पर्वत/जिल्लाको जलजला गाउँपालिकाको दोस्रो ठुलो आम्दानीको स्रोत आलु बनेको छ । कृषि उत्पादनका लागि उर्वर भूमि रहेको जलजलामा गत आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा ठुलो आम्दानीको स्रोत कृषि उत्पादनको बिक्रीबाट प्राप्त रकम रहेको छ ।
गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यका अनुसार गाउँपालिकाले सबैभन्दा बढी प्रशासनिक दण्ड, जरिवाना र जफतबाट ३७ लाख ८१ हजार दुई सय ७४ रहेको छ भने दोस्रो ठुलो आम्दानी कृषि उत्पादनको बिक्रीबाट २९ लाख ५५ हजार एक सय ४९ रुपैयाँ आम्दानी भएको छ ।
गाउँपालिकाले आर्थिक वर्षमा कुल एक करोड ३३ लाख ९८ हजार नौ सय ५७ रुपैयाँ आम्दानी गर्दा आलुले २२ प्रतिशत योगदान ओगटेको छ । गाउँपालिकाको पहिलो आम्दानीको स्रोत बनेको प्रशासनिक दण्ड, जरिवाना र जफतले आम्दानीको २८ प्रतिशत हिस्सा ओगटेको छ । तेस्रो स्थानमा बहाल करबाट २० लाख ६२ हजार रुपैयाँ आम्दानी भएको छ ।
गत आर्थिक वर्षमा गाउँपालिकाले सञ्चालन गरेको आलु विकास कार्यक्रममार्फत बिउ आलु उत्पादन गरेर बिक्री गर्दा २९ लाख ७१ हजार ६ सय ४९ रुपैयाँ आम्दानी भएको हो । ‘कोल्ड स्टोर’ मा भण्डार गरेको आलुको बीउ गाउँपालिकाभित्र ५० प्रतिशत अनुदानमा प्रतिकिलो ३० रुपैयाँका दरले वितरण गर्दा २७ हजार एक सय किलोग्रामबाट आठ लाख १३ हजार रुपैयाँ आम्दानी भएको छ ।
गाउँपालिका भन्दा बाहिर म्याग्दी, कास्की र पर्वतका कृषि ज्ञान केन्द्रबाट अनुदान प्राप्त गर्ने कृषकहरूका लागि प्रतिकिलो ६० रुपैयाँका दरले ३५ हजार नौ सय ७७ किलोबाट २१ लाख ५८ हजार छ सय ५९ लाख आम्दानी भएको छ । आलुको पकेट क्षेत्र बनाएर कृषकहरूलाई अनुदान सहितको सुविधा दिएको गाउँपालिकाले कृषकहरूलाई बीउ आलु उत्पादनका लागि उच्च प्राथमिकता दिँदै आइरहेको छ ।
आर्थिक वर्ष २०७९/८० बाट सुरु गरिएको आलु बीउ उत्पादन कार्यक्रममा स्याङ्जाबाट ११ हजार एक सय ५० किलोग्राम बीउ आलु खरिद गरेर विभिन्न वडाका कृषकहरूलाई समूहगत रूपमा बिउ आलु उत्पादनका लागि वितरण गरिएको थियो ।
गत वर्ष पालिकाले उपलब्ध गराएको आलु लगाएका लेखफाँट, सालिजा, नाग्लीवाङ र धाइरिङका कृषकहरूले ७५ हजार पाँच सय किलोग्राम बिउ आलु उत्पादन गरेका थिए । किसानले उत्पादन गरेकोमध्ये ६३ हजार ७७ किलोग्राम बीउ आलु पालिकाले खरिद गरी पश्चिमाञ्चल ‘कोल्ड स्टोर’ पोखरामा राखिएको थियो ।
आलु लगाउने आगामी सिजनका लागि २०८०/८१ मा किसानले उत्पादन गरेको आलुको खुमल सेतो, जनकदेव, कुफ्री ज्योति र कार्डिनल जातको मूल बिउ दुई हजार दुई सय ७० किलोग्राम र प्रमाणित दोस्रो पुस्ताको बीउ ३३ हजार दुई सय किलोग्राम गत असार महिनामा खरिद गरी कोल्ड स्टोरमा राखिएको छ । कार्तिक र मङ्सिर महिनामा बीउ उत्पादक कृषक समूहहरूमा वितरण गरिने र केही औद्योगिक जातका आलुको परीक्षण गरिने समेत गाउँपालिकाको कृषि तथा सहकारी विकास शाखाले जनाएको छ ।
सालिजाको प्रगतिशील बीउ उत्पादक कृषक समूहले उत्पादन गरेको दुई हजार दुई सय ७० किलोग्राम मूल बीउ प्रतिकिलो ३५ रुपैयाँका दरले ७९ हजार चार सय ५० रुपैयाँ, नमुना कृषि तथा पशुपक्षी कृषक समूह र प्रगतिशील बीउ उत्पादक कृषक समूहले सामूहिक रूपमा उत्पादन गरेको कुल ३३ हजार दुई सय किलोग्रामको प्रमाणित प्रथम पुस्ताको बीउ प्रतिकेजी ३० रुपैयाँका दरले नौ लाख ९६ हजार रुपैयाँ कृषकलाई प्रदान गरिएको कृषि अधिकृत राजु गौतमले बताए ।
गाउँपालिकाले आलुकै भण्डारणको लागि गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा जलजला गाउँपालिका–८ खनियाघाटमा एक करोडको लागतमा ‘कोल्ड स्टोर’ समेत निर्माण गर्दै छ । जसका लागि गत आर्थिक वर्षमा नै जग्गा प्राप्त भइसकेको छ। ‘कोल्ड स्टोर’ नहुँदा आलुको बीउ भण्डारणमा समस्या भइरहेको छ । यो ‘कोल्ड स्टोर’ बनेपछि रैथाने तथा परम्परागत जातका आलुका बीउको संरक्षण र सम्वद्र्धनमा टेवा पुग्नुका साथै उन्नत जातको बीउ विस्तारका लागि पनि सहज हुने छ । जलजलालाई आलुको बीउमा आत्मनिर्भर बनाउँदै कृषकको आम्दानी र पालिकाको आन्तरिक आम्दानी बढाउन आलु विकास कार्यक्रम प्रभावकारी हुँदै गइरहेको गाउँपालिकाका अध्यक्ष आचार्यले बताए ।





