पोखरा/ स्थानिय तहहरुले आफूखुशी पर्यटन शुल्क तोक्न थालेकोप्रति ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले आपत्ति जनाएको छ । केही समय अघि कास्कीको माछापुच्छ«े गाउँपालिकाले पर्यटन शुल्क तोकेको थियो । गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई ५ सय र स्वदेशी पर्यटकलाई १ सय रुपैयाँ तोकेपनि विरोध भएपछि फिर्ता भएको थियो । तर फेरी गोरखाको चुमनुब्री गाउँपालिकाले पर्यटन शुल्क तोकेपछि टान गण्डकीले आपत्ति जनाएको हो । चुमनुब्री गाउँपालिकाले गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई १ हजार र स्वदेशी पर्यटकलाई २ सय रुपैयाँ तोकेको छ ।
स्थानिय तहले आफूखुशी पर्यटन शुल्क तोक्दै जाने हो भने यहाँको पर्यटक अन्तै डाईभर्ट हुने खतरा रहेको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । ‘पदयात्रा पर्यटन हुने १३ वटा पालिकाहरु छन्’ उनले भने, ‘यसरी एकपछि अर्को पालिकाले पर्यटन शुल्क लिने हो भने यहाँ पर्यटकहरु आउँदैनन् । यहाँ आउने पर्यटकहरु अन्तै डाईभर्ट हुने खतरा हुन्छ ।’ १३ वटा गाउँपालिकाले १÷१ हजार तथा टिम्सवापत ५ हजार गरेर कुल १८ हजार थप तिरेर पर्यटक नआउने टान गण्डकीको बुझाई रहेको उनले बताए ।
पर्यटनको सिजनको मुखमा पर्यटन शुल्क तोक्दा यसले समग्र पर्यटनमा असर पार्ने टान गण्डकीका निवर्तमान अध्यक्ष धर्मराज पन्थीले बताए । यसले गर्दा आउने मुड बनाएका पर्यटकपनि नआउने उनको भनाई छ । उनले कोभिडपछि थलिएको पर्यटनलाई उकास्न हातेमालो गर्नुपर्नेमा उल्टै पर्यटन शुल्क तोकेर व्यवसायीलाई निराश पार्ने काम गरेको टिप्पणी गरे । टान गण्डकीले पर्यटन शुल्क तोक्ने निर्णय फिर्ता लिन माग गरेको छ । अध्यक्ष आचार्यले भने, ‘पालिकाले उक्त निर्णय निर्णय तत्काल सच्याउनु पर्छ ।’
यसैबीच, टान गण्डकीले पर्यटन शुल्क तोक्ने निर्णय खारेजीका लागि पहल गरिदिनि गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । टान टोलीले सोमबार गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा पर्यटन शुल्क खारेज गर्न, पर्यटन गतिविधि बढाउने कार्यक्रम गर्न, प्रवद्र्धनमा जोड दिन आग्रह गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री बस्यालले कोभिडपछि थलिएको पर्यटनलाई उकास्ने समय भएकाले अहिले हतारिएर पर्यटन शुल्क तोक्न नहुने बताए । उनले सम्बन्धित गाउँपालिकामा बुझेर सो शुल्क फिर्ताका लागि पहल गर्ने आस्वासन दिए । उनले भने, ‘अहिले पर्यटन शुल्क भनेर लिने बेला नै होईन । यसमा मेरो ध्यानाकर्षण भयो । म बुझेर सच्याउन पहल गर्छु ।’





