पत्रमित्रताका ती दिन
मैले छ सात कक्षामा अध्ययन गर्दा युवामञ्च मासिक पत्रिका, मधुपर्क र गरिमा पत्रिका धेरै संख्यामा प्रकाशन हुने गरेको अवस्था थियो । मैले युवामञ्चको पछिल्ला पानामा भएको फोटो सहितको ठेगानामा आँखा लगाउँथे । ठेगाना र नामसहित रुचि पढी पत्रमित्रताका लागि रुचि भएका मानिसहरुको नामावली अध्ययन गर्थे । तर पत्रमित्रताका लागि पत्र लेख्ने जाँगर र लगाव बढेको थिएन । तर म भन्दा माथिल्लो कक्षामा अध्ययन गर्ने केही बाबा आमा पैसावाला भएका साथीहरुले खुब धेरै साथीहरुसँग पत्रमित्रता कायम गरेर टाढा टाढाका पत्रमित्र साथीहरुबाट पत्र आएको भनेर पढ्ने र देखाउने गर्दथे । मलाई पत्रमित्रता गर्न पाए हुन्थ्यो भन्ने रुचि जगाउँथे । तर मसँग पत्रमित्रताको लागि प्रस्ताव गर्ने मनपरेका साथीहरुलाई पत्र पठाउन टिकट किन्ने पैसा नभएकोले पत्रमित्र साथीहरु बनाउन असमर्थ बनेको थिए । केटी साथीहरुले मैले चिनेकाहरुले पत्रमित्रता स्तम्भमा पठाएको कम जानकारी हुन्थ्यो । अधिकांश केटा साथीहरुले केटी साथीहरुलाई धेरै मात्रामा पत्रमित्रता स्वरुप पत्र लेखेको पाउँथे । मैले पत्रमित्रता आइ.ए. अध्ययन गर्ने समयमा मात्र थोरै पाँच÷छ जना साथीहरुसँग एक वर्षसम्म पत्राचार गरेपछि छोडिदिए । पत्रमा पुर्व धरानका एक जनाले भ्रमण गर्न आउनका लागि प्रस्ताव गरेका थिए । लामो यात्रा र महँगो यात्रा हुने भएको अन्जान स्थलमा सफलता हासिल हुन सकेन ।
रेडियो नेपालको केन्द्रिय प्रशारण सिंहदरबार, काठमाडौं र क्षेत्रीय प्रशारण मालेपाटन, पोखराबाट छोटो समय पत्रमित्रता गर्न इच्छुक साथीहरुका लागि कार्यक्रम संचालन गरेको हुन्थ्यो । रुचि, भावना र ठेगाना मिल्दोसँग पत्रमित्रता गर्न इच्छा लागेमा पत्र लेख्न पनि सकिन्थ्यो । राम्रा राम्रा अर्थ लाग्ने, फिल्मका हिरो हिरोइनका नामहरुबाट आफनो पनि उपनाम लेख्ने चलन थियो । मैले पनि दुई वटा अन्जान थापा र यामबहादुुर रामजाली मगर जस्ता उपनाम राखे तर, नागरिकता, शैक्षिक प्रमाण पत्रहरुमा फरक फरक पर्ने भई अप्ठयारो पर्न थालेपछि उपनामबाट नाम लेख्न छाडिदिए । पछि त युवामञ्च, नवयुवा मञ्च, विमोचन मासिक पत्रिका, कामना पत्रिका, साप्ताहिक पत्रपत्रिकाहरुमा थुप्रै महानुभावहरुको नाम, ठेगाना हुन्थ्यो खासै रहर लाग्न छोडयो ।
अनि च्यातियो अटो डायरी
विद्यालय छोडेर उच्च अध्ययन गर्नका लागि अन्यत्र जानुभन्दा पहिला आत्मिय साथीहरुले आपसी समन्वय र समझदारीमा भावनाका शब्दहरुसहित फोटो टाँसेर राम्रो डायरीलाई अटो ग्राफ बनाउने प्रचलन थियो । कोही विचमा भारतीय सेनामा भर्ती भैसकेपछि, कुनै बसाइ सराई गरेर पोखरा, बुटवल, नारायणगढ जाने समयमा फोटो लिने दिने गरिन्थ्यो । एस.एल.सी पासपछि क्याम्पसमा आइ.ए अध्ययन, वि.ए अध्ययन गर्दाको समयमा समेत अटो लेख्ने चलन थियो । मलै एस.एल.सी पासको समयमा एक वटा बनाए । तर क्याम्पस अध्ययन गर्दा बनाउने काम गरिन । सहपाठी साथीहरुको तिनचारको अटोग्राफ डायरी भरिदिने काम गरेको थिए । बढी मात्रामा माया प्रेमका प्रसंग, भनाइहरु लेखेर सम्झना स्वरुप उपहार दिने चलन थियो । कक्षा दशमा पढ्ने समयमा अब छिट्टै एस.एल.सीको परीक्षापछि तितरवितर हुने भएकोेले मेरो सोच र विचारसँग नजिक भएका साथीहरुले एक÷एक वटा अटो डायरी बनाउने योजना बनायौं । मैले केटाकेटी सबैलाई दिएको थिए । सामान्य खालको डायरी थियो । मनपरेका र डायरी भरिदिए हुन्थ्यो भन्नेहरुलाई प्रस्ताव गर्न सकेको थिएन । मैले पनि पाँच÷छ जना साथीहरुको डायरी भरिदिएको थिए । डायरीमा मेरो बढीमा १५ जना महिला पुरुष साथीहरु भएका थिए । अटो डायरी पनि कसैले त नभरी दिए हुन्थ्यो भन्नेले हामीलाई भर्न नदिने हो भनी मागी मागी भरिदिए । कोही साथीलाई पटक पटक अनुरोध गरेर भर्ने काम भयो । कसैले बहुत परिश्रम गरेर रंगिन बनाएका हुन्थे र हिरो हिरोइनका पोष्टकार्डले कभर गरेका हुन्थे ।
मेरो एक जना मिल्ने साथीले पनि अलि गुणस्तरीय डायरी खरिद गरेर अटो बनाएका थिए । उहाँको डायरी अटोमा पनि केटाकेटीहरुले नै भरेका थिए । तर एक जना केटीले अति भावनात्मक र प्रेममय आत्मीय तरिकाले शब्दहरु लेखेको र अति राम्रो फोटो राखेर भरेको डायरीलाई आलोपालो गरेर साथीहरु माझमा अध्ययन गर्ने गरिन्थ्यो । ति केटी साथीको भाईले समेत त्यो डायरी भरेको अध्ययन गर्न पुगेछ । दिदीले घरमा भाइलाई थाहा नदिई भरेकी रहिछिन् । दिदीको फोटो र भावनाका शब्दहरु देखेर भाईलाई सायद रिस र नकारात्मक भावना सृजना भएर होला । केटीको भाइले अटो डायरीमा भएको दिदीको फोटो च्याँटेर लगेछन् र साथीमार्फत अटो फिर्ता गरेछन् । साथीहरुले अध्ययन गरेर फिर्ता गरेको होला भनेर फिर्ता भएको डायरी पल्टाएर हेर्दा त फोटो च्यातेको भेट्दा त हामी अक्क न बक्क भयौं । अर्का एकजना साथी चुपचाप बस्नका लागि अनुरोध गरे । हामीले केही प्रतिक्रिया जनाउने कुरा गरेनौं । पछि बुझ्दै जाँदा ति फोटो च्याँटेर लाने साथीले बढी प्रेम भावनामा डुबेर अन्तर जातीय विवाहका लागि योजना समेत हुन्छ कि भन्ने ठानेर अपमानित तरिकाले फोटो च्यातेर प्रतिक्रिया जनाएको हामीले अव्यक्त गर्न नसक्ने भाव अनुभव गयौं । अटोको फोटो च्याँतिएको घटना पछि हामी थप साथीहरुलाई भर्न दिने कि नदिने भनेर दोँधारमा पर्यौ । थप फरक साथीहरुलाई अटो भर्नका लागि अनुरोध गर्ने कार्यमा पछाडी सरेर नयाँ साथीहरुलाई भर्न नदिने अवस्थामा हामी पुग्यौं ।
गाउँभरिकालाई चिन्ने हुलाकी काका
पहिला हुलाकीको काम गर्ने मानिसलाई बहुत सम्मान गर्दथे गाउँघरमा । आफना परिवारका सदस्यहरु परदेशमा हुने गर्दथे । भारतीय सैनिकका रुपमा, नेपालका टाढा पुर्व पश्चिममा, जिल्लामा कार्यरत नागरिकहरुले घरपरिवारमा समाचार आदानप्रदान गर्ने एकमात्र माध्यम चिठी पत्रहरु हुलाकमार्फत पठाउने चलन सँस्कार थियो । हाम्रो भकुण्डे गाउँमा अतिरिक्त हुलाक केन्द्रमा हरि प्रसाद शर्मा नामका हुलाकी काका हुनुहुन्थ्यो । उहाँलाई हुलाक सेवा अनुसार कुन पदमा काम गर्नुहुन्छ भन्ने गाउँका कमै मानिसलाई थाहा थियो । तर हुलाकी बाजे वा निफन्नीको हुलाकी बाहुन बाजे भनेर सम्बोधन गर्दथे । हुलाकी बाजेको नाम हरि प्रसाद शर्मा हो भनेर कमै मात्र मानिसहरुले जानकारी राख्दथे । मगर समुदायमा सानादेखि ठुलाबडा मानिसहरुले पनि साना साना उमेरदेखि पाका उमेरका बाहुन समुदायका पुरुष मानिसलाई बाजे र महिलालाई बाहुनी बज्यै भनेर सम्बोधन गर्दथे । साना उमेरका साथीहरु बाजेभन्दा कोही कोही रिसाउँने गर्दथे । कोहीले हजुर मात्र भन्थे र सही थाप्थे । तर बाबाआमा र समाजले मलाई पनि बाहुन बाजे भन्न नै सिकायो ।
हुलाकी हरि प्रसाद शर्मालाई गाउँका हरेकजसोः मानिसहरुले चिन्दथे । मध्यम स्तरको निलो रंगको झोला बोकेर हिंड्नुहुन्थ्यो । चिठी पत्र सम्बन्धीत घर परिवारलाई बुझाइ सकेपछि कुनै घरमा चिठी पत्र पढ्न नजान्नेहरुको सदस्य भएमा पत्र पढेर समेत सुनाइदिनुहुन्थ्यो । परदेशमा भएको नातेदारहरुको सन्चै र सकुशल भएको खबरबाट खुशी भएर हुलाकी बाजेलाई तरकारी, कुचो, फलफुलहरु उपहारस्वरुप सौजन्य दिन्थे । घरमा आउँदा खाली निलो झोला लिएर गएको गाउँबाट फर्किदा झोला भारी बनाएर घरमा फिर्ता हुने गर्दथे । साधारण चिठी, रिजष्ट्रर चिठीहरु स्वयम् घरधनीको रोहवरमै बुझाउनु पर्ने बाध्यता थियो । तत्कालीन भुकण्डे गाउँ विकास समितिभरिका मानिसहरुको परदेशमा भएका मानिसहरुको नातागोतालाई नजिकबाट चिन्नुहुन्थ्यो । टेलिफोन, इन्टरनेट, मोबाइलको विकास नभएको अवस्था थियो । नेपाल टेलिकममा आवा आउने पठाउने काम दुरसंचारबाट भएपनि अत्यन्त कम मात्रामा जनसमुदायमा पहुँच भएको हुन्थ्यो ।
अहिले हुलाकी काकाको कथा सुनाउँदा केटाकेटीहरुले विश्वास गर्न सक्दैनन् । हुलाक सेवाको महत्व समसामयिक समयमा घट्दो क्रममा रहेको छ । तर कुरियर्स सेवाको सेवा प्रवाहमा भने निरन्तरता नै रहेको पाउन सकिन्छ । कुरियर्स सेवाको काम हुलाक कार्यालयको सेवाअन्तर्गत पर्ने भए पनि हुलाकको क्षेत्राधिकारमा संकुचन भएको छ । हुलाक कार्यालयले कुरियर्सको काममा व्यवस्थापन गर्न सकेमा सस्तो र भरपर्दो सेवासहित कम शुल्कमा सेवा लिन सकिने थियो । हुलाक सेवाको प्रभाव र प्रयोग सुचना प्रविधिको विकासले घटेपछि हुलाकी काकाहरुले समेत सेवाबाट उमेर हद म्यादका कारणले अवकाश भए । अहिले त एउटै समुदायका मानिसहरु समेत चिनजान गर्ने परिपाटीमा कमी आएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोग स्थानीय अपनत्वका कला, सँस्कृति र चालचलनहरु हराउँदै गएको अवस्था पाउन सकिन्छ । हुलाकी काकाहरुले सबै गाऊँमा सेवा दिएर अहिलेका संचारकर्मीहरुको जस्तो सुचना र सचारको अतुलनीय कामकाज गरेका थिए ।
जाडोमा शिक्षकहरुको काम
मैले विद्यालयको सुरुवाती सिकाइ र अध्ययन भैरव माध्यमिक विद्यालय, भकुण्डेमा गरें । पढ्ने समयमा किताबबाहेक अन्यत्र बाह्रय किताबहरु कम मात्रामा अध्ययन गरेका हुन्थ्यो । वर्षभरि अध्ययन गरिसकेपछि विद्यालयमा फिर्ता गर्नुपर्ने नियम थियो । केही वर्षसम्म मात्र चल्यो । पछि कोही साथीहरुले नयाँ पुस्तक किन्न नसक्नेहरुले पुराना पुस्तकहरु नै सापटी लिएर पढ्ने गर्दथे । विद्यालय भवन साँघुरो थियो । विद्यालय फर्निचर सुविधा सन्तोषजनक थिएन्, घरबाट चकटी लिएर विद्यालय कक्षामा ओछयाएर वर्षौसम्म पढ्ने काम भयो । विद्यालयको स्टोर कोठामा पुराना किताबहरु संग्रहित थियो । सायद त्यो पुस्तकालय भावी दिनमा परिणत भयो कि जस्तो लाग्दछ । हाम्रो गाउँमा पुस÷माघ महिनामा बहुत जाडो हुन्थ्यो । कुनै वर्षको पुस र माघमा हिउँ समेत पर्दथ्यो । सिमसिम झरी समेत परेको समयमा विद्यार्थीहरुलाई पानी आएको छ भन्दै पढाइ नगरी थुरुथुरु जाडोमा बाक्लो ज्याकेट बिना कक्षाकोठामा बसिरहेका थियौं । तर शिक्षकहरुको समुहले पुराना किताब, कापीहरु डढाएर आगो फुकेर न्यानो वातारणमा बसीरहेका हुन्थे । त्यतिबेला जाडोको समयमा किताबहरु पोलेर आगो तापेको बेलामा खासै अनुभुति र थप भावनाहरु सोचमा आएन् । बोधको ज्ञान समेत बालापनमा आत्मसात भएन । तर अहिले ति पोेलेर आगो तापेका पुस्तकहरु अरु विद्यार्थीहरुलाई समानुपातिक तरिकाले बाँडेर अध्ययन गर्न दिएको भयो हुन्थ्यो जस्तो लाग्दछ । स्टोर कोठामा पुस्तकालय स्थापना गरेको भए अहिलेको शिक्षा प्रणाली र सिकाइको मापन हुने बुक कर्नरको अवधारणा त्यहिं बेलामा उपयोग गर्न सकिन्थ्यो । शिक्षकहरु मात्रलाई उपयोग हुने गरी पुराना पुस्तकहरु संग्रह गरेर राख्ने योजना नबनाएकोमा अहिले महत्व बुझदा त्यो समयमा पुस्तक जलाएकोमा पश्चाताप लाग्दछ ।
मैले भन्न खोजेको विषय विद्यार्थीहरुका अगाडी जाडोका समयमा थोत्रा पुस्तकहरु हो भनेर आगोमा नपोलेको भए हुन्थ्यो भन्ने आशय मात्र हो । किताब पोलेको देख्दा कसै कसै विद्यार्थीहरुमा समेत आफुले अध्ययन गर्ने पुस्तकलाई माया, संरक्षण गर्ने र पठन संस्कृतिलाई बढावा दिन नसक्लान् कि भन्ने सोच मात्र विकास भएर ममा आएको हो । अहिले त थोत्रा किताब कापी किन्न कवाडीवालाहरु गाउँ गाउँँमा दैनिकजसोः संकलन गर्नका लागि डुलिरहेको अवस्था समेत पाउन सकिन्छ । थोत्रा पुस्तक, कापीहरु पनि कुनै कुनै पुस्तकहरु पुस्तकालय, संग्राहलयमा संकलन गरेर राख्नुपर्ने हुन सक्दछन् भन्ने खोजी र पहिचान गर्न बाँकी छ । अमुल्य र बौद्धिक सम्पत्तिका रुपमा भावी पुस्ताका लागि ज्ञान हस्तान्तरणका लागि राख्नु पर्ने सामानहरु हुन् कि खेर फाल्नु पर्ने कवाडी सामानहरु हुन् भनी छुटाएर राख्नुपर्छ भन्ने मात्र हो । अहिले त सूचना र प्रविधिको युगमा एआईसहित डिजिटल मिडियामा इबुक, इपेपरको बढ्दो प्रयोग र उत्पादनमा बढोत्तरी रुपमा विकास भएको अवस्था छ । साइबर अपराधबाट बच्नका लागि हरेक नागरिकलाई जनचेतना कार्यक्रम बस्ती बस्तीमा भाइरल बनाउन जरुरी भएको छ ।
दुने प्रणालीमा इतिहासका पानामा
भकुण्डे गाउँको माथिल्लो भेगमा वर्षे आलु मौसम राम्रो भएमा खुब उत्पादन हुन्छ । आलु खेती गरेर धेरैभन्दा धेरै जिवीकोपार्जन गरेका मानिसहरु छन् । एक समय वर्षमा आलु राम्रो फल्ने मौसम परेको थियो । आलुलाई ठुलो भकारी, डोकामा भरेर स्टोर गर्ने काम हुन्थ्यो । हिउँदमा चैतेआलु लगाउन अमलाचौर, पैयुपाटा, कुश्मीशेरा, फलेवास, नारायणस्थान लगायतका मानिसहरु धान, कोदो, मकै लिएर आलुको बिउ लिन थुप्रै मानिसहरु लाइन लगाएर भारी बोकेर आउँथे । धेरै जसोले धान साट्नका लागि पहल गर्दथे । दुई पाती धानको सट्टामा एक पाती आलु अर्थात् चामल एक पातीको एक पाती आलु साटफेर गर्दथे । राम्रो धान खोजी खोजी साट्ने भए पनि चामल लिएर भने आएका हुँदैनथे । तिनचार माना चामल लिएर भाँगो अचारका लागि साटेर लैजान्थे । धानको महत्व बढी मात्रामा थियो । धान उत्पादन गर्ने खेत कम थियो । कोदो, मकै भकुण्डेमा नै उत्पादन हुने भएकोले त्यति महत्वमा पर्ने थिएनन् । मकै र कोदो लिएर आलुको बिउ साट्न आउने मानिसहरु बहुत मुश्किलले आलु पाउँथे । आलुलाई प्रतिपाती भनेर पैसामा कम मात्रामा बेच्ने गर्दथे ।
मेरो मानसपटलमा आलुभन्दा चामल दुने प्रणालीमा साटफेर धान महँगो हुन्छ भन्ने अनुभव गर्दथे । तर पछि बुझदै जाँदा आलुको बिउ मुल्यको बेमौसमी तरकारीको बराबर जस्तो नै हुँदो रहेछ । आलुको बिउलाई दुने साटफेर प्रणालीमा धानलाई संकलन गरेर खाद्यान्न जोहो गर्ने आत्मनिर्भर भकुण्डेबासीहरु अहिले उल्टो आलुका बोराका बोरा जिपमा हालेर अमलाचौर, पैयुँपाटा, नारायणस्थान गाउँमा लैजाने गरेको पाउन सकिन्छ । अहिले साउन, भदौको समयमा नै जिपमा बेच्न लैजाने आलु उत्पादन हुँदै आएको छ । दुने प्रणालीको आलु साटफेर प्रणाली ओझेलमा परेको छ । धेरैले पैसामा नै किनबेच गर्दछन् । २० वा २५ केजीको बोरामा आउने चामललाई उपभोग गर्ने चालचलन र सँस्कार विकास भएको छ । अहिले बागलुङ बजारमा त ढोरपाटन, ताराखोलाको आलु उपभोगका लागि धेरै मात्रामा आउने गरेको पाउन सकिन्छ । नगद कारोवारमा बढी मात्रामा कृषिजन्य उत्पादन खरिद बिक्री हुने चलन आएको छ ।
अन्तमा
मैले लेखलाई आफु अनुकुल व्याख्या र विश्लेषण गर्ने तर बुझने फरक तरिका र भावमा बुझिदिने गरेको पाए । मैले आफुले अनुभव र विगतका दैनिकीलाई संस्मरणका रुपमा प्रस्तुत गर्ने कामले निरन्तरता पाओस् भन्नका लागि हो । तर एक जना साथीले मैले बसिबियाँलोको लेखनी भनेर लेखेको साथीले बुझ्दा पुरा आलेख नपढेको कारणले कहाँ याम जी तपाई त बागलुङको लेखानीमा भएको खबर थियो त भनेर भेटघाटमा भनेका थिए । मैले आफना भावना र विचारलाई प्रस्तुत गर्दा लेखको माध्यमबाट गर्ने बानीको विकास भएको छ । बाँकी गन्थन मन्थन अर्को टिपन टापनमा लेखौंला । सुरुदेखि अन्तसम्म अध्ययन नगरी शिर्षकमात्र पढेर प्रतिक्रिया दिने बानीमा सुधार गरौं ।





