
खौलालाँकुरी (पर्वत)
पंचासेको निगालो, डहरेको बेत
कार्कीनेटाको गाउँ, मल्याङ्दीको खेत
पूर्वी पर्वतको ज्ञादी क्षेत्रमा गाइने गीतको एक अंश हो यो । यो गीतमात्रै होइन, तत्कालिन भूरे टाकुरे राजाका पालामा राजाले शासन गर्ने क्षेत्रलाइ समेत यो गीतको अंशले समेटेको प्रष्ट हुन्छ ।

तत्कालिन समयमा पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीस्थित जुम्लीथान एउटा शासन गर्ने केन्द्र थियो । त्यहाँ अहिले एउटा देवी मन्दिर, ४ वटा दरवारका भग्नावशेष, गुफा, ओखललगायत भूरेटाकुरे राज्यका चिनोहरु छन । जुम्लीथान भन्दा झन्डै साढे २ किलोमिटर पश्चिममा ज्ञादी खौला भूमे कोत रहेको छ । उक्त कोत भुरे टाकुरे राजाहरुको शस्त्र, अस्त्र (हातहतियार) भण्डारण गर्ने थलो हो । यही कोतमा बिहीबार फुलपाती भित्राइयो ।

प्रसिद्ध धार्मिकस्थल मोदीवेनी अघिल्लो राती (षष्टीको दिन) गएका दुई जना फुलपातीलाई सराय (सरुन) नाँच र बाजागाजाका साथ भित्राइएको कोत व्यवस्थापन समितिका अध्यक्ष खड्कबहादुर क्षेत्रीले बताए । मोदीवेनीमा नुहाएर शुद्ध भएका फुलपातीले डोलीमा बेलपत्र, ३ वटा बेलका गेडा, गंगाजल, अदुवा, आँक, पलाँस, डुम्री, उसीर, कुश, उखु बोकेर ल्याउँछन ।

कोतमा घटस्थापनाको दिनदेखि पुजारी बसेर पूजापाठ गर्छन । सप्तमीमा फुलपाती भित्राइन्छ । अष्टमीको मध्यरातमा बली दिइन्छ । नवमीमा भूमे देवताले मनोकांक्षा पुरा गर्ने विश्वासमा भाकल गर्नेले पंचावली लिएर आउँछन । महाअष्टमीको मध्यरातमा बली दिइएको बोकाको प्रसाद हनुमानढोका पुराउने चलन भएपनि अहिले बन्द छ । कोतमा वडा दसैंको टीकाको दिन साइत छोपेर सामुहीक टीका ग्रहणपछि आसपासका गाउँमा टीका लगाउने चलन छ ।

बुढापाकाहरुको भनाइ अनुसार जुम्लीथानमा भुरे राजाले अश्वमेघ यज्ञ गर्दा अग्नीहोत्र उठेनछ । उक्त अग्नीहोत्र कसले उठाउँछ भन्दा म्याग्दीको घतानबाट आएका सद्धर उपाध्याय सुवेदीले उठाएछन । राजाका गुरुसमेत रहेका सुवेदीलाई राजाले सोही स्थानमा जग्गा दिएर राखेछन् । उनै सुवेदीको संझनामा फुलपातीका दिन फुलपाती चौतारीमा बोका बली दिने चलन थियो । तर अहिले कुसमान्ड (फुर्से कुभिन्डो) को बली दिइन्छ । महाकाली, महालक्ष्मी, महासरस्वतीको पूजा गरिन्छ ।




oplus_34





