बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

उत्तरी गोरखाको स्याउलाई बजारको अभाव

उत्तरी गोरखाको स्याउलाई बजारको अभाव


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०८१, मंगलबार

गोरखा/  उत्तरी गोरखामा स्याउ उत्पादन बढे पनि बजारको समस्या भएको छ । चुमनुब्री गाउँपालिका–४ नामरुङ गाउँमा विभिन्न जातका स्याउ लटरम्मै फलेको छ । भदौको पहिलो हप्ताबाट स्याउ खानको लागि तयार भएको स्थानीय वीरबहादुर गुरुङले बताए । चुमनुब्रीको प्रोक, नामरुङ, वडा नम्बर ५ को क्य्राक, ल्हो, स्याला लगायत गाउँमा व्यवसायिक स्याउ खेती भइरहेको छ ।

उत्पादन धेरै भए पनि बजार अभावका कारण स्याउ स्थानीय बजारमै सीमित हुने गरेको स्याउ कृषक एवँ पर्यटन व्यावसायी लाक्पा ढुण्डुप लामा बताउँछन । ‘मेरो बगैँचामा गोल्डेन, डेलिसियस, फुजी लगायत जातका पाँच हजार बोट स्याउ छन् । सबैमा फल लागेको छ । यो वर्ष स्याउ राम्रो फलेकाले उत्पादन बढेको छ, तर बजारसम्म पुराउन सकिएको छैन’ लामाले भने ।

लामाका अनुसार अघिल्लो साल हेलिकप्टरबाट ढुवानी गरेर गोरखा र काठमाण्डौमा लगेर स्याउ विक्री गरिएको थियो । खच्चडबाट दुवानी गर्दा स्याउ विग्रने भएकाले समस्या भएको लामाले बताए । ‘उत्पादन भएरमात्र भएन,’ उनले भने, ‘मोटरबाटो नहुँदा हिमाली क्षेत्रमा फलेका रसिला र पोसिला स्याउ बजार पुराउन सकिएन ।’ स्थानीय बजारमा सामान्य विक्री हुन्छ । पर्यटकहरु भर्खर आउन सुरु गरेका र उनीहरुबाट पनि केही खपत हुने स्थानीय बताउँछन । तर यो पर्याप्त भने नरहेको उनीहरुको भनाइ छ ।

नामरुङमा स्याउ फलेको देखेपछि गाउँका अन्यले समेत स्याउ लगाएका छन् । प्राय सबैका घरमा स्याउ खेती हुन थालेको चुमनुब्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले बताइन । स्याउ खेतीका लागि उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको हावापानी उपयुक्त रहेको वडा नम्बर ५ का वडा अध्यक्ष काल्देन छेवाङले बताए । मोटरबाटो चुमनुब्री गाउँपालिकाको पाङसिङसम्म पुगेको छ । त्यहाँबाट स्याउँ वगैचा पुग्न दिनभर हिँड्नु पर्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->