शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१४ चुचुरा चढ्ने पहिलो नेपाली महिला ‘दावा याङजुम शेर्पा’

१४ चुचुरा चढ्ने पहिलो नेपाली महिला ‘दावा याङजुम शेर्पा’


  • भद्र शर्मा
  • असोज २४ २०८१, बिहिबार
धौलागिरि आरोहणका क्रममा दावा याङजुम शेर्पा।

देश दशैंमा रमाइरहेको वेला चीनको सिसापाङ्मा हिमाल आरोहण गरेर दावा याङजुम शेर्पाले संसारका अग्ला १४ चुचुरा चढ्ने पहिलो नेपाली महिलाको कीर्तिमान बनाएकी छन्।

हिमाली गाउँ खुम्बु र रोल्वालिङलाई छुट्याउने टासी लाप्चा भन्ज्याङ पदयात्राका लागि नेपालीभन्दा विदेशीमाझ लोकप्रिय छ। पाँच हजार ७५७ मिटरको उचाइमा अवस्थित यो भन्ज्याङले प्रख्यात नेपाली पर्वतारोहीका दुई पुराना गाउँ सगरमाथा फेदीको खुम्बु र दोलखाको रोल्वालिङलाई छुट्याउँछ।

यी दुवै गाउँसँग आरोही दावा याङजुम शेर्पाको भने भावनात्मक सम्बन्ध छ। खुम्बु दावाकी आमा लाक्पा याङजुमकोे जन्मस्थल हो भने रोल्वालिङ बुबा नोर्बु शेर्पाले खाइखेलेको ठाउँ। उनी जन्मेहुर्केकै रोल्वालिङमा हो।

त्यही चर्चित टासी लाप्चा ट्रेकिङ पासको तल रोल्वालिङमा करीब चार हजार २०० मिटर उचाइमा रहेको नागाउँमा जन्मिएकी दावा याङजुम शेर्पा पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को कीर्तिमान बनाइरहेकी छन्। दक्षिणएशियाको पहिलो अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक ९आईएफएमजीए गाइड०, नर्थ फेसको ब्रान्ड एम्बेस्डर, सबैभन्दा कम उमेरको रोलेक्स एथ्लेटको उपाधि, अक्सिजन विना अन्नपूर्ण हिमाल आरोहण गरेकी पहिलो नेपाली महिला जस्ता कीर्तिमान उनका नाममा छन्।

यही सूचीमा अर्को कीर्तिमान पनि थपिएको छ। असोज २३ मा सिसापाङ्मा आरोहण गरेर आठ हजार मिटरभन्दा अग्ला १४ शिखर आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छन्। आरोहण कम्पनी क्लाइम्बालयका अनुसार १३ चुचुरामा पुगिसकेकी दावा याङजुम असोज २३ बिहान सिसापाङ्माको शिखरमा पुगेकी हुन्।

अघिल्लो वर्ष नै १४ वटा अग्ला हिमालको आरोहण पूरा गर्ने लक्ष्यसाथ सिसापाङ्मा पुगेकी थिइन्। तर कीर्तिमानी आरोही तेन्जेन शेर्पा लगायत चार आरोहीको हिमपहिरोमा ज्यान गएपछि उनी आरोहण छाडेर फर्किएकी थिइन्।
हिमाल आरोहणको सात दशकमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्ने आरोहीको संख्या ५१ पुगेको छ। त्यसमध्ये महिला त निकै कम छन्। आर्थिक अभाव र महिला भएकै कारण घर छोडेर जोखिमपूर्ण मानिएको हिमाल आरोहणमा जाने साहस कमैले जुटाउँछन्।

मृत्युसँग लुकामारी भइरहने पर्वतारोहण क्षेत्रमा लागेकी दावा याङजुमको यो सफलता भने सहजै हात लागेको होइन। कृषि कर्म मुख्य पेशा रहेको उनको परिवारमा बुबा नुर्बु शेर्पा फुर्सदको समयमा ट्रेकिङ गाइडको काम गर्थे। आमा खेतबारी र घरायसी कामकाजमै व्यस्त रहन्थिन्। दावा याङजुम भने महिलाले गर्ने परम्परागत काम छोडेर जोखिमपूर्ण पर्वतारोहणमा स्वतस्फूर्त प्रवेश गरिन्। अनि निरन्तरको मिहिनेत र लगावले संसारभर परिचित बनेकी छन्।

२०४६ सालमा जन्मिएकी दावा याङजुमको घर आसपासका विद्यालयमा त्यति वेला नियमित पढाइ हुँदैनथ्यो। चिसो ठाउँमा बस्न कठिन हुने भएकाले शिक्षक कहिलेकाहीं मात्र आउने र तुरुन्त गाउँ छाडेर घर बिदामा हिंडिहाल्थे वा सरुवा मिलाएर अर्कै ठाउँमा गइहाल्थे। महीनौंपछि अर्को शिक्षकको व्यवस्था त हुन्थ्यो, तर फेरि केही दिन बसेर भागिहाल्थे।

पढाइ राम्रो देखेर दावा याङजुमलाई आफन्तले काठमाडौं ल्याए। तर कक्षा ४ पढेपछि उनी फेरि गाउँ फर्किइन्।

रोल्वालिङमा उनको परिवारका तीन ठाउँमा घरगोठ थिए। सिजन अनुसार बसाइँ सर्दै हिंड्नुपर्ने भएकाले सहजताका लागि ती सबै वास बनाइएका थिए। चार हजार २०० मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइमा रहने ठाउँ ठाउँका घरगोठमा चौंरी स्याहार्नु, दाउरा र सोत्तर संकलन गर्नु र आलु खेती गरेर जीविकोपार्जन गर्नु दैनिकी थियो।
गाउँमा खेतीपातीको काम भएकाले धेरै छोराछोरी जन्माउनु सामान्य थियो। उनका पनि तीन दिदी, दुई भाइ र एक दाइ थिए। कामको खोजीमा युवा गाउँ छाडेर शहर पस्थे। त्यसपछि घरमा कामको भार बालबालिकाको थाप्लोमा आउँथ्यो। हिमाली भेगको दुःख भोग्ने पुस्ताकी दावा याङजुम पनि अपवाद थिइनन्।

काठमाडौंबाट फर्किएपछि उनी पनि गाउँको विद्यालयमा भर्ना भइन्। तर पढाइभन्दा गोठालो गएर घाँसदाउरा संकलन गर्ने, दिदीको साथ लागेर चिया, चिनी, नुन, खुर्सानी बोकेर गोठ जाने अनि घ्यू बोकेर फर्कने उनको पनि दैनिकी बन्यो।

उनी हुर्किरहेको वेला गाउँका प्रायः युवा हिमाल चढ्न जाने र केही महीनापछि फर्केर आउने क्रम चलिरहन्थ्यो। उनीहरू गाउँ फर्कनुअघि कसले सगरमाथा चढ्यो भन्ने खबर रेडियोबाट सुनिन्थ्यो, सबैको नाम पढेर सुनाइन्थ्यो।

सगरमाथा चढेर आएका युवाले फुर्ती लगाउँथे। उनीहरूको मान(सम्मान र भाउ नै बेग्लै हुुन्थ्यो। हिमालमा काम गर्न गएका युवा पनि घर फर्किंदा भरिया लगाएर लुगाको गुन्टा लिएर गाउँ आउँथे, परदेशबाट लाहुरे फर्किए जस्तै।

त्यति वेला गाउँमा अहिले जस्तो बिजुली, टेलिभिजन केही थिएन। रेडियोमा धर्मराज थापाले गाएको त्यति वेलाको चर्चित लोकगीत ‘हाम्रो तेन्जिङ शेर्पाले, चढ्यो हिमाल चुचुरा’ बजिरहन्थ्यो।

सगरमाथा चढ्न गए त पैसा टन्न आउँछ भन्ने सुनेकी दावा याङजुमलाई मनमनै लाग्थ्यो, ‘ओहो१ मैले पनि चढ्न पाए हुने।’
हिमालले घेरिएको रोल्वालिङमा बसोबास भए पनि सगरमाथा कस्तो पो होला भन्ने कल्पना गर्थिन्। आफ्नै शिरमाथि उभिएको टासी लाप्चा पासले छेकेको सगरमाथा गाउँबाट कहिल्यै देखिंदैनथ्यो।

गाउँमा कहिले नसकिने खेतीपातीको कामले वाक्क भएकी उनलाई हिमालतिर जान रहर लाग्थ्यो। तर परिवारजनले लेक लागेर ज्यानै जाने डरले सानो उमेरमा भरियाका रूपमा काम गर्न जान दिंदैनथे।

रोल्वालिङ भएर थामे जाने बाटोको टासी लाप्चा पास पुग्नुअघि नागाउँ आइपुग्ने अधिकांश भरिया बिरामी हुन्थे। लेक लाग्ने, जाडो हुने भएकाले काठमाडौंबाट आएका कतिपय भरिया विदेशी पर्यटकलाई अलपत्र पारेर फर्कन्थे। त्यसपछि प्रायः रोल्वालिङका युवती भरिया बनेर सघाउँथे।

२०६० सालतिरको कुरा हो, दावा याङजुमलाई पनि भरिया बनेर काम गर्ने प्रस्ताव आयो। दिनको एक हजार रुपैयाँ ज्याला दिने भनिएको थियो। १३ वर्षीया दावा पैसा आउँछ, घुम्न पनि पाइन्छ भनेर परिवारलाई थाहै नदिई साथीसँग भरिया बनेर हिमालतिर हिंडिन्।

कहिल्यै नपुगेको टासी लाप्चा पास कटेर खुम्बु पुगिन्। थामे पुगेपछि भने बिरामी परिन्। त्यहीं उनको मामाघर थियो।

उनलाई रोल्वालिङको बसाइँ दिक्कलाग्दो भइसकेको थियो। मामाघरका आफन्तले पनि घर फर्कनुभन्दा काठमाडौं नै जान सल्लाह दिए। पैसा कमाएकै थिइन्। दुई हजार रुपैयाँ भाडा तिरेर जहाजमा लुक्लाबाट काठमाडौं ओर्लिइन्।

काठमाडौंका दुःख

उनकी दिदी काठमाडौंमा रेस्टुरन्ट चलाएर बसेकी थिइन्। दाइ पनि यतै बसेर काम गर्दै थिए। दावा याङजुम पनि उनीहरूसँगै मिसिइन्। त्यस क्रममा अंग्रेजी भाषा सिकिन्। ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान०को सहयोगमा ट्रेकिङ गाइड सम्बन्धी तालीम लिइन्। अनि १८ वर्षको उमेरमा भरियाबाट ट्रेकिङ गाइड बनिन्।

रुचि त अल्ट्रा(रनिङमा थियो। तर कतैबाट सहयोग नपाएपछि ट्रेकिङमै केन्द्रित भइन्। यही क्रममा क्याम्पिङ ग्रूप लिएर कहिले रोल्वालिङ, कहिले लाङटाङ त कहिले सगरमाथा आधारशिविर पुगिन्। ट्रेकिङ जाँदा विदेशी पर्यटकले बारम्बार सोध्ने प्रश्न हुन्थ्यो, ‘सगरमाथा चढेकी छ्यौरु’

यो प्रश्नले उनलाई हैरान बनायो। त्यसबाट मुक्ति पाउन २०६५ सालमा नेपाल पर्वतारोहण संघले दिने तालीममा सहभागी भइन्। तालीमकै क्रममा याला पिक चढिन्। भेटिएका जति सबैले ‘तिमी त बलियो, खतरा रहेछौ, हिमाल चढ्न सक्छ्यौ’ भनेर हौसला दिन्थे।

आरोहणको तालीम लिए पनि ठूला हिमाल चढ्न पैसाको अभाव थियो। त्यसैले उनले ट्रेकिङ पेशालाई निरन्तरता दिइन्। एक पटक ट्रेकिङकै क्रममा रोल्वालिङ पुगेको वेला दुई जना विदेशी पर्यटकलाई भेटिन्। उनीहरूले खुम्बु क्लाइम्बिङ सेन्टरमा जान सुझाए।

कोनराड एंकरसँगको त्यो भेट

सोलुखुम्बुको फोर्चे गाउँस्थित खुम्बु क्लाइम्बिङ सेन्टरमा बसिरहेको वेला अमेरिकी आरोही कोनराड एंकरले उनको आरोहण अभ्यासलाई ‘नोटिस’ गरेका रहेछन्। त्यही देखेर सामान्य कुराकानीपछि कोनराड उनलाई ‘अन द स्पट’ प्रस्ताव गरे, “तिमी बलियो छ्यौ। यसपालि हामीसँग एभरेस्ट जाने हो तरु”

नाइँनास्ति गर्ने कुरै थिएन। २०६९ सालको वसन्तकालीन आरोहणमा सगरमाथा चढ्न हिंडिन्। आफैं जान पैसा नभएपछि विदेशीको भारी बोकेर सगरमाथा आरोहणका लागि निस्केकी थिइन्।

शुरूमा टेन्ट, अक्सिजन र खानेकुराकोे भारी बोकेर दोस्रो शिविरसम्म पुगिन्। फेरि आधारशिविर झरिन्, थप भारी ओसार्न। बिस्तारै हिम्मत जुटाएर माथिल्ला शिविरसम्म पुगिन्। तलमाथि ओहोरदोहोर गर्दागर्दै पहिलो प्रयासमै विदेशी आरोहीसँग सर्वोच्च शिखर सगरमाथामा टेकिन्। भरिया भएर गएकाले ६ लाख रुपैयाँ पनि कमाइन्। त्यति वेला उनी २१ वर्षकी थिइन्।
तारोहण नशा हो। बिस्तारै बिस्तारै पर्वतारोहण कम गर्ने हो।”


कीर्तिमानी आरोही दावा याङजुम शेर्पा। 

यसपछि भने उनलाई लाग्यो- ट्रेेकिङभन्दा आरोहण राम्रो, पैसा पनि धेरै आउने। व्यावसायिक रूपमै पर्वतारोहण पथप्रदर्शक हुने सोच बनाएर अर्को वर्ष अन्तर्राष्ट्रिय माउन्टेन गाइडको कोर्स शुरू गरेको बताउँछिन्।

आईएफएमजीए तालीम शुरू गर्दा दावा याङजुमसँगै थिइन्, निम डोमा। पहिलो वर्ष दुवै जना अनुत्तीर्ण भएपछि निम डोमाले तालीम छोडिन्। दावा याङजुमले अर्को वर्ष फेरि चारवर्षे कोर्स दोहोर्‍याइन्। नेपाल पर्वतारोहण संघले आधा खर्च बेहोरिदिएको थियो। तैपनि उनले तालीम पूरा गर्दासम्म १० लाख रुपैयाँ खर्च भयो।

व्यावहारिक र प्राविधिक कोर्स गरिरहँदा हिमालमा गएर काम गर्न बन्देज थिएन। तालीम चलिरहेको वेला २०७१ सालतिर के-टू हिमाल चढ्न पाकिस्तान गइन्। उनको साथमा माया शेर्पा र पासाङ ल्हामु शेर्पा ‘अकिता’ थिए।

तीनै जना नेपाली महिला आरोहीले सफलतापूर्वक के-टूको सफल आरोहण गरे। तीमध्ये दावा याङजुमले के-टू हिमाल आरोहण गर्ने सबैभन्दा कान्छी महिला आरोहीको कीर्तिमान बनाइन्।

त्यसपछि पनि साना हिमाल आरोहण गरिरहिन्। गाइड कोर्स गरिरहँदा दुई वर्ष अमेरिकामा गएर काम गरिन्, अल्पाइन एसेन्ट इन्टरन्याशनल मार्फत।

आईएफएमजीए कोर्सका क्रममा सहभागीले आरोहण नभएको हिमाल छनोट गरेर अल्पाइन स्टाइलमा आरोहण गर्नु अनिवार्य हुन्छ। दावा याङजुमले २०७४ सालमा अल्पाइन स्टाइलमा चढ्न लाङदुङ हिमाल रोजिन्। रोल्वालिङ उपत्यकामा पर्ने ६ हजार ३५७ मिटर उचाइको हिमालमा कोही चढ्न सकेको थिएन।

दावा गेल्जी, पासाङ किदार, निमा तेन्जी र दावा याङजुमले लाङदुङ हिमाल आरोहण गरे। कठिन आरोहण गरेकोमा उनीहरू पर्वतारोहण क्षेत्रको सबैभन्दा प्रतिष्ठित पुरस्कार गोल्डेन आइस एक्सका लागि मनोनयनमा परेका थिए। नेपाली आरोही यो अवार्डका लागि विरलै मनोनयनमा पर्छन्।

स्थापित कम्पनीको ब्रान्ड एम्बेस्डर

२०७४ सालमा अमेरिकाबाट फर्केपछि चारवर्षे कोर्सको अन्तिम जाँच दिइन्। सफलता हात लाग्यो, जसले नयाँ अवसरका ढोका खुले। त्यति वेला आईएफएमजी गाइड कोर्स गर्ने उनी दक्षिणएशियाकै पहिलो महिला थिइन्। आउटसाइड म्यागजिन, न्याशनल जिओग्राफिक, द सन्डे टाइम्स लगायत विदेशी सञ्चारमाध्यमले उनको विस्तृत प्रोफाइल प्रकाशित गरे। यसले उनको काम सीधै अन्तर्राष्ट्रिय पर्वतारोहण समुदाय, स्थापित ब्रान्ड र सेलिब्रेटी आरोहीको आँखामा पर्‍यो।

त्यसको प्रभावस्वरूप २०७५ सालमा नर्थ फेसले उनलाई ब्रान्ड एम्बेस्डर बनायो। यसले उनको चर्चा झनै चुलियो। करिअरले नयाँ उचाइ लियो। बाध्यताले समातेको पेशा झन् झन् आकर्षक बन्दै गयो। अन्तर्राष्ट्रिय कम्पनीको ब्रान्ड एम्बेस्डर हुने उनी नेपालकी पहिलो आरोही थिइन्।अहिले पनि नर्थ फेसको ब्रान्ड एम्बेस्डर भएर काम गरिरहेकी दावा याङजुमलाई कम्पनीले गियर, ट्राभल फन्ड र करिअर अघि बढाउन छुट्टै रकमको व्यवस्था गरिदिएको छ। “नर्थ फेसको ग्लोबल टीमको एथ्लेटमा पर्नु भनेको ठूलो अवार्ड जिते जस्तै हो। मान्छेहरूले पनि वाह भन्छन्। करिअरलाई पनि निकै सहयोग हुन्छ,” उनले केही महीनाअघिको एक अन्तर्वार्तामा बताएकी थिइन्।


सगरमाथा आरोहणका क्रममा दावा याङजुम शेर्पा।

उनलाई कहिल्यै कामको कमी भएन। करिअरमा पनि पछाडि फर्कनु परेन। दिनाली, अलास्का, रूस, अर्जेन्टिनामा गाइडको काम गरिन्। स्वीट्जरल्यान्डमा स्की कोर्स गरिन्।

दावा याङजुमको साहसलाई स्थापित कम्पनीले साथ र अग्रज आरोहीले प्रेरणा दिएपछि पर्वतारोहणमा झन् प्रतिबद्ध भएर लागिन्। २०७६ मा न्याशनल जिओग्राफिकले रोलेक्स कम्पनीको आर्थिक सहयोगमा सगरमाथामा जलवायु परिवर्तनबारे अध्ययन-अनुसन्धान गर्ने योजना थियो। त्यसका लागि दावा याङजुमलाई नै छनोट गरियो। वेदर स्टेशन परियोजनाको सफलतापछि उनी रोलेक्सको पनि ब्रान्ड एम्बेस्डर नियुक्त भइन्।

काठमाडौं फर्किंदा हरेक वर्षको सेप्टेम्बरमा केही साता दुर्गम हुम्ला-जुम्लातिर ‘नोम्याड क्लिनिक’ कार्यक्रमका लागि विदेशी चिकित्सकका साथमा भाषा अनुवादक भएर पुग्थिन्। त्यहाँ पुग्दा दुर्गमका महिलाले भोगेको दुःख देखेर आफूले त धेरै पाएकी रहेछु भन्ने महसूस भएको उनी बताउँछिन्।

१४ पिकको नशा

संसारका हिमाल चहार्दाचहार्दै दावा याङजुमलाई समय गएको पत्तै भएन। फुर्सद पनि कहिल्यै भएन। कोभिड–१९ महामारीको बन्दाबन्दीमा परेपछि मात्र उनको होश खुले जस्तो भयो, समय त खालि हिमालमा मात्रै बितिरहेको छ।

अनि उनलाई लागेको थियो, ‘अब मलाई चाहेको सबै पुग्यो। हिमाल आरोहण पनि एक अतृप्त नशा रहेछ। अब केहीे लोभ छैन। आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गर्दिनँ।’

उनका अनुसार के-टू आरोहण बाहेक कुनै पनि हिमाल योजना अनुसार चढेकी थिइनन्। ती सबै आरोहण काम गर्ने सिलसिलामा भएका थिए।

हिमाल आरोहण पनि नशा नै त हो। कोरोना महामारीपछि फेरि १४ पिकको नशाले छोयो। सहकर्मी र आफूभन्दा कम उमेरका महिला आरोही पनि एकपछि अर्को हिमाल आरोहणमा निस्किए।

उनले पनि मन थाम्न सकिनन्। सहकर्मी आरोही पासाङ ल्हामु शेर्पा ‘अकिता’ सँग अन्नपूर्ण हिमाल आरोहणका लागि जाने योजना बनाइन्। “म र पासाङ ल्हामु गएको। माया आयो। अरू पनि आए। सबै पहिलो हुने दौडमा ६ जना केटी जम्मा भए,” उनी भन्छिन्, “शुरूमा मायाले गरोस्, प्रतिस्पर्धा नगर्ने भनेको। कति हामीले सिकाएका बहिनीहरू पनि थिए। उनीहरूलाई देखेर आँट पनि आउँदो रहेछ। म ‘इन्सपायर’ जस्तो भएर लागें।”

त्यतिन्जेल कुनै नेपाली महिलाले अन्नपूर्ण हिमाल आरोहण गरेका थिएनन्। धेरै महिला आरोही पहिलो पटक अन्नपूर्ण चढेको रेकर्ड बनाउन आतुर भएको देखेपछि दावा याङजुमले अक्सिजन विना नै अन्नपूर्ण हिमाल आरोहण गर्ने योजना बनाइन्। किनकि उनी बाहेकका सबै कृत्रिम अक्सिजन लिएर आरोहण गर्ने योजनामा थिए।

अक्सिजन विना आरोहणमा हिंडेकी दावा याङजुम नै अन्नपूर्णको शिखरमा पहिले पुगिन्। अरू महिला आरोही अक्सिजन खाँदै बिस्तारै आए। अक्सिजन विना बढी नै जोखिम होला भनेर छिटो छिटो हिंडेकी उनी नै पहिले शिखरमा पुगिन्। अक्सिजन विना अन्नपूर्ण आरोहण गर्ने पहिलो महिला पनि उनी नै भइन्।

धौलागिरि आरोहणका क्रममा दावा याङजुम शेर्पा।

उनले हिमालमा भोगेका दुःख पनि अनगिन्ती छन्। शिखर पुगेर आधारशिविर झर्ने बित्तिकै धेरै आरोहीले जस्तै उनी पनि सबै दुःखकष्ट एकैछिनमा बिर्सिन्छिन्। तर उनले के-टू हिमालमा पाएको दुःख अझै बिर्सन नसकेको बताउँछिन्। “मागेर पैसा उठाउन एक वर्षदेखि लागें। सगरमाथा त केही हैन रहेछ, के-टूको अगाडि,” उनी भन्छिन्, “चढेर आएपछि दोस्रो जन्म पाए जस्तै भयो। त्यो सम्झनायोग्य आरोहण हो।”

अन्नपूर्णको आरोहण पनि कम्ती सकसपूर्ण थिएन। सामान्यतया ‘समिट पुस’ को एक रातअघि मात्र चौथो शिविरमा बस्ने गरेकोमा उनले दुई दिन बिताउनुपर्‍यो। त्यहीं टेन्ट बनाइरहेको वेला हिमपहिरो आयो। हिमपहिरोबाट उछिट्टिएको हिउँको टुक्राले टाउकामा लगाएका टोपी छोएर गयो। उनलाई पुनर्जीवन प्राप्त गरे जस्तै लाग्यो।

हिमालको जोखिम भोगेकी उनलाई शिखरमा पुग्दा आनन्द महसूस हुन्छ, तर तुरुन्तै तल कसरी तल झर्ने भन्ने तनाव शुरू भइसक्छ। “समिट इज हाफ वे। आधारशिविरमै खुशी मनाउने हो,” दावा याङजुम भन्छिन्।

महिला गाइडको योजना

प्रतिष्ठित नर्थ फेसको ब्रान्ड एम्बेस्डरको सम्झौता कायमै छ। रोलेक्सले उनलाई तलब नै दिन्छ। यस बाहेक नारी सशक्तीकरण परियोजनामा काम गर्न चाहेमा त्यसका लागि पनि आर्थिक सहयोग गर्छ।

उनले पाएको पहिचान र सम्मान आरोहणको क्षेत्रमा प्रदर्शन गरेको अदम्य साहस र लगनशीलताको नतीजा हो। पुरुष जस्तो ४० वर्षपछि पनि आरोहणमा सक्रिय भइरहन महिलालाई सहज नहुने निष्कर्षका साथ उनले सोचेका आरोहणका काम हतारमा सकिन्।

आगामी दिनमा महिला गाइड उत्पादनमा लाग्ने उनको योजना छ। त्यसको तयारीमा अमेरिका, दिनाली, रूस, अर्जेन्टिनामा गर्ने गाइडको काम छाडिसकेकी छन्।

महिला आरोहीसँग दावा याङजुम शेर्पा।

चार वर्षदेखि हरेक वर्ष १० जना महिलालाई निःशुल्क पर्वतारोहण तालीमको व्यवस्था मिलाउँदै आएकी छन्। मानव बेचबिखनमा परेका, एकल र गरीब महिलालाई पर्वतारोहण तालीम दिंदै आएकी छन्। “सबैले दावा याङजुम भाग्यमानी भएर सफल भएकी छ भन्छन्। यतिसम्म आउन केटीहरूलाई गाह्रो छ। कोनराड एंकर जस्तोले भेटेर त म यस्तो भएँ,” उनी भन्छिन्, “घरबाट बाहिर नजाने महिला पनि दावा याङजुमले लिने, त्यो पनि निःशुल्क भनेपछि तालीममा आउँछन्।”

तालीमपछि काममा पनि लगाउँछिन्। हिमाल आरोहण भएको वेला किचेन स्टाफ, भरिया र गाइडका रूपमा काम दिलाउँछिन्।

रोलेक्सले उनलाई नारी सशक्तीकरण परियोजनामा काम गर्न पैसा दिन्छ। अब महिला गाइड उत्पादन गरेर सामाजिक कार्यमा लाग्ने उनको योजना छ। “एक पटक ‘विदआउट अक्सिजन’ सगरमाथा जाने हो। त्यसपछि ‘टिचिङ’ गर्ने। अब ‘रेस्ट’ गर्ने,” नेपाल पर्वतारोहण संघकी उपाध्यक्ष समेत रहेकी दावा याङजुम भन्छिन्, “पर्वतारोहण नशा हो। बिस्तारै बिस्तारै पर्वतारोहण कम गर्ने हो।”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->