मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गाउँले जिवनमा विगतका मनोभावनाहरु

गाउँले जिवनमा विगतका मनोभावनाहरु

गाउँका बारी, खेतहरु बाँझो जग्गामा परिणत हुने बढदो क्रम छ । ग्रामिण भेगमा बस्ने सिमित मानिसहरुले समेत बजारबाट आयात गरिएको खाद्यान्न सामाग्री उपभोग गर्ने विवश पराधिन अर्थतन्त्रको दुश्चक्रमा घुमेको छ ।


  • याम बहादुर थापा मगर
  • भाद्र ३१ २०८१, सोमबार

चमचा मच्चाउनमा अब्बल
बागलुङ नगरपालिका वडा नं १० भकुण्डे अर्वाउदी हाल वडा कार्यालय रहेको स्थानमा ठुलो बाँसघारी थियो । बाँसघारीको आडमा चमचा खेल्ने र लठे पिङ खेल्ने चलन दशै, तिहारको समयमा बुहत प्रचलनमा थियो । दशै आउनुभन्दा अघि गाउँभरिका युवाहरु लगभग घरको एक जना अनिवार्य जस्तो चमचाको बलो र खाम बोक्नका लागि सामुदायिक वन छाप्रेको डाँडाको वनमा छानी छानी चिलाउनेको अग्लो र ठुलो रुख जम्मा भएर लिन जान्थे । गाउँभरिका मानिसहरु जम्मा भएर जाँदा रमाइलो समेत हुन्थ्यो । बहुत दुःख कष्ट गरेर चमचाको बलो र खाम लिएर गाँडेपछि गाउँभरिका युवायुवतीहरु दशै र तिहारको समयमा चमचा खेल्न आउँथे । चमचाको वरिपरि जात्रा लागे जस्तो मानिसहरुको भिड लाग्दथ्यो । गाउँघरमा छरछिमेकहरुले मेरो बाबालाई धौलेचउरको सेते भनेर बोलाउँथे । तर बास्तवमा बाबाको छालाको रंग कालो थियो । बाबा बलियो मध्येको एक गनिनुहुन्थ्यो । खासमा बाबाको नाम लाल बहादुर थापा थियो । चमचाको वरिपरि मानिसहरुको दशैको समयको भिड हुन्थ्यो । चमचा खेल्नका लागि युवायुवतीहरु तछाडमछाड गरेर युवाभन्दा पनि युवतीहरु खेल्न तम्सिन्थे । तर ति युवतीहरुलाई चमचा मच्चाउने युवा मानिसहरु एक दुई पटक बाहेक तेश्रो पटक मच्चाउने सामथ्र्य धेरै युवा मानिसहरुले राख्दैनथे । चमचाको खम्बामा गाई, भैंसीको गोबर राखेर मच्चाउन सजिलो बनाउने घरेलु कला समेत उपयोग गर्दथे । तर हाम्रो बाबालाई बारम्बार चमचा मच्चाउनको लागि अनुरोध युवा जमात बिचमा हुन्थ्यो । बाबा लाल बहादुर थापा मगरले भने बहुत बल निकालेर अब्बल तरिकाले निरन्तर नथाकेर लामो समयसम्म चमचा मच्चाउन सक्ने कला र बल दुवै थियो । चमचा खेल्न आउने कोही बाबाको उमेरका साथीहरुले रोटी, रक्सी, विरकमला लिएर आएका हुन्थे । खाजा खाएर बेलुकासम्म कौशलपुर्वक अब्बल पारामा चमचा मचाएको यादहरु अहिले ताजा रुपमा दशै तिहारको समयमा आउँछ । गाउँलेहरु मिलेर बाँसको चोयाले बाँधेर फेदको भागतिर धेरै मानिसहरु र टाउकाको भागतिर थोरै मानिसहरु हिप हिप हुर्रे भन्दै उचालेर बोक्दै बनबाट ल्याउँदथे । तर अहिले कुनै कुनै स्थानमा मात्र पिङ राख्ने गरेको पाइन्छ । खुल्ला चौरमा चमचा बनाएर खेल्ने चाडपर्वको अवसर गुमेको पाउन सकिन्छ आजभोलिको दशै तिहारमा । गाउँमा बसाइ सराईको तिव्रता, जनसंख्या उत्पादनमा गिरावट र पुराना कला शिप जानेका मानिसहरुको मृत्युका कारण धेरैजसोः पुराना चालचलन, संस्कृतिहरु हराउँदै गएको पाउन र अनुभव गर्न सकिन्छ ।

मेरो बाबाको चमचा मच्चाउने अब्बल कलामा अरु मानिसहरुले तोड्न सकेन । एकजना मेरो दाजुभाइको नाताले बाजे भन्नुपर्ने ढुंगे साइला भन्नेले झाम्रे भाका गाउन खुब सिपालु हुनुहुन्थ्यो । दशै, तिहार चमचासँगै पिङ समेत राख्ने र जमिन एक वर्षमा एक पटक छोड्नु पर्ने अनिवार्य जस्तो चलन भएकाले गाउँभरिका मानिसहरु चमचा, पिङ खेल्न जम्मा हुन्थे । तर आजकल चमचा खेल्ने चलन हराइसक्यो । पालिका सरकारले कही कतै पिङ हालिदिएर केटाकेटीहरुलाई खेलाउने गरेको पाइन्छ । गाउँमा बस्ने मानिसहरु पछिल्लो समयमा बुढाबुढीको संख्या मात्र भएकोले रित्तिदो क्रममा रहेको भान हुन्छ । गाउँका बारी, खेतहरु बाँझो जग्गामा परिणत हुने बढदो क्रम छ भने ग्रामिण भेगमा बस्ने सिमित मानिसहरुले समेत बजारबाट आयात गरिएको खाद्यान्न सामाग्री लगायत उपभोग गर्ने विवश पराधिन अर्थतन्त्रको दुश्चक्रमा घुमेको छ । चमचा खेल्ने जमात समेत छैन भन्दा पनि हुन्छ । चमचाको बलो र खाम बोक्ने बलिया युवाहरुको समेत अभाव रहेको छ । चमचा खेल्ने चौरमा हामी गिन्ठी भन्ने खेल खेलेर फुर्सदको समय उपयोग गर्दथ्यौं । अहिलेका बालबालिकाहरुलाई चमचा के हो भनेर देखाउन र बुझाउन पर्ने व्यवहारिक शिक्षा दिन संग्रहालयमा लानु पर्ने अवस्था रछ ।

हलो जुवा कौशलतामा बनाउने चलन
दशैको समयमा राम्रोसँग खनजोत गरी अन्न भण्डार समेत होस् भनेर कुल देवतालाई साक्षी राखेर हलोको फाली पुजा गर्ने चलन थियो । महानवमी अर्थात् दुर्गा पुजाको दिनमा घरमा भएका हसिया (आसी) बन्चरो, कोदालो, घन, भेल्चा, गल, खुकुरी, आरा लगायतका घरायसी सामानहरुको संकलन गरेर पुजा गर्ने समयमा बाबाले छुट्टै टपरीमा चामल, फुलपाती, अछेता, धजाले फालीको पुजा गर्नुहुन्थ्यो । त्यहीं फालीको पुजा गरेपछि मंसिर, पुस, माघ, फागुन, चैत्रसम्म चिलाउनेको मुडालाई कलात्मक तरिकाले थेवेले टाँछेर हलो बनाई फालीलाई राम्रोसँग बानेर जोत्नका लागि हलो तयार गर्नुहुन्थ्यो । अन्न उत्पादन गर्नका लागि राम्रो घरेलु सामाग्री हलोको आकार नमिलेमा खेत जोत्दा बाँझो हुने र गोरु तथा हलीले समेत बहुत दुःख पाउने हुन्थ्यो । हलो र जुवा बनाउनको लागि बाबाको शिपमा दक्षता र कुशलता भएको कुरा जोत्ने समयमा हलीले मात्र थाहा पाउँथे । चिलाउनेको रुखबाट बनाइने हलो, बहर गोरु दाउने शिप समेत हुन आवश्यक थियो । अहिले खेतबारी, जोत्नका लागि मिनि टेलर हलो प्रयोग गरिन्छ । त्यस समयमा खेतबारी जोत्दा, धान रोप्दा बाउसे, खेतालाको बहुत मान सम्मान गर्नुपर्ने र पर्मा लगाउने चलन चल्दथ्यो । बाजेको पालामा कमाइ गरेर खान दिएको हली गरा भनेर अहिले पनि नामांकन गरिएको छ । हली गराको उब्जनी खेती सबै हलो जोत्ने निफन्नी गाउँको एक किसान घरपरिवारको मानिसले लैजान्थे । बाँझो बारी, मकै छर्ने समय लगायत कोदो रोप्ने समयमा बाँउसेको कामकाज गरे वापतको ज्याला वापतको मुल्य उब्जनी भएको अन्न हुने गरालाई अहिले पनि हामीले हली गरा भनेर चिनाउँछौ । हलो बनाउने कला हाम्रो बाबाको भन्दा अझै राम्रो शिप भएको मानिस पल्लो पारीको माझघर, पात्ले, अर्भक गाउँमा छन् रे भन्थे । तर, चिलाउनेका ठुटा लिएर थुप्रै मानिसहरु हाम्रो घरमा नै आउथे । बाबाले काठ बिग्रेमा हलो बनाउँदा म जिम्मेवारी छैन नि भनेर हाँसो मजाक समेत गर्नुहुन्थ्यो । चिलाउनेको ठुटाबाट हलो बनाउँदा बनाउँदै कहिलेकाँही छोडेर जानुहुन्थ्यो । मुड र फुर्सदको समयमा हलो बनाउने काम गर्नुहुन्थ्यो । राम्रोसँग बाँझो चिर्दा गाडिने, माटोका डल्ला कम निकाल्ने हलो बनाउन सिपालु हुनुहन्थ्यो । हलो जुवा राम्रोसँग मिलेर बनाएमा जोत्ने हलीलाई समेत थोरै समयमा धेरै खेत बारी जोत्ने सकिने हुन्थ्यो । आजकल हलो जुवा बनाउने चलन हराएको छ भन्दा फरक पर्दैन ।

चोके पैसाको ब्याजदर महँगो
मेरो भकुण्डे अर्वाउदी गाउँमा नजिकै कामी आरन भन्ने दलित बस्ती छ । लगभग भकुण्डेभरिका मानिसहरु हसिया, बन्चरो, कोदाली, बाउसो, थेवे, खुुकुरी, हलोको फाली बनाउन आउँथे । अहिले गाउँको नाम इन्द्रेणी गाउँमा परिवर्तन भएको छ । दलितहरु सचेत भएका कारणले समुदायको सामुहिक निर्णयका आधारमा इन्द्रेणी गाउँ नयाँ नाम पाएको छ । छेऊको मगर बस्ती बस्ने टोल गाउँको नाम दमाइ बारी थियो । त्यस दमाइबारी गाउँका दमाई समुदायका परियार, दर्जी, नेपाली समुदायका मानिसहरुको बसोबास नभई मगर समुदायका मानिसहरु बस्थे । त्यस गाउँको नाम समेत परिवर्तन गर्नुपर्दछ भन्ने चेतनाको बोध भएपछि त्यस दमाई बारी गाउँलाई अहिले नयाँबारी नयाँ नाम दिएर प्रयोगमा ल्याउन थालेका छन् । त्यहीं नयाँबारीको आडमा इन्द्रेणी गाउँमा बस्ने दलित विश्वकर्मा, रसाइली समुदायका मानिसहरुले हरेक वर्ष दशै चाडमा खसी स्वरुप थारो भैंसी किन्न लागि ऋण स्वरुप चोके पैसा लिएर मासुको जोहो गर्ने चलन प्रथा थियो । आजकल चोके पैसा ऋण लिएर दशैका लागि मासु जोहो गर्ने जिवित रुपमा छ कि छैन । त्यस बारेमा खोज अनुसन्धान गर्नुपर्दछ । तर वि.स. २०४८, २०४९ सालतिरको समयमा भकुण्डे अर्वाउदी गाउँमा विश्वकर्मा दलितहरुको समुदायले चोके पैसा सापट गरेर परदेशमा गए आफन्तहरुले गाउँ घरमा आउँदा पैसा लिएर आउँछन् भन्ने मान्यता राखिन्थ्यो । दशै अगाडी खसी जोहो गर्नका लागि चलन चल्तीको व्याजदरभन्दा दोब्बर व्याजदरमा ऋण खोजेर तिहार पछि ऋणको सावा र ब्याज दोब्बर नै बुझाउने प्रचलन थियो । हाम्रो घरमा खास नगद पैसा हुँदैन थियो । कहिलेकाँही भेडाको साँघर बेचेपछि र रक्सी बेचेर तथा कहिलेकाँही बाबा डर्केमीको रुपमा कामकाज गर्न गएको समयमा पैसा देख्न पाइन्थ्यो । कि कोही साहुजी पसलको भारी बोकेर समेत थोरै भएपनि पैसा हाम्रो परिवारमा हात पर्दथ्यो । बाबाले घर वरिपरि करेसाबारी बनाएर रायोको साग, मुला गाँजरलगायत बाह्रै मास तरकारी हुन्थ्यो । हाम्रो परिवारमा तरकारी स्वयमसेवी र आत्मनिर्भर थियौं । इन्द्रेणी गाउँका थुप्रै परिवारहरु तरकारी किन्न आउँथे । हाम्रो बाबा आमाको नजिकको घर र नजिकको सम्बन्ध भएकाले दशैभन्दा अगाडी चोके पैसा ऋण स्वरुप माग्न कुनै कुनै सालको वर्षमा खसी बन्दोवस्त गर्न हाम्रो घरमा आउँथे । गाउँघरको चलन चल्तीभन्दा बढी ब्याजदरमा पाइने भएकोले कहिलेकाहीँ त बाबा आमाले ऋण काढेर समेत ऋण लगानी गर्नुहुन्थ्यो । सो चोके पैसा वापतको ऋण ब्याजसहित संकलन गरेर तिहार पछि लगत्तै आउँदा खेरी ऋण खोजेर दिएपनि साधारण व्याजदरभन्दा बढी ब्याज आउने भएकोले चोखो आम्दानी हुने थियो । मैले त्यस समयमा सोचाइ र भोगाइमा पाकोपन थिएन र सामाजिक साँस्कृतिक पक्षको विश्लेषण गर्ने क्षमता राख्दिनथे । अहिले सोच्दा किन त्यति रकम पनि समुदायभित्र त कसै न कसैसंग हुन्थ्यो होला । चोके पैसाका नाममा किन बढी अनावश्यक ब्याज रकम तिर्न मन्जुर हुनु भएकोे होला । फेरी एक महिना पछि जम्मा हुने पैसा एक महिना अगाडीबाट नै दाजुभाइ बिचमा संकलन गरेर दशैको खसी व्यवस्थापन गरेको भए चोके पैसाका नाममा बढी ब्याज दिन नपर्ने थियो । अनाहकमा बढी पैसा तिरेको देख्दा मलाई अहिले नमज्जा लाग्दछ । आजभोलि त गाउँघरमा पनि अलि पैसा हुने भएकोले चोके पैसा वापत ऋण लिने प्रचलन नभएको हो कि भन्ने आभास मिलेको छ । पहिले पो दशैमा मात्र खसी खरिद भई काट्ने काम हुन्थ्यो । तर अहिले त दाजुभाई साथीहरु जम्मा हुने भएमा एक वर्षभित्र नै तिन चार वटा थारो भैसी खरिद गरेर काटेर खाने क्षमताको विकास भएको पाइन्छ । गाउँघरमा समेत भैसीपालन गर्ने जनसंख्यामा क्रमिक रुपमा गिरावट आएको अवस्था छ ।

मैले जान्न चाहेको विषय भनेको ऋण सापट गर्ने प्रणालीमा चोके ऋण पैसा भए जस्तो अहिले ब्याज सावामा पुँजीकृत हुने प्रणाली भएपनि अर्थतन्त्रमा व्याज पुँजीकृत हुने प्रणाली व्यापक शोषणको तौरतरिका भएकोले चोके पैसा लिने प्रणाली आजका दिनमा उपयोगमा ल्याउनु हुदैन भन्ने सचेतना हुन आवश्यक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->