स्याङ्जा/सरकारले हुलाकको पुनः संरचना गर्ने नीति लिएसँगै स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय स्थापना गरिएको छ ।
बिरुवा गाउँपालि—१ बिरुवा बजारमा मङगलबार पालिका हुलाक कार्यालय स्थापनासँगै स्याङ्जामा एक पालिका एक हुलाक स्थापना भएको हो । बिरुवामा खरदार खेम थापाको नेतृत्वमा पालिका हुलाक कार्यालय सुरुवात गरिएको हो ।
११ पालिका रहेको स्याङ्जामा एक जिल्ला हुलाक र अन्य १२ वटा इलाका हुलाक कार्यालय रहेकोमा तीन इलाका हुलाक हटाइएको हो भने एक थपिएको हो । पालिकामा रहेका इलाका हुलाक कार्यालयलाई पालिका हुलाक कार्यालय बनाइएको हो ।
प्रत्येक पालिकामा एउटा हुलाक कार्यालय रहने व्यवस्था भएबमोजिम एउटा पालिकामा एकभन्दा धेरै भएको पुलतीबजार नगरपालिकाको कोल्मा, आँधीखोला गाउँपालिकाको पञ्चमुल र हरिनास गाउँपालिकाको क्याक्मी हुलाक कार्यालय हटाइएको हो भने नभएको बिरुवा गाउँपालिकामा थप गरिएको हो ।
जिल्ला हुलाक कार्यालय स्याङ्जाका प्रमुख गुरुप्रसाद मरासिनीले एउटा पनि हुलाक कार्यालय नभएको बिरुवामा पालिकामा कार्यालय स्थापना गरी सेवा दिएसँगै सबै पालिकामा पालिका स्तरको हुलाक कार्यालय स्थापना भएको बताए ।
यहाँका अन्य सातवटा पालिकामा एक एक वटा इलाका हुलाक कार्यालय रहेकाले सोही कार्यालयलाई पालिकास्तरीय कार्यालय बनाइएको हो ।
यहाँ ११ वटा पालिका स्तरको कार्यालयसँगै अझै अन्य ४२ वटा अतिरिक्त हुलाक कार्यालय भने जिल्लामा रहेका छन् ।
अतिरिक्त हुलाकमा कम्तीमा एक जनादेखि तीन जनासम्म कर्मचारी रहेको र अहिले ८९ जना कर्मचारी रहेका छन् ।
केन्द्रका नीति अनुसार अतिरिक्त हुलाकमा रहेका कर्मचारीको उमेर ५८ वर्ष पुगेर कार्यालयमा कर्मचारीविहीन भएपछि खारेज हुने छ । यस आर्थिक वर्षमा यहाँका ११ वटा अतिरिक्त हुलाक कार्यालय खारेज गरिएको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।




