बागलुङ/बालबालिकाको आँखामा हुने साना समस्याले पछि ठूलो असर गर्ने भएकोले समयमै परीक्षण गराउनुपर्ने सरोकारवालाले बताएका छन् । साथै, सामान्य उपचारबाट हुने काम नगर्दा पछि जटिल समस्या आएर आँखै नदेख्ने पनि हुने भएकोले समयमा उपचारमा लाग्न पनि उनीहरुले सुझाए ।
धौलागिरि बहिरा आवासीय माविमा अध्ययन गर्ने बहिरा विद्यार्थीका लागि आयोजित निशुल्क आँखा शिविरमा उनीहरुले समयमा उपचार गर्न सुझाएका हुन् । आइतबार उक्त विद्यालयमा शिविरमार्फत आँखाको उपचार र औषधी बितरण कार्यक्रम सम्पन्न भएको थियो ।
धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्र डिआइआरडिसीको आयोजनामा भएको शिविरमा धौलागिरि आँखा अस्पताल र आइकेयर फाउण्डेसनले प्राविधिक सहयोग तथा बागलुङ नगरापलिका, नेदरल्याण्डको वाइलडी यान्जेन र स्टेचिङ नेपालले सहयोग गरेको थियो ।
शिविरमा विद्यार्थी, कर्मचारी र शिक्षक समेत गरी ३ सय २० जनाको आँखा परीक्षण गरिएको थियो । शिविरमा परीक्षण भएकामध्ये १६ जना बालबालिकालाई आँखाको समस्या देखिएपछि थप उपचारका लागि अस्पतालमा रिफर गरिएको नेत्र बिशेषज्ञ सबिना बरालले जानकारी दिइन् । उनले अधिकांस एकाघरका बालबालिकामा एकै प्रकारको समस्या देखिएको पनि बताइन् ।
बिशेषगरी बालबालिकामा नानी हल्लिने, डेढोपन, अल्छी आँखा लगायतको समस्या देखिएको बताइन् । ‘बालबालिकाहरुले एउटा आँखाले मात्रै काम गरेको छ भन्ने थाहै पाएका छैनन्’ उनले भनिन्, ‘परीक्षणपछि मात्र थाहा भएका धेरै केश छन् ।’ उनले आँखाको परीक्षणपछि राम्रो उपचार पाएर ठूलो समस्याबाट बच्न सकिने बताइन् ।
अधिकांस समस्याको समयमा उपचार गर्दा निको हुने गरेको छ । त्यस बाहेक केही बालबालिकामा मोतीयाबिन्दुको समेत शंका गरिएकोले परीक्षणका लागि अस्पतालमा डाकिएको हो । डिआइआरडिसीका परियोजना प्रमुख शालिकराम शर्माले बहिरा बालबालिकाको आँखा सुरक्षा गर्न नसके जीवन बर्बाद हुने देखेर शिविर मार्फत उपचारको व्यवस्थापन गराइएको बताए । ‘मुल बोल्दैनन्, कान सुन्दैनन्, आँखामा पनि समस्या आयो भने के होलात होला ?’ शर्माले भने, ‘समयमा उपचार गराइयो भने उनीहरुको आँखा बचाउन सकिन्छ ।’
त्यसअघि बहिरा बिद्यालयमा डिआइआरडिसीले कानको शिविर पनि संचालन गरेको थियो । शिविरबाट दुइसय बढीलाई कानमा राख्ने मेसिन दिइएकोमा ७ जनाले पूर्ण रुपमा सुन्न थालेका छन् । बाँकीले भने सामान्य सुन्ने गरेका हुन् ।
आगामी दिनमा बागलुङका कम्तिमा १५ विद्यालयमा निशुल्क शिविर राखेर उपचारको सेवा दिने लक्ष्यले शर्माले सुनाएका थिए । आइतबार भएको शिविरमा शंकास्पद देखिएकालाई पनि अस्पतालमा लगेर उपचार गराइनेछ । सामान्य परीक्षण गरिएकाहरुलाई पनि आवस्यकता अनुसार चस्मा र औषधी बितरण गरिएको थियो ।
धौलागिरि बहिरा आवासीय माबिका प्रधानाध्यापक रेशमबहादुर श्रीषको अध्यक्षता, डिआइआरडिसीका बोर्ड सदस्य मणीभद्र शर्माको संचालन र परियोजना प्रमुख शालिकराम शर्माको स्वागतमा सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्ष जयबहादुर खत्री, अस्पतालका अध्यक्ष बिन्दु सागर राजभण्डारी र प्रअ श्रीषले बालबालिकाको आँखा जोगाउने काम महत्वपूर्ण भएको बताएका थिए । शिविरमा बराल सहितका प्राविधिकले सहयोग गरेका थिए ।





