मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बागलुङमा डेंगी परीक्षणको किट अभाव

बागलुङमा डेंगी परीक्षणको किट अभाव

धौलागिरि अस्पतालले गत साता १ हजार किट आन्तरिक श्रोतबाट किनेको छ । दैनिक आउने बिरामीको संख्या हेर्दा त्यो पनि छिटै सकिने लक्षण ।


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०८१, शुक्रबार
??????

बागलुङ/डेंगीका बिरामी बढेसँगै परीक्षणको किट अभाव भएको छ । भदौ लागेदेखिनै बिरामीको संख्या ह्वात्तै बढेको हो । धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्र समेतमा डेंगी परीक्षणको किट अभाव भएको हो ।
धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार, दैनिक ५० देखि १ सय जनासम्म ज्वरोका बिरामी आइरहेकोले उनीहरुलाई डेंगी परीक्षण गर्दा किट अभाव भएको हो । इमरेजेन्सीमा आएका ९० प्रतिशत बिरामीको डेंगी परीक्षण गरिएको हो । केही दिनदेखि किट अभावले अस्पतालमा बिरामीको रगत परीक्षणमा समस्या थपिएको छ । अस्पतालले भदौ महिनामा मात्रै १ हजार ५ सयबढी किट खर्चेको छ । ती मध्येबाट ८१ जना डेंगीका बिरामी पत्ता लागेका थिए । त्यसबाहेक जिल्लाका तीनवटा प्राथमिक स्वास्थ्य केन्द्र र केही नगर अस्पतालबाट गरी १ सय ७४ जना डेंगीका बिरामी भेटिएका थिए । उनीहरु उपचाररत छन् ।
अधिकांस बिरामीको डेंगीसँगै लक्षण मिल्ने ज्वरो, टाउको र शरीर दुख्ने लक्षण भएकाहरु धेरै आउने गरेका छन् । जसका कारण शंकास्पद देखेर किट खर्च भैरहेको हो । त्यसो त अस्पतालले गत साता १ हजार किट आन्तरिक श्रोतबाट किनेको छ । दैनिक आउने बिरामीको संख्या हेर्दा त्यो पनि छिटै सकिने लक्षण देखिएको शर्माले जानकारी दिइन् । ‘अहिलेदेखिनै थप किटको व्यवस्थापन गर्नुपरेको छ’ शर्माले भनिन्, ‘त्यसका लािग प्रशासनिक पहल गरिदिन भनेका छौं ।’ उनले प्रमुख जिल्ला अधिकारीमार्फत समस्या सरकारसम्म लगिदिन आग्रह गरिन् ।
अस्पतालले गण्डकी प्रदेश सरकारमा पनि डेंगी परीक्षणको किट उपलब्ध गराउन माग गरेको छ । स्वास्थ्य कार्यालय बागलुङकी मलेरिया निरीक्षक कमला थापाले प्रादेशिक अस्पतालले प्रदेश सरकारबाटै माग्न सक्ने भएकोले ग्रामीण क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्र र नगर अस्पताललाई मात्र किट दिएको बताइन् । ‘किट त स्वास्थ्य कार्यालयमा पनि अभाव छ, स्वास्थ्य संस्थामा अड्कलेर दिएका छौं’ थापाले भनिन्, ‘सदरमुकामभन्दा गलकोट र बडिगाडमा झन् बढी डेंगी संक्रमण छ ।’ किटलाई अत्यावस्यक अवस्थामा मात्र प्रयोग गर्न उनको आग्रह छ ।
पछिल्लो समय विद्यालय उमेरका बालबालिकामा पनि डेंगी बढी देखिएको छ । डेंगी देखिएका बालबालिकामा प्लेटिलेस समेत कम भएको बाल रोग बिशेषज्ञ डा. किरण तिवारीले बताए । ‘शुरुवातमा प्रायः सबैलाई डेंगी परीक्षण गरेपनि किट अभाव भएपछि एकसातादेखि गम्भिर भएका बिरामीको मात्रै परीक्षण गर्न थालेका छौ’ उनले भने, ‘बालबालिकाको हकमा पहिलो प्राथमिकता दिएर अन्यलाई रोगको पहिचान नभएमा मात्रै डेंगी परीक्षण गरेका छौं ।’ उनले डेंगीसहित ज्वरो, रुघाखोकी र भाइरलका बिरामीले अस्पताल भरिएको बताए । धौलागिरि अस्पतालमा दैनिक ३ सय ५० देखि ४ सय बिरामी आउने गरेका छन् ।
प्लेटिलेसको समस्याले आफन्तले बिरामीलाई पोखरा लैजान बाध्य भएको बताए । ‘छोरीको प्लेटिलेस कम भएको छ, यहाँ उपचार नभएपछि पोखरा लैजानुपर्ने भएको छ’ स्थानीय गीता श्रीषले भनिन्, ‘एघार वर्षकी छोरीको १ लख ५० हजार हुनुपर्ने हेमोग्लोबिन घटेर ९० हजार पुगेको छ ।’
बागलुङको बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा डेंगीका बिरामी धेरै भेटिएको स्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन् । उनले खोज र नष्ट गर अभियान चलाएर संक्रमण रोक्ने प्रयास भएपनि दैनिक बिरामी बढेको बताइन् । जिल्ला प्रशासनले त हरेक शुक्रबार सरकारी तथा अन्य कार्यालयको सफाईमा कर्मचारी नै खटाएको बताए ।
‘दुइ महिनादेखि हामीले कार्यालय सफाइ अभियान थालेका छौं, हरेक शनिबार टोलबासीलाई पनि आग्रह गरेका छौं’ प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले भने, ‘डेंगी अझै बढ्न सक्ने लक्षण देखिएकोले एक महिनासम्म अझै खोज र नष्ट गर अभियानलाई तीब्रता दिन उनले सुरक्षा बैठकमा समेत एजेण्डा लगेको बताए ।
बागलुङ नगर स्वास्थ्य शाखाले त वडा वडामा हरेक दिन कार्यक्रम गरेर डेंगीका लार्भा नष्ट गर्ने अभियान चलाएको छ । तरपनि घरघरको सफाइमा ध्यान नपुग्दा डेंगी बढेको पाइएको शाखाका प्रमुख रामप्रसाद खनालले बताए । ‘हामीले ठूलो सफाइ खोजेका छौं, तर घर भित्रको पुजा गर्ने कलस सफाइ नभएर पनि डेंगी फैलेको छ’ खनालले भने, ‘सुक्ष्मढंगले खोजी नगरेसम्म डेंगी मुक्त हुन सकिंदैन ।’
स्वास्थ्य कार्यालयले कम्तिमा कात्तिकसम्म सचेतना अभियान चाहिएको सूचना जारी गरेको छ । किट व्यवस्थापनका लागि जिल्ला दैबिप्रकोप उद्दार समिति तथा मनसुनजन्य बिपत व्यवस्थापन समितिले पनि पहल गर्ने सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->