पोखरा/गण्डकी प्रदेशमा डेंगी महामारीको रुपमा फैलिएको छ । हरेक दिन डेंगीका विरामी बढ्दो क्रममा छ । डेंगी बढिरहँदा डेंगी परीक्षणका लागि किटको समेत अभाव हुँदै गइरहेको छ । डेंगी संक्रमण ह्वात्तै बढेपछि किटको अभाव हुन थालेको हो । स्वास्थ्य कार्यालय कास्कीमा शनिबारसम्म कुल चार हजार पाँच सय ४७ जनामा संक्रमण पुष्टि हुँदा चार जनाको मृत्यु भएको छ । जसमध्ये सबैभन्दा बढि पोखरा महानगरपालिकामा तीन हजार आठ सय सात जना संक्रमित रहेका छन् । अन्नपुर्ण गाउँपालिकामा २४, मादीमा १२, माछापुच्छे्रमा ४८ र रुपामा १४ जना रहेका छन् । यस्तै पालिका नखुलेको तीन सय ३२ र जिल्ला बाहिरका तीन सय १० रहेका छन् ।
तर, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार शुक्रबारसम्म गण्डकीमा डेंगीबाट ६ जनाको मृत्यु हुँदा ८ हजार ६ सय २० जनामा संक्रमण देखिएको छ । पोखरामा मात्रै तीनजनाको मृत्यु भएको देखाए पनि कास्कीको तथ्यांकले चार जनाको मृत्यु भएको पुष्टि गरेको छ । कास्कीमा तीन महिला र एक पुरुषको मृत्यु भएको हो । साउनमा दुईजना, भदौ र असोजमा एकजनाको मृत्यु भएको छ । गण्डकीको तथ्यांकमा भने कास्कीमा तनहुँ र म्याग्दीमा एक–एक पुरुष तथा स्याङजामा एक महिलाको मृत्यु भएको देखाएको छ ।
गण्डकीको शुक्रबारसम्मको तथ्यांक हेर्दा डेंगीका कारण कास्कीमा सबैभन्दा बढी चार हजार दुई सय ४५, त्यसपछि तनहुँमा दुइ हजार तीन सय २९ जनामा डेंगी संक्रमण देखिएको छ । यस्तै पर्वतमा ७८२, गोर्खामा ३९९, स्याङजामा ३१०, बागलुङमा २४३, म्याग्दीमा १०९, नवलपुरमा १०४, लमजुङमा ९४, मुस्ताङमा ३ जनामा संक्रमण पुष्टि भएको ।
कुनै उपचार नै नभएको डेंगी नियन्त्रणमा ध्यान नदिँदा महामारीले ठूलो रुप लिँदै गएको तथ्यांकले देखाउछ । संक्रमणमा वृद्धि भएसँगै अबको एक हप्तामा किट पूर्ण रुपमा अभाव हुने स्वास्थ्य चिकित्सकहरु बताउछन् । तर, आम नागरिकले आफ्नो घर वरपर सरसफाइसँगै खोज र नष्ट अभियान अघि नबढाउँदा समस्याले विकराल रुप लिएको हो ।
स्वास्थ्य कार्यालय कास्कीका जनस्वास्थ्य प्रशासक रामबहादुर नेपालीले किटको पछि लाग्नुभन्दा लामखुट्टे खोज र नष्ट अभियानमा लागेमा महामारीलाई रोक्न सक्ने बताउछन् । महामारीको समयमा जुन रोग हो त्यही फैलने हुँदा यसका लागि किटबाटै परिक्षण गर्नुपर्ने स्थिति नरहेको उनी सुनाउँछन् । ‘अबको एक हप्तापछि किटको अभाव हुनेछ । डेंगीले महामारीको रुप लिइसक्यो । किटबाट परीक्षण गरेर हुने केही छैन । यसका लागि त खोज र नष्ट अभियान नै अघि बढाउनु पर्छ,’ उनले भने, ‘महामारी भएपछि किन जाँच गर्न प¥यो । लक्षणले नै देखाउँछ । यसको औषधि पनि छैन । अब नागरिक, जनप्रतिनिधि, पत्रकार सबैले किट अभाव भयो भनेर व्यापक भन्छन् तर नियन्त्रणका लागि कोही लाग्दैनन् ।’
यसका लागि स्थानीय तह सबैभन्दा प्रभावकारी हुन्छ । हरेक नागरिकको घरपरिवारसँग स्थानीय तह पुग्ने हुँदा डेंगी नियन्त्रणका लागि लामखुट्टे खोज र नष्ट अभियानलाई अघि बढाउनुपर्ने उनी सुनाउँछन् । उनले डेंगी नियन्त्रणका लागि माइकिङ, ¥याली वा प्लेकार्ड बोकेर नहुने पनि बताए । घर–टोलमा सफा पानी जमेको भए त्यसलाई तत्कालै फालेमा डेंगी नियन्त्रणमा आउँछ । विभिन्न पालिकाले डेंगी नियन्त्रणका लागि अभियानै थालेको बताए पनि त्यसको प्रभाव भने देखिएको छैन् ।
कार्यालयमा रकम अभाव भएको र आवश्यक किट नआएकाले केही जोहो गरी किट किने पनि त्यसले एक दिनभन्दा नधान्ने नेपालीले बताए । किट अभाव आजको मात्र समस्या होइन । यो अघिल्ला वर्षहरुको समेत समस्या हो । हरेक वर्ष किट अभाव हुँदै आइरहेको छ ।
‘गत वर्षपनि किट अभाव थियो । सरकारले किट पर्याप्त ल्याउँदैन,’ उनले थपे, ‘हामीसँग बजेट कम छ हामीले दुइ– तीन सयमात्रै किन्न सक्छौँ । त्यो एकै दिनमा सकिन्छ । कास्कीमा कम्तिमा पनि २०–२५ हजार किटको आवश्यकता पर्दछ । अनिमात्र अभाव हुँदैन,’ उनले थपे । उनका अनुसार महामारी फैलिइसकेपछि डेंगीकै लागि किटमार्फत् नै परिक्षण गर्नुपर्छ भन्ने हुँदैन । महामारीको समयमा अन्य रोग नदेखिने हुँदा डब्लु बी सी (सेतो रक्त कोष) को परिक्षणबाटै पनि डेंगीबारे थाहा हुन्छ । यसको लक्षणले पनि देखाउँछ ।
के हो डेंगी ?
डेंगी लामखुट्टेबाट सर्ने भाइरल संक्रमण (रोग) हो । डेंगीका कारण उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, छालामा दाग लाग्ने आदि हुन्छ । डेंगी ज्वरोलाई ब्रेकबोन फिभर पनि भनिन्छ । डेंगी एडिस लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । यो संक्रमण फ्लेविविरिडे परिवार– डीईएनवी १, डीइएनवी २ डीईएनवी ३ र डीईएनवी–४ को भाइरसको सेरोटाइपको कारणले हुन्छ । तर यी भाइरस १० दिनभन्दा बढी बाँच्दैनन् । जब डेंगी संक्रमण गम्भीर हुन्छ, डेंगी रक्तस्रावी ज्वँरो वा हेमोरेजिक ज्वरो वा डीएचएफ हुने जोखिम बढ्छ । यसले अत्यधिक रक्तस्राव भइ पीडितको मृत्युसमेत हुन सक्छ । डीएचएफलाई डेंगीशक सिन्ड्रोम पनि भनिन्छ । अति गम्भीर अवस्थामा तत्काल अस्पताल भर्ना हुन आवश्कय हुन्छ । अन्यथा पीडितको ज्यान पनि जान सक्छ । डेंगीको कुनै खास वा विशेष उपचार उपलब्ध छैन । यसको लक्षण पहिचान गरेर मात्रै यसलाई नियन्त्रण गर्न सकिन्छ ।
डेंगीका मुख्य लक्षण
डेंगीको मुख्य लक्षण भनेको उच्च ज्वरो आउने, जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु, आँखाको गेडी दुख्नु, बेस्सरी टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु नै हो । यी मध्ये कुनै एक वा दुई लक्षण देखेमा डेंगी भएको मान्न सकिन्छ । अर्को कुरा भनेको अहिले महामारीमा यी मध्ये कुनै पनि लक्षण देखिएमा डेंगी भएको बुझ्नु पर्दछ । डेंगीको लक्षण देखिएमा स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिई सोही अनुसार लाग्नु पर्दछ । घरमै बसेर उपचार गर्ने सल्लाह दिएमा ज्वरो घटाउनका लागि र जीउ दुखेको कम गर्नको लागी प्यारासिटामोल बाहेक ब्रुफिन र एस्प्रिन, साइनेक्स जस्ता अन्य औषधीको सेवन गर्नु हुँदैन सिटामोल बाहेक अन्य औषधिले झन खतरा बढाउछ । चिकित्सको सल्लाह नलिई कुनै औषधि सेवन गर्न हुँदैन ।
यसरी बच्न सकिन्छ डेंगीबाट
एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुनु उचित हुन्छ । आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँहरूमा पानी जम्न नदिनु नै यसको सर्वोत्तम उपाय र उपचार हो । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउने गदौ डेंगीबाट बच्न सकिन्छ । यस्तै घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने, पूरै शरिर ढाक्ने लुगा लगाउने, पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्दा सहजै बच्न सकिन्छ ।





