मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पर्यटन र शान्ति

पर्यटन र शान्ति


  • राजु खड्का
  • असोज १० २०८१, बिहिबार

संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठनले सन् १९८० देखि सेप्टेम्बर २७ लाई अन्तराष्ट्रिय उत्सवकोरुपमा बिश्व पर्यटन दिवस मनाउदै आएको छ । सन १९७० मा युएनडब्ल्यूको विधान कार्यान्वयनमा ल्याइयो । यो विधान पर्यटन विकासको कोसेढुङ्गा सावित भएकोे महशुस गरिएको छ । ऐतिहासिक, प्राकृतिक, धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षण, प्रबद्र्धन र विकासमा यस्ता खालका दिवसले हामीलाई प्रेरणा दिने गर्दछ ।

यो विधानको मुख्य उद्धेश्य अन्तर्राट्रिय समुदाय भित्र पर्यटनको विकासमा जागरण ल्याउने र विश्वब्यापी रुपमा सामाजिक, सास्कृतिक,राजनीतिक तथा आर्थिक मूल्यहरुलाई सवैका सामु पुर्याउने नीति रहेको छ । विश्व पर्यटन दिवसको रङ्ग निलो रहेको छ ।

साधारणतया पर्यटन भन्नाले एक ठाउंबाट अर्को ठाउंको भ्रमणमा सहायता गर्ने कार्यलाई बुझिन्छ । पर्यटक भन्नाले आफ्नो नियमित बासस्थानबाट बिदा मनाउने, व्यापार गर्ने वा यस्तै कुनै उद्धेश्यले २४ घण्टा भन्दा बढी समय वा लगातार १ बर्ष भन्दा कम समय बाहिर बिताउन निस्कने व्यक्तिलाई भनिन्छ । यसरी यस्ता पर्यटकहरुलाई सशुल्क घुमाउने,आवाशको व्यवस्था गर्ने, यातयातको प्रबन्ध मिलाउने, दृश्यावलोकन गराउने आदी कार्य गर्ने क्षेत्रलाई पर्यटन भनिन्छ ।

यस बर्षको बिश्व पर्यटन दिवसको सन्देश पर्यटन र शान्ति रहेको छ । द्धन्द्धको बर्तमान विश्वब्यापी वातावरणमा यो बिषय समय सापेक्ष मानिएको छ । यो नाराले शान्तिपूर्ण सहअस्तित्वलाई पक्षपोषण गर्दछ । पर्यटन शान्तिको उत्पादन त होइन तर शान्तिको लाभकारी हो । शान्ति नभएको ठाउंमा पर्यटन क्षेत्र जोखिम ठान्छ ।

जहां शान्ति हुन्छ त्यहां विकासको कुरा हुन्छ, प्रगतिको कुरा हुन्छ । आजको विश्व जगतले चाहेकै शान्ति छ । पर्यटनले दिने आर्थिक विकास, उत्पादन बृद्धि र रोजगारी सृजनामा शान्ति तलमाथि पर्दा साथ संकट आइहाल्छ । शान्तिवीना देशमा स्थिरता पनि सम्भव छैन । स्थिरता बिना विकास र प्रगति कुनै पनि हालतमा सम्भव छैन ।

पर्यटनले ब्यक्ति–ब्यक्ति वा समुदाय–समुदाय मात्र हैन की सरकार–सरकार, सरकार र नीजी क्षेत्र आदीमा पनि सम्बन्ध राम्रो र बलियो बनाउछ । सरकार र कुटनितिको पुरकको रुपमा पनि पर्यटनले सहयोग गर्छ । जहां सम्बन्ध राम्रो र सुमधुर हुन्छ तहा शान्ति हुुन्छ ।

श्रीलंकाको मामलाले चित्रण गरेझै पर्यटनले समाजलाई गृहयुद्धबाट पुनः प्राप्ति गर्न मद्धत गर्न सक्छ र धेरै द्धन्द्धहरुमा ठूलो मात्रामा हिंसा निम्त्याउने संरचनात्मक र सांस्कृतिक तनावहरुलाई रोक्न वा कम गर्न मद्धत गर्न सक्छ । पर्यटन आय आर्जन गर्ने उद्योग मात्र हैन, सकारात्मक शान्ति प्रबद्र्धन गर्ने एउटा महत्वपूर्ण मन्च पनि हो ।

जब हामी रमाइलोको लागि यात्रा गछौं, यात्राले हाम्रो दिमाग फराकिलो मात्र बनाउदैन ताजापन पनि बनाउछ । पर्यटन भनेकै रमाइलो र मनोरन्जनको लागि गरिने यात्रा हो । सामान्यतया मानिसहरु आफ्नो बासस्थानबाट अर्को ठाउंमा जादा वा भ्रमण गर्दा सामान्य धारणा भन्दा माथि उठ्न मद्धत पनि गर्दछ । प्राचीन प्रकृति, उत्कृष्ठ भवन, नयां भाषा, नयां संस्कृति, बिभिन्न स्वाद, कला र प्रकृति, बिकासका नयां मोडेल, शाषन व्यवस्था आदी हेर्न र अनुभवका लागि धेरै मानिसहरु यात्रा गर्न निस्कने प्रचलन बढ्दै गैरहेको छ ।

पर्यटनलाई हामी जीबन्त, गतिशिल, सामाजिक शक्तिको रुपमा लिन सक्छौं । विश्वको सवै भन्दा ठूलो उद्योगको रुपमा पर्यटन क्षेत्रलाई लिने गरिएको छ । यसको विकास दृत रुपमा भैरहेको देख्न सकिन्छ । आर्थिक विकास, रोजगारी सृजना र उत्पादन बृद्धि गर्न पर्यटन क्षेत्रले महत्वपूर्ण योगदान गर्दै आएको छ । प्राकृतिक श्रोत तथा सांस्कृतिक विविधताको संरक्षण र प्रदर्शन गर्दै आएका विश्वका धेरै देशहरुले पर्यटनबाट उल्लेख्य लाभ लिइरहेका छन ।

हाम्रो जस्तो विकासशील देशका लागि आय बृद्धिको मुख्य आधार पर्यटन बन्न सक्छ । यस्ता देशहरुको बस्तु तथा सेवा उत्पादनको तुलनामा त्यहाको अर्थतन्त्रको ठूलो हिस्सा पर्यटन बन्न सक्छ । पर्यटन मार्फत छिमेकी देशहरुवीचको आर्थिक अन्तरनिर्भरता, सहयोग र शान्तिपूर्ण सम्बन्ध विकासमा प्रोत्साहन गर्दै सुमधुर र मैत्रिपूर्ण वातावरण निर्माणमा पनि सहयोग पुग्ने देखिन्छ । पर्यटन एक सामाजिक, सास्कृतिक र मैत्रिपूर्ण सम्बन्ध विकासको शसक्त माध्यम हो । यसबाट विभिन्न ठाउं वा देश/ देशका मानिसहरुवीच आवत जावत गराउने र आर्थिक कारोवारसंगै सम्बन्ध विकासमा टेवा पुर्याउने गर्दछ ।

(खड्का बागलुङ नगरपालिकाका उपप्रमुख हुन्)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->