मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

समाजका मेरुदण्ड : लौहकार

समाजका मेरुदण्ड : लौहकार


  • माधव चापागाईं
  • भाद्र ३० २०८१, आइतबार

आधुनिकताले छिप्पिदो हाम्रो समाज भड्किलो आडम्बर र उखरमाउलो जीवनशैलीमा रमाइरहे छ । धनसम्पत्तिको भरमा ऐश आराममुखी जीवन बिताइरहेका मानिसहरूलाई आखिर समाजको मेरुदण्ड के हो ? कसलाई के थाहा, खाने बृयानीदेखि रसिलो, गुलियो, ट¥रो र तितो समेत विदेशबाटै आउँछ । सुत्ने विस्तारादेखि मुख पुछ्ने टालो नेपाली माटोमा नबन्ने, कच्चापदार्थ निर्यात गरेर आयातित वस्तुमा सरकारदेखि बुझअबुझ जनता रमाइरहेको परिवेशमा गाउँका झुपडीमा भएको आविष्कार कस्ले देख्ने ? सिकर्मी, डकर्मी, चर्मकार, ताम्रकार, लौहकार र सुचिकार जस्ता आविष्कारकहरुको दुःख कस्ले महशुस गर्ने ? जीवनभरी भाँडी, होत्रो र घनसंग मितेरी लगाउने आविष्कारक अब हराउँदै छन् । दोस्रो पुस्तालाई यस्ता वस्तुको औचित्य के हो थाहै भएन । सहरमा तरकारी काट्ने चुलेसीदेखि गाउँमा मानाका माना दूध तताउने कुँडेसम्म यिनै हातले बने । अहिले सिसाले झल्किएका दराज र लच्किने पलङमा लेटिनेहरुलाई ओभानो भए निदाउने प्रवृत्ती बढ्यो । ऊ बेलामा आसिको धार भाँचिदा समेत मान्छे रातभरि निदाउँदैनथे ठेकी, मदानी, चौठी, ढेउवा, आने जस्ता काठका सामान बनाउनेलाई छुवाछूतको कसिमा उभ्याएर आफू सुकिला बन्नेहरुले चौठीकै तेल घसेर छोरानाती हुर्काए । बनाउनेको हातमा कहिल्यै चिल्लो परेन । यता आसि, बाउसा, कोदाली, घन, गल र फाली अर्चाप्नेहरुको मुखको कालोले समाज नै तर्सिन्छ ।

दिनभरी जंगलमा गएर गोल बनायो रातभरि गोलको रापमा रापिएर टुकटुक टुकटुक फलाम पिट्यो । थोत्रो सिल्टेको थालीमा पानी राखेर चोबले पछि शुद्ध भयो । पानी नचल्ने जातले थुक लगाएर सिएको कपडा धोएपछि शुद्ध बनेझैं सुनबाट भगवानका मुर्तिदेखि तामा र पित्तलका गाग्रीसम्म तिनै हातले बने, बनाइए र टालिए । कहिं छोइछिटोले निरास बनियो कहिं दुईहात अन्तरको घ्यूको तुर्कोमा रमाइयो । काम चोखो गरियो । जीवन घाम छायाँ जस्तै रहेछ । कहिले उज्यालो हराभरा कहिले बादलिएर अँध्यारो । कर्ममा सन्तुष्टि लिन सके खुशी भइदो रहेछ । बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरका बलबहादुर विश्वकर्मा (सेते)ले, जीवन यस्तै यस्तै अनुभवका बिच बितेको सुनाउँछन् । उनले जीवनको करिब सात दशक उकाली लाग्दा पनि बालीघरका कामलाई प्रमुख पेशा बनाएका छन् । पुख्र्याैली व्यवसायलाई १३ वर्षको उमेरबाटै सिकेर आजका दिनसम्म आसिमा पाइन लाउँदै छन् उनी, छोरानाती विदेशिए प्रशस्त धनसम्पत्ति कमाए । गाउँमै दरबार जस्ता घर बनाएर । यो काम नगर्नुस् अब बुढेसकाल लाग्यो जे चाहिन्छ म पु¥याउछु भन्ने ठूलो छोराको अनुरोधका पछाडि गाउँभरिका मानिसहरुको अनुहार सम्झिन्छु सबैले आरनको कामलाई बेवास्ता गरेर छोडे, गाउँघरमा हातहतियारको कर्म कसरी चल्छ ? पुख्र्याैली पेशा सक्दो गर्नुपर्छ । बालीको पैँचो होस् या पैसाले होस् । हामी एक दुई जना छौं यो काममा लगाम भएका, हामीले पनि आफ्नै कर्मलाई तिरस्कार गरेर हात बाँधे समग्र गाउँको दैनिकी ठप्प हुन्छ । समाजको दीर्घकालीन विकासका लागि निरन्तर पहरेदार बनेका उनले हात चलुञ्जेल यो कर्म गर्ने बताउँछन् । वर्षौंदेखि सबेरै उठेर आरनमा बस्ने बानी पर्यो । अहिले काम विशेषले बाहिर रहँदा पनि खल्लो लाग्छ । अत्यावश्यक कामबाहेक घर नछाड्ने उनले आफ्नो घरमै सदावहार सेवाग्राही पाउँछन् ।

दुई गाउँको माझ बाटो छेउको घर रङ्गरोगन गरेर चिटिक्क छ । घरसंगै जस्ताको छाना हालेको सानो छाप्रोमा आरन छ । परम्परागत शैलीमा बनाईएको आरन आगो फुक्नका लागि फलामे मेसिन । उमेरले ७० कटेका बलबहादुर सबेरै उठेर आरनमा बस्छन् । छरपष्ट सामान मिलाउँदै आरन छेवैमा राखिएको गोल अग्नीमा राख्छन् । त्यसपछि बलबहादुरले निरन्तर मेसिन घुमाउँछन् । घ्यारघ्यार गर्दै जति छिटो मेसिन चल्यो हावाको बेगमा आगो हुर्किन्छ । एकैछिनमा गोल रातो हुँदै दन्किन थाल्छ । अनि सुरु हुन्छ बलबहादुरको दैनिकी जब आरनमा बसेर फलामका भाँडा बनाउन थाल्छन् । हसिया, दाउ, कोदाली, बञ्चरो, फाली, करुवा लगायतका हतियार बनाउने काम उनले बाल्यकालदेखि नै सिकेको बताउँछन् । परिवारका सदस्य सबै आ–आफ्नै काममा छन् । हिजो बालीघरे प्रथा रहँदा कयौं घरका हतियारमा धार लगाउने बलबहादुर अहिले पनि गतिलो धार लगाउन सिपालु छन् । त्यसैले मानिसहरू उनैलाई खोज्छन् । छोराबुहारी देश विदेशमा आ–आफ्नै पेशामा संलग्न छन् । दुई छोराबुहारी र नातीनातिनाका माउ उनलाई परिवारका सदस्यले आरनमा नबस्न सुझाउँछन् । तर बलबहादुर भने परम्परागत पेशामै रमाउने गरेका छन् । हसिलो अनुहार ढाकाटोपी र कोट पाइन्टमा सजिएका उनले सधैंजसो यस्तै पोसाकमा आफुलाई प्रस्तुत गर्छन् । कोट नै लगाएर काम गर्न अप्ठ्यारो हुँदैन भन्ने प्रश्नमा पहिलैदेखि यसरी नै काम गर्ने बानी प¥यो । अप्ठ्यारो काम गर्दा खोल्छु तर टोपी त हाम्रो पहिचान हो किन खोली रहनु र ! गर्भिलो स्वरमा उनले भने ‘जानेको यहीं हो, काम गरे धेरैथोरै खाने बाटो हुन्छ, सकेको गर्छु, बैंसमा जस्तो त कहाँ काम गर्न सकिन्छ र इष्टमित्रका लागि पनि काम गर्नुपर्यो ।’ मैले नै काम गर्न छाडे भने यो गाउँ समाज कसरी चल्छ । आफुले जानेको सीप प्रयोग गरेर सेवा दिनु मेरो धर्म पनि त हो उनी भावुक हुँदै भन्छन्, ‘हाम्रा पालामा पढाई लेखाई थिएन । बाउबाजेले जे जाने त्यहिं गरियो, अहिले खाली बस्न मन लाग्दैन ।’ केही चिनेजानेकाबाट खाद्यान्न लिने गरे पनि अहिले हतियारमा धार लगाउँदा धेरैले पैसा दिने गरेको उनी बताउँछन् । उनले हँसिया, कोदाली र स–साना काममा प्रतिगोटा ५० र बञ्चरो लगायतका सामान प्रतिगोटा १ सय पारीश्रमिक लिएर हतियारमा धार लगाउँछन् ।

आरनमा बसेर फलामका हातहतियारमा धार लगाउन नयाँ पुस्ताले जाँगर गर्दैनन् । सिपको हस्तान्तरण नभएकाले बुढ्यौलीमा पनि कस्सिनुपरेको उनको गुनासो छ । जीवनको प्रारम्भदेखि नै आरन पेशा गरेर घरायसी गर्जो टार्ने उनले व्यवसायबाट दुई छोराको पढाइ, लेखाई, विवाह ब्रतवन्ध र अन्य घरायसी कामहरू चलाए । बुढ्यौलीले छोयो भन्दैमा यो पेशा छोड्ने कुरा भएन शालीन स्वरमा उनले भने, ‘पछिल्लो पुस्ता भने अन्य व्यवसायमा समेत लागेकाले गाउँमा आरन कम छन् ।’ सानातिना सुन चाँदीका कामसमेत गर्दै आएका उनलाई अहिले आरनको कामले भ्याईनभ्याई छ ।

वि.सं. २००९ सालमा जन्मिएका बलबहादुर २३ वर्षको हुँदा मनरुपासंग विवाह बन्धनमा बाँधिए । ३ छोरा र १ छोरीको जन्म भयो अहिले २ छोरा छन् बाँकीलाई बचाउन सकेनन् । अहिले नातीनातिना घरभरी छन् रमाइलो लाग्छ । ‘साउको भन्दा ब्याजको माया बढी भन्छन् हो रहेछ, घरमा नातीनातिना नहुँदा शुन्य लाग्छ । काम गर्ने जाँगर नै चल्दैन ।’ उनी थप्छन्, ‘बाउको हात चल्न छाडेपछि जिम्मेवारी थप भयो । परिवारको दायित्व बोधलाई कर्तव्यको कसिमा जोख्दा अन्ततः यो पेशालाई नै शिरोपण गरेको थिएँ । मनरुपाले आफ्ना खुशी त्यागेर आफ्नो दुखमा निरन्तर साथ दिएको स्मरण गर्दै करिब पाँच दशक आरनमा काम गरेका उनले दुखेसो गर्छन् । यो पेशाले भोकै मर्न दिदैन तर उन्नतिको अभिलाषा कहिल्यै सिद्ध भएन ।’ ऊ बेलामा पढाई लेखाइ थिएन, सानैदेखि बाली घरका कामलाई प्रमुख आश्रय बनाए । वर्ष दिनभरी हसिया, बाउसा अर्चाप्ने (धार लगाउने ) काम गरेर बाली घरको चित्त बुझाएपछि प्रतिकुरिया ८÷१० पाथी धान, २÷३ पाथी मकै र कोदो पाइन्थ्यो । त्यतिबेला खान लाउनको दुःख थियो । चाडवार्डमा मिठो मसिनो खाद्यान्न उपलब्ध हुनेमा चित्त बुझाउनु पथ्र्यो । उनले जैमिनी नगरपालिकाका टार, ज्यामिरघाट, टुनिबोट, अमलाचौर आसपासका क्षेत्रसहित सरङ्गीदेखि नारायणस्थानका केही ठाउँका मानिसहरुका हतियारमा धार लगाउँदै आएका छन् । सुरुवाती चरणमा बुढा बाख्राको खलातीको सहायताले आगो फुक्ने मेसिन बनाएर हसिया अर्चाप्दै दुःखको जीवन काटेका उनले २८ वर्षमा फलामे मेसिन ल्याएपछि काममा सहज भएको बताउँछन् । अहिले जस्तो दाउराको सुविधा थिएन ऊ बेलामा, गोल बनाउन र फलाम लिन दिनभरि हिंड्नुपथ्र्याे । अहिले त गोल बोकेर हिंड्न नसकिने भएको उनी बताउँछन् ।

पुख्र्याैली सम्पत्तिका नाममा न्वाइ खान पुग्ने मात्रै खेतबारी थियो । यहिं आरनका भरमा सम्पूर्ण दैनिकी चलाइयो । उमेर छञ्जेल घाँसपातसमेत बेसाएर २ वटासम्म भैंसी पालेको ज्यान हो अहिले दुइवटा बाख्रा पाठाको स्याहार गर्न गाह्रो भएको कुरा मनरुपा बताउँछिन् । चिसोले श्वास फेर्न हुँदैन दम र बाथले शरीर कमजोर बनायो । बुढालाई प्रेसर छ । धुवाँ धुलोमा बस्न हुँदैन । कामले रोगी बूढो नभन्दो रहेछ । गरिराखेको काम त्यति सजिलै छोड्न नसकिने मनरुपाले सुनाउँछिन् । कान्छा छोरासंग एउटै छानामुनी छौं । बुढाले बिहानैदेखि आरनमा काम गर्छन् मैले भान्सामा काम गर्छ ु। दुखसुखमा दुवै छोराको छत्रछाया पाएका छौँ । पहिलेको दुःख सम्झिदा कहाली लाग्छ परन्तु वर्तमानको जीवन सुखै छ भन्नूपर्छ । उमेरमा दैनिक १८ घण्टासम्म काम गरियो अहिले काम गर्न कठिन हुन्छ । पहिलेभन्दा अहिले काम गरे हातमुख जोर्न सजिलै छ । सानोतिनो काममा पनि दुइचार रुपैयाँ सजिलै आउँछ । तर आफ्नै हातपाखुरा चल्न छाडेपछि गोठ रित्तै छ घरको छेउमा बस्यो आफ्नै घरले भैयाउन दिने समय सुरु भयो । जन्मेपछि मर्नै पर्छ । चाल्नामा दूध दोएर अढिन्न दुखसुख आफ्नो धर्म पूरा गर्न पाए खुशी लाग्छ । हातखुट्टा चलुञ्जेल काम गर्नै पर्छ । हाम्रो त उमेर ढल्की सक्यो दोस्रो पिढिमा काम सार्न नसकिने भइयो । छोराहरूको उन्नतिमा खुशी भए पनि यी भाडावर्तनले उनीहरुको साथ नपाउनेमा दुख लाग्छ भन्दै बलबहादुर थप्नुहुन्छ, ‘जीवनकालमा फरक फरक समयको अनुभुति गरियो । अहिले सुखैमा छौं भन्दा अन्याय हुँदैन । आत्म शुद्ध गर्न सके जीवन राम्रो र सुखी हुन्छ तर अहिलेका मानिसमा त्यो गुण पटक्कै छैन । न कर्म राम्रो छ न मन राम्रो ।’ स्वार्थैस्वार्थका बिच समाज विछिप्त बन्दै छ । तसर्थ समाजमा निस्वार्थ भावनाको प्रादुर्भाव गर्न भावी पुस्तालाई नैतिकताका साथमा हामी र हाम्रो दैनिक आवश्यकताका कर्महरु सिकाउनु पर्छ । अन्यथा नैतिकता विहिन आधुनिक जीवनमा रमाउने प्रवृत्तिले कालान्तरमा समाजमा दुर्घटना हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->