बागलुङ/ नेपाली कांग्रेस बागलुङको क्षेत्र नं.१ का पूर्वक्षेत्रीय सभापति एवं पूर्वजिल्ला विकास समिति बागलुङका सदस्य शिवलाल सापकोटा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।
जैमिनी नगरपालिका-२ का सापकोटा शनिबार राप्रपामा प्रवेश गरेका हुन् । साथै जैमिनी नगरपालिका-९ का नेपाली कांग्रेस बागलुङको क्रियाशिल सदस्य गिरिजा प्रसाद कँडेल पनि आज राप्रपामा प्रवेश गरेका छन् ।
उनीहरुलाई राप्रपा जिल्ला कार्यसमितिका संस्थापक अध्यक्ष एवंम पूर्वकेन्द्रीय सल्लाहकार समिति सदस्य टिकाराम सापकोटा र राप्रपा बागलुङ जिल्ला कार्यसमिति अध्यक्ष सुरेन्द्र खड्काले टिका र खादा ओढाएर पार्टीमा स्वागत गरेका हुन् ।
कार्यक्रममा राप्रपा बागलुङका संस्थापक अध्यक्ष सापकोटा र राप्रपा जिल्ला कार्यसमिति अध्यक्ष खड्का र नवप्रवेशी सापकोटाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम राप्रपा बागलुङ जिल्ला कार्यसमिति अध्यक्ष सुरेन्द्र खड्काको अध्यक्षता र सचिव विष्णु प्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।





