मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

गलकोट नगर अस्पतालमा अपरेशन सेवा शुरु

गलकोट नगर अस्पतालमा अपरेशन सेवा शुरु

अस्पतालका प्रमुख डा. राजेश पौडेल नेतृत्वको चिकित्सक टोलीले अपरेशनमार्फत पहिलो पटक ३ केजी ७ सय ग्रामको शिशु निकालेको हो ।


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०८१, बुधबार

बागलुङ/गलकोट नगरपालिकाले संचालन गर्दै आएको नगर अस्पतालमा अपरेशन सहितको सेवा पनि शुरु भएको छ । गलकोट नगर अस्पतालले पहिलो पटक ताराखोला गाउँपालिका ४ की एक महिलाको अपरेशन गरेर बच्चा निकालेको हो ।
अस्पतालका प्रमुख डा. राजेश पौडेल नेतृत्वको चिकित्सक टोलीले अपरेशनमार्फत पहिलो पटक ३ केजी ७ सय ग्रामको शिशु निकालेको हो । ताराखोला ४ की २३ बर्षिय युवती कुश्मा बिकको असोज १६ गते अपरेशन गरेर २२ गते डिस्चार्ज समेत गराइएको हो ।
अस्पतालमा पहिलो पटक अपरेशनका लागि डा. पौडेलसहित डा. कमलराज न्यौपाने, डा. राजेश लामिछाने, एनेस्थेसिया सहायक चित्र श्रीष र स्टाफ नर्स रुपा राना सहितको टोली खटिएको थियो । अपरेशनपछि सात दिन अस्पताल बसेकी बिक मंगलबार डिस्चार्ज गरिएको डा. पौडेलले बताए । अस्पतालमा ती महिलाको निशुल्क सेवा भएको थियो । बिककी आमा टिकाले छोरीको अपरेसन सफल भएको र गाउँमै सेवा पाएको बताइन् । उनले सहज भएको र अस्पतालका डाक्टर र नर्सको सहयोग पनि राम्रो पाएको खुसी व्यक्त गरिन् ।
नगरपालिकाले तीन वर्षदेखि नगर अस्पतालको रुपमा काम थालेको थियो । तर दुइ वर्षअघि मात्र डा. पौडेललाई ल्याएर सेवा संचालनमा ल्याएको थियो । अस्पतालले सबैखालका सेवा बिस्तार गर्दै अपरेसनसम्म आइपुगेको हो । अपरेशन सहितको सेवा संचालन गर्न नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख फमलाल निउरे, सामाजिक विकास समितिका संयोजक हिमबहादुर भण्डारी, वडा नं. ५ का अध्यक्ष पवन हमाल, स्वास्थ्य शाखाका प्रमुख सुशिल शर्मा र धौलागिरि अस्पतालका एनेस्थियोलोजिष्ट डा. अमित ढुंगाना सहितले सहयोग गरेको पौडेलले बताए ।
लामो व्यथा लागेर शिशु जन्मन नसकेपछि नगर अस्पतालमा अपरेशन गरिएको हो । बिकले ३ दशमलब ७ केजीको छोरीलाई जन्म दिएकी हुन् । अपरेसन सेवा असोजमा शुरु भएपनि यो अस्पतालमा गत वर्ष मात्रै ३० हजार बढी बिरामीको उपचार भएको तथ्यांक छ । नगर पालिकाले पूर्वाधार निर्माणमा साथ दिएको थियो भने गण्डकी प्रदेश सरकारले सामाग्री खरिदमा साथ दिएको थियो । पूर्वाधार र सामाग्री पुगेपछि परिवार स्वास्थ्य महाशाखाले गत भदौ १६ गते मात्र अस्पताललाई अपरेशन सेवाको अनुमति दिएको थियो ।
अस्पतालको भवन बनेपनि सुत्केरी कक्ष बनाउने ठाउँ अभाव थियो । एक वर्षदेखि पुरानो प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा सुत्केरी वार्ड बनाइएको हो । ‘अब हामीले नियमित अपरेशन सेवा दिन सक्ने भएका छौं, तर रक्तसंचारको अभाव छ’ अपरेशन सेवामा आएका बिरामीलाई रगत अभाव भएमा समस्या पर्छ’ पौडेलले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->