मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

विभत्स र निर्मम हत्या गरिएका मिनाहरुको नाउँमा

विभत्स र निर्मम हत्या गरिएका मिनाहरुको नाउँमा

कुखुरा, खसीलगायतका जनावरको हत्या गरेजस्तो मान्छेको हत्या गरी रातारात गायब गराउन सक्ने कस्तो समाजमा हुर्किदै आइरहेका छौं ?


  • बन्दना शर्मा
  • भाद्र १८ २०८१, मंगलबार

तस्बिर : ठाकुर प्रसाद आचार्य/म्याग्दी
गत वर्ष २०८० पुस १६ गते घरबाट रातको ११ बजेदेखि नै बेखवर भएकी मिना परियारको मिति २०८१ साउन २७ गते बेनी नगरपालिका वडा नं. ९ र १० को सिमानाको खोल्सोमा गाडिएको अवस्थामा लाश भेटियो । लाशको अवस्था हेर्दा एकदमै विभत्स र निर्मम तवरमा सुनियोजित रुपमा हत्या भएको साथै मिनाको शरीर पुरै सडेको अवस्थामा फेला परेको थियो । यस्तै घटना विश्वकै ठुलो देश अमेरिकास्थित भर्जिनिया शहरमा बस्दै आईरहेकी नेपाली चेली ममता काफ्लेको पनि मिना परियारको जस्तै हत्या गरी लाश लुकाईएको अवस्थामा फेला परेको थियो । यी दुवै घटनाक्रम प्रेम, शारीरिक सम्बन्ध, सामाजिक अस्तित्वलगायत विवाहेत्तर सम्बन्धका परिणाम थिए कि भन्ने अनुमान धेरैको छ ।

दलित अधिकारकर्मी साथीहरुका अनुसार, मिना कथित तल्लो जातकी भएकै कारण यस्तो दयनिय अवस्था सिर्जना भयो की भन्ने शंका पनि उब्जीएको छ । त्यस्तै महिला अधिकारकर्मी साथीहरुका अनुसार, पुरुषप्रधान समाजको उपज यि यावत् घटनाहरु भैरहेका छन् । कुनै लिङ्ग, जात, धर्म, वाद, सम्प्रदायभन्दा माथि उठेर हेर्दा जुन चिज हामी कल्पना पनि गर्न सक्दैनौ त्यहिं चिज वास्तविक भैदिएको छ । यि दुई घटनाक्रमहरुसँग जोडिएका व्यक्तिहरु हाल प्रहरीको निगरानीमा छन् । यद्यपी, मुद्दा अनुसन्धानकै क्रममा रहेका कारण यो मुद्दाको तथ्यभित्र रहेर धैरै बोल्न चाहिन ।

मिना परियारको घर र मेरो घरको दुरी धेरै टाढा छैन र पनि मिना परियारलाई म व्यक्तिगत रुपमा जान्दिन र चिन्दिन पनि । जब मिना बेपत्ता छिन् भन्ने कुरा पत्रपत्रिका अनि अनलाइन खबरभरि छापिए । साथै, अन्तिम फोन संवाद र मेसेज छिमेकी राम खत्रीसँग देखियो भन्ने सुनेपछि स्तब्ध भए । के साँचो प्रेमको बदला अझैपनि मिना आफ्ना बाउआमा, दिदीबैनी, दाईभाउजु लगायत सम्पुर्ण इष्टमित्रहरुबाट बन्चित हुनुपर्ने हो ?

जब मिनाको प्रेमी राम खत्रीलाई प्रहरी निगरानीसँगै हतकडी लगाईएको अवस्थामा अदालत परिसरमा भेटे, एउटै कुराले दिमाग हल्लायो, किन यो मान्छे मिनासँग सँगै छैन ? अनि प्रश्न गर्न मन लाग्यो– के कारणले यहाँसम्म आउनुभो ? मेरो प्रश्नको जवाफमा राम खत्रीले निर्धक्क भनेका थिए व्यक्ति बेपत्तामा उनको अनुहारलगायत शारीरिक हाउभाउले के बताउँदै थियो भने उनले मिनालाई गायव बनाएकै हैनन् अनि उनमा आफ्नो प्राणभन्दा प्यारी ठानेकी प्रेमिका हराउँदासमेत कुनै चिन्ता अनि छट्पटी देख्दीन थिए । ठिक त्यस्को केही दिनपछी मिना भेटिईन, त्यो पनि एकदम सडेर गलेको अवस्थामा । भेटिएको लाश मिनाकै हो भन्ने यथेष्ट प्रमाण मिनाको कपडा लगायतका सामाग्रीहरु लाश भएका ठाउँमा भेटियो ।

यद्यपी लाश मिनाको हो होईन भन्ने निचोड निकाल्न फरेन्सिक ल्याबमा नमुना पठाईएको छ । मिनाको शरीर लाश बनेर भेटिएपछीको अदालत परिसरलगायत प्रहरी परिसरमा भएका यावत घटनाक्रमहरु यहाँ उतार्न खोज्दा पनि हात थर्रर कामेका छन् भने रातभर निदाउन समेत सकेको छैन । कुखुरा, खसीलगायतका जनावरको हत्या गरेजस्तो मान्छेको हत्या गरी गायब गराउन सक्ने कस्तो समाजमा हुर्किदै आईरहेका छौं हामी ।


बन्दना शर्मा

प्रेम, शारीरीक सम्पर्क हुँदै गर्भवती अवस्थामा रहेकी मिना परियारको न्यायका लागि भनी विगत केही दिन अघिदेखि बेनी बजारस्थित जिल्ला प्रहरी कार्यालय अगाडी शान्तीपुर्ण धर्नाका साथै बजार ¥याली, आन्दोलनका कार्यहरु भैरहेका छन् । सम्बन्धित क्षेत्रका विज्ञ व्यक्तिलाई सोधेकी थिए– यो बजार ¥याली, आन्दोलन लगायतका कामप्रति हजुरहरुको धारणा के छ ? एकथरिको उत्तर थियो– आन्दोलन आफैँमा परिवर्तनको संकेत हो, यो कहिल्यै नराम्रोको लागि गरिदैँन, यहाँ जे भैराखेको छ त्यो ठिक हो, यसले सम्बन्धित व्यक्ति र निकायलाई कानुनको शासन तथा न्यायको लागि दबाब सिर्जना गर्न सघाउ पु¥याउँछ । आन्दोलनसँगै सफलता पनि जोडिएको हुन्छ । आन्दोलनका आफ्नै माग र दाबी हुन्छन्– जसले सम्बन्धित निकायलाई सरोकारवालाको आवाज बुलन्द गर्न सघाउ पु¥याउँछ ।

अर्कोथरिको उत्तर यस्तो थियो– सम्बन्धित व्यक्ति प्रहरीको निगरानीमा छ, मुद्दा अनुसन्धानको क्रममा नै छ र फैसला हुन बाँकी छ । बरु यो आन्दोलन लगायतका कार्यक्रम गर्नुको साटो सम्बन्धित निकाय र व्यक्तिलाई विश्वास गर्दैै आवश्यक प्रमाण संकलनमा सहयोग गर्दिए राम्रो हुने थियो । आन्दोलनले उग्ररुप लियो भने कुनै नराम्रो परिणाम पनि हुनसक्छ । आन्दोलनको क्रममा हत्यारालाई फाँसीको माग पनि गरेको देखियो । जब नेपालमा फाँसीको कानुन नै छैन, कसरी फाँसीको निर्णय सम्भव हुन्छ । आन्दोलनले दाबी गर्न खोजेका कतिपय कुराहरु कानुनसंगत नै छैनन्, न्यायिक निकायले लेभल अफ क्राइम अनुसार कानुनी दायरामा रहेर कसुरदारलाई सजाय गर्ने हो न की कानुनभन्दा बाहिर गएर स्वविवेक प्रयोग गरोस् । साथै, न्यायिक दायरामा आईसकेपछि भोली सम्बन्धित निकायले दोषी ठहराउँला, हदसम्मको सजाय होला नै । प्राकृतिक न्यायको सिद्धान्तहरुको आधारमा न्यायिक निकायलाई दुवै पक्षका कुरा सुन्नुपर्ने बाध्यत्मक अवस्था छ ।

पीडितको तर्फबाट आन्दोलन÷जुलुश लगायतका कार्य गर्नुभन्दा कसरी कसुरदारलाई हदैसम्मको कार्बाही गर्न सकिन्छ भन्नेतर्फ पो सोच्ने की । आन्दोलन भावना, आवेश अनि बहकाउमा रुमल्लीरहेको त छैन । मिनाको न्यायको आन्दोलन भन्दै भिड जम्मा गर्दै ‘मिटरब्याजीलाई कार्बाही गर’ भन्ने नारा लगाएको पनि देखियो । मिनाको न्यायकै लागि गरिएको आन्दोलनमा मिटरब्याजको प्रसंग कसरी समावेश हुन सक्यो होला । घटना हुनु पछाडीको कारण र परिणामबारे गम्भिर रुपमा कसले सोच्ने । केही विज्ञहरुले त मेरो नामै तोकेर कुनै लेख लेख्नुभो भने त हामीलाई अप्ठयारो पर्छ भनी बोल्न खोज्नुभएन ।

फरक फरक मत सुनीसकेपछि म कस्तो देशमा हुर्कदैछु, जहाँ न्याय र सुशासनको लागि धर्ना र आन्दोलन नै गर्नुपर्छ । जुन घटनाले पीडित भएका व्यक्ति छन् त्यहिं घटनाहरु आन्दोलन र ¥यालीका नाउँमा बारबार कोट्याएर झन् पीडित बनाउने काम त गरिएन ? यी यावत् कुराले दिमाग हल्लाएको छ । हामी छोरी मान्छेहरु थुप्रै कुराको हिंसापुर्ण जीवन जीउन बाध्य छौं । कहिले राम्री छैन भन्ने कुराले हिंसा भैराखेको छ भने कहिले करियर र पाककलाका कारणले पनि हिंसा भैराखेको छ । तर, मिनाहरु जस्ता युवतीहरुलाई यी याव्त हिंसासँग संघर्ष गरेर बाँच्ने सु–अवसर नै कहाँ रह्यो र । प्रिय मिना, तिम्रो स्वर्गबासको कामना । तिम्रो परिवारका हरेक सदस्यमा शोकलाई शक्तिमा बदल्ने साहस मिलोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->