बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

भारत र बंगलादेशबीच चल्दै आएको ‘माछा कूटनीति’ संकटमा

भारत र बंगलादेशबीच चल्दै आएको ‘माछा कूटनीति’ संकटमा


  • सौतिक बिस्वास र अनबरसन इथिराजन
  • असोज २ २०८१, बुधबार

आउँदो अक्टोबरमा राज्यको सबैभन्दा ठूलो पर्व दुर्गापूजा मनाउने तयारी गरिरहेका भारतको पश्चिम बङ्गालका मानिसहरूले यसपालि हिल्सा माछाको अभावको सामना गर्नुपर्ने हुन सक्छ ।
हिल्सा माछा बङ्गालीहरूबीच निकै लोकप्रिय छ ।
विश्वको सबैभन्दा ठूलो हिल्सा माछा उत्पादक बंगलादेशले छिमेकी मुलुक भारतमा हिल्सा ढुवानीमा कडाइ गरेको र यसको निर्यातमा लामो समयदेखि प्रतिबन्ध लगाएका कारण यस्तो अवस्था आएको हो ।
ढाकामा नयाँ सरकारले कार्यभार सम्हालेको एक महिनापछि सुरु गरिएको नयाँ प्रयाससँगै यी लोकप्रिय माछाका निम्ति बंगलादेशकै उपभोक्ताहरूलाई प्राथमिकतामा राखिएको बंगलादेशको मत्स्य तथा पशुपन्छी मन्त्रालयकी सल्लाहकार फरिदा अख्तरले बताइन् ।
‘प्रशस्त माछाहरू (प्रतिबन्ध हुँदाहुँदै पनि) बंगलादेशबाट भारततिर गइराखेका छन् । यस पटक हामी हिल्सालाई सीमा काट्न दिने छैनौँ,’ उनले बीबीसीसँग भनिन् ।

हिल्सा माछा के हो ?
हिल्सा बंगलादेशको राष्ट्रिय माछा हो । तर धनी र मध्यम वर्गले मात्र किन्न सक्ने र गरिबले नसक्ने भएकाले यो निकै विलासी मानिन्छ ।
‘अघिल्लो सरकारले दुर्गापूजाको समयमा प्रतिबन्ध फुकुवा गथ्र्याे । उनीहरू यसलाई उपहार भन्थे । यसपटक हामीले उपहार दिनु आवश्यक छ जस्तो लाग्दैन किनकि भारतमा ठूलो संख्यामा हिल्सा निर्यात गर्न अनुमति दिँदा हाम्रा मानिसहरूले माछा खान पाउँदैनन्,’ अख्तरले भनिन् ।
यो अडानले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको भारतसँगको प्रख्यात ‘हिल्सा कूटनीति’मा स्पष्ट विचलनको संकेत गर्छ । उनले चाडपर्वको समयमा माछाका खेप भारत ढुवानी गर्न अनुमति दिने गर्थिन् ।
हसिनाले पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीलाई पटकपटक हिल्सा माछा पठाएकी छन् । लामो समयदेखिको पानीसम्बन्धी विवाद समाधानको अपेक्षामा उनले सन् २०१७ मा तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई ३० किलो हिल्सा उपहार दिएकी थिइन् ।
विद्यार्थी नेतृत्वमा हप्तौँ लामो प्रदर्शन व्यापक राष्ट्रव्यापी अशान्तिमा परिणत भएपछि हसिना गत अगस्ट ५ मा नाटकीय रूपमा पदबाट हटाइएकी थिइन् ।
सुरुमा उनी छोटो समयका निम्ति भारतमा बस्ने अपेक्षा गरिएको थियो । तर बेलायत, अमेरिका र यूएईमा शरण प्राप्त गर्ने उनको प्रयास अहिलेसम्म असफल देखिन्छ ।
उनको निरन्तरको भारत बसाइले ढाकाको नयाँ अन्तरिम सरकारसँग बलियो सम्बन्ध विकास गर्ने दिल्लीको प्रयासलाई पनि जटिल बनाएको छ ।
बंगलादेश भारतको एक प्रमुख रणनीतिक साझेदार र सहयोगी हो । विशेष गरी उत्तरपूर्वी राज्यहरूतर्फका सीमा सुरक्षाका कारण पनि भारतका निम्ति बंगलादेश निकै महत्वपूर्ण छ ।

पुनर्विचार होला ?
नयाँ अन्तरिम सरकारले हिल्साको आपूर्तिलाई अनुमति दिएर भारतलाई सद्भावनाको संकेत गर्छ कि भन्ने प्रश्नमा अख्तरले भनिन्, ‘हामी अन्य सबै तरिकाले सद्भावनाको संकेत गर्ने छौँ । उनीहरू हाम्रा मित्र हुन् । तर हामीले हाम्रा मानिसलाई अभावमा राखेर केही गर्न सक्दैनौँ ।’
‘सद्भावनाको प्रश्न योबाट अलग छ ।’
बंगलादेश हिल्सा (टेन्युअलोसा इलिशा) उत्पादनको अग्रणी हो । यो प्रजाति बङ्गालको खाडी र त्यस क्षेत्रका नदीमा प्रशस्त मात्रामा पाइन्छ ।
यो माछाले बंगलादेशको कुल माछा उत्पादनमा करिब बाह्र प्रतिशत हिस्सा ओगटेको छ र कुल गार्हस्थ्य उत्पादनमा करिब एक प्रतिशत योगदान दिन्छ । माछा मार्नेहरूले वार्षिक छ लाख टन माछा समात्छन्, जसमध्ये अधिकांश समुद्रबाट ल्याइन्छ ।
सन् २०१७ मा यो माछाले बंगलादेशका निम्ति ‘जिओग्राफिकल इन्डिकेटर’ अर्थात् भौगोलिक सूचकको मान्यता प्राप्त गरेको थियो ।
वरिष्ठ मत्स्यपालन अधिकारी नृपेन्द्रनाथ विश्वासले ‘दी डेलीस्टार न्यूजपेपर’लाई बताएअनुसार गएका वर्षहरूमा दुर्गापूजाका समयमा सरकारले ३,००० देखि ५,००० टनसम्म हिल्सा निर्यात गर्न अनुमित दिन्थ्यो ।
‘तर देशमै माछाको अभवाको स्थितिलाई हेरेर सरकारले यो वर्ष हिल्साको निर्यातमा रोक लगाउने निर्णय गरेको छ,’ उनले भने ।

मूल्य किन बढ्यो ?
तर बंगलादेशी सञ्चारमाध्यमका प्रतिवेदनहरूले निर्यात प्रतिबन्धका बाबजुद स्थानीय बजारमा हिल्साको मूल्य बढेको देखाएको छ ।
डेढ किलो हिल्सा १,८०० टाका (१५ डलर) मा, १.२ किलो १,६०० टाकामा र एक किलो १,५०० टाकामा बेचिन्थ्यो । तर गत वर्षभन्दा अहिले यो मूल्य १५० देखि २०० टाकाले बढेको व्यापारीहरू बताउँछन् ।
प्रशस्त रूपमा माछा मार्न नसिकएका कारण मूल्य बढेको माछा मार्ने काम गर्दै आएकाहरू बताउँछन् । यही पेसा गर्दै आएका हुसैन मियाले भने, ‘यो तीन महिनामा हामीले पाँच पटक समुद्रमा जाने कोसिस ग¥यौँ । तर खराब मौसमका कारण फर्किनुप¥यो ।’
सीमाका दुवैतर्फका बङ्गालीहरू हिल्सालाई पवित्रजस्तै मान्दछन् र यसको अभावले धेरै मानिसहरूलाई निराश बनाउने छ ।
विविध तरिकाका पवकानका निम्ति यो माछा लोकप्रिय छ । यसलाई धेरै तरिकाले पकाइन्छ । उदाहरणका लागि यसलाई सस्युँको लेदोसँग बफ्याइन्छ, जसले यसको स्वादलाई बढाइदिन्छ । त्यस्तै ‘कुरुमकुरुम’ बनाउनका निम्ति यसलाई हलुका मसलाको ‘कोटिङ’ गरेर तेलमा तारिन्छ ।
बङ्गाली–अमेरिकी खाद्य इतिहासकार तथा लेखक चित्रिता बनर्जी यस माछाको बारेमा चर्चा गर्ने धेरै लेखकहरूमध्ये एक हुन् ।
‘मलाई लाग्छ लामो समयदेखि बङ्गाली खानाको प्रतीकका रूपमा यसको भूमिका हुनुमा धेरै तत्वहरूको संयोजन छ । यसको भौतिक सौन्दर्य पनि त्यसमध्येको एउटा हो, जसले बङ्गाली लेखकहरूलाई यसलाई ‘जलको प्रिय’ वा ‘माछामध्येको राजकुमार’का रूपमा वर्णन गर्न प्रेरित गरेको छ,’ एक अन्तर्वार्ताकारसँग उनले भनेकी छन् ।
‘यसको नरम मासु (हाडसहितको भए पनि), सुक्खापन, सुन्दर ढाँचा तथा गजबको स्वादको मिश्रणले गर्दा यो धेरै प्रकारले पकाउन एकदम सही छ ।’
–बीबीसी नेपालीबाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->