अहिले हिज्बुल्लाहले प्रयोग गर्ने पेजर र अन्य सञ्चार उपकरणहरूमा विस्फोटन भएपछि तिनलाई बम बनाइएको ठानिएको छ । इजरेलको अत्याधुनिक निगरानी प्रणालीलाई छल्न प्रयोग भएका ती उपकरण प्रयोगकर्ताहरूसँग भएकै बेला पड्किए। ती घटनामा दर्जनौँ मानिसको ज्यान गएको छ भने हजारौँ जना घाइते भएका छन् ।
लेबनन सरकारले ती आक्रमणमा इजरेल संलग्न भएको आरोप लगाउँदै त्यसलाई ‘अपराध’ को सङ्ज्ञा दिएको छ। हिज्बुल्लाहले ‘उपयुक्त प्रतिशोध’ लिने उद्घोष गरेको छ ।
इजरेलले ती हमलाबारे कुनै टिप्पणी गरेको छैन । कतिपय इजरेली सञ्चारमाध्यमले सरकारले मन्त्रीहरूलाई उक्त घटनाबारे कुनै प्रतिक्रिया नदिन निर्देशन दिएको विवरण प्रकाशित गरेका छन् ।
इजरेलले हिज्बुल्लाहका गतिविधिको सूक्ष्म निगरानी गर्दै आएको छ । त्यसैले यो साता भएका कारबाही दुई पक्षबीचको द्वन्द्वको हिस्सा भएको ठानिन्छ ।
पेजर र वाकीटकी विस्फोटनमा इजरेल संलग्न रहेको पुष्टि भयो भने हिज्बुल्लाहमाथि उसले गरेको यो सबैभन्दा आश्चर्यजनक र सफल कारबाही भएको ठानिने छ ।
त्यसले इजरेल र त्यसमा पनि विशेष गरी उसको राष्ट्रिय गुप्तचर निकाय ’मोसाद’सँग जोडिएका विगतका कतिपय सफल अभियानको सम्झना गराउने छ ।
मोसाद सफल भएका घटना
इजरेलले गरेका कैयौँ सफल कारबाहीको श्रेय मोसादले पाउने गरेको छ। तीमध्ये सबैभन्दा उल्लेख्य केही कारबाहीबारे यहाँ चर्चा गरिएको छ ।
नाजी अधिकारी अडोल्फ आइख्मानको अपहरण
सन् १९६० मा अर्जेन्टिनाबाट नाजीका एक अधिकारीको अपहरण भयो र उनलाई इजरेल लगियो ।
अडोल्फ आइख्मान नाम गरेका ती अधिकारीलाई ’होलोकस्ट’ का योजनाकार मानिन्थ्यो ।
उनी द्वितीय विश्वयुद्धताका नाजीहरूले बनाएका ’कन्सन्ट्रेशन क्याम्प’मा यहुदीहरूमाथि भएको दमनका लागि जिम्मेदार थिए । त्यतिबेला नाजी जर्मनीले ६० लाख यहुदीको हत्या गरेको थियो । उनको अपहरण मोसादको सर्वाधिक चर्चित गुप्तचरी सफलता हो । आइख्मान एउटा देशबाट अर्को देश भाग्दै आएका थिए । उनी अन्ततः अर्जेन्टिनामा बस्न पुगेका थिए ।मोसादका १४ गुप्तचरहरूको समूहले उनलाई फेला पारेर अपहरण गरेको थियो ।इजरेलमा उनीमाथि मुद्दा चलाइयो र दोषी ठहर गर्दै मृत्युदण्ड दिइयो ।
एन्टेबी अपरेशन
विमान अपहरणमा परेका इजरेलीहरूको उद्धार
सन् १९७६ मा युगान्डामा सञ्चालित ’एन्टेबी अपरेशन’ इजरेलको सबैभन्दा सफल सैन्य अभियानमध्ये एउटा हो ।
त्यसका लागि मोसादले गुप्तचरी सूचना दिएको थियो भने इजरेली सेनाले उक्त कारबाही सञ्चालन गरेको थियो ।
तेल अभिभबाट प्यारिस हुँदै एथेन्स जाने क्रममा रहेको यात्रुवाहक विमानबाट बन्धक बनाइएका १०० जनालाई इजरेली कमान्डोहरूले सफलतापूर्वक उद्धार गरेका थिए । उक्त विमानमा १०३ इजरेलीसहित २५० यात्रु थिए ।अपहरणकर्ताहरूमध्ये दुई जना ’पप्युलर फ्रन्ट फर द लिबरेशन अफ प्यालेस्टाइन’ र दुई जना उनीहरूका जर्मन सहयोगी थिए । उनीहरूले उक्त विमानलाई युगान्डातर्फ लगे । यो प्रकरणमा तीन बन्धकको ज्यान गयो । अपहरणकर्ताहरू मारिए, युगान्डाका कैयौँ सैनिकहरूको पनि ज्यान गयो । अहिलेका इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू भाइ योनाथन नेतन्याहूको पनि मृत्यु भयो ।
अपरेशन ब्रदर्श
सन् १९८० छक्क्याएर गरिएको एउटा अभूतपूर्व कारबाहीमा मोसादले ७,००० इथिओपियाली यहुदीहरूलाई तस्करी गरेर सुडान हुँदै इजरेल पु¥याइएको थियो । उक्त काम तत्कालीन प्रधानमन्त्री मेनाखेम बेगिनको निर्देशनमा भएको थियो ।
त्यसका लागि नक्कली ’डाइभिङ रिसोर्ट’ को आवरण प्रयोग गरिएको थियो । सुडान अरब लीग अन्तर्गतको एउटा शत्रुराष्ट्र थियो । त्यही भएर गोप्य रूपमा काम गर्नका लागि सुडानमा रक्तसागरको तटीय क्षेत्रमा मोसादले एउटा रिसोर्ट स्थापना गरेको थियो । इजरेली गुप्तचरहरूले त्यसलाई आफ्नो शिविर बनाएका थिए ।
इजरेली गुप्तचरहरू दिनमा होटलका कर्मचारी बनेर काम गर्थे भने रातिको समयमा यहुदीहरूलाई सुडानबाट बाहिर पठाउने गतिविधिमा संलग्न हुन्थे ।
छिमेकी इथिओपियाबाट गोप्य रूपमा हिँडाएर, हवाइ र समुद्री मार्ग प्रयोग गर्दै मोसादले उनीहरूलाई इजरेल पु¥याउँथ्यो । सो कारबाही पाँच वर्षसम्म चलेको थियो र त्यसबारे पत्ता लाग्दासम्म मोसादका गुप्तचरहरू भागिसकेका थिए ।
म्युनिख ओलिम्पिक्स बन्धक प्रकरणपछि गरिएको कारबाही
सन् १९७२ मा प्यालेस्टिनी लडाकु समूह ’ब्ल्याक सेप्टेम्बर’ले इजरेली ओलिम्पिक टोलीका दुई सदस्यको हत्या गरिदिएको थियो भने अन्य नौ जनालाई बन्धक बनाएको थियो । पश्चिम जर्मनीको प्रहरीले बन्धकहरू मुक्त गराउने प्रयास गरेको थियो तर त्यस क्रममा नौ जनाको मृत्यु भयो ।
त्यसपछि मोसादले ’प्यालेस्टिनी लिबरेशन अर्गनाइजेशन’का कैयौँ सदस्यहरूलाई निसाना बनायो । मोसादका गुप्तचरहरूको निसानामा पर्नेमध्ये महमुद हमशारी पनि थिए ।
मोसादले प्यारिसस्थित उनको निवासमा जडित फोनमा विस्फोटक पदार्थ राखिदिएको थियो ।
विस्फोटनमा परेर सुरुमा उनले एउटा खुट्टा गुमाए । तर चोटपटकका कारण पछि उनको ज्यान गयो ।
याह्या अय्याश र फोन विस्फोटन
सन् १९९६ मा त्यस्तै खालको कारबाहीमा हमासका एक प्रमुख बमनिर्माता याह्या अय्याशको ज्यान गयो । उनको हत्या गर्न मोटोरोला अल्फा मोबाइल फोनमा ५० ग्राम विस्फोटक पदार्थ राखिएको थियो ।
अय्याश हमासको सैन्य सङ्गठनका प्रमुख नेता थिए । बम बनाउने विशेषज्ञता र इजरेलीहरूसँग सम्बन्ध भएका स्थानमा जटिल आक्रमणको योजनाकारका रूपमा उनी चर्चित रहेका थिए । उनी इजरेली सुरक्षा निकायले सर्वाधिक खोजेका व्यक्तिमध्ये थिए ।
सन् २०१९ को अन्त्यतिर इजरेलले उनको हत्यासँग सम्बन्धित निश्चित विवरणहरू सार्वजनिक नगर्ने रोक फुकुवा गरेको थियो । इजरेलको च्यानल १३ टेलिभिजनले अय्याशले आफ्ना पितासँग गरेको अन्तिम फोन कलको रेकर्डिङ सार्वजनिक गरेको थियो । हमशारी र अय्याश दुवैको हत्याबाट इजरेलले प्रविधि प्रयोग गरेर लक्षित व्यक्तिहमाथि घातक कारबाही गर्ने गरेको देखिन्छ ।
महमूद अल–माबहूको घाँटी थिचेर हत्या
सन् २०१० मा हमासका वरिष्ठ सैन्य नेता महमूद अल–माबहूको दुबईस्थित एउटा होटलमा हत्या गरिएको थियो ।
सुरुमा उनको मृत्यु अस्वाभाविक लागेन । तर दुबई प्रहरीले सीसीटीभी फुटेज हेरेर ज्यान लिने समूहको पहिचान गरेको थियो । प्रहरीले अल–माबहूलाई बिजुली लगाएर अनि त्यसपछि घाँटी थिचेर मारिएको खुलासा ग¥यो ।
उक्त कारबाहीको योजना मोसादले बनाएको आशङ्का गरिएको थियो । यूएईले उक्त घटनाप्रति कूटनीतिक रोष व्यक्त गरेको थियो । इजरेली कूटनीतिज्ञहरूले मोसादसँग उक्त आक्रमणको सम्बन्ध भएको कुनै प्रमाण नरहेको बताएका थिए ।
तर इजरेली अधिकारीहरूले आफ्नो संलग्नता अस्वीकार गरेनन् । त्यस्ता घटनामा ‘अस्पष्टता’ कायम राख्ने इजरेली नीति रहँदै आएको छ ।
हत्या गर्ने विफल प्रयासहरू
मोसादले गरेका कैयौँ कारबाहीहरू सफल भए पनि उक्त निकाय कैयौँ पटक विफल हुनुपरेका घटनाहरू छन् ।
हमासका राजनीतिक नेता खालिद मशाल
सन् १९९७ मा एउटा घटनाले इजरेलका लागि एउटा ठूलो कूटनीतिक सङ्कट निम्त्याएको थियो । त्यति बेला हमासको राजनीतिक विभागका प्रमुख खालिद मशाललाई विष दिएर उनको हत्या गर्ने प्रयास भएको थियो ।
सो घटनामा इजरेली गुप्तचरहरू पक्राउ परेपछि उक्त अभियान विफल भएको थियो । त्यस बेला मशालको जीवनरक्षार्थ उक्त विष निष्क्रिय बनाउने औषधि उपलब्ध गराउन इजरेल बाध्य भएको थियो ।
मोसादका तात्कालिक प्रमुख ड्यानी याटोम त्यति बेला मशालको उपचारमा सघाउन जोर्डन गएका थिए । उक्त प्रकरणले इजरेल र जोर्डनबीचको सम्बन्धमा चिसोपन बढाएको थियो ।
हमासका नेता महमूद अल–जहर
सन् २००३ मा इजरेलले गाजामा रहेको हमास नेता महमूद अल–जहरको घरलाई निसाना बनाउँदै हवाइ हमला गरेको थियो ।
उक्त आक्रमणबाट उनी बाँच्न सफल भए पनि उनकी पत्नी र उनका छोरा खालिदको ज्यान गयो । उक्त घटनामा अन्य कैयौँ मानसको मृत्यु भयो ।
बम आक्रमणमा उनको निवास पूरै क्षतिग्रस्त भएको थियो । उक्त घटनाले घना बस्तीमा सैन्य कारबाही गर्दाको गम्भीर परिणाम देखाइदिएको थियो ।
लभन प्रकरण
सन् १९५४ मा इजिप्टका अधिकारीहरूले इजरेलले सञ्चालन गरेको ‘अपरेशन सुसन्नाह’ नामक एउटा गुप्त अभियान विफल पारिदिएका थिए ।
उक्त योजनाअन्तर्गत इजिप्टस्थित अमेरिकी र ब्रिटिश स्थलहरूमा बम राख्ने र सूईज नहरमा तैनाथ ब्रिटिश सैनिकहरूको उपस्थितिलाई निरन्तरता दिन इजिप्टलाई दबाव दिने रणनीति लिइएको थियो ।
इजरेली तत्कालीन रक्षामन्त्री पिन्हास लभोनको नामबाट उक्त प्रकरण चर्चित भयो । त्यसको योजना बुन्न लभोन संलग्न रहेको ठानिएको थियो ।
मोसादले कतिपय विनाशकारी विफलताहरू पनि बेहोर्नुपरेको छ ।
योम किपर युद्ध
सन् १९७३ को अक्टोबर ६ मा इजिप्ट र सिरियाले साइनाई प्रायद्वीप र गोलन हाइट्स नियन्त्रणमा लिने उद्देश्यसहित इजरेलमाथि अप्रत्याशित आक्रमण गरेका थिए ।
यहुदीहरूको पर्व ’योम किपर’को दिन भएको उक्त हमलाले लडाइँका प्रारम्भिक दिनहरूमा इजरेललाई रनभुल्लमा पारिदिएको थियो ।
इजिप्ट र सिरियाले इजरेललाई दुइटा मोर्चाबाट आक्रमण गरेका थिए । अपेक्षा गरेभन्दा निक्कै थोरै क्षति बेहोरेका इजिप्टका फौजहरूले सुईज नहर पार गरेका थिए भने सिरियाली सैनिकहरू इजरेली घेरा तोड्दै गोलन हाइट्समा प्रवेश गरेका थिए ।
सोभियत संघले सिरिया र इजिप्टलाई बन्दोबस्तीका समान सहयोग गरेको थियो । अमेरिकाले इजरेललाई अत्यावश्यक सामग्रीहरू उपलब्ध गराएको थियो ।
इजरेल ती फौजहरूलाई फिर्ता पठाउन असमर्थ रह्यो । लडाइँ अक्टोबर २५ मा अन्त्य भयो । त्यसको चार दिनअघि संयुक्त राष्ट्रसंघले एउटा प्रस्ताव अनुमोदन गरेको थियो ।
अक्टोबर २०२३ को आक्रमण
त्यसको झन्डै ५० वर्षपछि इजरेल त्यस्तै किसिमको आकस्मिक हमलाका कारण फेरि स्तब्ध बन्न पुग्यो । यसपालि हमासले गाजासँगको सीमानजिकै रहेका इजरेली गाउँमा अक्टोबर ७, २०२३ मा आक्रमण गरे ।
उक्त हमला हुन लागेको अनुमान गर्न नसक्नुलाई मोसादको ठूलो विफलता मानिएको छ । कतिपय विश्लेषकहरूले त्यसलाई हमासलाई पराजित गर्ने इजरेली नीतिमा देखिएको कमजोरी मान्ने गरेका छन् ।
अक्टोबर ७ मा भएका आक्रमणमा १,२०० जनाको ज्यान गएको थियो । मृतकमध्ये अधिकांश सर्वसाधारण र केही विदेश नागरिक थिए ।
करिब २५१ जनालाई बन्धक बनाएर गाजामा लगिएको थियो। हमासको कारबाहीको जबाफ दिन इजरेलले गाजा क्षेत्रमा आक्रमण ग¥यो । इजरेली कारबाहीमा परेर अहिलेसम्म गाजामा ४१,००० जनाभन्दा बढीको ज्यान गएको छ । मारिनेमा बहुसंख्यक गैरसैनिक रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





