेको छु ।
हिजोआज धार्मिक सामाग्री महङ्गो भएकै कारण मानिसहरू हिन्दु धर्मको विरुद्धमा लाग्दै छन् । जानीनजानी मानिसले धर्मको अस्तित्व समाप्त पार्दैछन् । समाजमा धार्मिक विकृती मौलाउनु भनेको हाम्रो धर्म, संस्कृति, रहनसहन र परम्पराहरु विलिन हुनु हो । इसाइकरणको जालोले समाजलाई विकृत बनाएको वर्तमान परिवेशमा हिन्दु अतिवाद र जातिय भेदभावले जरा गाँड्नु हाम्रो धर्म निशासिनु हो । तसर्थ, समाजमा हुने धार्मिक विसंगतिहरुको अन्त्यका लागि एकजुट हुनु आवश्यक छ । यति भनीरहँदा धार्मिक वितण्डा सुरु हुनु, गराउनु र धर्म परिवर्तनले उद्दण्ड स्वरुप पाउनुमा ब्राह्मण र धार्मिक सामाग्री बेचबिखन गर्ने व्यापारीहरु जिम्मेवार भएको महशुस हुन्छ ।
अहिले सबैभन्दा सानो एकाइमा सामाग्री बेच्ने पसलमा धार्मिक पसल पर्छन् । जत्ती सुक्ष्म आकारमा वस्तु बिक्री गर्यो उत्ति धेरै फाइदा हुन्छ । मानौं १६० रुपैयाँ केजी दाललाई सजिलैसंग १६ ओटा पोका बनाउन मिल्छ अनि तिनै पोकालाई २५ देखि ४० रुपैयाँमा बेच्न मिल्छ । फाइदाको कुरै नगरौं । मास, तिल, गहत अविर, केशरी, रक्तचन्दन, सस्र्यु, ध्वजा, जौतिल, मह, घ्यू, र अगरबत्ती लगायतका यस्ता सामाग्री बजारमा जत्ती पनि पाइन्छन् । हो मानिसलाई सहज भएको छ पैसा भए एउटै छानामुनि सबथोक किन्न मिल्छ । तर, वर्षौं अघिको गङ्गाजललाई काशी, विश्वनाथ र केदारनाथको जल भनेर व्यापार चलिरहेको छ । घ्यू त ठिक थियो हुँदाहँुदै गण्डकीको जल समेतले शुद्ध अस्तित्व पाएन । किन्नेले लाउन पाउदैन, लाउनेले देख्न पाउदैन भनेझैं पुजा सामाग्री ठगी खाने भाँडो भएको छ । यजमानले दान गर्ने भनेर कमजोर अपेक्षा राख्ने, व्यापारीले कमजोर सामानमा रजाइँ गर्ने प्रवृत्ती छ । उदाहरणको लागि राघवी तेललाई हेरौं । कम्पनीले २०० मिली तेललाई १२० रुपैयाँ तिराउँछ जब कि प्लास्टिकमा ५०० मिली तेललाई १३० मा पाइन्छ । किन्नेले लादैन, लानेले किन्दैन भन्ने भाव यहाँ स्पष्ट छ धार्मिक पसललाई बेच्न पाए भइहाल्यो । पुजा गर्नेले बाहुनलाई दान गर्ने, ग्रह टार्ने भन्ने बुझ्छ । तर आफू ठगिएको महशुस नै गर्दैन । धार्मिक पसलले बेच्ने सुनको प्रतिमा कस्तो होला ? त्यो पनि सुनको मूल्यभन्दा ४ गुणा महङ्गो, मठ मन्दिरमा धार्मिक सामाग्री बेच्नेदेखि कर्मकाण्ड गराउने पण्डितसम्म सबै द्रव्यका भुक्तभोगी छन् । को आउँछ र कस्लाई लुटौं भन्ने भाव जागृत छ । अचेल भगवानलाई चढाउने फुलदेखि गाइको दुध र गहुँतका थोपाथोपामा व्यवसायीक गन्ध आउँछ । धर्मले लक्ष्मीको रुपमा पुज्न सिकाएकी गौ माताको दुधदेखि गोबरसम्मको व्यापार गर्नेहरुलाई के पाप नलाग्ला र ?
हो डाक्टरले बिरामी र वकिलले मुद्दा मामिला नभए के खाने ? भन्या झैं बाहुनलाई खान अरुका ग्रह नै बिग्रनु पर्ने कस्तो बिडम्बना ! त्यसैमा पनि ठगी कति कति आस्था र धर्मको बाध्यता धार्मिक सामग्री ३००% सम्म फाइदामा बेचेको मैले देख्या छु । ग्राहकले महङ्गो भो भन्नै नहुने धर्मैको नाश हुने, अधर्म सुरु हुने, व्यापारी र पण्डितले तिनै देवताको कसम खाएर धर्मको व्यापार गर्ने ? यो कस्तो न्याय ? के तिनीहरुलाई पाप लाग्दैन ? सामान्य १०० रुपैयाँ मिटरमा पाइने कपडा धर्मका लागि ३०० पर्छ, त्यसैमा पनि टुक्रा पारे ध्वजा हुन्छ ४०० मा बिक्री गर्छ । किराना पसलमा ५०÷५५ रुपैयाँमा पाइने नरिवल यहाँ ८०÷९० पर्छ । नरिवलदेखि तामाका थाली बेलीमा यस्तै वितण्डा छ । कसरी जोख्छ ? कतिले गुणा गर्छ ? भक्तरुपी ग्राहकलाई पत्तै छैन । पसलेले जति बढाएनी पाप लाग्दैन भक्तले घटाए सबै सत्व मेटिन्छ रे म छक्क पर्छु ।
महंगी हिन्दु धर्ममै छ । जन्मदेखि मृत्यु अनि मृत्यु पर्यन्तका कर्म गर्न निकै गाह्रो छ । मसान घाटमा दाउराको व्यापारदेखि मलामीलाई खाजा खर्च, भेटी, काजक्रीया र दान दक्षिणासम्मका कार्य सम्पन्न गर्न असहज बन्दै गएको परिवेशमा व्यापारी र पण्डितहरु झनै उद्दण्ड बन्दै छन् । यस्तै प्रवृत्ति चित्त नबुझेर होला महाकवी लक्ष्मी प्रसाद देवकोटा नास्तिक बनेका, महान दार्शनिक कालमाक्र्सले धर्मलाई अफिम भनेका, हुन सक्छ धर्मको नशा लाएपछि मानिस अन्धो नै हुँदो रहेछ । धार्मिक कार्यमा जुटेका मानिसले ठगिएको सुनाउँछन् । आखिर जे महशुस गरिन्छ त्यो सत्य हुन्छ । सामान्य ग्रहशान्ती, रुद्री, विवाह, व्रतबन्ध जस्ता कार्यमा हजारौंका सामाग्री बेच्ने व्यापारीले एकाहा र सप्ताहकै कर्ता भेटाए कति लुट्छन् अनुमान गर्नै सकिन्न । धार्मिक कार्यमा यस्तै अवस्था रहे गरिबहरुले धर्ममा आस्था राख्न सम्भव छ ? जातिय विभेद छुवाछूत र धार्मिक कार्य महंगो हुनु धर्म परिवर्तनको कारक हो । अबका दिनमा कि पुजा गर्ने भक्तले सामान किन्न दसतिर फुट्कर पसल धाउनुपर्छ । कि त धर्मका लागि अन्धभक्त बन्नै पर्छ । यो यथार्थ हो ।
बाहुनहरुको मनोमानीले धर्म कै संकट सुरु भएको छ । बोल्नेको पिठो बिक्छ भन्या झैं बोल्न जानेका बाहुनले जे पनि गर्न मिल्छ ? आफू दिनमै १० ओटा श्राद्ध गर्ने अरुलाई अनुशासन सिकाउने ? अहिले नेपालमा लुट्नसके लुट भन्ने भनाई सार्थक भएको छ । कर्मकाण्डलाई ब्राह्मणको पैत्रिक सम्पत्ति ठान्ने बाहुन र कुरै नबुझी संगीका साथमा पोइल जाने गैह्र बाहुन उस्तै उस्तै लाग्छ । जुन जोगी आए नि कानै चिरेको भन्या झैं जहाँ जस्ले जस्तो व्यापार व्यवसाय गरे पनि धार्मिक सामाग्रीमा लुटतन्त्र हाबी छ । धर्मको बचाउ गर्ने मानिस कमै छन् । जस्लाई पनि कमाउनै छ, भोलि उज्यालो नै नहोला झै गरेर ठगेको देखिन्छ । सधैं अरुलाई ठग्ने र आफ्नो मात्रै दुनो सोझ्याउने लुट प्रवृत्तिले आखिर कहिले हुने भक्ती ? कहिले देखाउने ज्ञान र विवेक ? समाजमा सम्मानित नाम पाएका ब्राह्मणले जातीयतालाई अंगालो हालेर दिन काटीरहेका छन् । उनीहरुले आफ्नो क्षेत्राधिकार र आध्यात्मिक उत्तरदायीत्व कहिले बहन गर्ने ?
हिन्दु धर्ममा पढ्नु, पढाउनु दान दिनु, लिनु, यज्ञादि गर्नु, गराउनु यी छ कर्म ब्राह्मणका हुन् भनिएको छ । तर अहिलेका ब्राह्मणहरु देखावटी धार्मिक सिपाही भएका छन् । सद्विचार हराउँदै गएको छ । हजारौं रुपैयाँ तोकेर काम गर्ने तान्त्रिक, ब्राह्मण र त्रिमुण्ड दलेर त्रिकालदर्शी विज्ञको नाटक मन्चन गर्ने ज्योतिषले पनि कर्मको ग्यारेन्टी दिन सक्नुपर्छ । पहिले ज्ञान विज्ञानका विषयमा चासो राख्ने मानिसलाई ब्राह्मण भनिन्थ्यो । ब्राह्मण हुनलाई विद्वान, क्षमाशिल, इश्वरप्रति आस्थावान, छलकपट नगर्ने, शुद्ध, विद्याआर्जन गरि काम, क्रोध, लोभ, मोह परित्याग गरेको हुनुपथ्र्याे । तर अहिले बिना गुणका ब्राह्मणको वर्चस्व छ । बाउबाजे पुरोहित भएकै आधारमा अनपढ छोरा नातिलाई पुरोहित मान्नु हिन्दुत्व विनाशको कारक हो । यस्ता ब्राह्मणले लुटको धन्दा नगरुन् पनि कसरी ? सबै ‘म खाउँ मैलाउँ अरु सब मरुन् दुर्वलहरु’ भन्ने तर्कलाई आत्मसाथ गरिरहे छन् । अरु धर्ममा कहिल्यै धनको आडम्बर देखाइदैन, कसैलाई लुटिदैन । सधैं सौहार्दपुर्ण व्यवहार गरिन्छ । तर, हिन्दुहरु यसरी नै धनसम्पत्ती, प्रतिष्ठा र बौद्धिकताको होली खेलिरहे हिन्दु धर्म कदापि रहदैन ।
यसर्थ नेपाली समाजमा हिन्दु धर्मशास्त्र जानेकै ब्राह्मणबाट विभेद भएको छ । धर्मको अस्तित्व विलय भएको छ । मानवीय समाज, संस्कृती र धार्मिक सहिष्णुता भत्काउने गरि कसैले कुनै कार्य गर्छ भने त्यसलाई कार्वाही गरिनु पर्छ । हो, ब्राह्मण, ज्योतिष र धार्मिक सामाग्री बेचविखन गर्ने व्यापारीबाट भएका यी तमाम बेतिती र विसङ्गतीहरुको अन्त्यका लागि सामाजिक एवं धार्मिक अभियान्ता, विद्वत समाज, ब्राह्मण समाजसहित पन्चाङ्ग निर्णायक समितिले उचित निकास खोज्नु पर्छ । हिन्दु धर्मावलम्बीहरु भित्रको आन्तरिक वैमनस्यता, जातिय द्वन्द र ब्राह्मणहरुका कुकृत्यको नियमन गरिनु पर्छ । अन्यथा यस्तै अवस्था रहिरहेमा नेपाल केही समयको अन्तरालमै हिन्दुत्व समाप्तीसंगै पाश्चात्य संस्कृतिको सिकार बन्ने पक्का छ ।





