१. पृष्ठभूमि
नेपालमा नेपालीले आफ्नै बलबुताले आफ्नै प्रतिनिधि सम्मिलित संविधानसभाबाट संविधान लेख्ने, आफैंले संविधान जारी गर्ने र आफ्ना लागि आफैंले नियम कानून बनाइ शासन गर्ने २००७ सालदेखिको चाहना परिपूर्ति गर्ने अवसर विभिन्न कारणहरूले गर्दा नपाइरहेको अवस्था लामो समयसम्म जारी रह्यो ।यसका लागि इतिहास नढाँटी लेख्नुपर्ने भएकोले जनताको चाहना अनुसार संविधान सभाबाट संविधान जारी गरिनुपर्ने मान्यतालाई परिपूर्ति गर्ने प्रक्रियामा प्रमुख अवरोधक भनेकै प्रत्यक्ष अप्रत्यक्षरुपमा नेपालको राणा शासन पछिको तत्कालीन राजसंस्था थियो । जब नेपालमा दरबार हत्याकाण्ड भइ राजा बीरेन्द्रको वंशनाश भयो, त्यसपछि मात्र नेपालमा राजसंस्था प्रति नेपालीको दृष्टिकोण नकारात्मक बन्यो । यसको परिणाम गणतन्त्रसम्म पुगेर अन्त भयो । २०७२ सालमा जब संविधान सभाबाट नेपालको संविधान जारी भयो तबमात्र नेपालीको सपना पनि सार्थक भयो भन्न सकिन्छ । नेपालीहरूले नेपालको राजसंस्थालाई भगवान् विष्णुको अवतारको रुपमा स्वीकारेको पाइन्छ, जुन मान्यता यदाकदा अहिले पनि नेपालीको मन मस्तिष्कमा रहेको भेटाइन्छ । नेपाली जनता जसले राजालाई विष्णु भगवानको अवतार माने र मन मस्तिष्कमा सजाएर राखे, ती राजा, राजसंस्था र राजपरिवारको दृष्टिकोण चाहिँं नेपाली जनतामैत्री हुनबाट वञ्चित रह्यो ।राजाले नेपाली जनतालाई जहिल्यै पनि आफूले दिएको कुरा मान्नुपर्छ भन्ने सोच राखिरहे र सच्चा राजभक्त तथा विष्णुभक्तको दर्जा कहिल्यै दिन जानेनन् । फलस्वरुप एकोहोरो विष्णुभक्तरुपी नेपाली जनताको मन पनि परिवर्तन भयो अनि एकदिन राजसंस्था नै ढल्न बाध्य भयो । नेपाली जनतालाई यस्तो बाध्य बनाउने काम राजसंस्था बाटै भएको हो र राजसंस्था अन्त्य हुनुमा पनि राजसंस्थाकै हात रहेको कुरा कसैबाट छिप्न सक्दैन । नेपालमा राजपरिवारले धेरै लामो समय राज ग¥यो । त्यही अवधिमा संसारले निकै प्रगति गरिसकेको थियो, संसार वैज्ञानिक युगमा प्रवेश गरिसकेको थियो, चमत्कार भइरहेको थियो । तर, नेपालमा भने जनताहरूपरम्परागत तरिकाले दिन बिताउन बाध्य थिए । शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, सडक, संचार, खानेपानी, खाद्यान्न जस्ता आम आधारभूत कुराहरूको सामान्य उपभोग गर्नुबाहेक प्रविधिमा आधुनिकताका कुरा सुन्न समेत पाएका थिएनन् नेपाली जनताले । त्यसैको फलहो, अहिलेसम्म पनि नेपाल र नेपाली जनताको विकास हुन सकेको छैन । अहिलेसम्म पनि चरम गरीबि र आर्थिक संकटका कारण लाखौं नेपालीहरू विदेशिनु परिरहेको छ । संसारका विकसित देशहरूसँग तुलना गर्ने हो भने नेपाल अझै ५० औं वर्ष पछाडि नै छ ।
नेपालमा यस्तो विकराल स्थिति आखिर किन आयो त ? जबकि उत्तर र दक्षिणका देशहरूले संसारलाई नै हल्लाउने क्षमता राख्न सक्छन् । तर ती दुबै देशको बीचमा रहेको यो सानो मुलुकमा किन यस्तो भयावह अवस्था रहेको होला ? हामी सहजै अनुमान गर्न सक्छौं कि नेपालमा धेरै वर्ष राज गरेका र शासन चलाएका राजा तथा राणाहरूले नै नेपाली जनताको टाउको उठाउन कहिल्यै दिएनन् । जनता बाठा भए भने आफ्नो सत्ता टिक्दैन भन्ने मनसायले नै राणा तथा राजसंस्थाले सदा नेपालीलाई गुमराहमा राख्ने प्रयास ग¥यो । कोही टाठाबाठा नेपालीलाई विभिन्न पदहरू दिएर थामथुम पार्ने र अन्य जनतालाई भने केवल राजसंस्थाकै स्तुति गाउन सिकाइयो । पाठ्यक्रममै राजसंस्थाका भन्दा अन्य कुनै विषयवस्तु नराख्नु, राजभक्ति नै आदर्श हो भन्ने सिकाउनु, अन्य देशका कुनैपनि राजनितिक र सामाजिक कुराहरू नराखिनु, इतिहासमा केवल राजसंस्थाकै वकालत गरिरहनु तर समयानुकुलको सच्चा इतिहासलाई गायब गर्नु यी सबै राजसंस्थाका जनताप्रतिका बदमासी हुन् । नेपाली जनता आखिर यस्तो एकोहोरो प्रवृत्तिका हुनु र राजाको विरुद्धमा त कुनै कुरा काटेपनि पाप लाग्छ भनी मन मस्तिष्कमा राजसंस्था नै सजाउनु नेपाली जनताका नियति भइरहे र घटनाक्रमले अहिले पनि त्यस्तो मनस्थिति देखिंदैछ । यस्तो अवस्था त्यतिबेलासम्म कायम रह्यो जतिबेलासम्म राजा बीरेन्द्रको वंशविनाश हुनेगरी घटना घट्यो । त्यसपछिका दिनहरूमा मात्र जनताले आफूले पत्याएको विष्णु अवतारको विनाश भयो । यही घटनापछि मात्र नेपाली जनताको मन मनमा नयाँ राजाप्रति विश्वास जाग्न सकेन र थोरै आशंका रहिरह्यो । माओवादीयुद्धको जग र एजेण्डा अनि जनतामा छाएको आशंकाको फलस्वरुपसुरु भयो बल्ल नेपाली जनताको आशा लाग्ने खालको आन्दोलन । केही दिनमै बिना रक्तपात राजसंस्थाको समेत अन्त्य भयो र बल्ल नेपाली जनताहरू इतिहासमै बने सार्वभौम सम्पन्न गणतन्त्रको युगका नेपाली जनता (भलै यसमा सबैले अपनत्व महसुस् गर्न सकेका छैनन्)। त्यसपछि नेपालमा न त विष्णुका अवतारका प्रत्यक्ष क्रियाकलाप देखापरे न त नेपालीलाई रनभुल्लमा पार्ने काम राजारजौटाले गर्ने अवसर पाए । अब जनताहरूमा निकै राजनीतिक चेतनाको विकास हुँदै गयो र सारा संसारलाई हेर्ने अवसर पनि पाए । तर यतिबेलासम्म आइपुग्दा नेपालीहरू संसारका अगाडि उभिंदा करिब ५० वर्षपछि परिसकेको अवस्था छ ।
अब यतिबेला राजसंस्थाको अन्त्य भएर गणतन्त्र युगमा प्रवेश गरिसक्दा नेपालीहरूमा होश आएको छ र सबै सचेत हुन थालिसकेका छन् । पछिल्ला केही दिनमा गणतन्त्रवादी नेताहरूका क्रियाकलाप हेर्दा, युवाहरू विदेसिएको देख्दा, विकासका कामले तिव्रता पाउन नसक्दा, विकास निर्माणमा ध्यान दिनुका सट्टा आफ्नो सत्ता स्वार्थ र भ्रष्टाचारमा लिप्त हुँदा, समृद्ध नेपाल बनाउन कुनै नयाँ योजना अघि बढाउन नसक्दा वा कार्यान्वयनमा लैजान नसक्दा जनतामा वितृष्णा बढ्दै गइरहेको अवस्था पनि छ । फलस्वरुप गणतन्त्र नरुचाउनेहरूका लागि राम्रो मसला बनेको छ, गणतन्त्रको विरुद्धमा आवाज घन्किन थालेका छन् र पुनः राजा आउ देश बचाउ भन्न थालिएको अवस्था छ । यस्तो परिस्थिति सृजना हुनुमा केवल गणतन्त्रवादी नेताहरूकै दोष देखिएको छ ।
२. नेपालको संविधान २०७२ को इतिहास
दुर्भाग्य, नेपालमा जनताले दुःख गरी ल्याएको गणतन्त्र र जनतामा जागेको आशा जुन थियो, त्यो हालसम्म संस्थागत हुन सकेको छैन भन्न सकिन्छ । राजतन्त्रपछि जनताको आशाको केन्द्रविन्दु बनेका नेपालका अनेक दलका राजनेताहरूले फेरि छोंटे राजाको भूमिका खेल्न थाले र जनतालाई पुनः पेण्डुलम बनाउन थाले । दलहरू सम्मिलित सरकार र संविधान सभाको गठन भएपछि पनि जनताले ल्याएको लोकतन्त्रलाई नेताहरूले संक्रमणकाल भन्दै सत्तामा जाने भ¥याङ्ग बनाउन थाले । यसको प्रत्यक्ष उदाहरण पहिलो संविधान सभाको असफलता नै हो । राजसंस्थाको अन्त्य गर्नु हाम्रो भुल त थिएन वा हामीले हाम्रा अभिभावक नै गुमाइयो कि त भन्ने भ्रम जनतामा पुनः विकसित हुने अवस्था पनि आयो र जनता रनभुल्लमा पर्न थाले । लगत्तै विदेशी चलखेल पनि सुरु हुनथाल्यो, जुनकुरा नेपालका राजनेताले सत्ता टिकाउने दाउमा शरणागत हुने गरेको पनि नेपाली जनताले पत्तो पाए । आखिर विभिन्न विघ्न बाधाहरूका बीचबाटै नेपालको संविधान २०७२ दोस्रो संविधान सभाबाट जारी भयो । तर, नेपालीहरूले आफूले चाहेको उपलब्धि प्राप्त गर्नसकेको अवसर र उपलब्धि संस्थागत गर्नुपर्छ भन्ने खालको खुशी मनाउन पनि राम्ररी पाएनन् । कारण संविधान जारी गर्दा विदेशी शक्तिको मतलब नराखिनु नै थियो । जुनकुरा तराई मधेसका केही दलहरूले बुझ्न सकेनन् वाजनतालाई बुझाउन सकेनन्, बरु जनतालाई नै हतियार बनाइ संविधानको विरुद्धमा उतारियो र पुनः लामो मधेश आन्दोलन भयो ।यस बेलामा अनावश्यक धेरै शहीद हुनपुगे । नेपाल र नेपालीमा यसरी निरन्तर संक्रमणकाल बढाउने प्रयासहरूआन्तरिक तथा बाह्य क्षेत्रबाट भइराख्यो । यही बीचमा कसैले नसोचेको आर्थिक तथा भौतिक नाकाबन्दीको समेत नेपालीहरूले सामना गर्नुप¥यो । जुन दुखद क्षण नेपाली जनताहरूको मन मस्तिष्कमा सदा ताजा रहिरहने छ र यस्ता घटनाहरू फेरि दोहोरिन सक्नेतर्फ पनि सचेत हुने अवसर प्राप्त भएको छ । आखिर नाकाबन्दीलाई समेत सहजै पार लगाउने हिम्मत नेपाली जनताले देखाएपछि विदेशी शक्तिको पनि केही चलेन । यस्ता खालका घटना र परिघटनाहरूका बीच नेपाली जनताले क्रमशः पार पाउँदै गए र घरको समस्या घरबाटै हल गर्ने परिपाटीको विकास हुनुपर्छ, नकि अन्य कुनैपनि बाहिरी शक्तिको दबाबबाट भन्नेकुराको सिद्धान्त स्थापित गर्नसमेत नेपाली जनता सचेत भएर लागेका छन् । तथापि पुराना सोच हावी भएका पुराना नेताहरूले अझै जनताको अभिमत विपरितका क्रियाकलापहरू पनि देखाउँदै गइरहेको आभास मिलेको छ, जसलाई पनि जनताले बिस्तारै पाखा लगाउँदै जाने निश्चित छ ।
३. संविधानको कार्यान्वयन
अनेक खालका प्रताडना सहँदै नेपाली जनताहरूले बनाएको र जारी गरेको नेपालको संविधान २०७२ लाई कार्यान्वयन गर्ने अवसर बल्ल पाउँदै छन् । तर इतिहासमा यही बीचमा नेताहरूले धेरै खालका हर्कतहरू देखाउने काम गरेका थिए । सरकार परिवर्तनका खेलहरू खेल्ने, पार्टी फुटाउने, संविधान संशोधन गर्ने वा नगर्ने नाममा द्वन्द्व निम्त्याउने, संक्रमण कालको नाममा इतिहास कायम गर्ने गरी संविधान विपरित अनावश्यक जम्बो मन्त्रीमण्डल बनाउने, पूर्व पदाधिकारीको नाममा राज्यको ढुकुटी दोहन गरिरहन पेन्सन तथा सेवा सुविधाको प्रस्ताव गर्ने, केही समय मात्र पदावधि बाँकी रहेका सांसदहरूलाई करोडौं रुपैयाँ विकास खर्चको नाममा वितरण गर्ने, न्यायालय माथि कार्यपालिकाले अनावश्यक हस्तक्षेप गरी न्याय क्षेत्र तहसनहस पार्ने, भ्रष्टाचार गर्ने, भ्रष्टाचारीहरूको संरक्षण गर्नेजस्ता आदि कुकृत्यहरू गरिरहे।
यसपछिका दिनहरूमा पनि विभिन्न विघ्न बाधाहरू आउने नै छन्, जसको पनि सशक्त प्रतिकार गर्ने हिम्मत नेपाली जनतामा यथावत रहेको छ । सचेत जनताका अगाडि अब कसैको केही नचल्ने कुरा देखिन थालेको छ । जुन नेपाल र नेपाली जनताको लागि राम्रो कुरा र अवसर पनि हो ।विभिन्न आरोह अवरोहका बिच अहिले एमाले काङ्ग्रेसको करीब दुई तिहाइको सरकार छ र संविधान कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी पनि उसैको हो । आवश्यक नीति नियम बनाउने, कानून बनाउने, संविधानले चाहेको कुरा लागु गर्न दत्तचित्त रहने र संविधानमा नमिलेका कुरा संशोधन गरी लोकप्रिय संविधान जारी गर्ने जिम्मेवारी यो सरकारको काँधमा आएको छ । यसका लागि विभिन्न पक्षहरूबाट अवरोध पनि भइरहेको अवस्था छ, जसको कुशल व्यवस्थापन गर्नु पनि सरकारकै जिम्मेवारी हो । विभिन्न खालका घटना तथा परिघटनाहरूले संविधान कार्यान्वयनमा समस्या पैदा गरिरहेको अवस्था छ । यसैगरी संविधान मन नपराउने तत्वहरूले निरन्तर यसको असफलताकालागि प्रयास गरिरहेका पनि छन् । यी सबै अवरोध छल्दै कुशलतापूर्वक संविधान कार्यान्वयन गर्न नसक्ने हो भने नेपाली जनतामा गणतन्त्रप्रति नै वितृष्णा उत्पन्न हुनसक्ने सम्भावना देखिन्छ ।
४. संविधान दिवसबारे
२०८१ साल असौज ३ गतेसम्म आइपुग्दा पनि संविधान दिवसमा त्यति रौनकता चाहिं देखिएको छैन । कारण के त भने संविधान ९० प्रतिशत सभासदको दस्तखतबाट जारी गरिएको भनिएतापनि सर्वस्वीकार्य चाहिं अझै बन्न सकेको छैन । अझैपनि संविधानमा केही मतभिन्नताहरूरहेका छन् । यस्ता मतभिन्नताहरूको समाधान सबै पक्षहरू बसेर छलफल गरेर आवश्यक देखिएका कुराहरूमा संशोधन वा थपघट गरी समयमै टुंग्याउनु जरुरी थियो तर त्यस्तो अग्रसरता सरकारले देखाउन सकेको छैन । यसपटक कांग्रेस एमालेको सरकारको गठबन्धन बन्दा नै संविधान संशोधन प्रमुख एजेण्डा बनेकाले यसपटक सबैलाई मान्य हुने तवरले संविधान संशोधन हुनसक्छ कि भन्ने आशा पलाएको छ । अर्कातिर संविधानप्रति असन्तुष्ट रहँदै आएका समाजवादी, राप्रपार मधेसवादी पार्टीले संविधान दिवसमा दीप नबाल्ने, दिवस बहिस्कार गर्ने र नमनाउने घोषणा गर्नुले केही दबाब सृजना गरेको छ । सरकारले निकै भव्यताकासाथ संविधान दिवस मनाउने भनेर उर्दी जारी गरी विभिन्न तयारीहरू समेत गरिरहेको अवस्था छ तर हुनुपर्ने उमङ्ग त्यतिसारो देखिएको छैन । यस्तो अवस्थाबाट के बुझ्न सकिन्छ भने जुन भव्यताका साथ दिवस मनाउनुपर्ने हो त्यो भव्यता संविधान सर्वस्वीकार्य भइ कार्यान्वयनमा गएपछि र संविधानमा लेखिएका कुराहरू अक्षरसः पालना भएपछि मात्र जनताले त्यही दिनदेखि नै उल्लासमय रुपले संविधान दिवस मनाउने छन् । आशा छ, त्यस्तो दिन पनि जनताले निकट भविष्यमै देख्न पाउने नै छन् । अस्तु





