बागलुङ/ युवा पुस्तामा बढ्दो लागुऔषध प्रयोगले उर्जाशिल जनशक्तिको क्षयीकरण भैरहेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । देश बिकासको मेरुदण्ड मानिएका युवाहरु लागुऔषधमा फस्दा उर्जाशिल जनशक्तिको अभाव हुनेमा उनीहरुको चिन्ता थियो ।
लागू औषध नियन्त्रणका लागि सरोकारवालाको समयमा ध्यान नपुग्दा समस्या भैरहेको हो । जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजना र काठेखोला गाउँपालिका तथा अमर माध्यामिक विद्यालयको समन्वयमा अपराध नियन्त्रण तथा लागुऔषध नियन्त्रण सम्बन्धि कार्यक्रम बोल्दै बक्ताहरुले तिनै तहको सकृयता आवश्यक रहेको औंल्याए । उनीहरुले घर, परिवार र समाज पनि लागुऔषधको प्रयोग र यसको दिर्घकालिन असरको बिषयमा सचेत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले समाजमा सचेतनाको खाँचो औंल्याए । उनले लागू औषधले युवाहरुको भविष्य भङ्ग हुने बताए । कार्यक्रममा स्थानीय नागरिक र विद्यार्थीले लैङ्गिक हिंसा सम्बन्धी प्रश्न उठाएका थिए । कार्यक्रममा धम्जा बिहुँ प्रहरी चौकीमा प्रमुख अर्जुन पौडेल, कार्यपालिका सदस्य गीता देवी बिक, भुमा देवी पुन, नेकपा एमाले काठेखोला–५ का अध्यक्ष हिरा लाल सापकोट, नेपाली कांग्रेस वडा सभापति हरि सापकोटा गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा, गाउँपालिकाका अध्यक्ष राजु थापा लगाएतले बोलेका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले अपराध तथा लागू औषध सम्बन्धी कार्यपत्र प्रस्तुत गरे ।
बरालको अध्यक्षता काठेखोला गाउँपालिका वडा नं ५ का अध्यक्ष यामनाथ कँडेलको स्वागत मन्तव्य र महिला बालबालिका शाखा रस्मी गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रम ५ नं वडा कार्यालयको सभाहलमा गरिएको थियो ।





