पोखरा/ प्रदर्शनको संघारमा रहेको फिल्म ‘खुश्मा’ युनिट यतिबेला प्रचारप्रसारको दौडमा छ । असोज ३ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको खुश्माका निर्देशक र कलाकारको टोली सोमबार पोखरा आएर फिल्म हेर्ने निम्तो बाँडेका छन् ।
माओवादी आधारभूमि रुकुमको मगर सुमदायको कथालाई उतारेर बनाइएको फिल्म संविधान दिवसको अवसर पारेर प्रर्दशन हुन लागेको हो । फिल्ममा उपसना सिंह ठकुरी र धिरज मगर मुख्य भूमिका रहेको छ । फिल्मका निर्देशक अशोक थापा मगर भन्छन्, ‘फिल्म मेकिङमा हामीले सक्दो मेहनत गरेका छौं । दर्शकले पक्कै मन पराउनु हुनेछ ।’ डकुमेन्ट्री निर्माण गरिरहेका निर्देशक थापाको यो पहिलो फिचर फिल्म हो ।
फिल्ममा द्वन्द्वकालको बेलाको प्रेमकथा प्रस्तुत गरेको उनको भनाइ छ । ‘द्वन्द्वकालको प्रेमकथा पस्कदैछौं । राम्रो फिल्म बनेको छ । सबैको चिजको मिश्रण गरेका छौं’, उनले सुनाए । व्यवसायिकसँगै नेपाली फिल्म उद्योगलाई उकास्न फिल्म बनाएको निर्देशक थापाले बताए । दर्शकले फिल्म मन पराएर अर्को बनाउन हौसला थप्नेमा उनी विश्वस्त छन ।
मुख्य भूमिकामा रहेका उपसना र धिरजले फरक चरित्रमा प्रस्तुत भएको बताए । साधारण प्रेमकथालाई उत्कृष्ट ढंगले देखाइएको उनीहरुको भनाइ छ । पुन मगरको उद्गमथलो रुकुमको मैकोटमा फिल्मका अधिकांश दृश्य खिचिएको हो । रुकुमकै तकसेरा, माथिल्लो मनाङ, पोखरा र काठमाडौंमा झन्डै ४५ दिन लगाएर फिल्म खिचिएको छ । फिल्ममा तीन करोड बढी लगानी भएको निर्माण टिमको दाबी छ । फिल्ममा धिरज, उपसनासँगै, माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगरलगायत कलाकारले अभिनय गरेका छन् ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन निर्देशक थापाको रहेको छ । चन्द्रबहादुर भट्टचन, बेतान मगर र विरबहादुर लामा फिल्मको निर्माता रहेका छन् । मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी सहनिर्माता, मोहन राई कार्यकारी निर्माता हुन् । फिल्म दिपक बज्राचार्यले खिचेका छन् । एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत, सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । फिल्ममा समावेश ‘रुकुम मैकोट’ बोलको गीत युट्युबको म्युजिकतर्फ ट्रेन्डिङ नम्बर एकमा छ । यसअघि नै सार्वजनिक गीत ‘खुशीका फूलहरु’ टिकटकमा निकै रुचाइएको थियो । चार हप्ता पहिलो टिजर सार्वजनिक फिल्मको ट्रेलर यो हप्ताभित्र ल्याउने तयारी छ ।





