म्याग्दी/जिल्लाको मालिका गाउँपालिका रूमकी एक गर्भवती महिला जटिल अवस्थामा स्वास्थ्यचौकीमा पुगिन् । स्वास्थ्यचौकी हुदै प्राथमिक उपचार केन्द्र दरबाङमा गइन् । महिलाको गर्भको जाँच गर्दा बच्चाको अवस्था जटिल देखिएपछि बेनी अस्पतालमा पनि उपचार सम्भव नभएपछि पोखरा रिफर गरियो ।
अन्नपूर्ण गाउँपालिका–१, दोबाकी गर्भवती महिला नियमित चेकजाँच गर्दा स्वास्थ्यकर्मीको सुझावलाई अटर गर्दा जुम्ल्याह गम्भीर समस्या देखिएको छ । स्थानीय तह र स्वास्थ्य संस्थाले ग्रामीण क्षेत्रसम्म प्रभावकारी सेवा विस्तार गरेको दावी गरिरहँदा घरमै सुत्केरी भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
नवजात शिशु र आमाको जीवन जोखिमबाट जोगाउन घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने अभियानको लक्ष्य म्याग्दीमा पूरा हुने सम्भावना देखिएको छैन । स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार घरमै २६ जना सुत्केरी भएको पाइएको छ । ६ वटा स्थानीय तह रहेको म्याग्दी जिल्लामा अन्नपूर्ण गाउँपालिकाबाहेक सबै स्थानीय तहमा घरमा सुत्केरी भएको तथ्याङ्कले देखाएको छ ।
स्थानीय तह अनुसार घरमा हुने सुत्केरी
मालिका गाउँपालिकामा १० जना
रघुगंगा गाउँपालिकामा ९ जना
मंंगला गाउँपालिका ५ जना
धवलागिरी गाउँपालिकामा ३ जना
स्वास्थ्य कार्यालयको आव २०८०/८१ को मा सम्पादित स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय बार्षिक समिक्षा गोष्ठीमा घरभित्रै सुत्केरी हुनेमा सबैभन्दा धेरै मालिका गाउँपालिकामा १०, रघुगंगा गाउँपालिकामा ९, मंंगला गाउँपालिका ५ र धवलागिरी गाउँपालिकामा ३ जना रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताए ।
‘यो तथ्याङ्क ‘शून्य होमडेलीभरी’ गराउने अभियानका लागि चुनौतीपूर्ण हो,महिलालाई सचेत बनाउने र समय–समयमा स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रम अझै प्रभावकारी बनाउनुपर्छ’ प्रमुख ठकुराठीले भने । परिवारका सदस्य र स्वयम् महिलाहरूमा पनि सुत्केरी सेवा स्वास्थ्य संस्थाबाट लिन अनिवार्य छ भन्ने सचेतना हुदाँ समेत घरमै सुत्केरी हुने सङ्ख्यामा कमी नआएको प्रमुख ठकुराठीको भनाई छ ।
जिल्लामा भौगोलिक रुपमा विकटबाट स्वास्थ्य चौकीमा जान झन्झट त छँदैछ, नियमित गर्भ जाँच गराउनुपर्ने सचेतनाको अभावका कारण पनि गर्भवती महिलाले घरमै बच्चा जन्माउन बाध्य भएपनि जटिल अवस्थामा अस्पतालमा आउनेमा स्वास्थ्यकर्मी र शिक्षिका समेत भेटिएको बेनी अस्पतालकी प्रमुख अञ्जु थापाले बताइन् ।

‘यहाँ स्वास्थ्यकर्मीले नै आफ्नो गर्भमाथि लापरबाही गरेको देखिएको छ, अज्ञानताभन्दा पनि अटेरी गर्दा शिशु र आमा दुबैको ज्यान जोखिममा छ’ डा. थापाले भनिन् । बर्थिङ सेन्टर नभएका वडामा हुनुपर्ने समस्या बर्थिङ सेन्टर सहितको सुविधा भएका क्षेत्रमा समेत घरभित्रै जोखिमपूर्ण सुत्केरी हुने गरेको पाइन्छ । ‘गर्भावस्थामा पनि स्वास्थ्यचौकी आउँदैनन्, जटिल अवस्थामा घरमै पुगेर सुत्केरी र शिशुको ज्यान जोगाउनुपर्ने बाध्यता छ’ मालिकाकी स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्कीले भनिन् ।
उनले गर्भजाँच गर्न लाज मान्ने महिलाले घरमै असुरक्षित तरिकाबाट बच्चा जन्माउने प्रयासलाई न्यूनीकरण गर्ने अभियानलाई तीब्रता दिएको बताइन् । स्वास्थ्य चौकीमा चार पटक गर्भजाँच गर्ने, गर्भवतीले टिटी खोप लगाउने, नियमित रुपमा आइरन चक्की लिने जस्ता अभियानमा चासो देखाउनेहरू स्वास्थ्यचौकीमै पुगेर सेवा लिने गरेका छन् । परम्परागत विधि प्रयोग गरेर सुत्केरी गराउँदा आमा र शिशु दुवैको ज्यान खतरा हुन्छ ।
मातृ मृत्युदर, नवजात शिशु मृत्युदर कम गरी संस्थागत सुत्केरीको संख्या बढाउने अभियानमा स्थानीय तह, स्वास्थ्य संस्थासहित सरोकारवाला निकायहरू सक्रिय हुनुपर्ने जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाको भनाई छ ।
जिल्लाका स्थानीय तहले ‘घरघरमा झण्डा, हातहातमा अण्डा’, सुत्केरी प्रोत्साहन, गर्भवती महिलाको स्वास्थ्य अवस्थाको जानकारी लिनकोे लागि मोबाइलबाट समेत सन्देश प्रवाह, गर्भजाँच गरे नगरेको सूचना स्वास्थ्य संस्थामा अभिलेख राख्नेजस्ता प्रविधिको प्रयोग गर्दा समेत महिला असुरक्षित ढंगले सुत्करी हुने गरेको स्थानीय तहको भनाई छ ।

अन्नपूर्णमा घरमै प्रसूति हुनेको संख्या शून्य
अन्नपूर्ण गाउँपालिकामा घरमा प्रसूति हुनेको संख्या शून्यमा झरेको छ। प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन सुरु गरिएको अभियान सफल भएको र घरमा प्रसूति हुनेको संख्या शून्य बनाइएको गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताइन् ।
उनका अनुसार गाउँपालिकाले चार पटक गर्भ परीक्षण गर्दा हरेक पटक एकरएक क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरमै पुगेर एउटा कुखुराको भाले र आधा लिटर घ्यू दिने गरिएको छ । सुत्केरी भएपछि पनि तीन पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा, एक किलोग्राम सर्वोत्तम पिठो र बच्चालाई न्यानो कपडा दिने गरिएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा शतप्रतिशत ९१ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन्। आव २०७९/८० मा एक सय ३९ मध्ये एक सय ३५ जनाले संस्थागत प्रसूति सेवा लिँदा एक जनाले मात्र घरमा र चार जनाले मृत बच्चा जन्माएका थिए । आव २०७८/७९ मा पालिकामा एक सय २७ जनाले संस्थागत प्रसूति सेवा लिएका थिए । घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन पालिकाले ‘आमासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरेको छ ।





