मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

तिज गीत, बालेन विशेष

तिज गीत, बालेन विशेष


  • माधव चापागाईं
  • भाद्र १७ २०८१, सोमबार

बालेन कहिले टुकुचा, कहिले न्यूरोड त कहिले बालेनको डोजर भनेर चर्चामा आइरहन्छन् । काठमाण्डौं महानगर पालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ यतिबेला तिजे भाकामा समेटिएका छन् । कलाकारहरुले देशको समसामयिक र राजनैतिक विषयलाई रोज्दा अघिपछि यत्रतत्र चर्चामा आउने उनी अहिले चौतर्फी चर्चामा छन् । हिन्दू नारीहरूले भगवान शिवको पुजा आराधना, नाचगान र मनोरञ्जन गरेर हरितालिका तिज मनाउँछन् । पहिले पहिले तिजमा कर्म घरका जिम्मेवारी, तनाव, दुख, पिरव्यथाहरुलाई माइतमा बिसाउने गरिन्थ्यो । समय क्रमसंगै समाजका विकृती, विसंगती र शासकीय स्वरुप एवं अनुकरणीय शासकहरुका विषयमा गीत गाउन थालियो जुन संस्कारले अहिले मूर्तता पाएको छ ।

वि.सं. २०७९ को स्थानीय तह निर्वाचनसंगै बालेनको नामले उच्च स्थान पाएको थियो । तत्कालीन समयदेखि नै ‘बालेन शाह जिन्दावाद’ भन्ने नाराले चर्चा पाइरहेको थियो । जुन चर्चा र भरोसाले आजसम्म पनि निरन्तरता पाइरहेको छ । उनको पराक्रम, साहस र स्वाभिमानको प्रशंसामा नेपालीहरुले भरपुर साथ दिइरहेका छन् । ‘सरर बालेन सहर’ ‘बालेन दाइ हाइहाई’ ‘बालेन सिटी’ लगायतका नाराले गाडीका स्टिकरदेखि सहरका चोक चोक, गल्ली गल्ली र अनकण्टार गाउँसम्म उनकै चर्चा चुलियो । अहिले तिनै गाउँ सहरमा गीत घन्किरहेका छन् । ‘नबिराउनु नडराउनु’ ‘नेता भनेको यस्तो हुनुपर्छ’ । युगले मागेको नेता यिनै हुन् । अहोरात्र नेपाल आमाको माया होस् । निश्वार्थ भावना, दबाबरहित विधिको शासन, कानुनको परिपालन, दीर्घकालीन सोच, देशमा केही गर्नुपर्छ भन्ने राष्ट्रभक्ती चेत नै उनका प्रवृत्ति हुन् । त्यसैले त मानिसहरू बालेन, बालेन भनिरहे छन् ।

हरेक वर्ष तिजमा सामाजिक, पारिवारिकदेखि मायाप्रेम र समसामयिक विषयवस्तुका गीतले अस्तित्व पाउँछन् । यो वर्ष धेरै कलाकारहरुले बालेनलाई प्रमुख पात्र बनाएर गीत गाएका छन् । यतिबेला उनकै प्रशंसा गर्दै गाइएका तीजे गीतहरुले बजार तताएका छन् । गीतमा इतिहास जोगाउन सक्रिय बालेनले टुकुचालाई न्याय दिएको, अस्पतालका सयौं शैय्या गरिबलाई छुट्याएको, एम्बुलेन्स सहयोग गरेको, युवा लक्षित योजना ल्याएको, शिक्षा क्षेत्रमा युगान्तकारी परिवर्तन गरेको जस्ता विषय समेटिएका छन् । कानुनबाहेक कसैसँग नडराउने बालेनले हाम्रा संस्कार, संस्कृति, भाषा र साहित्य हाम्रा गौरव हुन्न यिनको संरक्षण र संवर्धन गर्नु हाम्रो दायित्व हो भन्दै दृढ अठोटका साथ देश विकासमा लागेका छन् । तसर्थ यो देशको विकास र उन्नतिका लागि सयौं बालेन जन्माउनु छ । बालेनलाई कालापानी र सुस्ता जोगाउन पुस्तौं पुस्ताको आशिर्वाद मिलोस् भनेर पनि चर्चा गरिएको छ । भ्रष्टाचार र बेथितिले ग्रसित पालिका र नेताहरुले अब नराम्रो आदत छोडेर विकासको काम गर्नुपर्ने जनाइएको छ । निस्वार्थ भावनाले काम गरे इतिहासमा नाम लेखिने हुँदा नेताहरुले देश बनाउने कसरी भनेर बालेनबाट सिक्नुपर्ने उल्लेख छ ।

कुन कुन गीतले दर्शक र श्रोताको माया पाउँछन् हेर्न बाँकी नै छ । परन्तु बालेनको नाम जोडिएका मौलिकदेखि ¥याप ब्याटलसम्मका गीतहरुले अहिले बजारमा तरङ्ग ल्याएका छन् । कलाकार नविना सिलवालको ‘बालेन शाह जस्तो पाए पोइला गइदिन्थे’ भन्ने गीत थोरधेर विवादमा आए पनि समग्रमा बालेन सापेक्षित गीत अहिले चर्चामा छन् ।

स्थानीय तहमा राजनीति गर्ने होइन विकास गर्ने हो भन्ने धारणा भएका बालेनको जीवन यस्तै राम्रा काम गरेर बितुन् भन्ने चाहना कलाकारहरुको रहेकोे छ । चिज गुरुङ र निर्मला गुरुङले मायालुलाई बालेनको शहरमा घुमाउने रहर गर्दै ‘बालेनको शहर भाग–२’ गीत गाएका छन् । मनिष श्रेष्ठ र प्रिति आलेको स्वरमा रहेको ‘बालेनको पिच’ नामक गीतमा शाहले डोजर हाने साम्पाङले ढुङगा …भनेर शाह र साम्पाङको प्रशंसा गरिएको छ । उता कपिल मगर र अञ्जली ठकुरीले ‘आयो बालने दाइ’ शीर्षकको गीतमा हाम्रो बालेन दाई, प्यारो बालेन दाइ, जनताको प्यारो बालेन दाई भनेर सम्बोधन गर्दै बालेन दाइको लौराले सबै नेतालाई उट्याङ्ट्याङ लाएको जिकिर गर्छन् भने उनै कलाकारले गाएको अर्को गीतमा काठमाण्डौमा रवि र बालेन अनि धरानमा हर्क साम्पाङको उदयसंगै भ्रष्ट नेताहरु प्राण जोगउन भागाभाग गरेको वर्णन पाइन्छ ।

‘बालेनको सहरमा जता पनि पिच, माइत जाम्ला सरर यो पालीको तिज भन्दै आएकी अनु चौधरीले पनि ‘बालेनको सहर’ शीर्षककै गीत गाएकी छिन् । वरिष्ठ गायक पशुपति शर्मा र सुमित्रा कोइरालाले स्वर दिएको सोही बोलको अर्को गीतमा स्वामीको हात समाइ समाइ घुम्ने हो बालेनको शहर भनिएको छ । सङ्गीत कै दुनियाँमा ‘अघिअघि बालेन्द्र शाह पछिपछि बुल डोजर सरर’ बोलको ¥याप गीतले पनि युवा पुस्ताको मन तान्न सफल भएको छ ।

लेखक

त्यसै गरेर निर्दिम आमा समूहले ‘बालेनको चर्चा छ’ भन्ने गीतमा नेताका कारण युवाहरुले विदेशमा दुख पाएको तर बालेनले देशमा विकासको मुल फुटाएको जनाइएको छ । यस गीतमा ‘देशभरि चर्चा चल्यो बालेनको नाउँमा, बालेन जस्तै नेता चाहियो देशका सबै ठाउँमा’ भन्दै बालेनको वीरता गाइएको छ । त्यस्तै कल्पना मैनालीको ‘बालेन जस्तै १० भए देश बन्दथ्यो’ बोलको गीतमा जनताको खुनको बलिदान नबुझेर कुर्सी तानातान गर्ने नेताहरुलाई कटाक्ष गर्दै ‘व्यापार, उद्योग, कलकारखाना नेपालमै खुल्नेथ्यो, बालेन जस्ता १० भए देश बन्दथ्यो ’। भनेर सबै नेपालीलाई स्वदेशमै वस्ने वातावरण बनाइदिन बालेनसंग आग्रह गरिएको छ ।

संगीता खड्का र विन्दु विसीले ‘यो पाली तिजमा बालेनको शहरमा छमछमी नाच्ने हो’ । सफासुग्घर बालेनको शहर नाच्न मलाई लाग्दैछ रहर भन्ने अन्तरा राखेर ‘बालेनको शहर’ बोलको गीत बजारमा ल्याएका छन् । बालेनको शहरलाई दिलमै बसाउ जस्तो मानेका उनीहरुले २ वर्षमै यति राम्रो बनेको शहर १० वर्षमा कस्तो होला भन्दै सुन्दर भविष्यको कल्पना गरेका छन् । त्यसैगरी गीतमा बालेनको सहरमा आउने कि नआउने ? बालेन शाहझै छोरा पाउने कि नपाउने ? भनेर नेपालीहरुलाई प्रश्न गरिएको छ । हाम्रो धर्म संस्कारका सारथी बालेन शाह शान्तिको सन्देश लिएर बुद्धको भेषमा काठमाण्डौं आएको भन्दै माफियाहरुलाई यो शहरमा टिक्न नदिन यस्तै २÷४ जना बालेन जन्माउनु पर्यो भनेर बुद्धसंग आशिर्वाद मागिएको छ ।

यता गायिका चन्द्रावती वाग्लेले ‘बालेन’ शीर्षकको गीतमा नेताहरु जता गुलियो उतै भुलियो भन्ने प्रवृत्तिमा लागेपछि जनता निराश भएको तर बालेनको उदयसंगै आशा र विश्वास चुलिएको जनाएकी छिन् । नेपालको राजनैतिक इतिहासमा सयौं नेता आए तर बालेन मात्रै चर्चाको शिखरमा पुग्न सफल भए । लुटिएका जमिन फिर्ता गरे । साँघुरा सडक पेटी चाक्ला पारे जस्का लागि उपमेयरको पुर्ण साथ पाए भनेर उपमेयरको समेत प्रशंसा गरिएको छ । काठमाण्डौंलाई स्मार्ट सिटी बनाउने लक्ष्य लिएका दुवैलाई देखाउदै स्थानीय तहका जनप्रतिनिधिहरु देश विकासमा लाग्नु पर्ने सन्देश दिइएको छ ।

यसरी बालेन विशेष तिज गीत गाएका कलाकारहरुले सबैजसो टुक्काहरु बालेनको प्रशंंसामा खर्चिएका छन् । स्थापित कलाकारहरुका यस्ता गीतले बालेनलाई प्रेरणा मिल्ने छ । यो देशमा जे गर्छन् बालेनले गर्छन् । देशमा अराजक कर्महरुले उचाइ लिएको बेला बालेनको यो रुप भगवानकै रुप मान्नेहरु पनि छन् । दलिय व्यवस्थाबाट थकित जनतालाई बिसाउने चौतारी बनेका बालेन के सधैं जनताको केन्द्र बन्लान ? ‘राजनीतिक कुसंस्कार’ को भ्रष्ट चरित्रमा रुमलिन बाध्य जनतालाई यसरी नै खुशी देलान् त ? भ्रष्ट राजनीतिको विकल्प खोजिरहेका युवा पुस्ताका आशाको दियो बनेका ‘बालेन’ के सधैं चम्किरहलान् ? या यो जनचाहना र भरोसालाई जिवन्त बनाउलान् ? यी र यस्ता प्रश्नको जवाफ पर्खिनै पर्छ । यद्यपि ‘हाम्रो होइन राम्रो’ रोज्नुपर्छ भन्ने नारा सार्थक तुल्याएका बालेनको पराक्रमले विश्व तरङ्गित भएको कुरा गीतले समेटेका छन् । जनतालाई स्वास्थ्य, शिक्षा, स्वच्छ खानेपानी, बाटोघाटो चाहिएको छ । बालेनको उपस्थितिले भाषा, सभ्यता, सम्पदा, संस्कृति, सामाजिक मुल्यमान्यता र परम्परा संरक्षणको विषयले पुर्नजन्म पाएको विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->