पोखरा/रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
नेपालीहरूका महान् पर्वहरुको पूर्वसन्ध्यामा विद्यार्थीहरूमा अन्तर्निहित अतिरिक्त क्षमता उजागर गर्ने उद्देश्यले माध्यमिक तहका विद्यार्थीहरूका बीचमा प्रतिभा प्रस्फुटन कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले बताए ।
समारोहमा विद्यार्थीहरूले प्रतियोगितात्मक र अप्रतियोगितात्मक दुवै कलाप्रस्तुतिहरू प्रदर्शन गरेका थिए । आधारभूत र माध्यमिक गरी दुई तहमा विभाजित उक्त प्रतिभा प्रस्फुटन कार्यक्रममाविद्यार्थीहरूले एकल तथा सामूहिक गायन, नृत्य, अभिनय, कविता–वाचन, नाटिका आदिजस्ता कलाप्रस्तुतिहरू प्रदर्शन गरे ।
प्रतियोगितात्मक कार्यक्रममा आधारभूत तहतर्फ स्नेहा गुरुङले प्रथम, जेनिया गुरुङले द्वितीय, रोजमेरी खड्कीले तृतीय तथा आयुषा सुवेदीले सान्त्वना स्थना हासिल गरेका थिए ।
त्यस्तै माध्यमिक तह (कक्षा ९ र १०) तर्फ सुप्रभा भुसालले प्रथम, आसिका बरालले द्वितीय, स्मृति ढकालले तृतीय र अनुपमा अधिकारीले सान्त्वना स्थान हासिल गरे । त्यस्तै माध्यमिक तह (कक्षा ११ र १२) तर्फ दीपेङ्का बिजुच्छे, रीतिका थापा र सुक्रिया गुरुङले प्रथम, प्रसन्न सुवेदीले द्वितीय, सन्दीप शर्माले तृतीय तथा अनन्त आचार्यको भजन समूहले सान्त्वना स्थान हासिल गरे । विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथि विन्दुकुमार थापा, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीद्वारा नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो ।
सो अवसरमा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेशले विद्यालयहरूमा ‘फ्राइडे फर फ्युचर’ भन्ने नवीन अवधारणा ल्याउने तयारी गरिरहेको बताउँदै शिक्षा क्षेत्रमा नयाँ सोच र मान्यताका साथ काम गर्ने अभियानमा प्रदेश मन्त्रालय रहेको पनि जानकारी गराए ।
समारोहमा यस वर्षको एसइई परीक्षामा एसओएस गण्डकीबाट ४ जिपिए प्राप्त गर्न सफल सचेत सुवेदी तथा कक्षा १२ को बोर्ड परीक्षामा ३.९६ जिपिए प्राप्त गरी नेपाल टप गर्न सफल कुशल तिवारीलाई २० हजार नगद पुरस्कारसहित ‘एसओएस रत्न’ द्वारा सम्मानित गरिएको थियो ।
त्यस्तै कार्यक्रममा यस वर्ष इन्जिनियरिङ, चिकित्साशास्त्र र नर्सिङतर्फको स्नातक तहको प्रवेश परीक्षामा देशमै उत्कृष्टता हासिल गर्ने एसओएस गण्डकीका विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो ।





