मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

सहकारी संकट : राजनीति र आर्थिक अपचलनको खेल

सहकारी संकट : राजनीति र आर्थिक अपचलनको खेल


  • माधव चापागाईं
  • असोज १३ २०८१, आइतबार

नेपालको राजनीति सधैं सत्ता साम्राज्य हात पार्ने दाउमा चल्यो । दुखी, गरिब, जनताले कहिल्यै न्याय पाएनन् । संविधान बन्यो तर सर्वसाधारणको पीडामा बोल्ने विधान बनेन् । उखु बेच्ने किसानले वर्षौंसम्म भुक्तानी पाउँदैनन् । पशुपालन गर्नेले दुधको मूल्य पाउँदैनन् । तरकारी र खाद्यान्नको मूल्य नै छैन । कहिँ बजार छ बाटो छैन । कहि बाटो छ बजार छैन । विदेशी तरकारी र फलफूलले जिउधन जोगाएका व्यापारीले स्थानीय उत्पादनलाई मूल्य सूचीमै अटाउँदैनन् । यी सबै समस्याका बाबजुद दुखसुख सहकारीमा जम्मा गरेको रुपैयाँमा सञ्चालककै गिद्दे दृष्टि पर्दा अहिले नेपालीहरु पीडामा छन् ।

राजनीतिको सिद्धान्त बोक्नेहरु हलुँगो विचारमा रुमलिएका छन् । नीति, नियम र कानुन संविधानमै नभएर हो या हस्तक्षेप हाबी भएर हो । वर्षौंको रोइलो संसदमा चलिरह्यो । पीडितका आँखा ओबाएनन् । समाजमा राजनीतिले नराम्रोसंग जरा गाडेको छ । बालकदेखि वृद्धासम्म राजनैतिक कु–संस्कारबाट अछुतो रहेनन् । पछिल्लो समय जनताले सामाजिक सञ्जालमार्फत विमती प्रकट गरिरहेका छन् । राजाको शासन सत्तामा विछिप्त बनेकाहरुले तत्कालीन शाही शासनलाई बहिष्कार गरे पनि अहिले जनताले उनैको खाँचो महशुस गर्दैछन् । केहिले आर्थिक मन्दी, महंगी, परनिर्भरता, रेमिट्यान्स सापेक्षित अर्थतन्त्र जस्ता कुराले देश श्रीलंका बन्ने आशंका गर्छन् । विश्व राजनैतिक इतिहासमा बंगलादेशले देखाएको परिष्करणको पिडादायी सूचनाले सर्वसाधारणको मनोबल बढ्दो छ । फलस्वरूप बालेनको विरासत चुलिदै छ । जसबाट पुराना दल र दलका प्रतिनिधिहरु आक्रोशीत भएको पाइन्छ । मन्त्री, प्रधानमन्त्री तहबाटै होच्याउने र आलोचना गर्ने प्रवृत्ति मौलाउँदो भयो । के उदारताका खातिर बालेनले जनताको अभिमत पाउलान् या सर्वसत्तावादी सोचमा लिप्त नेताहरुले राजाको दर्जालाई कार्यकारी प्रधानमन्त्रीको आसन उपर ठम्याएर आफ्नै दुनो सुझ्याउलान् ? हेर्न बाँकी नै छ ।

उता व्यवसायी दुर्गा प्रसाइले जनमत फराकिलो पार्न लघुवित्त, सहकारी, बैंक पिडित हुँदै ट्याक्सी डाइभरसम्मका मानिसलाई एकजुट पार्न खोज्दा पक्राउ नै गरियो । उनको भनाइमा जसरी हुन्छ विरोधीलाई सिध्याउने सरकारको नीतिले पक्राउ पुर्जी थमाइएको हो । राजालाई सर्वोच्च मानेर नेता बन्छ भन्ने डर लागेकै हो । यता रविको छवि धमिल्याउन गगनले गनगन चलाइरहेकै छन् । मोदीसंग आरजुको भेट हुँदा तर्सिएका एमालेहरुले किन गगनको पछि लागेर रविको उछितो काँड्नु । आफैंले स्थापना गरेको प्रचण्ड सरकार ढलाएर प्रधानमन्त्रीको कुर्सीमै आफ्नो सर्वाभ्युदय देखेका ओलीबाट के कांग्रेसले केही नसिकेको होला र ? जीवी राईलाई ईश्वर मानेर सहकारी ठगीमा परेका रविको कुरा अचम्मको छ । सरकारमा हुँदा जुन ‘बा’ले संरक्षण गरे अहिले उनैले छोप्ने डर भयो । गृहमन्त्रीकै कुर्सीमा बस्दा पनि आफ्ना ईश्वरलाई खुशी नै पारेका उनले मलेसियामा स्वतन्त्रता दिए तर ‘लोहाको वैरी लोहै’ भन्न जानेनछन् क्यार धनबहादुरको धनको सुइँको पाएका भए गगनकै अगाडि संसद बैंठक अवरुद्ध पार्थे होलान् । कैलाश सिरोहियाको नागरिकताका बारेमा कैलाशबासी शिवले त पत्तो पाएनन् । रविको के चल्थ्यो ।

इमेज सहकारीका नाममा एमाले मेयरको इमेज नै बिगारेका देवकुमार अभागी ठग हुन् । रवि जस्तो भाग्यमानी भएको भए सञ्चार माध्यममा छ्यापछ्याप्ती समाचार आउँथे । युटुवरहरुको लाइन ससुरालीसम्मै पुग्थ्यो । न सरकार बोलेको थियो उनको बारेमा न प्रतिपक्ष । एमाले सधैंको मध्यमार्गी पार्टी रहेछ । नेतृत्वकर्ता ‘बा’ चलाख भएपछि रविको जस्तो चर्चा कहिल्यै भएन । अन्ततः अस्ति मात्रै दिल्लीबाट पक्राउ परेछन् । मिडियामा आउने साइत नजुरेका नेपाली अब नेपाली नै रहन्छन् या फेरि भारतिय बन्छन् पत्तो छैन । देशमा सुशासनको विगुल फुक्ने सत्तावादीहरु रविका पछि हात धोएर लागि परेका छन् । समर्थकहरुले क्लिन चिटको बाजा जति बजाए पनि सुन्नेवाला छैनन् । संसदिय छानबिन समितिले तयार पारेको प्रतिवेदनले गगनको गनगनमा हौसला पाएको छ ।

कांगे्रेस उपसभापति धनराज गुरुङको डिभोर्सको छिनोफानो सहकारीका चेकले गर्ने भए नेपालमा वैवाहिक सम्बन्धले उत्कर्ष विन्दु नै पार गरेको हुन्थ्यो । यति हुँदाहँुदै पनि रविकै स्वतन्त्रतामा अंकुश लगाउन तयार कांग्रेसीहरुले शरणार्थी, सुन र गिरिबन्धु काण्डलाई तन्द्रामै बिर्सिएर जागेका छन् । १०१२४ पृष्ठको प्रतिवेदन के र कसका लागि ? कति लाग्यो खर्च ? अपचलन र दुरुपयोग भएको रकम र अपचलन गर्ने व्यक्तिहरुबाट पीडितले न्याय कहिले पाउने ? रोडमा रुवाबासी गरेका जनताको आँसु कसले पुछ्ने ? जिबि राई र उनका आफन्तको नाममा रकम अपचलन भएको छ भन्ने तर रवि दोषी हुने ? यी सबैको जड केपी मात्रै होइन नै उनको प्रादुर्भाव र अनिश्चयको यात्राले निम्त्याएको हो भन्न मिल्दैमिल्दैन । किनकी देशको भन्दा पनि राजनैतिक संकट उत्पन्न भए ओली, दाहाल र देउवा एउटै छानो मुनि हुन्छन् निश्चित छ । यता विचरा ओलीले कहिल्यै शान्ति पाएनन् । कहिले वैगुनी केटाले फुत्त लात्तिले हान्ने, कहिले बालेनले मनपरि बोल्ने अरे । बिचरा यो बुढेसकालमा किन धपाइरहेछन् उनलाई ? चुनावमा मजाले भोट दिने जनता पुर्वमा निश्चिन्त छन् । काठमाण्डौंका जनताले किन विरहको आँसु बगाउने ? आखिर तथ्य त रावणको हातमा पनि थियो । बहिनी सुपर्णाखालाई किन तिरस्कार गरेको ? सीता राम्रै भएर प्रेम गर्या हो भने राम्रोको विघ्न पछि बहिनीले न्याय पाउनेमा विश्वस्त हुनु नै उसको प्रलयको बाटो थियो । प्रधानमन्त्री ज्युलाई यस्तो नपरोस् शुभकामना ।।

देशमा सहकारीका अलावा अन्य मुद्दाहरुको मौसमी खेती नभए पनि बाढी पहिरोको मौसम बाँकी नै थियो । डढेलो सकिएपछि पलाएका पालुवा जस्तै आशालाग्दा नेताहरु माथी नै बोलवाला चलाएर आफूहरु शुद्धीकरणको पथमा लाग्ने पुराना नेताको मोलतोलमा सहकारी ठगको स्वतन्त्रताले जनता आशावादी बन्ने सौभाग्य मिल्दै मिलेन । कांग्रेसको एकत्व स्वभावले विपिको प्रजातन्त्र र समाजवादलाई महामन्त्रीको हठले सिध्याउन सक्दैन भन्न सकिन्न । रविलाई चलाख देख्ने शेरबहादुरले आफ्नो चलाखीपन किन नपछ्याएका ? कांग्रेसका भागमा परेका सदावहार युवा नेता देउवाले अर्धाङ्गिनीमाथी लागेको कालो दाग मेटाउन मदन भण्डारीले सुरु गरेको बहुदलीय जनवादको आढ लागेर प्रचण्ड माथी सत्ताच्युतको तिर चलाउनु प¥यो । माक्र्सवाद र सर्वहारा वर्गको उदयमा रमाउने प्रचण्डले न डाक्टर जोगाउन सके न वैद्य, उनी अहिले निशस्त्र बनेका छन् । पार्टीलाई महरा र रायमाझी माथिको आरोपबाट जोगाए पनि सत्ता जोगाउन नसकेर एक्लिएका छन् । उनको रणनीति बुझ्न जोकोहीलाई गाह्रै हुन्छ यतिबेला उनी, उनकै भाषामा लोकतन्त्रका सुन्दर फुल बालेन ओली टकरावमा रमाएका होलान् । १० वर्षे जनयुद्धले सर्वसत्तावान् बनेका उनी आफ्नो दुनो सोझ्याउन जातीय र वर्गीय युद्ध नै मच्चाउन पनि सक्छन् । राजाकै पक्षमा उभिएर राजतन्त्र अन्त्यको दोष गिरिजातिर ते¥स्याउन पनि सक्छन् । त्यतिबेला कांग्रेसले गिरिजाको नैतिकता जोगाउने कि सत्ता ? उता रास्वपाको स्वेक्षाचारी यात्राले ठुला दललाई चौपट बनाएको छ नै, काम गर्ने जोश देख्दा, युवा लक्षित चुनावी अभियान चलाए दुई पीडित दुर्गा रवि एक हुन सक्छन् । त्यसमा पनि बालेनको आशिर्वाद मिले देशले खोजेको अवसर सहिनसक्नु हुनसक्छ । सैनिक शासनलाई छाउनीमै राखौं । सम्पुर्ण शैक्षिक जनशक्ति अनि सचेत युवाहरू एकजुट भए भने त्यतिबेला न ठुला दलको श्रीपेच रहने छ, न सानाको धड्कन चल्ने छ । राजावादीहरुको त सान्दर्भिकता नै लोप हुने छ ।

देशको बिग्रदो परिस्थिति र घमण्डको लडाइँमा छविको बयान पछि रविको पालो नआउँला भन्न सकिन्न । यता चुनावमा आफ्नै नेतालाई झिटिझ्याम्टो बोकाउने धनराजलाई एमालेले कत्तिको साथ देला हेर्नै बाँकी छ । पक्ष÷प्रतिपक्ष समसाथमा हुँदा प्रचण्डले रविलाई छत्रछाया लिएझैं के अब रास्वपा पुनः कांग्रेसको साझेदार बने रविको छवि जोगाउन गगनले बाटो परिवर्तन गर्लान् ? थोरै होइन ४० सहकारी संस्थाहरुमा ७१ अर्ब माथीको आर्थिक अपचलन भएको छ । सयौं लुटेराहरुले लुटको खेती गरेको सम्पत्तिमा सरकारले रविको मात्रै नाम जोड्नु उचित होला ? या वर्षौंसम्म यस्तै मोलमोलाई र आरोपप्रत्यारोपमा निस्तेजको राजनीति चल्ला ? यता दुर्गा, बालेन समर्थकमाथी लोकतन्त्रको लठ्ठी चल्या बेला रास्वपा सभापतिलाई समर्थकले कहिले चिन्ने ? अन्यौल नै अन्योल छ । गरिब जनताको आँसु पुछ्ने आँट कसैमा आएन, उल्टै पीडितको पक्ष लिने प्रसाइको दोहोलो काढ्ने ओलीले पनि के साँच्चिकै दुर्गाको प्रसाद नखाएकै हुन् त पहिले ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->