बागलुङ/शुक्रबारदेखि शुरु भएको तेस्रो संस्करणको अन्तर विद्यालय (मावि) स्तरिय बास्केटबल प्रतियोगितामा आयोजक सिद्वार्थ शिक्षा सदनले विजयी शुरुवात गरेको छ । प्रतिद्वन्दी चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुललाई सिद्वार्थले ५–१४ को स्कोरमा निराश बनायो । सिद्वार्थ निलोको जितमा रिजन थापाले ५, सचिन क्षेत्रीले ३, सुविन पुन, सूर्य पुन र कपिल पुनले २/२ स्कोरको योगदान गर्दा चिल्ड्रेनका निशान बुढा मगरले सान्त्वना ५ स्कोर मात्र गर्न सफल सके । सिद्वार्थ निलोले अब शनिबार हुने बनौ मावि पर्वत र गरिमा आवासिय माविबीच हुने खेलको विजयी टोलीसंग प्रतिष्पर्धा गर्ने छ ।
यस्तै, शुक्रबारै सम्पन्न खेलमा आयोजक सिद्वार्थ शिक्षा सदन ‘पहेंलो’, फ्युचर ब्राइटर आवासिय मावि र न्यु ओयसिस एकेडेमी विजयी भएका छन् । सिद्वार्थ पहेंलोले आदर्श विद्यामन्दिर माविलाई १४–७, फ्युचर ब्राइटरले कालीगण्डकी आवासिय माविलाई ३०–० र न्यु ओयसिसले गुराँस विद्या सदनलाई ३५–२ स्कोरले पराजित गरेका हुन् । भोलि हुने खेलमा फ्युचरले ज्योति मावि पर्वतको सामना गर्ने छ भने आयोजक सिद्वार्थ निलोले न्यु ओयसिस एकेडेमीसंग प्रतिष्पर्धा गर्ने विद्यालयका खेलकुद प्रशिक्षक निशा थापाले जानकारी दिए ।
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बास्केटबलका रेफ्री सुराक शाक्यलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उपप्रमुख खड्काले देशको सान बढाउने खेलकुद क्षेत्रलाई चलायमान बनाउन विद्यालयहरुले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । विद्यालय स्तरीय खेलकुद गतिविधिले बालमैत्री नगर घोषणा अभियानलाई सफल बनाउन योगदान गरेको उनको भनाई थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको खेलमा विद्यालयका भाइस प्रिन्सिपल प्रेम थापाले स्वागत र संचालन शिक्षक नगेन्द्र मल्लले गरेका थिए । उद्घाटन कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले आइटिएफको कला कौशल र साँस्कृतिक प्रस्तुती दिएका थिए । प्रतियोगिताको विजेता नगद १५ हजार र उपविजेताले नगद १० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडि, हाइस्कोरर र प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडिलाई पुरस्कृत गर्ने कार्यक्रम छ ।





