बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अजिमा र ६ लैंगिक पहिचान वृत्तचित्र पोखरामा प्रदर्शन

अजिमा र ६ लैंगिक पहिचान वृत्तचित्र पोखरामा प्रदर्शन


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०८१, बुधबार

पोखरा/अजिमा र ६ लैंगिक पहिचान वृत्तचित्र बाराही सिनेमा हल पोखरामा प्रदर्शन भएको छ ।
प्रदर्शनपश्चात चलचित्र समीक्षा र मातृसत्तात्मक परम्पराहरूमा अन्तर्दृष्टिका बारेमा छलफल भएको थियो ।
वृत्तचित्रमा निर्माता सुनिलबाबु पन्तले वृत्तचित्रले नेपालको समृद्ध आध्यात्मिक र सांस्कृतिक तानाबानाको अन्वेषण गर्ने, लैंगिकता, यौनिकता, आध्यात्मिकता र इतिहासको गहिरो मातृसत्तात्मक कथाहरूको खोजी गरिएको बताए ।
‘मातृसत्तामा समानता थियो, स्वतन्त्रता थियो । यौनहिंसा हुँदैनथ्यो । महिलालाई देवीको रूपमा पुजिन्थ्यो,‘ उनले भने,‘ काठमाडौं सहरका मन्दिरमा कुँदिएका कलाकृतिले पनि यो कुरालाई पुष्टि गर्छ ।’
वृत्तचित्रमा अजिमाका मन्दिरहरूको वर्णन गरिएको छ । ईन्द्र स्वर्गबाट फूल टिप्न आएको कथन, मल्ल राजाको पालामा सुरु भएको इन्द्रजात्रामा रथ तान्नेदेखि लिङ्गो ठड्याउने परम्परासँगै कुमारीजस्तै भैरव र गणेश राख्ने चलनलाई वृत्तचित्रमा देखाइएको छ ।
निर्माता पन्तले मछिन्द्रनाथको मूर्ति ‘न महिला न पुरुष’ देखिने बताउँदै तन्त्र परम्परामा कोही ठूलो– सानो,तल्लो –माथिल्लो नहुने र यही अस्तित्वलाई वृत्तचित्रमा प्रस्ट पार्ने कोसिस गरिएको पनि बताए । लाखे नाँच, डाकिनीका कुरा पनि वृत्तचित्रमा देखाइएको छ ।
धेरैको नजरमा नपरेको मन्दिरका टुँडालहरूमा कुदिएका ६ थरीका पहिचान भएका व्यक्तिको यौन सम्बन्धसहित वृत्तचित्रमा समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगीको पहिचानबारे खुलाइएको छ ।
वृत्तचित्र काठमाडौँको मातृसत्तात्मक इतिहास, अजिमा देवीहरू, पितृसत्तात्मक र मातृसत्तात्मक मूल्यहरू बीचको जटिल सम्बन्धमा केन्द्रीत रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->