हुनतः उनी उद्योगको मालिक हुन् । तर सामान अनलोडदेखि तालिममा सहजकर्ता र बारीमा दूबो गोड्दै गरेको अवस्थामा पनि भेटिन्छन् । उनलाई म मालिक हुँ भन्ने घमण्ड छैन । निर्माणाधिन घरमा सामान चोरी भएछ । दिनभरजसोः सिसिक्यामेरा चेकजाँच र सोधखोजमा पनि उनी भुले । उद्योगको व्यवस्थापन, बजार र उपभोक्ताको चाहना अनुसारको डेलीभरी पनि उनको प्राथमिकतामै छन् । मनसुनी वर्षातले सिंचित जमिनमा दुबो गोडमेल गर्दै गरेका याम प्रसाद कँडेल–५० को बागलुङ नगरपालिका ४ उपल्लाचौरमा आफ्नै ‘सपनाको घर’ बन्दैछ । काठेखोला गाउँपालिका ८ लेखानीका रैथाने भाडाको घरमा बस्न थालेको वर्षाै भयो । लामो र कठोर संघर्षपछि जेनतेन उठ्न थालेको निर्माणाधिन घरमा चोरी भएपछि उनी थोरै नर्भस देखिए । पुलिसमा रिपोर्ट गर्ने नगर्ने दुविधामा देखिए ।
झण्डै ४ रोपनी क्षेत्रफलमा फैलिएको मनसुन दालमोट उद्योगका उत्पादन मौलिक स्वादका कारण आन्तरिक मात्रै होइन अन्तराष्ट्रिय बजारमा पनि चर्चित छन् । विशेषगरी भुटेको र मिक्स मकै, दालमोट, फुरन दाना, जौंको सातु, दलिय, जौंको पिठो, गहुँको दलिया, कोदोको पिठो, फापरको पिठो, चनाको सातु र मिक्स सातुको अत्याधिक माग छ । स्थानीय बजारको माग धान्न नसकेको उद्योगले छिमेकी जिल्ला, देशका प्रमुख शहर र विदेशमा निर्यात गर्दै आएको छ । स्थानीय स्तरमा उत्पादित खाद्यन्नबाट तयार हुने दालमोट र पिठोका परिकारहरुमा मौलिक स्वाद पाइने उपभोक्ता बताउँछन् । उपभोक्ताको रोजाईंकै कारण मनसुन दालमोटका उत्पादन ‘ब्राण्ड’ बनेका छन् । खुद्रा पसलदेखि सम्पन्न शहरका डिपार्टमेन्टल स्टोर्ससम्म फैलिएका छन् । त्यसैका मालिक हुन् कंडेल ।
दालमोट उद्योग जन्मनुको रोचक कथा
कँडेल सफल उद्यमीसंगै एनओजिओकर्मी पनि हुन् । झण्डै २२ वर्षदेखि गाजा युवा क्लब (हाल नेपाल गाजा डेभलपमेन्ट फाउन्डेन) मा जोडिएर सामाजिक क्षेत्रमा काम गरेको अनुभव छ उनीसंग । अपाङ्गता भएका बालबालिकाको शिक्षा, बालमैत्री शिक्षा कक्षा व्यवस्थापन, अपाङ्गता भएकालाई उपचार, शिक्षा र रोजगारीमा जोड्ने कार्यक्रम लिएर कँडेलले बागलुङका दुरदराजका गाउँबस्ती चहारेका छन् । संस्थाले अपाङ्गता भएका अभिभावकका लागि संचालन गरेको दालमोट उत्पादन तालिममा उत्पादित दालमोट गाउँमै खपत भयो । त्यो पनि छोटो समयमै । कँडेलले सोचमग्न बने । अनि शुरु भयो दालमोटको बजार अध्ययन ।
संयोग कस्तो जु¥यो भने संस्थाको कार्यसमिति सदस्यहरु कर्मचारी हुन नपाउने नीतिका कारण उनी वेरोजगार थिए । बजारको अध्ययनपछि कँडेललाई थाहा भयो– दालमोटको बजार रहेछ । झण्डै ५ लाखको आयातित दालमोट स्थानीय बजारमा स्टक देखेपछि कँडेलले २०६८ जेठ २९ मा ‘मनसुन दालमोट उद्योग’को जग बसालेका थिए । आफैले दिएको तालिमबाट प्रेरणा लिँदै ८ लाखबाट शुरु भएको उद्योगमा अहिले डेढ करोड लगानी पुगेको छ ।
दालमोट उत्पादनपछि कँडेललाई कठिन चुनौती थियो– बजारीकरणको । बिबिएसका डिग्री होल्डर कँडेलले जुक्ति लगाउँदै छोराछोरी र उनहरुका साथीलाई समूह बनाएर बजारमा मनसुन दालमोट रोज्न पठाए । यहीं शिलशिलबीच कँडेल मनसुनका उत्पादन लिएर बजार छिँरे । पसलेले पनि खुशी भएर सामान राखिदिए । शुरुमा कसैले रेस्पोन्स नगरेका मनसुनका उत्पादनको खपत आन्तरिक बजारमा अहिले लोभलाग्दो छ । पाँच पाथी मकै भुटेर परिक्षणका लागि बजार पठाएर व्यवसाय होमिएका कँडेलले उपभोक्ताले रुचाएपछि १ मुरी बजार पठाएका थिए । जैदीको त्यो मकै एकसातामै बिक्री भएपछि हौसिएका कँडेलले व्यवसाय विस्तार गरेका थिए । स्कुले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म लक्षित मनसुनका उत्पादन स्थानीय र मौलिक स्वादकै कारण उपभोक्तामा लोकप्रिय बनेको हो भन्छन् ट्राफिक चोकस्थित मिलन डेरी तथा फलफुल पसलका संचालक खगेन्द्र पौडेल ।
पशुचौपायाको आहार फापर, यसरी पस्यो शहरी भान्सामा
दोलमोटबाट उत्पादन शुरु गरेको उद्योगले कोदोको पिठो बजारमा पठाउन थालेपछि फापरको पिठोको माग आउन थाल्यो । अनि, शुरु भयो फापरको खोजी । मुस्ताङमा मिठे र बागलुङकै काठेखोलामा तिते फापर पाईने पत्ता लाग्यो । असोज÷कात्तिकमा धान भित्राएपछि काठेखोलाका किसानले तिते फापरको खेती गर्थे, त्यो पनि पशुआहारका लागि ! मकै, धान, गहुँ र फापरको पिठो बनाएर पशुलाई खुवाएको देखेका कँडेलले उद्योगमा ल्याएर प्रशोधन गरे । स्वादमा मिठासपन आयो । अनि, कोदोपछि उद्योगमा अर्काे उत्पादन थपियो– फापरको पिठो । छोटो समयमै फापरको पिठोले राम्रो रेस्पोन्स पाएपछि कँडेलले किसानको उत्पादन खरिद गर्न थाले । पहिलो वर्ष ३२ मुरी फापर खरिद गरिदिएपछि हौसिएका किसानले अहिले वार्षिक ५५ मुरीसम्म उद्योगमा पठाउन थालेको कँडेल बताउँछन् । राम्रो आम्दानी हुन थालेपछि काठेखोलाका झण्डै २० घरधुरी फापर खेतीमा जोडिएका छन् ।
पछिल्लो वर्ष ६ हजार मुरी फापर बिक्रीबाट किसानले साढे ३ लाख आम्दानी गरेका छन् । हिजो पशुआहारमा प्रयोग हुने तितेफापर आजभोलि हुनेखानेको किचन मेनुमा अनिवार्यजस्तै बनेको छ । उद्योगमा प्रयोग हुने अधिकांश कच्चा पदार्थ स्थानीय हुन् । अझ मकै, भट्ट, गहुँ, जौं, कोदो, फापर बागलुङकै उत्पादन हुन् । मालिका, विहुँ, लेखानी, भीमापोखरा, धम्जा, दुदिलाभाटी, ग्वालीचौर, राजकुत, निसी र तमानका किसानबाट खरिद गरिन्छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा छिमेकी रुकुम, रोल्पा, पर्वत र म्याग्दीका गाउँबाट खरिद गर्न कँडेल आफै पुग्छन् । चनाको दाल, मैदा र तेलबाहेक अन्य कच्चापदार्थ स्थानीय स्तरमै उपलब्ध हुने कँडेल दाबी गर्छन् ।
आगलागीले गलेनन्, ब्लड क्यान्सरलाई जितेपछि मकैको व्यापार
२०७२ पुष ७ गते उद्योगले स्थापनाको पाँचौ वर्षगाँठ मनाउँदै थियो । अफसोच, त्यो दिनको भीषण आगलागीले बागलुङ नगरपालिका ३ श्रीनगरमा रहेको उद्योग खरानीमा परिणत भयो । हर्षाेल्लासको त्यो माहौल एकाएक सन्नाटामा परिणत भयो । आगलागीबाट मेसिन, कच्चापदार्थ र तयारी वस्तु नष्ट हुँदा कँडेलले ८० लाख रुपैयाँ गुमाए । आगलागीपछि व्यवसायमा सफलताको उडान भरिरहेका कँडेल एकाएक शुन्यमा झरें । विगतको त्यो कहालीलाग्दो दुखान्त स्मरण गर्दै कँडेलले भने, ‘स्थानीय व्यापारीको दरिलो साथले व्यवसायमा फर्किन सहज भयो ।’ सरकारी निकायबाट सुको राहत नपाएपनि व्यापारीले उठ्न बाँकी रकम भुक्तानी गरे भने भैरहवाका व्यापारीले पैसा नमागेर सहयोग गरेको क्षण अविष्मरणिय रहेको कँडेल बताउँछन् । बजारबाट झण्डै २० लाख उठेपछि कँडेल फेरि व्यवसायमा जोडिए । श्रीनगरबाट रामरेखामा उद्योग स्थानान्तरण गरेका कँडेलले १६ लाखमा संरचना खरिद गरेका हुन् भने झण्डै चार आना जमिन मासिक १५ हजार भाडामा लिएका छन् ।
आगलागीको चोटबीच कँडेलले ब्लड क्यान्सरसंग जुध्नुपर्यो । भारतको राजिव गान्धी अस्पतालमा चार महिने लामो उपचारपछि ब्लड क्यान्सरलाई जिते । उपचारमा ३२ लाख सकियो । उपचार गर्दा लागेको ऋण तिर्न कँडेललाई दुई वर्ष भुटेको मकै बिक्री गर्नुपर्यो । संयोग नै भन्नुपर्छ– भुटेको मकै बिक्री गर्ने आईडिया पनि राजिव गान्धी अस्पतालको शैय्यामा फुरेको थियो । रगत शुद्विकरणका लागि भुटेको मकै लाभदायी हुने डाक्टरको सुझावपछि कँडेलले बजारमा किनेर खाए । मिठो लाग्यो र आफै उत्पादन गर्ने योजना बनाए । पाँचपाथी मकैबाट शुरु भएको उद्योगले गतवर्ष मात्रै २७ लाखको ४३ हजार किलोग्राम मकै खरिद गरेको छ । स्थानीय जातको मकै भएकै कारण उपभोक्ताले रुचाएको कँडेल बताउँछन् । ‘हाइव्रिडभन्दा स्थानीय जातको मकै पौष्टिक, स्वादिलो र खदिलो हुन्छ’ कँडेलले भने, ‘जाडोमा ज्यान तताउन खाइने मकै अहिले हरेक मौसममा खाने प्रचलन बढेको छ । बिहानको नास्तादेखि दिवा खाजाको रुपमा समेत मकै खाने संस्कार बसेको छ । जहाँ नेपाली त्यहाँ पुगेको छ ।’
नेपालकै पहिलो फुरन दाना
मनसुनको आफ्नै उत्पादन हो फुरन दाना । मनसुनले फुरन दानालाई आफ्नो उद्योगबाट शुरु भएर देशभर फैलिएको दाबी गर्छ । यसको पहिचान भने म्याग्दीको बेनीमा आयोजित एक कार्यक्रममा खाजा खाने क्रममा भएको थियो । खाजा थियो घिउमा फुराएको चिउरा र कुखुराको मासु । घिउमा फुरेको चिउराले कँडेललाई छुट्टै स्वाद दिएछ । आफुसंग भएको प्रविधि प्रयोग गरेर परिक्षण गर्दा सफल बने । अनि, कँडेलले घिउमा फुरेको चिउराको न्वारन गरे– फुरन दाना । एक क्विन्टल चिउराबाट उत्पादन थालेको उद्योगले हाल ठुलो परिणाममा उत्पादन गर्छ ।
स्थानीय उत्पादन प्रर्वद्वनमा समेत जोडिएका कँडेलले आफ्नै गाउँ लेखानीमा ३० रोपनी जमिनमा भट्टको खेती गरिरहेका छन् । बाँझो जमिन भाडामा र आफ्नै जमिनमा समूह बनाएर भट्ट खेती गरिएको हो । जसको अगुवाईमा कँडेलले छन् । उद्योग संचालनमा दुई छोरा हिमाल र कमल र एक छोरी दुर्गा कँडेलको दरिलो साथ पाएर ढुक्क कँडेलले गतवर्ष मात्रै किसानको ५ हजार केजी फर्सी खरिद गरेर गाउँ मुल्यहिन बन्ने कृषि उपजको महत्व दर्शाउने सन्देश छाडेका छन् । उनको उद्योगमा परिवारका ५ जनासहित १४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
रोजगारीका लागि बढ्दो युवा विदेश पलायन रोकी देशमै रोजगार दिन उत्पादनमा आधारित अनुदान दिने कार्यक्रम ल्याउनुपर्ने कँडेलको सुझाव छ । ‘उत्पादन नहुँदै अनुदान दिँदा खायो, सकियो, कामै भएन’ कँडेलले थपे, ‘युवाले उत्पादन गरेपछि अनुदान दिने होभने युवाहरु उत्साही भई उत्पादनमा लाग्छन् र गर्छन् पनि, त्यस्तो वातावरण छैन, बनाउन घरगाउँका सिंहदरबारले चासो दिनुपर्छ ।





