बागलुङ/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले सामाजिक संघ संस्थाहरुका कृयाकलापले अनुशासीत समाज निर्माण गर्ने बताएका छन् । उनले सामाजिक संघ संस्थाको काम कारवाहीनै समाज रुपान्तरणका लागि हुने भएकाले सभ्य समाज निर्माण भुमिका हुने बताए । संघसंस्थाहरुले सामाजिक अभियन्ता तथा सामाजिक, राजनीतिक अगुवा नेतृत्वको निर्माण गरी समाज र राष्ट्रको असल र कुशल नेतृत्व निर्माणमा समेत भूमिका खेलेको उनको जिकिर थियो ।
बागलुङ जिल्ला काठेखोला गाउँपालिका वडा नं. ३, धम्जा, माझकटेरामा गौथली सामुदायिक विकास केन्द्रले आयोजना गरेको हरितालिका तीज मेला तथा खेलकुद प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै पाठकले अनुशासनले सवल समाज निर्माण गर्नेमा जोड दिए ।
‘सहमति, सहकार्य र एकता माझकटेराको पहिचान, कला, संस्कृतिक, खेलकूद र विकास हाम्रो अभियान’ नाराका साथ गौथली सामुदायिक विकास केन्द्रले तिज मेला आयोजना गरेको थियो । २०४७ सालदेखि नै हरितालिका तीजको अवसरमा वार्षिक रुपमा तीज महोत्सव सञ्चालन गर्दै आएको संस्थालाई पाठकले धन्यवाद दिए ।
पाठकले स्वास्थ्य चौकीहरुको समस्या रहेको आफूले जानकारी पाएको र अब छिट्टै स्वास्थ्य चौकीहरुमा आफ्नो कार्यकालमा सुविधा सम्पन्न गर्ने बताए । एमाले प्रतिपक्षमा रहेको बेला पनि आफूले सधैँ सदनमा आवाज उठाएको र अहिले त आफै मन्त्री भएकाले समस्या समाधान गर्न तर्फ लाग्ने बताए ।





